२९ जेठ २०८३, शुक्रबार

विकासको लय समात्दै मेरो रावतकोट

फागुन २४, २०८१
काठमाडौं
विकासको लय समात्दै मेरो रावतकोट

रावतकोटीको दाइजो भैगो डोको र बरियो!
दिपाइलौन खस्रा डल्ला तिपाडी हरियो !

जिल्ला सदरमुकाम दैलेख बजार तथा नारायण नगरपालिकासँग कुम जोडिएको साविकको रावतकोट गाविस र अहिलेको भैरवी गाउँपालिका वडा नम्बर १ छामघाट खोलाले सिमाना छुट्याएको राउतकोटमा मोटर बाटो लगभग लगभग २०५६/५७ सालमै खुलिसकेको थियो। 

०५५/ ५६ सालतिर चुप्राबाट छामघाट खोलाको किनारै किनार सैनचौरसम्म ट्याक्टरहरू पुगिसकेका थिए। खानेपानी, सिंचाई, शिक्षा, स्वास्थ्य र बिजुलीबत्तीमा हामीहरू निकै पछाडि परिरहेको समय थियो। यावत सामाजिक विषयमा पनि बिजुलीबत्तीको लाभ पाउन हामीलाई निकै समय कुर्नुपर्‍यो।

साविकको गमौडी गाविस हालको दुल्लु नगरपालिका वडा नम्बर १० ले हामीभन्दा करिब १० वर्ष अगाडि बिजुलीबत्तीको लाभ लिइसकेको थियो। उसो त अहिले पनि भैरवी गाउँपालिकाको तथा साविकको रावतकोट गाविसको सबै घरमा बत्ती पुगेको छैन । तर, केही बस्तीमा बत्ती पुगेको लगभग लगभग चार पाँच वर्ष हुन लाग्यो।

जिल्ला सदरमुकामबाट टाढा रहेको दुल्लु नगरपालिकामा पहिलै बत्ती पुगिसक्नु र रावतकोट गाविस अन्धकारमा रहनुलाई त्यहाँबाट प्रतिनिधित्व गर्ने नेताहरूको कमजोरीको रूपमा लिन सकिन्छ।

रावतकोटबाट प्रतिनिधित्व गर्ने नेताहरू सदरमुकाम जानेबेला जान चाहिँ पाइला कसेर जानुहुन्थ्यो तर, सदरमुकाम पुगिसकेपछि नुनको सोझो गरेर फर्किनुहुन्थ्यो। उहाँहरूको काम प्राय: स्थानीय झगडा मच्चिएर जिल्ला पुगेपछि त्यसलाई समाधान गर्ने प्रमुख काम हुन्थ्यो। ०५६/५७ सालमा मोटरबाट पुगिसकेको रावतकोट सिँचाइ खानेपानीमा निकै कमजोर अहिले पनि छ त्यो बेला पनि थियो।

जो मोटर बाटो अहिले मध्यपहाडी राजमार्ग अन्तर्गत पर्दछ, त्यसको लागि नेतृत्व पंक्तिलाई धन्यवाद छ। तर, शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा रावतकोट निकै पछाडि थियो र अहिले पनि छ।

मोटर बाटोले स्थानीय उत्पादनलाई जिल्ला सदरमुकाम र सुर्खेतसम्म पुर्‍याउन निकै सहज बनायो। तर, पठनपाठन, स्वास्थ्य उपचारको अभाव र कृषिमा सधैं आकाशे पानीमा निर्भर हुनु हाम्रो दुर्भाग्य थियो र छ।

शिक्षामा नेराआवि महतरा गाउँ र पञ्चदेवल मावि २ प्रमुख विद्यालय हुन् । केही वर्षअघि यिनी स्कूलको शिक्षा गुणस्तर देशमै चर्चाको विषय बन्थ्यो।

पैलाका नौ वडा थिया अहिलेका दुई वडा!
लयमा फर्किजा रावतकोट नमारीकँ तडा !

