२७ असार २०८३, शनिबार
नेपाल–थाइल्यान्ड सम्झौता

‘टुरिस्ट हब’ थाइल्यान्डबाट नेपालले लिनसक्छ लाभ, व्यापारको ढोका खुलेको भन्दै निजी क्षेत्र उत्साहित

चैत २४, २०८१
काठमाडौं
‘टुरिस्ट हब’ थाइल्यान्डबाट नेपालले लिनसक्छ लाभ, व्यापारको ढोका खुलेको भन्दै निजी क्षेत्र उत्साहित

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै थाइल्यान्डको पहिलो औपचारिक भ्रमण ऐतिहासिक भएको दाबी गरे । नेपाल र थाइल्यान्डबीच कूटनीतिक सम्बन्ध स्थापित भएपछि (सन् १९५९ नोभेम्बर ३०) नेपाल र थाइल्यान्डबीच पहिलोपटक उच्चस्तरीय भ्रमण भएको हो ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौं शिखर सम्मेलनमा भाग लिन जाने क्रममा प्रधानमन्त्री ओलीले औपचारिक रूपमा थाइल्यान्ड भ्रमण गरेका हुन् ।

प्रधानमन्त्री ओली चैत १९ गते थाइल्यान्ड गएका थिए भने ४ दिनपछि शनिबार स्वदेश फर्किए । नेपालबाट जम्मा २२ सय किलोमिटर पूर्वमा रहेको सम्पन्नशाली देश थाइल्यान्ड पुग्न जम्मा ३ घण्टा २० मिनेट समय लाग्छ ।

तर, कूटनीतिक सम्बन्ध स्थापित भएको पछिल्लो ६ दशकमा न उताका राष्ट्र र सरकारप्रमुख नेपाल आएका थिए, न त नेपालबाट नै उच्चस्तरको भ्रमण भएको थियो । यस हिसाबले प्रधानमन्त्री ओलीको यो भ्रमणलाई 'डिप्लोम्याटिक ब्रेक थ्रु'का रूपमा लिनुपर्ने कतिपय विश्लेषकहरूको भनाइ छ ।

प्रधानमन्त्री ओलीले थाइल्यान्डकी प्रधानमन्त्री फेथोङ थान् सिनावात्रासँग द्विपक्षीय वार्ता, पर्यटन तथा संस्कृतिसम्बन्धी २ समझदारीपत्रमा हस्ताक्षर गरे भने थाइल्यान्डका नरेशसँग पनि भेटवार्ता गरेका थिए ।

भ्रमणको तेस्रो दिनमा प्रधानमन्त्री ओलीले थाइल्यान्डका प्रतिष्ठित व्यवसायीहरूसँग भेटघाट र छलफल गरे । साथै, एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीको एक कार्यक्रममा उनले सम्बोधन गरे भने बिमस्टेक शिखर सम्मेलनका नेताहरूलाई दिइने औपचारिक रात्रिभोजमा पनि सहभागिता जनाए ।

भ्रमणको चौथो दिन शुक्रबार ओलीले बिमस्टेक शिखर सम्मेलनमा सहभागिता जनाउनुका साथै सम्बोधन समेत गरे ।  त्यसपछि विभिन्न मुलुकका नेताहरूसँग साइडलाइन वार्ता पनि गरे । त्यसक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्तालाई लिएर नेपालमा सबैभन्दा बढी चर्चाको विषय बनेको छ ।

मेरिटाइम ट्रान्स्पोर्ट कोअपरेशन अग्रिमेन्टमा हस्ताक्षर समारोहमा सहभागिता जनाएर त्यसको भोलिपल्ट ओली नेपाल फर्के । कूटनीतिक हिसाबले प्रधानमन्त्री ओलीको भ्रमणलाई ३ महत्त्वपूर्ण चरणमा बाँड्न सकिन्छ ।

