अहिले हामी शैक्षिक सत्र २०८१ को अन्त्यतिर छौं । प्रारम्भिक बाल विकासदेखि कक्षा १२ सम्मको परीक्षा आउँदैछ । यो समय आम विद्यार्थी,शिक्षक र अभिभावकका लागि अति महत्त्वपूर्ण हुन्छ । वर्षभरिको शैक्षिक खेती प्रदर्शन गर्ने, संकलन गर्ने, भित्र्याउने र ग्रेडिङ गर्ने-गराउने समय आउँदै छ ।
परीक्षामा उत्तीर्ण हुने उदेश्य र चाहना सबै विद्यार्थिको हुन्छ । वर्षभरि पढ्दा सबै विद्यार्थीले विषयवस्तुको बारेमा केही न केही पक्कै पनि जानेका हुन्छन् । अझ मेधावी विद्यार्थी र उनका अभिभावक तथा आम शिक्षकका लागि त परीक्षाको समयअवधि विशेष रहने गर्छ ।
घरमापरीक्षाको तयारी कसरी गर्ने?
- अभिभावकले परीक्षाको समय अवधिभरि घरमा शान्तिपूर्ण वातावरण कायम राख्ने(हुनत सधैँभरि नै गर्नुपर्छ) र आफ्ना बालबच्चाको क्रियाकलापमा विशेष ध्यान दिने ।
- अभिभावकले परीक्षाको समय अवधिभर आफ्ना बालबालिकहरूलाई मोबाइल, ट्याब, टि.भी, भिडियो गेम आदि प्रयोगबाट टाढा राख्ने ।
- परीक्षाको समय अवधिभर शारीरिक र मानसिक रुपमा स्वस्थ हुनु अति आवश्यक छ । जसका लागि अभिभावक तथा स्वयं विद्यार्थीहरूले आफ्नो आहार,विहार र विचारमा विशेष ध्यान दिनुपर्छ । सकेसम्म सात्विक र सन्तुलित खाना खाने,प्रशस्त झोलिलो खाद्यपदार्थ खाने,सुत्ने र उठने समय निश्चित गर्ने,निद्रा पर्याप्त पुर्याउने,तनाव र चिन्ता नलिने बरु बिहान ३/४ मिनेट ध्यान तथा प्राणयाम गर्ने ।
- अभिभावकले पनि परीक्षाको बेलामा आफ्ना बालबालिकालाई लगातार पढिरहन भन्दा पनि बिचबिचमा ब्रेक लिएर फ्रेस हुँदै पढ्न प्रेरित गर्नुपर्छ । उनीहरूको आत्मबललाई बढाउने प्रयास गर्ने ।
- शिक्षकबाट प्राप्त नोटको अध्ययन तथा सम्भावित प्रश्नको उत्तरको तयारी गर्न र गराउन अभिभावकले आफ्ना बालबालिकालाई सहयोग गर्ने ।
- विषयवस्तु घोकेर होइन बुझेर, मुख्य बुँदा टिपेर सरसर्ती पढ्ने र आवश्यक परे लेख्ने ।
- सम्भव भएमा विशिष्टिकरण तालिका र नमूना प्रश्न हेर्ने र मनमनै उत्तर सोच्ने, भाषिक विषयको हकमा समय छ भने, एक दुई प्रश्नको समयसीमा तोकेर उत्तर लेख्ने गर्दा आत्मविश्वास बढ्छ ।
- परीक्षामा आफूलाई चाहिने प्रवेश पत्र र स्टेशनरी सामग्री जस्तै पेन, पेन्सिल, स्केल, इरेजर आदिको व्यवस्था गर्ने ।
परीक्षा हलमा के गर्ने ?
