![राजावादीको हिंसात्मक प्रदर्शनले थला पर्यो जडीबुटी कम्पनी, पूर्ण सञ्चालनमा आउन ६ महिना लाग्ने [भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/Herbal_Company_Kathmandu_uD4IxDSYnI.jpg)
जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीकी कार्यालय सहयोगी अप्सरा खड्का कार्यालयबाट निस्केको पाँच मिनेट नबित्दै राजावादीका समर्थकहरूले ढुङ्गा हान्न शुरू गरे । शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीले गरेको हिंसात्मक आन्दोलनको निसानामा केही पर रहेको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी पनि पर्यो ।
अप्सरा जडीबुटी चोक नजिकैको आकासे चढ्न मात्र के लागेकी थिइन्, प्रदर्शनकारीले आफ्नो कार्यालयलाई निसाना बनाएर ढुंगा प्रहार गरिरहेको देखिन् । उनका हातखुट्टा काँप्न थाले । उनी जसोतसो हातखुट्टा टेकेरै भए पनि आकासे पुल चढेर पार गरिन् । र, आफ्नो ज्यान जोगाइन् । उनले आफ्नो ज्यान जोगाउन त सफल भइन् तर, उनी कार्यरत कम्पनी सग्लो रहन सकेन ।
कम्पनीबाट निस्कन पाँच मिनेट मात्रै ढिला गरेको भए कार्यालय सहयोगी खड्कालाई के हुने थियो ? त्यसको कल्पना गर्दा पनि उनी डरले काँप्न थाल्छिन् ।
‘पाँच मिनेट मात्रै ढिलो निस्केको भए के हुन्थ्यो थाहा छैन । भाग्य बलियो रहेछ सर/म्यामहरू बाँच्नुभयो’, उनले भनिन्, ‘कारखानाको गेटबाट पार गरेर आकासे पुल चढ्न लागेको थिएँ । ढुङ्गा हान्न शुरू भयो । हातखुट्टा काँप्न थाले । जसोतसो पुल पार गरेँ । आँखामा आँसु मात्रै थियो । हेर्न निकै अप्ठ्यारो भइरहेको थियो । पानीले आँखा पखालेर कोटेश्वरसम्म पुगेँ ।’
प्रदर्शनकारीले ढुंगामुढा मात्र गरेनन्, कम्पनीको भवन र उपकरणहरूमा आगजनी समेत गरिदिएका छन् । उनीहरूले कम्पनीको परिसरमा रहेका सवारी साधनमा आगो पनि लगाए ।

कम्पनीकी महाप्रबन्धक संगीता यादव लगायत केही कर्मचारीलाई ढुङ्गाले हान्दै आन्दोलनकारीहरूले लखेटे । शुक्रबार भएकाले कम्पनीका काम गर्ने अधिकांश कर्मचारी थिएनन् । महाप्रबन्धक लगायत प्रशासनका केही कर्मचारी मात्रै कार्यालयमा थिए । आफूहरूलाई ज्यान मार्ने उद्देश्यले लखेटिएको महाप्रबन्धक यादव बताउँछिन् ।
‘हजारौं मानिसलाई रोजगारी रोजगारी प्रदान गरिरहेको कम्पनीमा आगो लगाउने अपराधीलाई कडाभन्दा कडा सजाय दिनुपर्छ’, उनले भनिन, ‘हाम्रो घरमा आक्रमण गरिएको छ । यो कम्पनी हाम्रो घरजस्तै हो । कम्पनीलाई यसरी ध्वस्त पार्न खोज्नु भनेको हजारौंको रोजगारी खोस्ने प्रयास हो ।’
कम्पनीका सुरक्षागार्ड अम्मर रोक्का शुक्रबार भएकोले त्यो दिन छिट्टै पोसाक परिवर्तन गरेर बसेका थिए । सुरक्षागार्डको पोसाकमा भएको भए आफ्नो ज्यान पनि जान सक्ने उनी बताउँछन् ।
‘शुक्रबार भएर छिट्टै पोसाक परिवर्तन गरेर घर जानलाई तयार भएर बसेको थिएँ । यदि म पोसाकमै भएको भए सायद मलाई जिउँदो छोड्ने थिएनन् होला’, उनले भने, ‘परिसरभित्रै प्रहरी थिए, कसैले केही गर्न सकेनन् । म ज्यान जोगाएर भाग्न सफल भएँ ।’
रोक्काका अनुसार कम्पनीको परिसरभित्र रहेका गाडीमा आगो लगाएको करिब डेढ घण्टासम्म कुनै पनि सुरक्षा निकायबाट सहयोग भएन । प्रहरी समेत कम्पनीको परिसरबाट भागेपछि आन्दोलनकारीले कम्पनीको भवनमा आगो लगाएको उनको भनाइ छ ।

