
अस्ट्रेलियामा सफलतापूर्वक प्रस्तुत भएको नेपथ्य टोली स्वदेश फर्किएको छ । स्वदेश फर्किएलगत्तै नेपथ्य अब गोकर्णेश्वरमा प्रस्तुत हुने भएको छ ।
नेपथ्यले दुई वर्षपछि काठमाडौं उपत्यकामा कन्सर्ट गर्न लागेको हो । यसअघि २०७९ पुसमा नेपथ्य भृकुटीमण्डपमा प्रस्तुत भएको थियो।
‘अस्ट्रेलियाको शृंखलाबद्ध कन्सर्ट सकेर फर्किएपछि अब हामी आउने साता गोकर्णेश्वरमा ब्यान्डलाई प्रस्तुत गर्ने तयारीमा लागिसकेका छौं’, मुख्य गायक एवं ब्यान्डका अगुवा अमृत गुरुङ भन्छन्, ‘यसै चैत ३० गते शनिबार गोकर्णेश्वरको कन्सर्टमा नेपालभित्रका दर्शकसँग जम्काभेट हुनेछ ।’
कन्सर्ट गोकर्णेश्वरस्थित हनुमानचोकनजिकै खुला मैदानमा हुनेछ । यसलाई स्थानीय तन्नेरीहरूको समूह ‘ग्राउन्ड अफ इभेन्ट्स’ले प्रस्तुत गर्न लागेको हो ।
‘काठमाडौं उपत्यकाका नगरपालिकाहरू जनसंख्याका हिसाबले नेपालका अरू धेरै शहरभन्दा ठूला छन् । यी ठाउँमा पनि छुट्टै कार्यक्रम हुन सक्छ भन्ने अध्ययन गर्दै थियौं, गोकर्णेश्वरको प्रस्ताव आयो’, नेपथ्यलाई व्यवस्थापन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘विदेशका आधुनिक र प्रविधिसम्पन्न हलहरूको अनुभव लिएर आएको ब्यान्डलाई गोकर्णेश्वरका दर्शकमाझ पनि उत्तिकै स्तरमा उभ्याउने तयारीमा लागेका छौं ।’
दर्शकले स्थानीय आयोजकबाट मात्र नभएर ब्यान्डको वेबसाइटमार्फत् पनि सोझै टिकट काट्न सक्ने प्रबन्ध मिलाइएको छ ।
गोकर्णेश्वरको कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउनेछन् ।
गोकर्णेश्वरको कार्यक्रमपछि आगामी महिना फेरि अस्ट्रेलियामा जस्तै शृंखलाबद्ध प्रस्तुति लिएर आफूहरू अमेरिका जाने तयारीमा रहेको पनि मुख्य गायक एवं ब्यान्डका अगुवा अमृतले जानकारी दिए ।