३० असार २०८३, मंगलबार
आवेगमा अपराध

‘आवेशप्रेरित हत्या’को बढ्दो ग्राफ– सानो कुरामा ज्यानै लिन किन तयार हुन्छ मान्छे ?

चैत १४, २०८१
काठमाडौं
‘आवेशप्रेरित हत्या’को बढ्दो ग्राफ– सानो कुरामा ज्यानै लिन किन तयार हुन्छ मान्छे ?

मकवानपुरको हेटौंडा– १ चौकीटोलमा एक महिलाको हत्या भयो । ३५ वर्षीया गुडिया दासको हत्या उनकै देवर नाता पर्ने २२ वर्षीय राहुलले खुकुरी प्रहार गरी गरेका थिए ।

प्रहरीले अनुसन्धान गर्दा नयाँ तथ्य फेला पर्‍यो । नशालु पदार्थ सेवनकर्ता राहुलले आफूलाई लागूऔषध सेवनका लागि पैसा नदिँदा जेठी भाउजू गुडियामाथि खुकुरी प्रहार गरेका थिए । 

तीन सन्तानकी आमा गुडियासँग लामो प्रयासमा पनि सम्पर्क हुन नसकेपछि खोजतलास गर्दै जाँदा रगताम्य अवस्थामा घरभित्रै शव फेला परेको थियो । 

प्रहरी अनुसन्धानका क्रममा राहुललाई परिवारले ‘गजेडी’ भनेर घृणाको दृष्टिले हेर्दै आएको खुल्यो । उनले प्रहरी बयानमा पनि उक्त व्यहोरा खुलाएका छन् । 

राहुलका जेठा दाजु वैदेशिक रोजगारका लागि कतारमा छन् । राहुलले माइलो दाजुलाई पनि खुकुरी प्रहार गरेका थिए । उनी अस्पतालमा उपचाररत छन् । परिवारबाट विक्षिप्त बनेका राहुलको आफ्नै बाबुसँग पनि विगत २ वर्षदेखि बोलचाल बन्द थियो । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसएसपी विश्वराज खड्काका अनुसार लागूऔषधको कुलतमा फस्दा राहुलले होश सम्हाल्न नसकेर भाउजूको हत्या गरेको अनुसन्धानबाट खुलेको छ । 

‘लागूऔषधको नशाले राहुलको परिवारभित्रै बेमेल देखियो । परिवारले उनलाई समयमै रिह्याब पठाउन सकेको भए आज यो परिस्थिति आउने थिएन,’ खड्काले लोकान्तरसँग भने, ‘लागूऔषध सेवनविरुद्ध सचेतना जगाउँदा पनि समाजमा यस्ता घटना भइरहेकोप्रति प्रहरी संवेदनशील छ ।’​

बहिनीलाई जिस्क्याएको भन्दै हत्या !

ललितपुरको महालक्ष्मी नगरपालिका– ४ ओचु हाइटस्थित मन्दिरअगाडि बुधबार राति एक पुरुषको शव भेटियो । धारिलो हतियार प्रहार गरी हत्या गरिएका व्यक्ति रामेछाप घर भएर ओचुहाइट बस्ने ३० वर्षीय रिपक खाती रहेको खुल्यो । 

खातीको हत्यामा संलग्न भएको आरोपमा ओच हाइटकै २५ वर्षीय सुमन रसाइली पक्राउ परे । प्रहरीले रसाइलीसँग लिएको प्रारम्भिक बयानमा उनले आफ्नी बहिनीलाई पटक–पटक जिस्क्याएका कारण आवेशमा आएर खुकुरी प्रहार गरेको बताए । रसाइलीले खातीलाई यसअघि पनि बहिनीलाई ननिस्काउन सम्झाएका रहेछन् । 

जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार बहिनी जिस्क्याएको निहुँमा रसाइलीले खातीमाथि अन्धाधुन्ध खुकुरी प्रहार गरेको देखिन्छ ।

‘प्रहरीमा उजुरी गरेको भए सम्झाइबुझाइ हुन्थ्यो, त्यो पनि भएन, रसाइली आवेगमा आएर खातीमाथि खुकुरी प्रहार गरेको देखिन्छ,’ एसएसपी अधिकारीले लोकान्तरसँग भने, ‘समयमै उपचार नपाउँदा खातीको मृत्यु भयो ।’ 