देश संघीयतामा गइसकेपछि यी दुवै स्कूलमा स्थानीय राजनीतिको असर यसरी पर्‍यो कि यिनै स्कूलबाट सयौंको संख्यामा विद्यार्थीहरू शहर छिर्न बाध्य भएका छन्। राज्यको शिक्षामा लगानी धेरै छ तर, स्थानीय राजनीतिको दलदलमा फसेका यी दुवै स्कूल अहिले पनि दलदलबाट बाहिर निस्कन सकेका छैनन्। 

शिक्षक नियुक्तिदेखि लिएर विद्यालय व्यवस्थापन समितिमा पनि भागबन्डा हुनु र विद्यालय प्रशासन कमजोर हुनु यसका प्रमुख कारण हुन् जो सर्वविदितै छ। स्थानीय सरकार, बुद्धिजीवी, विद्यालय प्रशासन, व्यवस्थापन समिति र अभिभावकहरूले यो विषयमा अझै जिम्मेवार हुनुपर्ने देखिन्छ। नत्र भोलिका दिनमा विद्यालय रहिरहने र विद्यार्थी नरहने अवस्था सिर्जना हुन सक्छ।

खानेपानीको क्षेत्रमा रावतकोट निकै पछाडी छ। चैत, वैशाख र जेठमा रावतकोटले निकै सकस बेहोरिरहेको थियो र बेहोरिरहेको छ। मजुवा खानेपानीको फेरि शरूआतपछि रावतकोटले घाँटी चिस्याउन पाएको पनि सर्वविदितै छ। अहिले जलजलेबाट लिफ्टिङको काम सम्पन्न हुँदा साविकको रावतकोट गाविस अहिलेको भैरवी गाउँपालिका वडा नम्बर १ ले आफ्नो तिर्खा मेटाइरहेको पनि जगजाहेर नै छ।

स्वास्थ्य क्षेत्रमा उपस्वास्थ्य चौकी रावतकोटकै प्राङ्गणमा बर्थिङ सेन्टर पनि रहेकको छ। जसले नेपाल सरकारले प्रदान गर्ने सेवाहरू स्वास्थ्य क्षेत्रमा प्रदान गरेको पनि सबैलाई जानकारी नै छ। सामान्य दैनिक जीवनमा आइपर्ने रोगहरू; रुघाखोकी, पखाला, ज्वरो लगायतका रोगहरूको पहिचान गर्न सदरमुकाम धाइरहनु परेको छैन। त्योभन्दा माथिका रोगका लागि जिल्ला अस्पताल दैलेख र प्रदेश अस्पताल सुर्खेत आउनुपर्ने बाध्यता विद्यमान छ। 

खेतीयोग्य जमिन हुँदाहुँदै पनि पानीको अभावमा अथाह दरासेराहरू बाँझै छन्। गीताचौर रावतकोट सिँचाई कुलो शरू भएको लगभग लगभग चार दशक बितिसक्न लाग्दा पनि अहिलेसम्म सो सिंचाई कुलाको ४० प्रतिशत पनि काम नसकिएको आमउपभोक्ता, राजनीतिक दल, शिक्षक, विद्यार्थी, कृषक, व्यापारी लगायत सबैको मानसपटलमा छ होला।

खेतहरूलाई गिज्याएर सदियौंदेखि छामघाट खोलो खेतखलियानका ओठलाई सुक्खा पारेर आफ्नो बाटोमा लम्किरहेको तपाईं हामीले देखेकै छौं। तर, स्थानीय सरकारले केही समयदेखि स-साना लिफ्टिङ योजना र कुवा, धाराहरूको जगेर्ना गर्न थालेदेखि पानीको समस्या केही कम हुँदै गएको छ । गहुँ, मकै र धानमा आधारित कृषि पेशा हाम्रो प्राय: आकाशे पानीको भरमा वर्षौंदेखि अघि बढिरहेको छ। 