पहिलो त उनको औपचारिक थाइल्यान्ड भ्रमण । यसले कूटनीति र द्विपक्षीय समझदारीका थप सम्भावनाहरू खोलेको छ । दोस्रो हो, बिमस्टेक सम्मेलनमा ओलीको सहभागिता । यो औपचारिक सहभागिता मात्र भएपनि, नेपाल अल्पविकसित देशबाट विकासोन्मुख देशमा उन्नति हुँदै गर्दा बिमस्टेकमा नेपालको भूमिका थप बढ्ने भएकाले यसलाई पनि महत्त्वपूर्ण मानिएको छ ।

तेस्रो, भारतीय समकक्षी नरेन्द्र मोदीसँगको साइडलाइन भेटवार्ता । यस वार्तामार्फत ओलीले भारतसँग राम्रो सम्बन्ध रहेको सन्देश दिने प्रयास गरेका छन् । भेटपछि मोदीले सामाजिक सञ्जालमा गरेको टिप्पणी र दिएको महत्त्वले यसलाई पुष्टि गर्छ ।

थाइल्यान्डका लागि नेपालका पूर्व राजदूत डा. खगनाथ अधिकारीले प्रधानमन्त्री ओलीको यो भ्रमण सफल भएको बताएका छन् ।

डा. अधिकारीले लोकान्तरसँग भने, 'थाइल्यान्डबासीले नेपालीलाई अत्यन्त माया गर्छन् र सौहार्दपूर्ण रूपले हेर्छन् । कूटनीतिक सम्बन्ध स्थापित भएपछि पहिलोपटक उच्चस्तरीय भ्रमण हुनु नै ठूलो कुरा हो । यसले २ देशबीचको सम्बन्धलाई माथि उठाएको छ भने थप सहकार्यका लागि बाटो खोलेको छ ।'

डा. अधिकारीले सन् २०१५ देखि २०१९ सम्म नेपाली राजदूतका रूपमा काम गरेका थिए ।

उनले आफ्नो कार्यकालमै पर्यटन र संस्कृतिसम्बन्धी सहकार्यका विषयमा धेरै संवाद भएको भएपनि अहिले त्यसले मूर्तरूप लिएकाले आफू खुसी भएको बताए ।

अहिलेसम्म किन द्विपक्षीय भ्रमण हुन नसकेको होला ? भन्ने प्रश्नमा डा. अधिकारीले भने, 'यो नजिकको तीर्थ हेलाँ भनेजस्तो भयो । भुइँचालो गएका बेला नेपाललाई सबैभन्दा धेरै सहयोग गर्नेमध्येको देश हो थाइल्यान्ड । अब प्रधानमन्त्रीले गरेको भ्रमणबाट नयाँ शुरुआत भएको छ, यसलाई राम्रो मान्नुपर्छ ।'

चुलिएको व्यापार घाटा

चालू आर्थिक वर्ष २०८१/८२ को पछिल्लो आठ महिनामा नेपालले थाइल्यान्डबाट ९ अर्ब ३० करोड ४८ लाख ९० हजार रुपैयाँको सामान आयात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार नेपालले यो अवधिमा जम्मा ४ करोड ४ लाख २ हजार रुपैयाँको मात्र निर्यात गर्न सकेको छ ।

पछिल्लो तथ्यांकले नेपालले थाइल्यान्डसँगको व्यापारमा ९ अर्ब २६ करोडको घाटा बेहोरेको छ । गत आर्थिक वर्षमा नेपालले ८ अर्ब ६५ करोडबराबरको आयात गरेको थियो भने जम्मा ९ करोड ४७ लाख रुपैयाँको निर्यात गरेको थियो ।

गत वर्षको तथ्यांक र यो आवको ८ महिनाको तथ्यांक तुलना गर्ने हो भने स्पष्ट रूपमा आयात बढिरहेको देखिन्छ भने निर्यात थप संकुचित हुँदै गइरहेको छ ।

थाइल्यान्डबाट आयात हुने सामानहरूमा खाद्य तेल र औद्योगिक कच्चा पदार्थको ठूलो हिस्सा रहेको छ । विशेषगरी कच्चा सोयाबिन तेल, कच्चा पाम तेल, सिन्थेटिक स्टेपल फाइबर, पोलिभिनाइल क्लोराइड र कागजजस्ता वस्तुहरू मुख्य आयातमा पर्छन् ।

