२८ जेठ २०८३, बिहीबार
रहस्यमयी पर्वतारोहीको कथा

रहस्यमयी बेलायती नागरिक मोरिस: पहिलो विश्वयुद्धको हिरोदेखि सगरमाथाको एकल यात्रासम्म

फागुन २९, २०८१
काठमाडौं
रहस्यमयी बेलायती नागरिक मोरिस: पहिलो विश्वयुद्धको हिरोदेखि सगरमाथाको एकल यात्रासम्म

सन् १९३४ को मे ३१ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोभन्दा केही तल हिउँले ढाकिएको अवस्थामा बेलायती पर्वतारोहीको शव भेटियो ।

उनी थिए, मोरिस विल्सन, जसलाई पहिलो विश्वयुद्धको नायक पनि भनिन्थ्यो । जसरी पनि सगरमाथा चढेर संसारलाई आफ्नो विश्वासको शक्ति देखाउन बेलायतबाट कठिन र रोचक यात्रामा निस्केका थिए ।

कसैको सहयोगविना नै सगरमाथा चढेर देखाउने उनको यो अदम्य साहसबारे बेलायतमै पनि धेरै सामग्री लेखिएका छन् । नेपालमा विल्सनबारे खासै चर्चा हुने गरेको छैन ।

पहिलो विश्वयुद्धको नायक

विल्सनको जन्म सन् १८९८ मा बेलायतको ब्राडफोर्डमा भएको थियो । उनी एक मिल मालिकका छोरा थिए र सामान्य जीवनयापन गरिरहेका थिए ।

तर, पहिलो विश्वयुद्धले उनको जीवनलाई नयाँ मोडमा पुर्‍यो । १८ वर्षको उमेरमा ब्रिटिश सेनामा भर्ती भएका विल्सनले युद्धमा आफ्नो बहादुरी देखाए ।

सन् १९१८ मा फ्रान्सको वाइटशाटेमा भएको युद्धमा उनले एक्लै मशिन गन पोस्ट सम्हालेर जर्मन सेनालाई रोकेका थिए ।

यस बहादुरीका लागि उनलाई मिलिटरी क्रसबाट सम्मानित गरियो । तर, युद्धले उनको शरीरमा गहिरो चोट छाड्यो । उनको बायाँ हातमा धेरै चोट लागेको थियो ।

युद्धपछि विल्सनले सामान्य जीवनमा फर्कन निकै संघर्ष गरे । उनी लन्डन, अमेरिका र न्युजिल्यान्डमा भौँतारिए । तर, शारीरिक र मानसिकरूपमा उनी निकै अस्वस्थ थिए ।

सन् १९३२ मा उनले ३५ दिनको उपवास र प्रार्थना गरेपछि आफू निको भएको दाबी गरे । उनले यो उपचार सयौं मानिसलाई निको पारेका एक रहस्यमय व्यक्तिबाट सिकेको बताए ।

यस घटनाले विल्सनको जीवनमा गहिरो परिवर्तन ल्यायो । उनले आफूले प्राप्त गरेको विश्वासको शक्तिलाई संसारसामु देखाउने संकल्प गरे ।

null

सगरमाथाको रहस्यमय यात्रा

जर्मनीको ब्ल्याक फरेस्टमा आराम गरिरहेका बेला विल्सनले सगरमाथा चढ्नेबारे सोचे ।

सन् १९२४ को ब्रिटिश सगरमाथा अभियान र ह्युस्टनको सगरमाथा उडानबारे पढेपछि आफू पनि सगरमाथा चढ्न सक्ने विश्वास उनमा पलाएको थियो ।

उनले आफ्नो उपवास र प्रार्थनाको शक्तिले सहजै सगरमाथा चढ्न सक्ने ठाने । त्यतिबेला सगरमाथा चढ्न असफल भएका जर्ज मलोरी र एन्ड्रयु इरविनले गर्न नसकेको काम आफूले गर्न सक्ने विश्वास उनमा पलायो ।

त्यसपछि उनले एउटा सानो जहाज किने । जहाजको नाम नै उनले 'एभरेस्ट' राखे । उनीसँग जहाज उडाउने अनुभव थिएन, त्यसैले उनले त्यसको तालिम लिन थाले । उक्त जहाजमार्फत भारतसम्म सहजै पुग्न सकिने विश्वास उनको थियो ।

