
चितवनमा भूमि समस्या समाधान आयोगले भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाण पूर्जा वितरणा शुरू गरेको छ ।
पूर्वी चितवनको रत्ननगर नगरपालिकाबाट पूर्जा वितरण शुरू गरेको हो । आयोग बनेपछि पहिलोपटक पूर्जा वितरण गरिएको जनाइएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले रत्ननगर नगरपालिकाका १२३ घरपरिवारलाई पूर्जा वितरण गरी कार्यक्रमको शुभारम्भ गरे । सो अवसरमा उनले भूमिसम्बन्धी समस्या समाधानका लागि सरकारले नयाँ कानूनको व्यवस्था गर्ने बताए ।
अहिले गौचरन, चिहानडाँडा, मध्यवर्ती क्षेत्र, वन क्षेत्र, नुन खर्कलगायतका क्षेत्रका बस्तीमा समस्या देखिएको बताउँदै उनले यस्ता समस्या समाधानका लागि सरकारले काम गरिरहेको जानकारी दिए ।
सरकारले भूमिसम्बन्धी अध्यादेशमार्फत् समस्या समाधानको उपाय खोजेको भए पनि अहिले राष्ट्रियसभामा गएर अड्किएको बताए ।
सो अवसरमा भूमि समस्या समाधान आयोगका अध्यक्ष हरिप्रसाद रिजालले जनता राज्यका शक्ति भएकाले उनीहरूलाई जग्गाधनी प्रमाण पूर्जा दिनु सरकारको मुख्य दायित्व रहेको बताए ।
तीन वर्षभित्र १० लाख ९७ हजार ६७० जनाको समस्या समाधान गर्नेगरी काम अघि बढाइएको उनले बताए ।
आयोगका उपाध्यक्ष सनतकुमार कार्कीले सुकुम्बासी समस्या समाधानका लागि आयोगले तीव्र गतिमा काम गर्ने बताए । नेपालभरिका भूमिहीन, सुकुम्बासी, भूमिहीन दलित, अव्यवस्थित बसोबासीलाई पूर्जा दिने अभियान सञ्चालन गरिने उनको भनाइ छ । सबै दलको सहमतिमा भूमिहीनको पहिचान गर्नुपर्ने उनले बताए ।
कार्यक्रममा आयोगका जिल्ला अध्यक्ष इमानसिंह मोक्तानले वार्षिक क्यालेन्डर अनुसार काम गर्ने जानकारी दिए । उनले जिल्लामा रहेका १० हजारभन्दा बढी भूमिसम्बन्धी समस्या भएकाहरूको समस्या समाधानका लागि प्रतिबद्धता व्यक्त गरे ।
रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटाले नगरभित्रका दुई हजार ६४३ परिवारको भूमिसम्बन्धी समस्या समाधान गर्न आवश्यक रहेको बताए ।
५५ वर्षदेखि बसोबास गर्दै आएका १२३ जनालाई जग्गाधनी प्रमाण पूर्जा वितरण गर्न पाउँदा आफू निकै खुसी भएको उनको भनाइ छ ।
आजै भरतपुर महानगरपालिकाका १०८ घरपरिवारलाई पनि जग्गाधनी प्रमाण पूर्जा वितरण गरिने जनाइएको छ ।