०१ असार २०८३, सोमबार
बढ्दो अनलाइन ठगी

अनलाइन स्क्यामरका अनेक जुक्ति– पत्रकार समेत ठगिए, एकैजनाको ४५ लाखसम्म झ्वाम

फागुन २५, २०८१
काठमाडौं
अनलाइन स्क्यामरका अनेक जुक्ति– पत्रकार समेत ठगिए, एकैजनाको ४५ लाखसम्म झ्वाम

तेह्रथुमका २२ वर्षीय इन्द्र खापुङलाई अपरिचित व्यक्तिले म्यासेन्जरमा फोन गरे । खापुङको बैंक खातामा आएको २ लाख रुपैयाँ अर्को खातामा ट्रान्सफर गरेबापत ५ हजार दिने प्रस्ताव ती व्यक्तिले गरेका थिए । खापुङले सहजै स्वीकारे । २ लाख रुपैयाँ उनको बैंक खातामा आयो । मोबाइल बैंकिङमार्फत उनले रकम ट्रान्सफर गरिदिए । 

खासमा खापुङलाई आएको रकम अनलाइन स्क्यामको गिरोहले ठगी गरेर अन्य व्यक्तिमार्फत खातामा हाल्न लगाएका थिए । पीडितले प्रहरीमा उजुरी गरे । स्क्यामरले भने अनुसार ५ हजार खातामा राखेका खापुङले झिक्न पाएनन् । प्रहरीले खापुङको खाता रोक्का गरिदिएका थिए । 

बैंक खाता खापुङको प्रयोग भएको देखेपछि प्रहरीले आफ्नो कार्यालयमा आउन भन्यो । 

आइतबार अपराह्न खापुङ आफ्नी आमासँग काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुगे । किन यस्तो गरेको ? भनेर प्रहरीले सोध्दा खापुङले भने, ‘म पढ्दै छु, खातामा आएको पैसा ट्रान्सफर गरेबापत ५ हजार पाउने भएपछि केही सोचिनँ, हुन्छ भनेर जवाफ दिएँ । पैसा पठाइदिएँ । स्क्यामरको धन्दा हो भन्ने थाहै पाइनँ ।’

आइतबारै २० वर्षदेखि पत्रकारिता गरिरहेका एक सञ्चारकर्मी अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतको कार्यकक्षमा भेटिए । श्रीमतीसहित पुगेका उनले भने, ‘सर, हिजो मैले जुवा खेलेँ।’ प्रहरीले सोधे, ‘के भयो ? कस्तो जुवा हो ?’ ती सञ्चारकर्मीले बेलिविस्तार लगाए ।

खासमा उनलाई ह्वाट्सएपमा फोन आएको थियो । दुबईबाट बोलेको भन्दै २ जनाले हिन्दी भाषामा भने, ‘बधाई छ, तपाईँलाई आकर्षक पुरस्कार परेको छ ।’

ती सञ्चारकर्मीले पुरस्कारको बारेमा सोधेछन् । उनलाई फोटो पठाइयो । फोटोमा मोटरसाइकल, ल्यापटप, मोबाइललगायतका सामग्री थिए । तर, त्यसका लागि शुरूमा भारतको भन्सार क्लियर गर्न भन्दै ८ हजार हाल्न लगाए । सञ्चारकर्मीले पठाइदिए । केहीबेरपछि नेपालको भन्सार क्लियरेन्सका लागि भन्दै २६ हजार भारतीय रुपैयाँ पठाउन भने । सञ्चारकर्मीले केही नसोची पठाइदिए । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साँझ साढे ७ बजे सामान डेलिभरी लिन जानुस् भन्दै ती भारतीय नागरिकले नै फोन गरेर भने । ती सञ्चारकर्मी आफैं विमानस्थल जाने र समान रिसिभ गर्छु भने । फेरि भारतीय नागरिकले विमानस्थलबाट बाहिर सामान पठाउन भन्सार क्लियरका लागि ४५ हजार भारु पठाउन भने । 

बल्ल ती सञ्चारकर्मीमा आफू ठगिएको आभाष भयो । उनले विमानस्थलस्थित भन्सारमा कुरा गरेर आफैं सामान छुटाउँछु र सामान पठाइदिनुस् भने । भारतीय नागरिकले ४५ हजार भारू पठाए समान पठाउने, नत्र नपठाउने भन्दै धम्की दिन थाले । ती सञ्चारकर्मीको ह्वाट्सएपमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र नेपाली सेनाका सेनापति अशोकराज सिग्देलको फोटो पठाए ।

