२० असार २०८३, शनिबार
संसद्‌मा विपक्षी नेताको सम्बोधन

प्रचण्डको विरोधाभास- राजावादीप्रति नरम, कांग्रेस–एमालेप्रति गरम !

फागुन २८, २०८१
काठमाडौं
प्रचण्डको विरोधाभास- राजावादीप्रति नरम, कांग्रेस–एमालेप्रति गरम !

राजतन्त्र फर्काउन भन्दै राजावादीहरू सल्बलाएका बेला नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले द्वैध चरित्र देखाएका छन् ।

राजावादीले गणतन्त्रमाथि धावा बोलिरहँदा प्रचण्डले सार्वजनिक कार्यक्रममा ‘राजतन्त्ररूपी सामन्ती प्रेतले टाउको उठाउने प्रयास गरे जनताकै बलबाट समाप्त हुनेछन्’ भनेका थिए । 

जनतासँग माओवादी अभियानका क्रममा बोलेको एक हप्तालगत्तै बुधबार प्रतिनिधिसभा बैठकमा उनै प्रचण्डको अभिव्यक्ति राजावादीप्रति नरम र कांग्रेसप्रति गरम देखिएको छ । माओवादी अभियान नै स्थगित गरेर काठमाडौं फर्किएको थियो ।

गणतन्त्रविरुद्ध राजावादीले धावा बोलेपछि प्रमुख प्रतिपक्षीले पनि त्यसविरुद्ध सशक्त मोर्चाबन्दी गर्ने आकलन थियो । आइतबार राजावादीले काठमाडौंकेन्द्रित प्रदर्शन र पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गरे । त्यसपछि त झन् गणतन्त्र आफैंले हुर्काएको दाबी गर्ने माओवादीले विपक्षीको समेत प्रतिनिधित्व गर्दै राजावादीविरुद्ध सशक्त दबाब बढाउने अपेक्षा धेरैले गरेका थिए ।  

माओवादीका केही नेताले अभियानबाट फर्किएपछि गणतन्त्रको पक्षमा देशमा ठूलो सभा गर्ने दाबी गरेका थिए । तर, शुरूआती चरणमा आक्रामकजस्तो देखिए पनि मंगलबारको संसद् बैठकसम्म आइपुग्दा प्रचण्डले कोल्टे फेर्ने संकेत दिएका हुन् ।

सोमबार प्रचण्डको निवासमा बसेको पार्टीका शीर्ष नेताको बैठकले ‘सरकारको कुशासनका कारण राजवादीहरू सल्बलाएको’ निष्कर्ष निकालेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताएका थिए । माओवादीले राजवादीविरुद्ध कुनै विरोधको औपचारिक कार्यक्रम एक्लै राखेन । 

प्रतिनिधिसभा बैठकमा बोल्दै प्रचण्डले सरकारको विश्वसनीयता सकिएपछि राजावादी सडकमा ओर्लिएको दाबी गर्न भुलेनन् । 

‘सरकारको विश्वसनीयता सकिएकै देखेर आज पुरातनपन्थी राजतन्त्रवादी हौसिएका छन् । वर्षौंसम्म बन्द कोठामा समेत राजतन्त्र पुनःस्थापनाको सपना देख्न डराएकाहरू आज सडकमै ओर्लिएका छन् र सडकबाटै राजतन्त्र पुनःस्थापनाको चुनौती दिन थालेका छन्,’ प्रचण्डले भने, ‘राजावादीहरूको यो चहलपहलका पछाडि संगठित प्रयास छ भन्ने कुरा हामीलाई थाहा छ । यसमा देशभित्र र बाहिरका चलखेल पनि मिसिएका छन् ।’

आठ महिना अगाडिसम्म आफैं प्रधानमन्त्री रहेका प्रचण्डले राजावादीको विरोधमा राजनीतिक रङ दलेका छन् । ‘म के भन्न चाहन्छु भने यसखालका चलखेल आज मात्रै भएका होइनन्, नेपालमा यस्ता चलखेल हिजो पनि थिए, अस्ति पनि थिए । तर, अचानक वृद्धि किन भयो ? प्रश्न मुख्यतः यहाँ रहेको छ,’ प्रचण्डले भनेका छन्, ‘पछिल्ला ८ महिनामा सत्तामा रहेका पार्टीहरूले प्रदर्शन गरेको शासकीय शैली र त्यसबाट उत्पन्न असन्तोष नै यसको मूल कारण हो भन्ने बुझ्न अब कठिनाइ छैन ।’ 

