३० असार २०८३, मंगलबार
एउटा डरलाग्दो अपराध

फिल्मलाई माथ दिने कहानीः ३४ वर्षअघिको घटना पच्छ्याउँदै जब प्रहरी जीतबहादुर–नमीको घर पुग्यो

फागुन २२, २०८१
काठमाडौं
फिल्मलाई माथ दिने कहानीः ३४ वर्षअघिको घटना पच्छ्याउँदै जब प्रहरी जीतबहादुर–नमीको घर पुग्यो

सर्वोच्च अदालतबाट २० वर्ष कैद तोकिएका कर्तव्य ज्यान मुद्दाका २ फरार अभियुक्त हालसालै पक्राउ परेका छन् । उनीहरू पक्राउ परेको घटना ३४ वर्षअघिको हो । घटना पनि सामान्य होइन, पढ्दा तपाईंको आंग जिरिंग हुन सक्छ । 

दाङको साविक हाँसिपुर गाविस– १ (हाल राप्ती गाउँपालिका– ९) का जीतबहादुर दमाई र नमी दमाईलाई खोज्दै प्रहरी कपिलवस्तुस्थित शिवराज नगरपालिका– १ सम्म पुग्यो । उनीहरू घरमा आरामले बसिरहेका थिए । 

दाङ र कपिलवस्तु जोडिएको जिल्ला हो । प्रहरीले शुरूदेखि नै उनीहरूको निगरानी गरेको थियो । प्रहरीलाई दुवैजनाको नाम मात्रै थाहा थियो । 

मुद्दाको पक्षसँग जीतबहादुर र नमीको जानकारी लिएर प्रहरीले खोजतलास अघि बढाउँदै जाँदा उनीहरू शिवराज नगरपालिकामा भेटिएका हुन् । 

प्रहरीले जीतबहादुर दम्पतीलाई भेट्नेबित्तिकै सोध्यो– ‘तपाईं त दाङको मान्छे, यहाँ के गरेर बसिरहनु भएको हो ?’ जीतबहादुरले जवाफ दिए– ‘हामीलाई कसरी चिन्नुभयो ?’ 

प्रहरीले जीतबहादुरको परिवारका अन्य सदस्यको नाम लिएर थप केरकार गर्‍यो । नमीकोे बुवासहित परिवारका बारेमा प्रहरीले बताइरहँदा उनीहरू झस्किए, किनकि उनीहरू हाडनाताभित्रैका थिए । 

२०४७ फागुन २ गते अवैध सम्बन्धबाट जन्मिएको बच्चाको हत्या गरी खाडलमा पुरेर भागेका जीतबहादुर दम्पती निस्फिक्री कपिलवस्तुमा बसिरहेका थिए । 

प्रहरीले तपाईंहरूविरुद्ध कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सुनाइएको छ, कैद भुक्तान गर्न हिँड्नुस् भन्यो । घरभित्रबाट २१ वर्षीय छोरा निस्केर प्रहरीलाई सोधे– ‘मेरो बाबा–ममीले के गर्नुभएको हो र ?’

प्रहरीले शुरूमा त कर्तव्य ज्यान मुद्दा मात्रै भन्यो । पछि जीतबहादुरका छोराले के घटना हो भन्नुस् भनेर ढिपी गरेपछि प्रहरीले घटनाको बेलिविस्तार लगायो । 

जीतबहादुर दम्पतीले आफ्ना छोरालाई विगतका घटनाबारे कुनै जानकारी गराएका थिएनन् । शिवराज नगरपालिकाभरि पनि उनीहरूको विगतबारे कसैलाई थाहा थिएन । 

प्रहरीले उनीहरूलाई शुरूमा इलाका प्रहरी कार्यालय भालुवाङ ल्यायो । त्यहाँसम्म छोरा पनि सँगसँगै आए । 

यस्तो थियो घटना

जीतबहादुर र नमी एक अर्कालाई मन पराउँथे । उनीहरू केही समय सँगै पनि बसे । समय बित्दै जाँदा नमी गर्भवती भइन् । बच्चा जन्माइन् । 

दाङको साविक हाँसिपुर गाविस– १ (हाल राप्ती गाउँपालिका– १)मा बस्दै आएका जीतबहादुर दम्पतीबीच आधिकारिरूपमा विवाह भएको थिएन । 

विवाह नहुँदै बच्चा जन्मिएको गाउँलेले थाहा पाए । बेइज्जत हुने डरले उनीहरूले बच्चाको हत्या गरेर गाउँकै बारीमा खाल्डो खनेर पुरे । त्यसपछि त्यहाँबाट भागे । 

नमी हराएपछि उनका परिवारले सोधीखोजी गरे । गाउँमा नमी मात्रै होइन, जीतबहादुर पनि भेटिएनन् । तर, उनीहरूले बच्चा जन्माएको बारेमा भने गाइँगुइँ हल्ला भएको थियो । हाडानाताभित्रैका उनीहरू भागेपछि नमीको बुबाले प्रहरीमा उजुरी हालेका थिए । 

प्रहरीले जीतबहादुरको घर र वरपर खानतलासी गर्दा शिशु गाडेको फेला पर्‍यो । उक्त बच्चा उनीहरूकै भएको पुष्टि भएपछि जिल्ला अदालत दाङमा कर्तव्य ज्यान मुद्दा दर्ता भयो । 

२०५७ असोज ९ गते अदालतले जीतबहादुर दम्पतीविरुद्ध सर्वस्वसहित जन्मकैदको फैसला सुनायो । जीतबहादुरका परिवारले मुद्दा पुनरावेदन गरे । पुनरावेदन अदालतले २०५९ जेठ ६ मा २० वर्ष कैद सजायको फैसला गर्‍यो । 

पुनरावेदनको फैसला चित्त नबुझेर जितबहादुरको परिवार सर्वोच्च अदालत पुगे । सर्वोच्चले २०६१ साउन १४ गते पुनरावेदनकै फैसला सदर गरिदियो ।

अन्ततः अहिले आएर उनीहरू पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार जीतबहादुर दम्पतीलाई अदालतमा उपस्थित गराएकै दिन कैद भुक्तानका लागि कारागार चलान गरिएको छ । 

‘जीतबहादुरको खोजीका लागि प्रहरीले धेरै मेहनत गरेको छ । उनीहरूको त्यति बेलाको फोटो समेत थिएन, नाम मात्रै थाहा थियो,’ शाहले लोकान्तरसँग भने, ‘दुवैको परिवारमार्फत केही सूचना लिएर उनीहरूलाई नियन्त्रणमा लिन सफल भयौं ।’  

salt training

कमेन्ट गर्नुहोस्