०५ साउन २०८३, मंगलबार

कामु गभर्नर नीलम : राष्ट्र बैंकमा ३ दशक लामो निर्विवाद अनुभवले दिलाएको अवसर

चैत २६, २०८१
काठमाडौं
कामु गभर्नर नीलम : राष्ट्र बैंकमा ३ दशक लामो निर्विवाद अनुभवले दिलाएको अवसर

नेपालको इतिहासमै पहिलोपटक केन्द्रीय बैंकको नेतृत्व महिलाको काँधमा पुगेको छ । राष्ट्र बैंककै वरिष्ठ डेपुटी गभर्नर डा. नीलम ढुंगानाले सोमबारदेखि कायममुकायम गभर्नरको जिम्मा पाएकी छिन् । 

त्यसो त निवर्तमान गभर्नर महाप्रसाद अधिकारी निलम्बित भएका बेला पनि नीलमले यो जिम्मेवारी प्राप्त गरेकी थिइन् । तर, अधिकारी छिट्टै सर्वोच्चबाट पुनर्वहाली भएका थिए ।

बैंक तथा वित्तीय संस्थाहरूको नियमनकारी निकाय राष्ट्र बैंकमा झण्डै ३ दशक लामो अनुभवले खारिएकी ढुंगानाले कामु गभर्नरको जिम्मा पाएकी हुन् । कामु हुँदै उनले भावी गभर्नरको दाबेदारीमा पहिलो नम्बरमा आफ्नो नाम दर्ज गराएकी छिन् । 

पहिलो महिला गभर्नरको मुख्य दाबेदार बन्नका लागि ढुंगानाले केन्द्रीय बैंकको लामो अनुभव संगालेकी छिन् । पाएका सबै जिम्मेवारीमा खरो उत्रिएर ढुंगानाले आफूलाई कुशल व्यवस्थापकको परिचय दिलाउन सफल भइन् ।

२०५४ साल मंसिर २२ गतेदेखि राष्ट्र बैंकमा काम थालेकी ढुंगानाले विभिन्न जिम्मेवारी सम्हालिसकेकी छिन् ।

ढुंगानाले केन्द्रीय बैंकमा रहँदा विदेशी विनिमय व्यवस्थापन विभाग, विराटनगर क्षेत्रीय कार्यालय र बैंक सुपरिवेक्षण विभागमा रहेर जिम्मेवारी सम्हालिसकेकी छिन् । 

यसैगरी, आर्थिक अनुसन्धान विभाग, आन्तरिक लेखा परीक्षण विभाग तथा मौद्रिक व्यवस्थापन विभागमा समेत उनले कार्यअनुभव हासिल गरेकी छिन् । 

आफ्नो कार्यकालको सबैभन्दा लामो समय करिब ११ वर्ष उनले आर्थिक अनुसन्धान विभागमा बिताइन् । 

आर्थिक अनुसन्धान विभागले तीन–तीन महिनामा देशको आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक सार्वजनिक गर्ने काम गर्छ ।

ढुंगानाले राष्ट्र बैंकको पोखरा क्षेत्रीय कार्यालयमा क्षेत्रीय निर्देशकका रूपमा सफलतापूर्वक १४ महिना काम गरिन् । 

मौद्रिक व्यवस्थापन विभागमा काम गर्दागर्दै नेपाल सरकारले उनलाई वरिष्ठ डेपुटी गभर्नरको रूपमा नियुक्त गरेको थियो । मौद्रिक व्यवस्थापन विभागले मौद्रिक नीति बनाउने काम गर्छ । 

बैंकभित्र प्रशासनिक काममा मात्र नभई उनले देशको आर्थिक अवस्था र देशले लिनुपर्ने अर्थतन्त्रको बाटोबारे नियमित रूपमा लेख लेख्ने गरेकी छिन् । 

सानै उमेरदेखि अध्ययनमा तीक्ष्ण ढुंगानाले स्नातकोत्तर तहमा महिलातर्फ नेपाल प्रथम र समग्रमा दोस्रो स्थान हासिल गरेर गोल्ड मेडल प्राप्त गरेकी थिइन् । 

त्यसपछि उनले केही समय त्रिवि क्याम्पसमा अध्यापन गरिन् । उनले अस्ट्रेलियाबाट इकोनमिक्समा मास्टर्स गरेकी छिन् । 

आफूले पाएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेकै कारण सरकारको नेतृत्व ढुंगानालाई नै गभर्नर बनाउने अडानमा छ । 

राष्ट्र बैंक हाँक्न सक्षम महिला भन्दै प्रधानमन्त्री केपी शर्मा ओली नै ढुंगानाको पक्षमा रहेको स्रोतहरू बताउँछन् ।

‘राष्ट्र बैंकमै ३ दशक काम गरेको योग्य उम्मेदवारले यो जिम्मेवारी पाउनुपर्छ, महिला भएकै कारण नीलमलाई गभर्नर नबनाउने कुरा हुन्न,’ ओलीले सत्ता गठबन्धनका नेतासँग भन्ने गरेका छन् । 

प्रधानमन्त्री ओलीले सार्वजनिक भाषणहरूमा मेरिटोक्रेशीलाई प्राथमिकता दिने बताउँदै आएका छन् । 

उनले चैत ७ गते प्रतिनिधि सभामा सांसदहरूसँगको प्रश्नोत्तरमा पनि प्रहरी महानिरीक्षकको उदाहरण दिँदै योग्यलाई प्राथमिकता दिने बताएका थिए । 

ढुंगाना पनि गभर्नरका रूपमा जिम्मेवारी सम्हाल्न आफू योग्य रहेको बताउँछिन् ।

‘करिब तीन दशकको यात्रामा मैले बैंकमा गरेको मेहनत, योगदान र अहिले वरिष्ठ डेपुटी गभर्नरका रूपमा र कायममुकायम गभर्नरका रूपमा सफलतापूर्वक र सक्रियतापूर्वक निर्वाह गरेका जिम्मेवारीहरूलाई नियाल्ने हो भने गभर्नरका रूपमा काम गर्नसक्छु भन्ने पुष्टि हुन्छ,’ गत चैत ६ गते राष्ट्रिय समाचार समितिसँगको कुराकानीका क्रममा ढुंगानाले भनेकी थिइन् । 

salt training

कमेन्ट गर्नुहोस्