आफूले छाड्नेबित्तिकै गणतन्त्रविरुद्ध धावा बोलिएको भन्दै गर्दा प्रचण्ड राजवादीप्रति नरम र सत्ता चलाइरहेका कांग्रेस–एमालेप्रति गरम देखिएका हुन् । गणतन्त्रका लागि देशका हरेक ढुंगामा जनताको रगत बगेको नबिर्सन प्रचण्डले चेतावनी दिए । तर, यस्तो चेतावनी दिँदा प्रचण्डले पूर्वराजाभन्दा कांग्रेस र एमालेलाई बढी प्रहार गरेका छन् । 

राजनीतिक विश्लेषक लोकराज बराल सबै कुरा सरकारले बिगार्‍यो भनेर भाष्य बनाउन नहुने बताउँछन् ।

‘हिजो राजतन्त्रमा गणतन्त्र माग्दा टाउकाको मोल तोकिएको थियो । अहिले राजावादी साथीहरू सम्मानित संसद्‌मै हुनुहुन्छ । लोकतन्त्र र राजतन्त्रको तुलना हुनै सक्दैन भन्ने राम्रो उदाहरण यो भन्दा केही हुन्छ र ? एउटा विचारका रूपमा राजतन्त्रसँग मेरा असहमति छन्, तर म लोकतान्त्रिक हकको सम्मान गर्दछु,’ प्रचण्डले भनेका छन्, ‘एक सय ६ वर्षअघि राजतन्त्र समाप्त भएको रुसमा अझै राजतन्त्रवादी पार्टी अस्तित्वमा छन् । फ्रान्समा अन्तिम राजतन्त्र सकिएको १ सय ७५ वर्ष भयो, अझै पनि त्यहाँ राजतन्त्र फर्काउन चाहने पार्टी अस्तित्वमा छन् । सर्बिया, बुल्गेरिया, इरान, अफगानिस्तानमा पनि राजावादीको स–सानो उपस्थिति देखिएकै छ ।’

राजनीतिक विश्लेषक लोकराज बराल सबै कुरा सरकारले बिगार्‍यो भनेर भाष्य बनाउन नहुने बताउँछन् । ‘हिजो प्रचण्ड पनि लामो समय सत्तामा बसे । उनले ८ महिना अगाडि मिराकल गरेको र आज कांग्रेस–एमालेले रातारात सबै बिगारेर राजावादी सक्रिय भए भन्ने भाष्य र आरोप गलत छ,’ बरालले भने, ‘सत्तामा हुँदा सबैले कमजोरी देखाएका छन् । ओली, देउवा र प्रचण्डमा कुनै भिन्नता छैन । तर, अहिले आएर सबै ओली र देउवाले मात्रै बिगारे भनेर जिम्मेवार नेताले यति संवेदनशील गणतन्त्रको मुद्दामा राजनीति मिसाउन हुँदैन ।’

‘लोकतन्त्र जति प्रचण्डको हो, त्यत्ति नै व्यक्ति ज्ञानेन्द्र शाहको पनि हो’ भनेका प्रचण्डले यसक्रममा पनि कांग्रेस–एमालेमाथि निसाना साँध्न छाडेनन् ।

‘एकातिर राजावादी साथीहरू सडकमा हुनुहुन्छ । सदनमा पनि हुनहुन्छ । उहाँहरूका उद्देश्य प्रस्ट छन् । उहाँहरूले इतिहासको चक्कालाई पछाडितिर फर्काउन चाहनुभएको छ । यो खतरनाक र प्रतिगामी छ,’ प्रचण्डले सम्बोधनका क्रममा भने, ‘अर्कातिर सरकारको कुशासन पनि छ । लोकतन्त्रलाई जति ठूलो चुनौती बाहिरबाट छ, त्यति नै चुनौती सत्तासीन साथीहरूको कुशासनले व्यवस्थाभित्रैबाट छ भन्ने कुरालाई पनि हामीले बिर्सनुहुँदैन ।’