पञ्चकोशी तीर्थस्थल अन्तर्गत श्रीस्थान मन्दिर भैरवी गाउँपालिका वडा नम्बर १ मा पर्दछ । देशभरका आन्तरिक पर्यटकहरूको घुइँचो लाग्ने सो मन्दिर परम्परागत नीतिनियम भन्दा अहिले अलि बाहिर आएको छ र परिमार्जन भएको छ । रंगीन भएको छ । त्यसका लागि मन्दिर व्यवस्थापन समिति, कर्मचारी, साधुसन्त, पूजारी योगीहरूलाई हार्दिक धन्यवाद। र, छुटाउनै नहुने कुरा दुल्लु नगरपालिका-१० स्थित नाभिस्थान मन्दिर पनि पहिलाभन्दा निकै व्यवस्थित र मर्यादित भएको छ । श्रीस्थान र नाभिस्थान मन्दिर दुवैमा उचित व्यवस्थापनको खाँचो अहिले पनि छ।

मन्दिर व्यवस्थापन समिति बन्दा दुवै मन्दिरहरूमा दुल्लु नगरपालिका र भैरवी गाउँपालिकाबाट राजनीति गर्ने राजनीतिक दलहरूको आँखो त्यही गडेको प्रत्यक्ष देखिन्छ। हुन त कुलोदेखि दुलोसम्म राजनीतिक हस्तक्षेप बढेको सर्वविदितै छ। वन समिति, टोल समिति, विद्यालय व्यवस्थापन समिति लगायत स-साना दैनिक जीवनमा आइपर्ने सामाजिक मुद्दामा राजनीतिक हस्तक्षेप नबढेको कुनै ठाउँ छैन।
 
समग्र रावतकोटको हकहितका लागि पञ्चदेवल माविमा पढेर अहिले देश-विदेश जुनसुकै ठाउँमा रहेर पनि आफ्नो जन्मभूमि, पढेलेखेको विद्यालयकाका लागि पञ्चदेवल पूर्व विद्यार्थी संगठन (PAAN)ले निकै सराहनीय काम गरिरहेको छ । आगामी दिनमा पनि पञ्चदेवल पूर्व विद्यार्थी संगठन (PAAN) सामाजिक मुद्दा, आवश्यक परेको ठाउँमा आवश्यकता हेरेर अझै सक्रिय भएर सहयोग गर्नेछ भन्ने अपेक्षा गर्दछु।

ए जनौं जुटौं सबै मिलिजुली नमानिकँ जातभात!
रावतकोट सबैका लैजा सबको चाहिँछ हातसाथ!

मिलेर बसेको समाज सबै जातजातिको बसोबास छ। आपसी सहयोग भाइचारायुक्त समाज आजको आवश्यकता हो । तर, केही मानिसको संकिर्ण सोचले गर्दा छुवाछूत समाजमा विद्यमान छ। ऐँचो पैँचो, हरमा पर्म चल्ने समाजमा अलिकति राजनीतिक विचारधाराले गर्दा फाटोपना पनि देखिन्छ। जसलाई जरैदेखि निर्मूल पार्न जरुरी छ। 

जिल्लामा, प्रदेशमा र केन्द्रमा राजनीतिक पहुँच नपुग्नु हाम्रो दुर्भाग्य हो। रावतकोटबाट चार/पाँच जना नेतृत्व गर्ने नेताहरू व्यक्तिगत स्वार्थमा परेका कारण जिल्ला, प्रदेश र केन्द्रमा हाम्रो पहुँच पुगेन। जसको सजाय रावतकोटले भोगिरहेको छ।

तर, यस्तो लाग्छ अब रावतकोटले विकासमा लय समात्दै गएको छ। राष्ट्रसेवक कर्मचारीको संख्या उल्लेख्य छ। रावतकोटबाट देशको सेवा गर्ने थुप्रै कर्मचारी छन्। उनीहरूको अनुभव, क्षमता र इमान्दारिताबाट रावतकोटले प्रत्यक्ष लाभ लिनेछ। 

