२६ असार २०८३, शुक्रबार
बीचमै बिमा त्याग्ने बढे

आठ महिनामा ७१ हजार बढी बीमालेख 'सरेण्डर', किन बढ्दैछ परित्याग गर्नेको संख्या ?

चैत १९, २०८१
काठमाडौं
आठ महिनामा ७१ हजार बढी बीमालेख 'सरेण्डर', किन बढ्दैछ परित्याग गर्नेको संख्या ?

पछिल्लो समय बीमा गरेर छाड्ने अर्थात् बीमालेख परित्याग(सरेण्डर) गर्नेको संख्या बढ्दै गएको पाइएको छ । जीवन बीमा पोलिसी खरिद गरेर निश्चित अवधि नपुग्दै छाड्नेको संख्या पछिल्लो ४/५ वर्षदेखि बढ्दै गएको पाइएको हो । 

नियामक निकाय नेपाल बिमा प्राधिकरणको तथ्यांकअनुसार चालू आर्थिक वर्षको आठ महिनामा ७१ हजार ५५४ बीमितले ९ अर्ब ८७ करोड ६३ लाख ६३ हजार रुपैयाँ बराबरको बीमालेख परित्याग अर्थात् सरेण्डर गरेका छन् । 

चार वर्षअघिको तुलनामा बीमालेख परित्याग गर्नेको संख्या चालू आर्थिक वर्षसम्म आइपुग्दा करिब दोब्बरले बढेको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष २०७७/७८ वर्षभरि ६३ हजार ३३१ बीमितले सरेण्डर गरेका थिए । तर, चालू आर्थिक वर्षको आठ महिनामै ७१ हजार ५५४ वटा बीमालेख परित्याग भएका हुन् । 

null

आर्थिक वर्ष २०७७/७८ मा ९ अर्ब ८८ करोड १४ लाख बराबरको ६३ हजार ३३१ बीमालेख सरेण्डर भएका थिए । त्यस्तै, आर्थिक वर्ष २०७८/७९ मा १२ अर्ब १८ करोड ८ लाख बराबरका ८१ हजार ८६० बीमालेख सरेण्डर भएका थिए ।

आर्थिक वर्ष २०७९/८० मा भने ९६ हजार ९३८ बीमितले १३ अर्ब ३४ करोड ३३ लाख ७१ हजार बराबरको बीमालेख परित्याग गरिएका थिए । आर्थिक वर्ष २०८०/८१ मा १ लाख १३ हजार ९७६ बीमितले १४ अर्ब ५० करोड १२ लाख रुपैयाँ बराबरको बीमालेख परित्याग गरेका थिए । 

जीवन बीमालेखसम्बन्धी निर्देशिका २०७८ अनुसार तीन वर्ष पूरा भएपश्चात् बीमालेख समर्पण गर्न सक्ने व्यवस्था छ । सोहीअनुसार बीमालेख सरेण्डर हुँदै आएको छ ।

बीमालेख सरेण्डरको क्रम नरोकिएको भन्दै पछिल्ला वर्षमा सरेण्डरको अवधि तीन वर्षबाट बढाएर पाँच वर्ष बनाउनेसमेत कुरा उठेको थियो । तर, न बीमालेख सरेण्डर गर्न पाउने समय पाँच वर्ष बनाइयो न त बीमा सरेण्डरको क्रम कम हुन सकेको छ । 

समग्र जीवन बीमा क्षेत्रका लागि बीमालेख सरेण्डर हुनमा नीतिगत पक्षमा केही कमी कमजोरी रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली बताउँछन् । इन्स्योरेन्स क्षेत्रका लागि सरेण्डर नेगेटिभ भएता पनि नीतिहरूमा परिवर्तन आवश्यक भएको उनको भनाइ छ । 

‘छोटो समयमा बीमालेख परित्याग गरिनु यस क्षेत्रका लागि नराम्रो नै हो । तर, यसले हाम्रा नीतिहरूमा कमजोरी रहेको पनि देखाएको हो’, उनले भने, ‘हाम्रा कयौँ पुराना नीतिहरूलाई पुन रिभाइज गर्न जरुरी रहेको छ । एक पटक नियामक निकायले पनि अपडेट गर्न आवश्यक देखिन्छ ।’ 

बीमालेख सरेण्डरको अवधि बढाएर सरेण्डर गर्ने क्रमलाई कम गर्न नसकिने उनको भनाइ छ । बीमा क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा, प्रलोभन, तथा फोर्सफुल्ली बीमा पोलिसी खरिद गर्न लगाउने लगायत गतिविधिका कारण बीमा पोलिसी सरेण्डरको दर बढ्दै गएको उनको बुझाइ छ ।

बीमा सरेण्डर हुनुका ४ मुख्य कारण रहेको बीमा विज्ञ डा. रविन्द्र घिमिरे बताउँछन् । आम्दानीको स्रोत बढ्दा र घट्दा दुवै अवस्थामा बीमालेख सरेण्डर हुने गरेको उनको भनाइ छ ।​

‘सरेण्डर गर्नुका विभिन्न कारणहरूमध्ये विदेशिनु पनि एउटा हो । विदेश जानेहरूले बीमाको समयअगावै सरेण्डर गर्छन्’, डा. घिमिरेले भने, ‘यसका साथै आर्थिक अवस्था कमजोर भए पनि सरेण्डर हुने गर्छ । यति मात्रै होइन आर्थिक रूपमा सम्पन्न हुँदा पनि सरेण्डर हुने गर्दछ । यी केही कारणहरू हुन् ।’

salt training

कमेन्ट गर्नुहोस्