
विराटनगरको कोशी अस्पतालमा बाँझोपन तथा निःसन्तान दम्पतीको उपचार सेवा शुरू भएको छ । ‘इनफर्टिलिटी’ क्लिनिक सोमबारदेखि सञ्चालनमा आएसँगै अब निःसन्तान दम्पतीले सरकारी दररेटमै सेवा प्राप्त गर्नेछन् ।
अहिले यो सेवा लिन निजी अस्पतालमा निकै ठूलो रकम खर्च गर्नुपर्ने अवस्था छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सोमबार कोशी अस्पतालमा निःसन्तान उपचारसम्बन्धी सेवा शुभारम्भ गरेका छन् । सरकारले सातवटै प्रदेशमा निःसन्तान दम्पतीहरूका लागि उपचार केन्द्र शुरू गरेको पौडेलले बताए ।
अस्पतालको प्रसूति विभागको ओपीडीमा आउने जनामध्ये १० देखि १५ जना दम्पतीहरू निःसन्तानको समस्या हुने गरेको पाइएको छ । अस्पतालकी स्त्री तथा प्रसूति रोग विभाग प्रमुख डा. अञ्जु देवले भनिन्, ‘सेवा शुरू भए पनि अब त्यहीअनुसारको पूर्वाधार, उपकरणहरू आएको छ । निःसन्तान क्लिनिक सञ्चालन गर्न प्रसूति रोगसम्बन्धी दुई विशेषज्ञ चिकित्सकले क्षमता अभिमुखीकरण तालिम पनि लिएर आउनुभएको छ,’ उनले भनिन् ।
बाँझोपनकै समस्याका कारण कतिपय महिलाले समाजमा अपहेलित भएर मानसिक तनावमा जीवन बाँच्नुपर्ने बाध्यता पनि रहेको छ । ‘बाँझो करार दिएर डिभोर्स गर्ने घटनासमेत बढ्दो क्रममा रहेको छ ।
अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ र डा. मधुमिता राभाले ‘इनफर्टिलिटी ट्रेनिङ’ लिएर आएका छन् । दुई वर्षअघि डा. अञ्जुले लिएकी थिइन । उनको योजना र अस्पतालकी मेसु डा. रुना झाको पहलमा निः सन्तान दम्पतीको लागि छुट्टै सेवा शुरू भएको हो ।
विश्वमा हरेक ६ मध्ये एकजनामा निःसन्तानको समस्या रहेको विश्व स्वास्थ्य संगठनको अभिलेख छ । नेपालमा विवाहित दम्पतीमध्ये १५ प्रतिशतमा बाँझोपनको समस्या छ । नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ का अनुसार हाल नेपालमा विवाहित महिलाको औसत प्रजननदर २ दशमलब १ प्रतिशत छ । सन् २०१६ को सर्वेक्षणमा भने यो दर २ दशमलब ३ थियो ।
विवाहित दम्पतीका लागि बाँझोपन वा निःसन्तान मुख्य समस्याको रुपमा रहेको छ । यो सेवा विस्तार भएमा बाँझोपन पहिचान, रोकथाम र उपचार सेवा लक्षित समूहसम्म सहज रूपमा प्रदान गर्न सहयोग पुग्ने मन्त्री पौडेलले बताए । नीति तथा कार्यक्रममा पनि समेटिएको यो विषयमा यसले कार्यक्रममा प्रजनन स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्ने विश्वास लिइएको छ ।
हाल सरकारी स्तरमा तीनवटा मात्र अस्पतालमा ‘आईयूआई’ तथा ‘आईभीएफ’ सम्मको सेवा उपलब्ध छ । त्रिवि शिक्षण अस्पताल, प्रसूति गृह र बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्र उपचार हुँदै आएको छ । राजधानी बाहिर कोशी प्रदेशमा पहिलो पटक सेवा शुरू भएको बताइएको छ ।
आईभीएफ सेवा खर्चिलो तथा विशेषज्ञता चाहिने उपचार सेवा हो । सरकारी दुई लाख रुपैयाँ लाग्छ । आईयूआई सेवा ६ रुपैयाँमा प्राप्त गर्न सकिन्छ । निजी अस्पतालमा यो दुवै सेवाको शुल्क दोब्बरभन्दा धेरै छ ।
सक्नेले महँगोमा उपचार लिइरहेका छन् भने पहुँचमा आउन नसकेकाले यत्तिकै जीवन बिताउन बाध्य छन् । परामर्श तथा औषधिले पनि धेरै जनाले अभिभावक बन्ने सौभाग्य पाउन सक्ने चिकित्सकहरूको भनाइ छ । प्राथमिक उपचारमै परामर्श तथा स्क्रनिङको पाटो कमजोर भएकाले धेरै जना निःसन्तानको समस्याबाट पीडित त छन् नै ‘आईभीएफ’जस्तो महँगो सेवा लिन बाध्य देखिन्छन् ।
प्राथमिक उपचारपछि पनि सफल नभए ‘आईयूआई’ (इन्ट्रा युटेरिन इन्सिमिनेसन) र अन्तमा आईभीएफ (इन्भिट्रो फर्टिलाइजेसन) प्रविधिमा जानुपर्ने चिकित्सकहरु बताउँछन् । ‘आईभीएफमा’ पुरुषको शुक्रकिट र महिलाको डिम्बलाई कृत्रिम तरिकाले निकालेर प्रयोगशालामा भ्रुण विकास गराएपछि गर्भाधारण गराएर पाठेघरमा प्रत्यारोपण गरिन्छ । प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. अन्जु देवका अनुसार आइयूआई भनेको पुरुषको वीर्य छानेर सफा गरेर सक्रिय वीर्य महिलाको योनीबाट पाठेघरमा हालिने विधि हो ।
‘कुनै पनि दम्पतीले एक वर्षसम्म परिवार नियोजनको साधन प्रयोग नगरिकन सँगै बस्दा पनि बच्चा भएन भने त्यसपछि बाँझोपनको अवस्था हो कि भनेर जाँचपड्ताल गर्नुपर्छ,’ उनले भनिन्, ‘शुक्रकिटको संख्यामा कमी आउनु, शुक्रकिट नष्ट हुनु आदि कारणले पुरुषमा बाँझोपनको समस्या आउन सक्छ साथै हार्मोनको गडबडी, अव्यवस्थित जीवनशैली, धुम्रपान तथा मद्यपान, प्रदूषण पनि यसका कारक हुन् ।’
डा. देवले विभिन्न कारणहरू पत्ता लगाएर पुरुषको वीर्य, महिलाको पाठेघर, नलीलगायत जाँच गरिने र सम्भव भएसम्म परामर्श दिई प्राकृतिक रूपमा नै गर्भ बसाउने सल्लाह दिने नभए आईयूआई र आईभीएफमा जानुपर्ने बताउँछिन् ।