‘मेरो यी मान्छेहरूसँग पनि लिंक छ, तपाईंले केही गर्न सक्नुहुँदैन, पैसा पठाउने भए समान पठाउँछु, नत्र पठाउँदिनँ,’ भन्दै भारतीय नागरिकले धम्की दिएपछि ती सञ्चारकर्मी प्रहरीमा आइपुगेका थिए । 

अनुसन्धान कार्यालयका प्रमुख एसएसपी बस्नेतसँग ती सञ्चारकर्मीले भने, ‘म आफैं यस्ता समाचार लेख्छु, तर लोभमा आफैं ठगिएँ । मैले रकम पठाएको नेपाली बैंक खातामै हो, त्यो खाता कसको प्रयोग भएको रहेछ, त्यो पत्ता लगाएर कानूनी उपचार खोज्न आएको हुँ ।’

बस्नेतले ती सञ्चारकर्मीलाई लोभ गर्दा ‘तपाईँ जस्तो जानकार व्यक्ति पनि ठगिएको ?’ भन्दै अनुसन्धान गर्न अधिकृत खटाए । 

अनुसन्धान कार्यालयमा यस्तै ठगीका उजुरी एवं गुनासा लिएर दैनिक दर्जनौं सर्वसाधारण पुग्ने गरेका छन् । कोही टिकटकमा ठगीका छन् । 

स्क्यामरको ग्रुपमा सेयर र लाइक गर्न लगाएर ठगी

अनुसन्धान कार्यालयका अनुसार स्क्यामरले अनलाइन पेजको ग्रुप बनाएका हुन्छन् । ती पेजमा लाइक गर्ने र सेयर गर्ने ‘टाक्स’ दिएरै ठगी गरेको पाइएको छ ।

जो व्यक्ति स्क्यामरको गु्रपमा छिर्‍यो, उसलाई कमिसनबापत रकम दिने लोभमा पेजमा गएर शेयर र लाइक गर्न भनिन्छ । यतिसम्म कि स्क्यामरले ग्रुपको म्यासेन्जरमा शेयर र लाइक गरेबापत लाखौं रुपैयाँ कमाएको भन्नेर लेख्न लगाउने गरेका छन् ।

ती पेज र ग्रुप बनाउनेहरू नेपालमा बसेका हुँदैनन् । विदेशमै बसेर सर्वसाधरणलाई लोभ्याउँदै पहिला ग्रुपमा जोड्ने र पैसा दिलाउने भन्दै उनीहरूको खातामा केही रकम समेत पठाउने गर्दै आएका छन् ।

‘तपाईंले लाइक, शेयर र ग्रुपमा कमेन्ट गरेबापत यति पैसा जम्मा भएको छ । तपाईँको खातामा छिट्टै आउँछ भनेर बेलबेलामा स्क्यामरले आश्वासन दिइरहेका हुन्छन्,’ अनुसन्धान कायालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले लोकान्तरसँग भने, ‘तर, स्क्यामरले पैसा पठाउँदैनन् र फेसबुकमा ब्लक गरिदिन्छन्  । यसरी ठगिनेमा डाक्टर, शिक्षक, व्यवसायीलगायत पढेलेखेका नै छन् ।’

२ प्रतिशत रकम पाउने लोभमा खाता शेयर गर्दै रकम ट्रान्सफर

अनुसन्धान कार्यालयका अनुसार स्क्यामरले शुरूमा फेसबुक म्यासेन्जरमा म्यासेज पठाउँछन् । स्क्यामरले ‘तपाईंको खातामा केही रकम आउँछ, त्यो रकम रकम मैले भनेअनुसारको खातामा ट्रान्सफर गरिदिनुस्, ट्रान्सफर गरेको कूल रकममध्येको दुई प्रतिशत तपाईँले पाउनुहुन्छ,’ भन्दै अफर गर्छन् । कुनै दुःख गर्नुनपर्ने र आएको पैसा अर्को खातामा पठाएबापत नै खुरुखुरु पैसा आउने भएपछि सर्वसाधरणले पनि स्क्यामरले भने अनुसार नै पैसा ट्रान्सफर गर्छन् । 