‘आन्दोलनकारी थोरै थिए, प्रहरीहरू भाग्नुभयो । विस्तारै भित्र छिरेर गाडी जलाइयो । तर, पनि कोही आएनन्’, उनले भने, ‘करिब डेढ घण्टापछि आन्दोलनकारीले भवनमा पनि आगो लगाए । कुनै पनि निकायबाट केही भएन । भागेर ज्यान जोगाउन बाहेक केही गर्न सकिएन ।’
कम्पनीले जडीबुटी खेती, प्रशोधन र उपभोक्ता प्रयोजनका विभिन्न हर्बल उत्पादन गर्दै आएको छ । ४३ वर्षदेखि सञ्चालनमा रहेको यो कम्पनी नेपाल सरकारको पूर्ण स्वामित्वको कम्पनी हो ।
शुक्रबारको आगजनी र तोडफोडपछि भवन क्षतिग्रस्त भएको छ । हालसम्म करिब ६०/७० करोड रूपैयाँको क्षति भएको अनुमान गरिएको योजना शाखा प्रमुख गोविन्द शर्माले बताए । यसका साथै कम्पनीका काम गर्ने ४५ जना कर्मचारीको काम नै पूर्ण रूपमा रोकिएको शर्माले बताए ।
कम्पनीका अनुसार १३ वटा गाडी र ४ वटा मोटरसाइकल पूर्ण रूपमा ध्वस्त भएका छन् भने, ४ वटा मोटरसाइकलमा आंशिक क्षति पुगेको छ ।
उक्त आपराधिक घटनाले कम्पनीको संरचना मात्र नभई कर्मचारी, श्रमिक वर्ग र समग्र जडीबुटी क्षेत्रलाई नै गहिरो असर पुर्याएको महाप्रबन्धक यादव बताउँछिन् ।
‘सरकारसमक्ष कम्पनीको पुनर्निर्माण र पुनर्स्थापनाका लागि तत्काल आवश्यक सहयोगको माग गर्दै कम्पनी कसरी पुन: सञ्चालनमा ल्याउन सकिन्छ त्यसमा लागिरहेका छौं’, यादवले भनिन् ।

कम्पनी अझै पूर्ण रूपमा सञ्चालनमा आउन करिब ६ महिनासम्म लाग्न सक्ने जनाइएको छ ।
मुख्य कार्यालयको भवन, कारखाना प्लान्ट, कच्चा पदार्थ स्टोरेज कोठा, प्याकेजिङ गर्ने कोठा, उत्पादित उत्पादन राख्ने कोठामा तोडफोड गरी आगजनी गरेको थियो । जसबाट औषधि उत्पादन गर्न प्रयोग हुने सम्पूर्ण कच्चा पदार्थ, उत्पादनपश्चात् प्याकेजिङ गर्ने प्लास्टिक र सिसाको बोतल, उत्पादन प्याकेजिङ गर्ने विभिन्न प्याकेट, कारखाना र अटोमेसन प्लान्ट, मेसिन तथा उपकरणका साथै फर्निचर र सम्पूर्ण कागजात जलेर नष्ट भएका छन् ।
तर, मुख्य भवनको गोदाम घर भने बच्न पुग्यो । शुक्रबार भएकाले गोदामघर बन्द भइसकेको थियो । गोदाममा आगो लाग्ने र विस्फोट हुने वस्तुहरू थिए । औषधि बनाउनका लागि आवश्यक कच्चा तेल पनि उक्त गोदाममा नै राखिएको थियो । जहाँ कुनै पनि क्षति हुन पाएन । गोदाममा आगलागी भएको भए त्यस वरपरको क्षेत्र नै ध्वस्त हुने कम्पनीका गोदाम व्यवस्थापन शाखा प्रमुख सुमन स्थापित बताउँछन् ।
हेर्नुहोस् भिडियो :