हुन त विद्यार्थीले कुनै विषयको बारेमा कति जानेका छन् भन्ने कुरा २/३ घन्टाको लिखित परीक्षाले मूल्यांकन गर्न सक्दैन । फेरि पनि, पेपर-पेन्सिल परीक्षा सिस्टममा सिदान्ततः विद्यार्थीको ज्ञान र क्षमताको परीक्षण यसैबाट हुन्छ ।
निर्धारित समयमा विषयवस्तुका बारेमा आफूले जानेको कुरालाई कसरी संयोजन गरेर प्रस्तुत गर्न सकिन्छ, त्यसले नतिजामा विशेष प्रभाव पार्छ । त्यसैले विद्यार्थीले परीक्षा हलमा विशेष सावधानी अपनाउनुपर्छ ।
- परीक्षाहलमा उच्च आत्मबलका साथ प्रवेश गरी तोकिएको सिटमा बस्ने ।
- उत्तरपुस्तिकामा स्पष्ट रूपमा आफ्नो नाम, सिम्बोल नं अक्षर र अंकमा, विषय, कक्षा, भाषाको माध्यम आदि (उत्तरपुस्तिकामा निर्देशन गरेबमोजिम) लेख्ने ।
- प्रश्नपत्र पाइसकेपछि ३-४ पटक लामो गहिरो सास लिने जसले हाम्रो मस्तिष्कमा पर्याप्त मात्रामा अक्सिजन पुग्छ जसले स्मृति र तर्क शक्तिलाई बलियो बनाउँछ ।
- परीक्षा हलको वातावरणलाई मर्यादित बनाउने काम हलमा खटिएको निरिक्षकले गर्नुपर्छ, ताकी मेधावी विद्यार्थीले आफ्नो ज्ञान, सीप र दक्षता भरपुर रूपमा प्रयोग गर्ने अवसर पाऊन् ।
- साना कक्षाका बालबालिकाले हतार गरेर कतिपय प्रश्नको उत्तर नलेखी परीक्षा हलबाट बाहिर निस्कने स्वभाव हुने हुँदा उनीहरूले सबै प्रश्नको उत्तर लेखे नलेखे को सुनिश्चित गरेर मात्र निरिक्षकले विद्यार्थीलाई बाहिर जान दिनुपर्छ ।
- एस.ई.ईको उत्तरपुस्तिकामा दुवै साइडमा आवश्यक मार्जिन दिइएको हुन्छ, तर अन्य कक्षाको उत्तरपुस्तिकाको दायाँ र बायाँ स्केलले ठाडो रेखा तानेर केही मार्जिन छोड्दा अंक दिन सजिलो हुन्छ र उत्तरपुस्तिका समेत आकर्षक देखिन्छ ।
- प्रश्नपत्र पाउनेबित्तिकै १/२ मिनेट लगाएर सरसर्ती सबै प्रश्न हेर्ने तर आफूले राम्रोसँग जानेको कुनै पनि प्रश्नबाट उत्तर लेख्न शुरू गर्ने ।
- हरेक प्रश्नको उत्तर लेख्नुपूर्व प्रश्न राम्रोसँग पढेर, बुझेर मात्र लेख्ने गर्नुपर्छ ।
- कतिपय विद्यार्थीले प्रश्न सार्ने गरेको पाइन्छ यस्तो गर्नुहुँदैन । किनकि विद्यार्थीलाई दिइएको समय उत्तर लेख्नलाई मात्र हो । तर कति नं. प्रश्नको उत्तर लेख्ने हो, त्यो भने स्पष्ट लेख्नुपर्छ ।
- प्रश्नको उत्तर लेख्दा (विशेष गरी भाषिक विषयको हकमा) सम्बन्धित प्रश्नको अंकभार हेर्ने र अति छोटो प्रश्न १ अंकभारको छ भने सामान्यतः १/२ वाक्य वा बुँदा र ३,४,५ अंकभारका प्रश्नहरूमा क्रमशः कम्तिमा ४,५,६ वटा बुँदा वा सोही अनुसारको अनुच्छेद लेख्ने वा प्रश्नको निर्देशन बमोजिम लेख्ने गर्नुपर्छ ।