होलीको झगडाले निम्त्याएको हत्या घटना

गएको सोमबार कलंकीस्थित एलआरआई स्कूलनजिकै २२ वर्षीय अभय गोलेले ज्यान गुमाए । ढुंगेअड्डाका स्थानीय गोलेलाई पुरानो रिसइबीका कारण अर्को समूहले कुटपिट गरेको थियो । घाइते भएका उनको उपचारका क्रममा अस्पतालमा ज्यान गयो । २२ देखि २४ वर्ष उमेर समूहका युवकहरू ‘ग्याङ’ बनाएर कुटपिटमा उत्रिएपछिको घटनाले अनाहकमा गोलेको ज्यान लियो । 

यो घटनामा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ । मृतक अभय गोले र नैकाप घर भएका निश्चल मगरको बीचमा फागु पूर्णिमाको अघिल्लो दिन (फागुन २८) मा विवाद भएको थियो । अभयले निश्चललाई थप्पड हानेको आरोप छ । थप्पड हानेको विवाद बढ्दै जाँदा दुई समूहबीच ‘ग्याङफाइट’ भएको थियो । त्यही बेला अभयमाथि रड प्रहार भयो । गम्भीर घाइते उनलाई अस्पताल पुर्‍याइए पनि उपचारका क्रममा ज्यान गयो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारी भन्छन्, ‘सामान्य विवादमा ग्याङ बनाएर भर्खरका युवाहरू कुटपिटमा उत्रिँदा यो घटना निम्तिएको देखिन्छ । परिवारले बेलैमा आफ्ना सन्तानलाई काबुमा राख्न नसक्दाको परिणाम पनि हो यो ।’ 

पक्राउ परेकामध्ये केही लागूऔषध प्रयोगकर्ता रहेको र नसामा रहेकै बेला समूह बनाएर अराजक गतिविधि गर्दै आएको सूचना यसअघि पनि प्रहरीलाई पुगेको थियो । 

सामान्य विवादमा भक्तपुरमा दुई जनाको हत्या

सामान्य विवादमा २ साताअघि भक्तपुरमा दुईजनाको हत्या भयो । प्रहरीले हत्यामा संलग्न भएको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । मध्यपुरथिमी नगरपालिका– ६ बस्ने ३२ वर्षीय लक्ष्मण खड्काको कुटपिट गरी हत्या गरेको आरोपमा सर्लाहीको लालबन्दी नगरपालिका– ९ घर भएका ३९ वर्षीय यादव पौडेल र सिन्धुली तीनपाटन गाउँपालिका– ३ चकमके घर भएका २४ वर्षीय अनिश तामाङ पक्राउ परे । 

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी ढुण्डीराज नेउपानेका अनुसार सामान्य विवादमा पौडेल र तामाङले आवेगमा आएर खड्कालाई कुटपिट गरेका थिए । त्यसैक्रममा खड्काको ज्यान गयो । मध्यपुरथिमी नगरपालिका– २ सानोठिमी मगरगाउँ जाने सडकको छेउमा गत फागुन २७ गते बिहान अचेत अवस्थामा फेला परेका लक्ष्मणको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा थप उपचारका क्रममा मृत्यु भएको थियो ।

भक्तपुरकै मध्यपुर ठिमी नगरपालिका वडा नं. ९ बोडे निलबाराहीस्थित पिकनिक स्पटमा खोटाङको केपिलासगढी गाउँपालिका वडा नम्बर २ घर भई हाल बोडे बस्ने ६६ वर्षीय ओमप्रकाश राईको शव फेला  । 

अनुसन्धान गर्दै जाँदा राई कबाडीको काम गर्दै आएको र स्थानीय पूजामा चढाएको भेटी लिने विवादमा उनको हत्या भएको खुल्यो । हत्यामा संलग्न भएको आरोपमा रोल्पास्थित परिवर्तन गाँउपालिका वडा नम्बर ६ का हिमाल बुढामगरलाई प्रहरीले पक्राउ गर्‍यो । एसपी नेउपानेका अनुसार लामा पूजामा चढाएको भेटी लिने विवादमा बुढामगरले आवेगमा आएर राईलाई ढुंगाले हानेका थिए । उनको त्यहीँ मृत्यु भएको थियो । 