भन्सार विभागको तथ्यांकअनुसार कूल आयातको करिब ६४ प्रतिशत खाद्य तेल र २५ प्रतिशत औद्योगिक सामग्रीले ओगटेको छ ।

नेपालबाट थाइल्यान्डतर्फ हुने निर्यात भने निकै कम छ । चालू आर्थिक वर्षको पछिल्लो ८ महिनामा नेपालले जम्मा ४ करोड ४ लाख २ हजार रुपैयाँको निर्यात गरेको छ ।

नेपालले थाइल्यान्डमा मुख्यरूपमा गहुँको पीठो र फलामको (स्क्र्याप) निर्यात गर्छ । यी दुई वस्तुले कूल निर्यातको झन्डै ३० प्रतिशत हिस्सा ओगटेका छन् ।

null

निर्यातको सबैभन्दा ठूलो हिस्सा गहुँको पीठोको छ । थाइल्यान्डको बेकरीमा प्रयोग हुने 'व्हीट वा मेस्लिन फ्लोर' नामले चिनिने यो वस्तुको परिणाम पछिल्लो ८ महिनामा करिब ११ सय क्विन्टल थियो । जसको मूल्य ८६ लाख ९० हजार रहेको छ ।

चालू आर्थिक वर्षको पछिल्लो ८ महिनामा ९१५ क्विन्टल स्क्र्याप नेपालबाट थाइल्यान्ड पुगेको छ । यसको निर्यात मूल्य जम्मा ३५ लाख २७ हजार छ ।

त्यस्तै, थोरै परिणाममा भएपनि परम्परागत बाजा, हातले बनेको कागज, बहुमूल्य जडीबुटी यार्सागुम्बा, हरियो चिया, नेपालबाट थाइल्यान्ड पुगेको छ ।

नेपालका लागि थाइल्यान्ड निकै सम्भावनायुक्त बजार हो । थाइल्यान्डका लागि नेपालका पूर्व राजदूत डा. अधिकारी भन्छन्, 'व्यापार घाटाको विषयमा सरकारले नै सोच्नुपर्छ । नेपालबाट न्यून निर्यात हुनुमा थाइल्यान्डको कुनै दोष छैन । पहिला निर्यात अलि बढी थियो, समयक्रममा त्यसको परिणाम घट्दै गएको कुरालाई सरकारले गम्भीरतापूर्वक सोच्नुपर्छ ।'

प्रधानमन्त्री ओलीको थाइल्यान्ड भ्रमणकै क्रममा नेपाल उद्योग वाणिज्य महासंघ र थाइल्यान्डको थाई चेम्बर अफ कमर्स एन्ड बोर्ड अफ ट्रेडबीच भएको सम्झौताले व्यापारिक सहकार्य र लगानीका नयाँ ढोका खोलेको उद्योगीहरूको भनाइ छ ।

यस्तै, नेपाल उद्योग परिसंघ र थाई उद्योग महासंघबीच पनि सहकार्यको सम्झौता भएको छ, जसले थाई लगानीलाई नेपालमा आकर्षित गर्न सक्ने अपेक्षा गरिएको छ ।

नेपाल र थाइल्यान्डबीच भएका ८ सम्झौता

थाइल्यान्ड भ्रमणका क्रममा प्रधानमन्त्री ओली र थाइल्यान्डकी प्रधानमन्त्री पेथोङ् थान् शिनावात्राबीच भएको दुईपक्षीय बैठकपछि दुई देशबीच सरकारी र निजी तहमा आठवटा सम्झौता तथा समझदारी-पत्रमा हस्ताक्षर भएको छ ।

यीमध्ये सरकारी स्तरमा दुई र गैरसरकारी/निजी स्तरमा छवटा सम्झौता भएका हुन् ।

बैठकमा नेपालकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र थाई पर्यटन तथा खेलकुदमन्त्री रोसावाङ तियन्थोङले पर्यटन सहयोग आदान-प्रदान सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरे ।

त्यस्तै देउवा र थाइल्यान्डका संस्कृतिमन्त्री सुदावान वाङ्सु फाकिज्कोसलले सांस्कृतिक सहयोग सम्झौतामा हस्ताक्षर गरे ।