यद्यपि उनका प्रशिक्षकले त्यो जहाजबाट भारतसम्मको यात्रा तय गर्न नसकिने बताएका थिए, तर उनी आफ्नो अडानबाट पछि हटेनन् ।

विल्सनको पर्वतारोहणको तयारी पनि त्यस्तै कमजोर थियो । उनले कुनै विशेष उपकरण किनेका थिएनन् । उनले पर्वतारोहणसम्बन्धी सामान्यबाहेक अन्य कुनै ज्ञान लिएनन् । हिमपहिरो र चट्टानले दिने चुनौतीलाई सहजै पार गर्न सकिने उनको आंकलन थियो ।

null

भारत हुँदै तिब्बतको यात्रा

सन् १९३३ को अप्रिलमा विल्सनले आफूले किनेको सानो जहाजमार्फत तिब्बतका लागि उडान गर्ने योजना बनाए, तर विमान दुर्घटनाग्रस्त भयो । दुर्घटनामा उनी सामान्य घाइते भए ।

बेलायती सरकारले उनको उडानमा प्रतिबन्ध लगायो, तर उनले त्यसलाई टेरेनन् । उनले उक्त जहाज उडाए । ठाउँ–ठाउँमा रोक्दै दुई हप्तामा भारतसम्म आइपुग्न सफल भए ।

भारतमा त्यतिबेला बेलायती उपनिवेश थियो । त्यहाँ उनको त्यो जहाज जफत गरियो ।

आफ्नो विमान जफत भएपछि उनले पैदलै तिब्बत जाने योजना बनाए । दार्जिलिङमा उनले तेवाङ, रिन्जिङ र छिरिङलाई भेटे, जसले सन् १९३३ को सगरमाथा अभियानमा काम गरेका थिए ।

सन् १९३४ को मार्च २१ मा विल्सन र उनका शेर्पा साथीहरू बौद्ध भिक्षुको भेषमा दार्जिलिङबाट निस्किए । उनीहरू अप्रिल १४ मा रोङ्बुक गुम्बा पुगे, जहाँ उनीहरूलाई न्यानो स्वागत गरियो ।

रोङ्बुक गुम्बा सगरमाथाको उत्तरी भागमा समुद्री सतहबाट ५ हजार ९ मिटरको उचाइमा अवस्थित एक गुम्बा हो । यो तिब्बतको 'जाकार चु' उपत्यकामा अवस्थित छ ।

रोङ्बुकलाई विश्वकै सबैभन्दा उच्च स्थानमा रहेको गुम्बा मानिन्छ ।

त्यहाँ पुगेको दुई दिनपछि विल्सन एक्लै सगरमाथा चढ्ने भनी त्यहाँबाट निस्के ।

सगरमाथा चढ्ने उनको प्रयास

विल्सनले त्यतिबेला आफ्नो डायरी मेन्टेन गरेका थिए । त्यहाँ आफ्नो प्रत्येक दिनको गतिविधि नोट गर्थे । उनको मृत्युपछि फेला परेको डायरीबाट उनले सगरमाथा चढ्न कतिसम्म प्रयास गरे भन्ने थाहा हुन्छ ।

ग्ल्यासियर(हिमताल)मा यात्रा गर्ने अनुभव नभएका विल्सनले रोङ्बुक ग्ल्यासियरमा यात्रा गर्न निकै गाह्रो महसुस गरेका थिए । उनले पुरानो शिविरबाट लिएर आएका क्र्याम्पोनहरू त्यहीं फालिदिए ।

क्र्याम्पोन हिउँ र बरफमा हिँड्दा जुत्तामा जोडेर लगाइने एउटा विशेष प्रकारको यन्त्र हो । यसले हिउँमा हिँड्दा जुत्ताको पकड बलियो बनाउन मिद्दत गर्छ ।

त्यसको ५ दिनपछि उनी 'रुटलेज'को क्याम्प ३ नजिक आउन सफल भए । उनले आफ्नो डायरीमा लेखेका छन्, 'मौसमले मलाई हरायो । कस्तो खराब भाग्य ।'