***

सामान्य विवादमा ख्यालख्यालमै अरूको ज्यान लिने यस्ता घटना कम हुनुको साटो बढिरहेका छन् । यसलाई रोक्न प्रहरी एक्लैको प्रयासले सम्भव देखिन्न । यसका लागि पहिला स्वयं व्यक्तिको चेतना माथि उठ्नुपर्ने र परिवारको समेत भूमिका सकारात्मक हुनुपर्ने तर्क प्रहरीको छ । विज्ञहरूले पनि व्यक्तिले आवेगमा निम्त्याउने यस्ता घटना नियन्त्रण गर्न सजिलो नहुने टिप्पणी गरेका छन् । 

पूर्व डीआईजी हेमन्त मल्ल ठकुरीले आवेशप्ररित हत्या नियन्त्रण गर्न सजिलो नहुने बताए ।

‘पछिल्ला दिनमा सामान्य विवादहरू मोबाइल चोरेको, युवती जिस्क्याएको, धकेलाधकेल भएको, मदिराको नसामा हातहालाहाल गरेको जस्ता घटनाले व्यक्तिको ज्यान लिइरहेको छ,’ ठकुरी भन्छन्, ‘आवेशप्रेरित घटना कुनै पूर्वयोजना वा तयारीले घटाएका हुँदैनन्, यस्ता घटना हुन नदिन त्यति नै बेला घटनास्थलमा रहेका अन्य व्यक्तिमा पनि निर्भर रहन्छ ।’ 

समाजशास्त्री राम गुरुङको बुझाइमा आवेशप्रेरित हत्या बढ्नुका पछाडि परिवार, समाज र सरकार जोडिएको छ । ‘सरकारले पूर्वाधार निर्माणमा धेरै विकास गर्‍यो, नागरिकका हातहातमा इन्टरनेटको पहुँच र मोबाइल त पुर्‍याइदियो, तर त्यसको सदुपयोग गर्न सक्षम बनाएन,’ गुरुङले लोकान्तरसँग भने, ‘यसैको प्रादुर्भाव अहिले देखिएको हो । अहिले हरेकका हातहातमा मोबाइल भएकै कारण परिवारभित्र एकले अर्कालाई बुझ्ने मौका गुमाएको छ । परिवारभित्रै संवादहीनता बढेको छ । मानिसहरू एकांकी बन्दै गएका छन् ।’

उनका अनुसार अहिले हरेक परिवारमा संवाद कम हुँदा एकले अर्काको भावना नबुझ्ने अवस्था छ । परिवारभित्रको बेमेलसँगै आर्थिक र सामाजिक कारणले पनि सद्भावमा ह्रास आउँदै गएको देखिन्छ । 

गुरुङ भन्छन्, ‘अहिले त कस्तो भयो भने, परिवार पनि मोबाइल, साथी पनि मोबाइल र सल्लाहकार पनि मोबाइल नै भइदियो । हरेक कुरा इन्टरनेटमा खोज्न थाले । एकअर्काबीच भौतिक निकटताको सम्पर्क नै टुट्यो । यो विषय बढो गम्भीर र संवेदनशील छ ।’

समाज शिक्षित मात्रै भएर नपुग्ने भन्दै उनले समाजभित्र सद्भाव र सामाजिक कार्यक्रम कम हुँदा आवेशप्रेरित हत्याका घटना बढिरहेको बताए ।

पछिल्ला घटना दर्शाउँदै गुरुङले भने, ‘पछिल्ला घटना हेर्दा धेरैजसो आर्थिक पाटोसँग जोडिएको छ । कसैको मोबाइल खोसिएको छ । कसैमा भेटी विवाद छ, त कसैमा लागूऔषध सेवन गर्न पैसा नदिएको भन्ने छ । सरकारले स्वरोजगारको व्यवस्था गर्न नसक्दाका उपज पनि यिनलाई मान्न सकिन्छ ।’ 

salt training

कमेन्ट गर्नुहोस्