अहिले रावतकोटकै बुहारी सीता राना संघीय सांसद बन्नुभएको छ। उहाँले गीताचौर रावतकोट सिंचाई कुलाको काम फेरि थालनी गर्नुभएको थियो। आशा गरौं उहाँकै कार्यकालमा गीताचौर रावतकोट सिंचाई कुलाको काम सम्पन्न हुनेछ। जननिर्वाचित दैलेख जिल्ला क्षेत्र नम्बर २ का संघीय सांसद दिक्पाल कुमार शाहीले पनि यो क्षेत्रको विकासको लागि ध्यान दिनुहुनेछ भन्ने जनअपेक्षा छ। र, दुल्लु, भैरवी क्षेत्रबाट चुनिएर प्रदेश सांसद घनश्याम भण्डारी कर्णाली प्रदेशको सामाजिक विकास मन्त्री हुनुहुन्छ। उहाँको पनि दुल्लु, भैरवी क्षेत्रको विकासबारे अतुलनीय योगदान रहनेछ भन्ने अपेक्षा छ।

साविकको रावतकोट गाविस वडा नम्बर ६ जलजले तथा हालको भैरवी गाउँपालिका वडा नम्बर १ मा पेट्रोलियम पदार्थ अन्वेषणको काम पनि सकिएको छ। सो अन्वेषणमा जलजले क्षेत्रमा ग्याँस खानी भएको अनुमान गरिएको छ। ठाङ्गी काल सैनी(नाभिस्थान श्रीस्थान) छत्रछायाँमा रहेका हामीहरू, बड्डाबु,मष्टा,देउती,कोटेल, नरसिङ्गे,अग्नी बेताल,कुडिले,अचार्ज,रुमाल थान,भन्डारी सुमदायको थान,बिष्ट समुदायको थान र योगी समुदायको थानले रावतकोटको धर्मको इतिहास के हो भनेर वर्णन गरेको छ।

देवताप्रति आस्था राख्ने रावतकोट अहिले देवता र कर्म दुवैमा आस्था राख्छ। छामघाट खोलामा पक्की पुल बनेसँगै नारायण नगरपालिकासँग हिउँद बर्खामा पनि सोझै सम्बन्ध जोडिएको राउतकोट दुल्लु नगरपालिकासँग पनि सोझै सम्बन्ध जोडिएको छ। दुल्लु नगरपालिका-१० र भैरवी गाउँपालिका-१ जोड्ने नाभिस्थानमा पक्की पुल निर्माण कार्य सम्पन्न भयो भने वर्षायाममा सहज हुने  र आन्तरिक पर्यटकमा टेवा पुग्ने कुरामा दुईमत छैन।

भैरवी गाउँपालिका वडा नम्बर १ जलजली दारेघाट र महाबु गाउँपालिका वडा नम्बर २ जोड्ने मोटरेवल पक्की पुल, जसको निर्माण कार्य अहिले जारी छ । सो पुलको निर्माण कार्य सम्पन्न भएपछि महाबु र भैरवी बाह्रैमास जोडिरहनेछन्। महाबु र भैरवीको सम्बन्धमा दारेघाट पुल कोसेढुङ्गा सावित हुनेछ। 

पछिल्लो केही समयमा बिग्रिएको लयलाई अहिले रावतकोट फेरि विस्तारै समाउन खोजेको महसुस हुन्छ । र, रावतकोट लयमा फर्किनु पनि पर्छ । हाम्रो चाहना रावतकोट लयमा फर्किएको हेर्ने हो । रावतकोटलाई विकासको लयमा फर्काउन हामीले के गर्नुपर्छ? तन, मन, धन सबैबाट सहयोग गर्न हामी तल्लीन हुनुपर्छ।

salt training

कमेन्ट गर्नुहोस्