२० असार २०८३, शनिबार

अमेरिकाबाट बिदामा आएका रुपेन्द्र क्रिप्टो कारोबारमा लाग्दा प्रहरी फन्दामा

एक महिनामै तीस करोडको कारोबार
फागुन २५, २०८१
पाेखरा
अमेरिकाबाट बिदामा आएका रुपेन्द्र क्रिप्टो कारोबारमा लाग्दा प्रहरी फन्दामा

जिल्ला प्रहरी कार्यालय कास्कीमा फागुन २३ गते पोखरामा शंकास्पद गतिविधि भइरहेको सूचना आयो । पोखरा-१४ मा गैरकानूनी मानिने अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) कारोबार भइरहेको सूचनाले प्रहरी झस्कियो ।

सूचना पाएलगत्तै कास्की प्रहरी प्रमुख, एसपी श्याम बाबु ओलियाको कमान्डमा टोली खटियो । प्राप्त सूचनालाई पछ्याउँदै प्रहरी शंकास्पद क्षेत्रमा पुग्यो । अन्तत: सूचना सही सावित भयो । प्रहरीले प्रहरीले क्रिप्टो कारोबारमा संलग्न रहेको आरोपमा रुपेन्द्र जिसीसहित पाँच जनालाई पक्राउ गर्‍यो ।

प्रहरी अनुसन्धानमा उनीहरूले अनलाइन जुवा र सट्टेबाजीमा क्रिप्टो करेन्सी प्रयोग गरेको खुलेको छ । अमेरिका बसोबास गर्ने रुपेन्द्र बिदामा नेपाल आएको एक महिना मात्र भएको थियो । नजिकका आफन्तसँग मिलेर कारोबार गर्दा सुरक्षित हुने ठानेर रुपेन्द्रले समूह बनाएको एसपी ओलियाले बताए । 

उनीसँगै फुफुका छोरा विक्रम बाानियाँ, सानी आमाका छोरा रोजन केसी, फुफुका छोरा सज्जन घिमिरे, बहिनी ज्वाइँ सन्दीप कटुवाल मिलेर समूह बनाएका थिए । उनीहरूको साथबाट मोबाइल ३१ थान, कम्प्युटर मनिटर २ थान, कम्प्युटर सीपीयू ३ थान, ल्यापटप ४ थान, आईप्याड १ थान, किबोर्ड २ थान, माउस १ तान, राउटर ४ थान, पेनडाइभ ३ थान, हार्डडिक्स १ थान आदि बरामद गरिएको एसपी ओलियाले बताए । 

उनीहरूको साथबाट नगर ७२ हजार ५०० पनि बरामद गरेको प्रहरीले जानकारी दिएको छ। यस्तै, उनीहरूले आफ्नो तथा आफन्तको नाममा विभिन्न बैंकमा खाता खोली कारोबार गरेको पाइएको प्रहरीले बतायो । उनीहरूबाट भौतिक र अभौतिक गरी ३० करोड कारोबार भएको प्रहरीले जानकारी दिएको छ । 

एसपी ओलियाका अनुसार उनीहरूले तीन सिफ्टमा ग्याबलिङ गराउँथे । एक सिफ्टको ३ हजार डलरले खेलाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनीहरूलाई अभौतिक मुद्रा प्रयोग र जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसूरमा अनुसन्धान अघि बढाइएको छ । अनुसन्धानका लागि अदालतले सात दिनको म्याद दिएको छ । 

के हो क्रिप्टो करेन्सी ? 
क्रिप्टोकरेन्सी निजी क्षेत्रबाट जारी गरिएको मुद्रा हो । जसको अस्तित्व भर्चुअल रूपमा मात्र हुन्छ । यसको अस्तित्व अनलाइनमा मात्र सीमित रहेपनि यसको मूल्य तोकिएको हुन्छ । भर्चुअल भएकाले पनि यसलाई नियमन गर्ने कुनै निकाय छैन । यो करेन्सी प्रयोग गरेर भुक्तानी गर्न पनि मिल्छ । तर, नेपालमा यो मुद्रा गैरकानूनी छ । 

नेपाल राष्ट्र बैंकले २०७४ सालमा बिटक्वाइन कारोबार गैरकानूनी रहेको भन्दै सूचना जारी गरेको थियो । बिटक्वाइन क्रिप्टो करेन्सीको एउटा माध्यम हो । राष्ट्र बैंकले यो मुद्रालाई गैरकानूनी मानेको छ । त्यसकारण नेपालमा यो मुद्रा चलन चल्तीमा ल्याउने गरेमा नेपालको मुलुकी अपराध संहिता २०७४ मा उल्लेख भएको मुद्रा सम्बन्धी कसूर आर्कषित हुन्छ । 

गैरकानूनी मुद्रा कारोबार आरोपमा नेपाल प्रहरीले समयसमयमा विभिन्न व्यक्तिलाई पक्राउ गरिरहन्छ । तर, पोखरामा क्रिप्टो कारोबारमा प्रहरीले यति ठूलो रकममा पक्राउ गरेका यो पहिलो घटना हो । सरकारले क्रिप्टो कारोबारलाई गैरकानूनी मानेपनि यसको कारोबार पछिल्लो समय झन बढ्दै गएको विभिन्न तथ्यांकले देखाएको छ ।

केही महिना अगाडि मात्र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ठगी र क्रिप्टो करेन्सी कारोबारको आरोपमा सात जनालाई पक्राउ गरेको थियो । यो बाहेक केही समय अगाडि कपिलवस्तुमा पनि क्रिप्टो कारोबारमा संलग्न भारतीय नागरिक पक्राउ परेका थिए । उनीहरूले होटल बुक गरेर नेपालमा बसी कारोबारमा संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।  

भारतमा प्रतिबन्धित एप्लिकेसनको प्रयोग नेपालमा गर्न मिल्ने भएकाले उनीहरू भारतबाट नजिक रहेको नेपाल आएर कारोबारमा संलग्न भएको प्रहरी अनुसन्धानमा खुलेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्