यससँगै काठमाडौं विश्वविद्यालय र थाइल्यान्डको सियाम विश्वविद्यालयबीच प्राज्ञिक सहकार्य र उच्च शिक्षामा नवप्रवर्तन प्रवर्द्धन गर्ने सम्झौता भएको छ ।

यस्तै, नेपाल नेत्रज्योति संघ र थाइल्यान्डको माहिडोल विश्वविद्यालयअन्तर्गत रामाथिबोडी अस्पतालबीच स्वास्थ्य र नेत्र चिकित्सा क्षेत्रमा सहकार्यको समझदारी भएको छ ।

व्यापार र लगानी अभिवृद्धिका लागि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र थाई चेम्बर अफ कमर्स एन्ड बोर्ड अफ ट्रेडका अध्यक्ष सानन अङ्गुबोल्कुलबीच आपसी सहकार्य र व्यापार विस्तारको समझदारीमा हस्ताक्षर भएको छ भने नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र थाइल्यान्डको एफटीआईका अध्यक्ष क्रियेन्ग्राइ थेननुकुलले लगानीका अवसर सिर्जना र आर्थिक सम्बन्ध सुदृढ गर्ने सम्झौता गरेका छन् ।

यसैगरी, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र टुरिजम काउन्सिल अफ थाइल्यान्डका अध्यक्ष चाइ अरुनानोन डिचाइबीच व्यापार, पर्यटन र नागरिक उड्डयन क्षेत्रमा सहकार्यको समझदारी भएको छ । यो समझदारीले दुई देशबीच हवाई सम्पर्क र पर्यटन प्रवर्द्धनमा जोड दिने विश्वास गरिएको छ ।

साथै, नेपालको जनता एग्रो एन्ड फरेस्ट्रीका अध्यक्ष पवन गोल्यान र थाइल्यान्डको कसेस्टार्ट विश्वविद्यालयका उपाध्यक्ष डा. कृत वोन-इनबीच जैविक प्रविधिमार्फत नेपालमा खाद्यान्न उत्पादन वृद्धि गर्ने सम्झौता भएको छ । यी सम्झौताले दुई देशबीच शिक्षा, स्वास्थ्य, व्यापार, पर्यटन र कृषि क्षेत्रमा सहकार्यलाई बलियो बनाउने अपेक्षा गरिएको छ ।

सम्झौतापछि प्रधानमन्त्री ओलीले यी सम्झौताले कूटनीतिक र जनस्तरको सम्बन्ध विस्तारमा योगदान गर्ने बताएका थिए । भ्रमण टोलीका सदस्य नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष अग्रवालले प्रधानमन्त्री ओलीको थाइल्यान्ड भ्रमणबाट निजी क्षेत्र उत्साहित भएको टिप्पणी गरे ।

उनले लोकान्तरसँग भने, 'पर्यटन प्रवर्द्धन, नागरिक उड्ययन, संस्कृति प्रवर्द्धन र लगानीसँग सम्बन्धित धेरै सम्झौतामा हस्ताक्षर भएको छ । हामी व्यवसायीले पनि त्यहाँका लगानीकर्तासँग खुलेर कुरा गर्न पायौं । हामीले हाम्रो निर्यात बढाउने र व्यापार घाटा घटाउने विषयमा पर्याप्त छलफल गर्यौं ।'

उनले अमेरिकाले पछिल्लो समय अपनाएको ट्यारिफ नीतिबारे पनि छलफल भएको बताए । 'थाइल्यान्डलाई बढी ट्यारिफ लगाइएको छ । नेपाललाई आधारभूत (१० प्रतिशत) मात्र ट्याक्स छ । थाइल्यान्डको लगानीलाई यहाँ ल्याएर उत्पादन गर्न सके अमेरिकी बजारमा सामान निर्यात गर्न सकिने विषयलाई हामीले प्राथमिकताका साथ राखेका थियौं । उहाँहरू यस विषयमा सकारात्मक हुनुहुन्छ ।'

salt training

कमेन्ट गर्नुहोस्