यो पनि पढ्नुहोस्- पूर्वराजा ज्ञानेन्द्र र प्रचण्डबीच मिलेको त्यो एजेन्डा र पछिल्लो संयोग

सडकमा पूर्वराजासमेत उत्रिएर गरिएको प्रदर्शनपछि अहिलेको सामयिक विषय यही नै हो । तर, प्रचण्डले राजावादीभन्दा सत्तारुढ दलहरूलाई निशानामा पारे ।

प्रतिपक्ष र जनताको रचनात्मक खबरदारीलाई सरकारले कुनै भाउ नदिएकै कारण आज जनता सडकमा ओर्लिने अवस्था आएको दाबी प्रचण्डले गरे । 

‘म पछिल्ला प्रदर्शनलाई केही पनि होइनन् भनेर उपेक्षा गर्दिनँ । सत्तामा रहेकाहरूलाई भन्न चाहन्छु, तपाईंहरू पनि यसका निम्ति भागीदार हुनुहुन्छ । विदेशी षड्यन्त्र पनि होलान्, विगतमा पनि हामीले देख्ने गरेका छौं । अस्तिको प्रदर्शनमा पनि देख्यौं । को कसका फोटो टाँसिए, इत्यादि,’ प्रचण्डले भनेका छन्, ‘मुख्य कुरा त त्यहाँ उत्रिएका नेपाली जनता नै हुन् नि ! यसलाई जनताको असन्तोष, अव्यवस्था र कुशासनविरुद्ध जनताको आक्रोशको रूपमा बुझ्न ढिला गरियो भने धेरै ढिला हुनसक्छ । सरकारलाई मेरो चेतावनीपूर्ण आग्रह छ, यसलाई गिजोल्नतिर नलाग्नोेस्, सत्ताको अनावश्यक प्रदर्शनतिर नलाग्नोस् ।’

संसद्‌बाट गर्जिएका प्रचण्ड लगत्तै माओवादी, नेकपा एकीकृत समाजवादी, नेकपासहितको समाजवादी मोर्चाको बैठकमा पुगेका थिए । प्रचण्डसमेत सहभागी भएको सो बैठकको निष्कर्ष भने उनको संसद्को भाषणको उल्टो थियो । गणतन्त्रविरुद्ध राजावादीहरूले गम्भीर षड्यन्त्र गरेको भन्दै कम्युनिस्ट र लोकतन्त्रवादीहरू मिलेर प्रतिवाद गर्ने निर्णय बैठकले गरेको थियो । 

‘०६५ सालमा जनताले तिरस्कार गरिसकेको राजतन्त्र फेरि पुनःस्थापित गर्न हर्कत र ठूलो धृष्टता गर्ने, प्रतिगमनमा लाने, देशलाई शान्ति/समृद्धिमा जान नदिने, उन्नति/प्रगतिमा जान नदिने षड्यन्त्र भइरहेको छ । यो आफैंमा आपत्तिजनक छ । प्रतिगमनमा लाने हर्कत नेपाली जनताका निम्ति स्वीकार्य छैन,’ बैठकपछि नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले भनेका थिए, ‘समाजवादी मोर्चाका लागि यो सैह्य छैन । कम्युनिस्ट, वामपन्थी, प्रगतिशील, लोकतन्त्रवादी, गणतन्त्रवादी कसैको निम्ति पनि यो सैह्य छैन । देशलाई भड्खालोमा हाल्ने प्रयासको सशक्त ढंगले आम जनताकोबीचमा प्रतिवाद गर्ने निर्णय गरेका छौं ।’ 

माओवादी नेता लीलामणि पोखरेल संविधान र गणतन्त्रको विपक्षमा रहेका राजावादीविरुद्ध आफूहरू सशक्त भएर लाग्ने बताउँछन् ।

राजावादीको सक्रियताविरुद्ध चैत १ गते बिहान बुद्धिजीवी  र नागरिक समाजसँग अन्तरक्रिया गर्ने, सोही दिन दिउँसो पत्रकार सम्मेलन गर्ने र चैत १५ गते काठमाडौंमा गणतन्त्रको पक्षमा ठूलो सभा गर्ने निर्णय मोर्चाले गरेको थियो । माओवादीभित्रै पनि जनताले दुःख गरेर ल्याएको गणतन्त्रको खिलाफमा हुने सबै हर्कतको खुलेर प्रतिवाद गर्नुपर्ने मत बलियो छ । 