- भाषिक विषयमा लामो उत्तर आउने प्रश्न (खासगरी नेपाली र अंग्रेजी विषयमा निबन्ध लेखन)को उत्तर लेख्दा कम्तिमा ५/६ वटा अनुच्छेदमा लेख्नुपर्छ र पहिलो अनुच्छेदमा शीर्ष वाक्य र त्यसपछिका हरेक अनुच्छेदमा मुख्य वाक्य (Topic sentence)समावेश गर्दै लेख्ने गर्नुपर्छ । लेखाइमा भाषिक शुद्धता, संगठन, तथ्य, उदाहरण आदि समावेश गर्नु पर्छ ।
- हरेक प्रश्नको उत्तर लेखे पछि कम्तिमा १/२ लाइन ग्याप छोड्नुपर्छ, जसले उत्तरपुस्तिकालाई सफा र आकर्षक देखिन सहयोग पुग्छ ।
- मेधावी विद्यार्थीले आफ्ना प्रतिस्पर्धीको भन्दा राम्रो अंक पाउनको लागि उत्तर लेख्दा भाषिक विषयमा कतिपय प्रश्नले खोजेजस्तो मौलिकता र सिर्जनशीलतामा जोड दिनुपर्छ ।
- थप उत्तरपुस्तिकामा थपेको विवरण निरीक्षकबाट प्रमाणित गर्ने र मसी परिवर्तन गर्दा पनि सोही अनुसार गर्ने ।
- कतिपय विद्यार्थीले आफूले जानेको प्रश्नको उत्तर लामो लेख्ने गरेको पाइन्छ तर यसो गर्दा नत तोकिएको भन्दा बढी अंक नै आउँछ, नत बाँकी प्रश्नको उत्तरलाई समय नै पुग्छ । यसर्थ समय व्यवस्थापनमा विशेष ख्याल गर्नुपर्छ ।
- कुनै चित्र वा फिगर बनाउनु परेमा सीसाकलमको अनिवार्य प्रयोग गर्ने ।
- निर्धारित समय भन्दा १५ मिनेट पहिले प्रश्नको उत्तर लेखेको सक्ने र बाँकी समय आफूले लेखेको उत्तर हेर्ने । कहीँ कतै गल्ती भएको भए सच्याउने तर अनावश्यक रूपले केरमेट नगर्ने । गल्ती शब्द वा वाक्यमा सामान्य एउटा सिधा क्रस लाइन तान्ने ।
- आफ्नो उत्तरपुस्तिका निरीक्षकलाई बुझाउनुभन्दा पहिले राम्रोसँग स्टिच गरेर बुझाउने ।
- परीक्षाहलबाट बाहिर निस्कँदा आफ्नो प्रवेश पत्र, आफूले लिएर गएका स्टेशनरी सामग्री आफूसँग भएको सुनिश्चित गर्ने ।
परीक्षा हलबाट बाहिर निस्केपछि प्रश्न उत्तरको बारेमा स्वभाविक रूपमा साथी र गुरूसँग चर्चा हुन सक्छ । यदि कुनै उत्तर गल्ती भएको भए पनि त्यसको चिन्ता नलिने, जसले गर्दा तनाव सिर्जना भई आउने आगामी परीक्षालाई असर पार्न सक्छ । बरू फ्रेस भएर अर्को दिन हुने विषयको बारेमा सोच्ने, छलफल गर्ने र तयारी गर्ने ।
निष्कर्ष
कतिपय विद्यार्थीले परीक्षालाई बोझ र समस्याको रूपमा लिने गर्छन् । जसले गर्दा विद्यार्थीमा अनावश्यक डर, त्रास, चिन्ता र तनाव उत्पन्न हुन सक्छ र विद्यार्थीले आफूले जानेका कुरा भुल्ने र राम्रोसँग लेख्न नसक्ने अवस्था आउन सक्छ ।
परीक्षालाई समस्या होइन अवसरको रुपमा लिएर र उच्च आत्मविश्वासका साथ परीक्षामा सहभागी हुँदा अपेक्षित उपलब्धी प्राप्त हुन सक्छ ।
अझै पनि हाम्रो मूल्यांकन पद्धतिले 'पेपर-पेन्सिल टेस्ट' र वार्षिक परीक्षाको नतिजालाई प्राथमिकता दिइरहेको हुँदा, आम विद्यार्थी, शिक्षक तथा अभिभावकले आ-आफ्नो स्थानबाट आफ्नो जिम्मेवारी पुरा गर्दै परीक्षाको समयमा चिन्ता होइन, विशेष चिन्तन गर्नु पर्ने आवश्यकता देखिन्छ ।