
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको मध्यपश्चिम विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ ।
१८ चैतमा हुने निर्वाचनका लागि विभिन्न दलनिकट सात संगठन र एक स्वतन्त्र गरी आठ जना अध्यक्षका लागि चुनावी मैदानमा छन् ।
६ वर्षपछि हुन लागेको निर्वाचनमा कांग्रेसनिकट नेविसंघ, एमालेनिकट अनेरास्ववियु, माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी मुख्य प्रतिस्पर्धामा छन् ।
निर्वाचन समितिका अनुसार नेपाल क्रान्तिकारी विद्यार्थी संघ, अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), अखिल (क्रान्तिकारी), स्वतन्त्र उम्मेदवार, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छेटौँ), राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, नेपाल विद्यार्थी संघ निर्वाचन प्रक्रियामा सहभागी हुँदै छन् ।
निर्वाचन अधिकृत खगेन्द्रप्रसाद अधिकारीका अनुसार हालसम्म कुनै पनि संगठनले गठबन्धन गरेका छैनन् ।
अनेरास्ववियुले जगतजंग शाहीलाई स्ववियु अध्यक्षको उम्मेदवार बनाएको छ । नेविसंघले विवेक खड्का र अखिल क्रान्तिकारीले प्रकाश विकलाई अध्यक्षको उम्मेदवार बनाएका छन् ।
अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) बाट अध्यक्षमा चिनबहादुर सहकारी र नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट अस्मिता सुनार उम्मेदवार बनेकी छन् ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैटौँ) बाट लेलिनकुमार रेग्मी, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनबाट विकल्प वली र मिलन बीसीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
सचिव र कोषाध्यक्षमा पनि दुई जनाले स्वतन्त्र उम्मेदवारी दिँदा सदस्यमा ३३ जनाले उम्मेदवारी दिएका छन् । स्ववियु निर्वाचन कार्यविधि अनुसार अध्यक्ष, सचिव, कोषाध्यक्ष गरी तीन र बाँकी सदस्य गरी १७ सदस्यीय कार्यसमिति रहने व्यवस्था छ ।
मध्यपश्चिम विश्वविद्यालयमा चार हजार ३८३ मतदाता छन् ।