युद्धको चोटले कमजोर बनेका उनी थप थकित भए र हिउँले उनको दृष्टि पनि कमजोर बन्यो । उनी अन्ततः जुन गुम्बामा शेर्पाहरूसँग पुगेका थिए, त्यहीँ फर्किन बाध्य भए ।

सगरमाथा चढ्ने अर्को प्रयास

त्यसको अठार दिनपछि, मे १२ मा उनी फेरि तेवाङ र रिन्जिङसँग हिमाल चढ्न निस्किए । उनलाई शेर्पाहरूले पर्वतारोहणसम्बन्धी धेरै कुराहरू सिकाए ।

उनीहरूकै मद्दतले विल्सन तीन दिनमा क्याम्प ३ पुगे । खराब मौसमका कारण केही दिन क्याम्पमा बसेपछि विल्सनले त्यसमाथि रहेका हिउँले ढाकिएका शृंखला चढ्ने सम्भावित मार्गबारे विचार गर्न थाले ।

मे २१ मा उनले नर्थ कोल चढ्ने असफल प्रयास गरे । त्यसको भोलिपल्ट उनले फेरि प्रयास गरे । गर्दागर्दै चार दिनसम्म उनको प्रयास प्रयासमै सीमित रह्यो । ६ हजार ९०० मिटरको उचाइमा रहेको ४० फिटको बरफको पर्खाल काटेर अघि जान उनी असफल भए ।

शेर्पाहरूले उनलाई गुम्बामा फर्कन आग्रह गरे, तर उनले अस्वीकार गरे ।

मे २९ मा उनले एक्लै अन्तिम प्रयास गरे । कमजोर भएकाले त्यस दिन कोल चढ्न सकेनन् र शेर्पाहरू बसेको क्याम्पबाट केही सय मिटर टाढा आफ्नो क्याम्प लगाए ।

मे ३१ मा उनले डायरीमा अन्तिमपटक लेखे, 'म आज फेरि निस्किएँ, कति सुन्दर दिन !'

रहस्यमय मृत्यु र विवाद

त्यसपछि विल्सन फर्केनन् । उनी नफर्केपछि तेवाङ र रिन्जिङ क्याम्प ३ बाट फर्किए । उनीहरू जुलाइको अन्त्यमा दार्जिलिङको कालिम्पोङ पुगे र सगरमाथा चढ्ने क्रममा विल्सनको मृत्यु भएको खबर सुनाए ।

सन् १९३५ मा एरिक शिपटनको नेतृत्वमा सगरमाथा चढेको एक टोलीले विल्सनको शव 'नर्थ कोल'को फेदमा फेला पारे । उनको डायरी भएको झोला नजिकै थियो । त्यसपछि उनको शव नजिकैको खाल्डोमा गाडियो ।

सन् २००३ मा थोमस नोयले विल्सन सगरमाथाको शिखरमा पुगेको र फर्कने क्रममा मृत्यु भएको प्रस्ताव गरे । उनले सन् १९६० मा चिनियाँ अभियानमा शिखरमा पुगेका तिब्बती पर्वतारोही गोम्बुसँग गरेको अन्तर्वार्तालाई प्रमाणको रूपमा प्रस्तुत गरे ।

गोम्बुले ८ हजार ५०० मिटरको उचाइमा पुरानो पालको अवशेष फेला पारेको बताए, जुन अघिल्ला ब्रिटिश अभियानहरूले स्थापना गरेको कुनै पनि शिविरभन्दा केही माथि थियो । विल्सनले नै त्यो पाल टाँगेको उनको दाबी थियो । नोयले गरेको प्रस्तावले समर्थन जुटाउन सकेन । विल्सन सगरमाथाको चुचुरोमा पुगेर फर्केको पुष्टि हुने थप प्रमाण पनि जुट्न सकेनन् ।

पहिलो विश्वयुद्धका हिरो विल्सनको एक्लै सगरमाथा चढ्ने अदम्य साहसको भने बेलायतमा यदाकदा चर्चा हुने गर्छ । विल्सनबारे नेपालमा भने खासै चर्चा छैन ।

null

लेखक एड सिजरद्वारा लिखित The Moth and the Mountain: A True Story of Love, War and Everest किताबमा आधारित

 

salt training

कमेन्ट गर्नुहोस्