![सूर्यविनायक–धुलिखेल ६ लेन सडकले आकार लिन थाल्यो, धमाधम हुँदैछ विस्तारको काम [ड्रोन भिडियो]](https://lktcdn2.prixacdn.net/media/suryabinayak_dhulikhel_final_Ne1nAulRzu.jpg)
अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडक ६ लेनमा विस्तारको काम थालिएको दुई वर्ष बढी समय बितिसक्यो । तीन वर्षभित्र सम्पन्न गर्नेगरी सम्झौता भएको सडक विस्तारको भौतिक प्रगति हालसम्म ४३ प्रतिशत मात्रै छ ।
२०७९ पुस २४ गते सडक विस्तारको सम्झौता भएको थियो । दुई खण्डमा विभाजनगरी निर्माण शुरू गरिएको उक्त सडकमा २ फरक निर्माण कम्पनीले काम गरिरहेका छन् ।
धुलिखेल–साँगा ८.३ किलोमिटरमा लामा कन्स्ट्रक्सनले काम गरिरहेको छ भने सूर्यविनायक–साँगा ७.८ किलोमिटरमा आशिष–कुमार श्रेष्ठ–बन्दन भगवती जेभीले ठेक्का पाएको छ ।
यी दुई खण्डमध्ये धुलिखेलको दुई किलोमिटरमा उल्लेखनीय प्रगति भएको सूर्यविनायक–धुलिखेल सडक आयोजना सूचना अधिकारी ई. सजना अधिकारीले बताइन् । उनका अनुसार सूर्यविनायकतर्फको साँगा क्षेत्रमा पनि काम धमाधम भइरहेको छ ।
शुरूको सम्झौता अनुरूप तोकिएको समयमै काम सम्पन्न गर्न अब निर्माण कम्पनीहरूसँग १० महिना मात्रै बाँकी छ । हालसम्म आर्थिक प्रगति ४० भने प्रतिशत भएको छ ।

बीपी राजमार्ग र अरनिको राजमार्गमा गुड्ने सवारीलगायत बनेपा, धुलिखेल, भक्तपुर र आसपासका स्थानीय सवारीसाधनलाई लक्षितगरी सडक विस्तार गर्न थालिएको थियो ।
सडक विस्तारका क्रममा हिलो र धूलोका कारण नागरिकले ठूलो सास्ती खेप्नुपरेको छ । विस्तारको काममा भएको ढिलाइका कारण स्थानीय तथा यात्रुले खेप्नुपर्ने हैरानीसमेत बढिरहेको छ ।
आयोजनाका अनुसार धुलिखेलसम्मको मुख्य सडक र सर्भिस लेनगरी ६ लेनको सडक विस्तार कार्य अघिल्ला वर्षहरूबाटै बजेट अभावका कारणले सुस्त भएको छ ।
यस्तै, सडक मापदण्डभित्र परेका केही स्थायी संरचना हटाउन अवरोध हुँदा पनि काममा ढिलाइ भएको आयोजनाले जनाएको छ । आयोजनामा पर्ने ढल, खानेपानी तथा बिजुलीको पोल सार्नेजस्ता काम पनि ढिलो भएको आयोजनाले जनाएको छ । अहिले सडकको दायाँबायाँ पर्खाल लगाउने, नाली र कल्भर्ट निर्माण गर्ने काम भइरहेको छ ।
सूर्यविनायक–धुलिखेल सडक विस्तारका क्रममा १ सय ७३ वटा घरटहरा हटाउनुपर्ने छन् । अदालतले सडककै क्षेत्रमा परेका ती घरटहरा हटाउन क्षतिपूर्ति दिनु नपर्ने फैसला गरेका कारण देखिएको समस्याबारे छिट्टै सर्वदलीय बैठकबाट समाधान निकाल्ने इन्जिनियर अधिकारीको भनाइ छ ।
करिब एक वर्षअघि बनेपा बजार क्षेत्रमा पुलको हाइटको विषयमा विवाद हुँदा पनि निर्माणमा अवरोध आएको थियो । यो विवाद अहिले समाधान भइसकेको अधिकारीले जानकारी दिइन् ।
२०७९ चैत १६ गतेदेखि निर्माण शुरू गरिएको यो खण्डका लागि करिब ८ अर्ब ५२ करोड लागतमा निर्माण सम्झौता भएको छ ।सडक खण्डमा तीन स्थानमा पक्की पुलसमेत निर्माण गर्नेगरी सम्झौता भएको छ ।
तीन वर्षमा निर्माण सक्ने लक्ष्यसहित यो सडकमा २० मिटरको मुख्य र दायाँ–बायाँ ५/५ मिटरको सर्भिस लेन तथा साढे २ मिटरको पैदल मार्ग निर्माण गर्नेगरी सम्झौता भएको छ ।
यसैगरी, ७.५ किलोमिटर दूरी रहेको पहिलो खण्ड सूर्यविनायक–साँगा सडक विस्तारका लागि ३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँ लागतमा ठेक्का सम्झौता गरिएको छ ।
यस्तै, ८.३ किलोमिटर दूरीको साँगा–धुलिखेल सडकखण्ड विस्तारका लागि ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।
आयोजनमा तीनवटा पुल निर्माणका लागि हिम्दुङ एन्ड थोकर निर्माण कम्पनीसँग २०७९ चैतमा ठेक्का सम्झौता गरिएको छ । यी तीन पुलको कुल लागत करिब १ अर्ब अनुमान गरिएको छ ।
भिडियो