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार स्क्यामरले पैसा ट्रान्सफर गर्न ६ वटा खातासम्म प्रयोग गरेको हालसम्मको अनुसन्धानले देखाएको छ । पीडितहरू प्रहरीमा पुग्दा शुरूको खातामा रकम ट्रान्सफर भएको व्यक्तिको खाता नम्बर लिएर पुग्छन् । तर, शुरूको व्यक्तिले कमिसन मात्रै पाउने लोभमा पैसा ट्रान्सफर गरेको अनुसन्धानबाट खुल्छ । ‘स्क्यामरले यसैगरी दैनिक करोडौं रुपैयाँ अर्काको खाता प्रयोग गरेर रकम ट्रान्सफर गर्न लगाएको देखिन्छ,’ ती अधिकृतले भने, ‘रकम लिने अन्तिम व्यक्तिसम्म पुग्न धेरै गाह्रो छ ।’ 

पैसा डबल गर्ने नाममा ४५ लाख  गुम्यो

तपाईंलाई लट्री पर्‍यो, यति राशीको पुरस्कार पर्‍यो, सामानहरू पर्‍यो भन्दै स्क्यामरले ‘फ्रिक्वेन्ट्ली’ म्यासेन्जर र ह्वाट्सएपमा म्यासेज पठाउँछन् । लोभमा परेका व्यक्तिले म्यासेज क्लिक गरेर कुरा गर्छन्, अनि शुरू हुन्छ ठग्ने मेलो । शुरूमा कागज बनाउन भन्दै थोरै रकम उल्टै ट्रान्सफर गर्न लगाउँछन् । पछि भन्सार क्लियरेन्सरका लागि भन्दै थप पैसा पठाउन लगाउँछन् । सर्वसाधरणले आफू ठगिएको विषय अन्तिममा मात्रै थाहा पाउँछन् । 

अनुसन्धान कार्यालयका अनुसार एकैजनाले ४५ लाख रुपैयाँसम्म गुमाएको उजुरी परेको छ । केहीलाई त ‘तपाईंको रकम दोब्बर हुन्छ, लगानी गर्नुहोस्,’ भन्दै रकम पठाउन लगाउने गरेको अनुसन्धानले देखाएको छ । शुरूमा हजार/पन्ध्र सय रुपैयाँ डबल गरेर खातामा ट्रान्सफर गरिदिने तर धेरै रकम आएपछि स्क्यामरहरू सम्पर्कमा नआउने गरेको देखिन्छ । 

पठाओ र इन्ड्राइभलाई नै ठगी 

स्क्यामरले पठाओ र इनड्राइभ चालकहरूलाई समेत ठगी गरेका छन् । अफलाइनमा बसेका पठाओ र इनड्राइभ चालकलाई गन्तव्यमा पुर्‍याउनु भनेर लैजाने र गन्तव्यमा पुगेपछि मोबाइल बैंकिङमा पैसा नभएको र आफूले क्यास नबोकेको भन्दै बहाना बनाउने कार्यशैली स्क्यामरले अपनाउँदै आएका छन् ।

स्क्यामरले पठाओ र इनड्राइभ चालकलाई ‘केही समयमा तपाईंको खातामा पैसा आउँछ, तपाईंको भाडा कटाएर मेरोमा ट्रान्सफर गरिदिनुस् है’  भनेर बैंक खाता शेयर गर्छन् । 

चालकको खातामा पैसा आउँछ र उसले स्क्यामरले भनेअनुसारकै खातामा पैसा ट्रान्सफर गरिदिन्छ । पीडितले उजुरी गर्दा पठाओ र इनड्राइभ चालक पर्छन् । ती चालक अनाहकमा कारबाहीमा पर्छन् । 

अनुसन्धान कार्यालयका प्रमुख एसएसपी बस्नेतले अनलाइन ठगीका घटना बढ्दै गएको बताए । 

उनले भने, ‘ठगीमा सोझासाझा मात्रै होइन, पढेलेखेकाहरू नै बढी परेका छन् । केही रकम पाउने लोभमा अपरिचित खाताबाट आएको रकम ट्रान्सफर गरेको देखिन्छ ।’ 

पुरस्कार र लट्रीका नाममा ठगी हुँदै आएको घटना पटक–पटक सार्वजनिक हुँदा पनि सर्वसाधारणलाई अनेक लोभ देखाएर स्क्यामरले ठगी गर्दै आएका छन् । आएका उजुरीअनुसार प्रहरीले कारबाही गरिरहेको जानकारी बस्नेतले दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्