
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका र लेकवेँशी नगरपालिका जोड्ने झण्डै पाँच करोडको पुल निर्माण पूर्ण नहुँदै भत्किने अवस्थामा पुगेको छ ।
चार करोड ९३ लाख ८६ हजार रुपैयाँ लागतमा निर्माण भइरहेको झुप्रा खोला पुलको भौतिक प्रगति ८० प्रतिशत छ । अवैध रूपमा खोला दोहन गर्दा चार वर्षअघि निर्माण शुरू भएको पुलको फाउण्डेसन जोखिममा परेको हो । पुलको फाउण्डेशन जमिनभन्दा १० मिटरमुनि भए पनि अवैध रूपमा पुल नजिकै क्रसर उद्योग राखेर ढुंगा गिट्टी निकाल्दा पुल निर्माण सम्पन्न नहुँदै जोखिममा परेको हो ।
जथाभावी रूपमा नदिजन्य पदार्थ निकालिएपछि जमिनबाट एक मिटरमुनि मात्रै पुलको फाउन्डेसन रहेको छ । गत वर्षको बाढीले पुल बगाउने सम्भावना बढेको भन्दै पिल्लर वरिपरि सडक डिभिजन कार्यालयले तटबन्ध गरेको थियो ।
‘यो बर्खामा यो पुल जोगाउन सक्ने अवस्थामा हामी छैनौं,’ सडक डिभिजन कार्यालय सुर्खेतका डिभिजन प्रमुख खुम भण्डारीले भने, ‘पुलको तल्लो तट पाँच मिटरभन्दा बढी गहिरो खनिएको छ ।’
अवैध नदीजन्य पदार्थ उत्खनन् गरिएको र झण्डै पाँच करोड लागतमा तयार हुन लागेको पुलबारे सरोकारवाला निकाय मौन बसिदिँदा समस्या भएको हो ।
झुप्रा खोलामा वीरेन्द्रनगर नगरपालिकाले नदीजन्य पदार्थको ठेक्का लगाउँदै आएको छ । तर, समयमै अनुगमन नहुँदा पछिल्लो चार वर्षमा झुप्रा खोला अत्यधिक दोहन भइरहेको छ ।
यता, पुल जोगाउन भन्दै सडक डिभिजन कार्यालयले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र वीरेन्द्रनगर नगरपालिकालाई पटक–पटक आग्रह गर्दै पत्र पठाएको छ । सरोकारवाला निकायहरू मौन बसिदिँदा दुई पालिका जोड्ने पुल मात्रै होइन, नजिकको बस्ती पनि उच्च जोखिममा परेको स्थानीय बताउँछन् ।

पुल नजिक उत्खनन् रोक्न पत्राचार गरिएको थियो । तर, अहिले पुल नै बन्द गरेर क्रसर सञ्चालन भइरहेको छ । यता, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बास्कोटाले भेरी लिफ्टिङ खानेपानी आयोजनाका लागि क्रसर राख्न दिइएको बताए । खानेपानी आयोजनाले क्रसर राखिएको स्थानसम्म जान वन फँडानी गरेर सडक पुर्याएको छ ।
गत शुक्रबार नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिले गत शुक्रबार पुलको अनुगमन गरेको थियो । अनुगमन समिति संयोजक गंगाराम सुनारले नदीजन्य पदार्थको अवैध उत्खनन्ले पुल जोखिममा परेको पाइएको बताए । पुलको माथिल्लो र तल्लो तटमा नदीजन्य पदार्थसम्बन्धी मापदण्ड, २०७७ को दफा (११) को उपदफा (१) विपरीत उत्खनन् गरेको देखिएको उनको भनाइ थियो । त्यसलाई रोक्न पालिकालाई आवश्यक निर्देशन दिने प्रमुख सुनारले बताए ।

जिल्ला समन्वय अधिकारी मेघनाथ सापकोटाले शुक्रबार नै सडक डिभिजनलाई पत्र पठाइ सकिएको बताए । ‘हामीले अहिले सडक डिभिजनलाई पुलको पूर्ण विवरणका पठाउन पत्राचार गरेका छौं ।’ सापकोटाले भने, ‘विवरण आइसकेपछि आगामी चैत ३१ गते दुवै पालिका, डिभिजनसँग छलफल कार्यक्रम राखेका छौं । विवरण आइसकेपछि हामी प्रतिवेदन तयार गर्छौं । त्यसपछि के गर्ने भन्ने बारेमा आवश्यक निर्णय लिन्छौं ।’
उनले पुलबारे दुवै पालिकाका प्रमुखसँग छलफल भएको बताए ।
प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायले पुल जोखिममा रहेको विषय आफूलाई जानकारी भएको बताए । त्यसबारे स्थानीय तहलाई जानकारी गराइएको उनले बताए । नगरपालिकाको जवाफ आएपछि मात्रै त्यसबारे के गर्ने भन्ने निष्कर्षमा पुग्ने उनले बताए ।