माओवादी नेता लीलामणि पोखरेल संविधान र गणतन्त्रको विपक्षमा रहेका राजावादीविरुद्ध आफूहरू सशक्त भएर लाग्ने बताउँछन् । ‘राजावादीहरू संविधान र गणतन्त्रको विरोध गर्दै उदण्ड बनिरहेका छन् । यो कुनै हालतमा मान्य हुने कुरा होइन,’ पोखरेलले लोकान्तरसँग भने, ‘राजावादीका यस्ता हर्कत राज्यले बेलैमा नियन्त्रण गर्नुपर्छ । सरकार र दलहरूले एक भएर यस्तो गलत प्रवृत्तिको प्रतिवाद गर्न ढिलाइ गर्नुहुन्न ।’ 

विश्लेषक लोकराज बराल १०/१५ हजार राजावादीहरू सडकमा आउँदैमा जनताले लडेर ल्याएको गणतन्त्र नहल्लिने बताउँछन् । ‘१०औं लाख नागरिकले हप्तौंसम्म सडकमा प्रदर्शन गरेपछि देशमा गणतन्त्र आएको हो । तर, १०/१५ हजार राजावादीले अहिले सडकमा प्रदर्शन गर्दैमा कुनै उद्देश्य नै नभएको राजतन्त्र र ज्ञानेन्द्र फर्किएर आउँदैनन्,’ बरालले भने, ‘अहिलेको व्यवस्थाको खुकुलोपनलाई राजावादीले पेलेका हुन् । उनीहरूले साँच्चै जनताको मन जित्ने हो भने राजावादी पार्टी राप्रपाले दुईतिहाइ ल्याएर जिते हुन्छ ।’

यो पनि पढ्नुहोस्- गणतन्त्रको १७ वर्षमा पूर्वराजा ज्ञानेन्द्रले सञ्चित गरेको ताकत

राजाले देशमा सुन नफलाउने भन्दै बरालले विपक्षी भएकै आधारमा जिम्मेवार नेताले हरेक विषयमा राजनीति घुसाउन नहुने बताए । 

‘राजावादीको उद्देश्य नै छैन । राजा फर्काउँदा सुनैसुन फल्छ ? ज्ञानेन्द्र आए सबै पार्टीलाई तह लगाउँछन् । रेकर्ड राम्रो छैन । उनको पछि किन लाग्ने ? सत्ताको कमजोरीको फाइदा उठाउन खोजेका हुन् । तर, प्रचण्डहरूले भाष्य बनाएको जस्तो पनि होइन । सामाजिक सञ्जालको गलत प्रयोग भएको हो,’ बरालले भने, ‘ओली र देउवाले गर्दा सबै बिग्रिएको भन्नु राजनीति मिसाउन खोज्नु हो । अहिले यथार्थभन्दा सामाजिक सञ्जालबाट बढी हल्ला गरियो । जनताको आक्रोश र निराशालाई चिर्ने काम सत्ताको हो । प्रतिपक्ष पनि जिम्मेवार हुनुपर्छ ।’ 

सत्ताको दुईतिहाइले कुशासन देखाएपछि लोकतन्त्रमाथि अहिलेसम्मको ठूलो संकट आएको प्रचण्डको दाबीको सोही बैठकमा सत्तारुढ दलले प्रतिवाद गरेका थिए ।

आफू सत्तामा हुँदा सबै ठीक र आठ महिनामा सबै गलत भन्ने भ्रमलाई त्याग्न नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रचण्डलाई चुनौती दिएका थिए । थापाले सबैथोक अहिले बिग्रिएको भनेर गलत भाष्य नबनाउन चेतावनी समेत दिए ।

त्यस्तै, एमाले सचिव एवं सांसद गोकर्ण विष्टले लोकतन्त्रको डुंगामा प्वाल पार्ने चेष्टा नगर्न प्रचण्डलाई चेतावनी दिएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्