
रामेछापकी कान्छी तामाङ (नाम परिवर्तन) भक्तपुरस्थित एक गार्मेन्ट फ्याक्ट्रीमा काम गर्दै थिइन् । आर्थिक अवस्था कमजोर भएपछि उनले घरेलु कामदारको रूपमा इराक जाने निधो गरिन् ।
सामाजिक सञ्जाल फेसबूकमार्फत चीनजान भएका हीरा तामाङ (हाल पक्राउ परेर मुद्दा चलाइएका)सँग उनले आफू घरेलु कामदारका रूपमा इराक जान इच्छुक रहेको बताइन् ।
हीराले जान ७० हजार खर्च लाग्ने र २/३ दिन दुबईमा बसेपछि इराकको फ्लाइट हुने बताए । कान्छीले हीराको शर्त स्वीकार गरिन् । उनलाई मासिक ४५ हजार नेपाली तलब हुने आश्वासन दिइएको थियो ।
काठमाडौं थली बस्ने हीराले कान्छीलाई आफ्नी दिदीसासु नाता पर्ने पेम्बा तामाङ इराकमा रहेको र उनले राम्रो काम गरिरहेको बताए । कान्छी र पेम्बाबीच सामाजिक सञ्जाल फेसबूकमा समेत कुराकानी भयो । पेम्बाले ‘यहाँ (इराक)मा राम्रो छ, यहाँ आएपछि ३/४ दिनमा राम्रो काम लगाइदिन्छु,’ भनिन् ।
संगठित रूपमा हुने मानव तस्करीको जालोमा फस्दैछु भन्ने कुरा कान्छीले भेउ पाइनन् । पेम्बाले इराकमै रहेको अर्को एजेन्टले सम्पूर्ण प्रक्रिया मिलाइदिने भन्दै कान्छीलाई थप आश्वस्त पारिन् ।
कान्छीले हीरालाई पासपोर्टको फोटोकपी र दुईवटा पासपोर्ट साइजको फोटो दिइन् ।
एक हप्तापछि हीराले भिसा प्रक्रियाका लागि २० हजार रुपैयाँ मागे । कान्छीले ई–सेवामार्फत रकम पठाइदिइन् । दोस्रो दिन पुनः हीराकै खातामा आइएमईमार्फत ४० हजार पठाइन् ।
कान्छीको भिसा पनि आयो । उनी दुबई उड्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगिन् । विमानस्थलमा पनि हीराले थप १० हजार मागे । कान्छीले नगदै दिइन् ।

विमानभित्र छिरेपछि कान्छी अचम्ममा परिन् । उक्त फ्लाइटमा ४० जना नेपाली महिला दुबईका लागि उड्दै थिए । विमानभित्रै कान्छीको मोबाइल खोसियो ।
हीराले खटाएका एक व्यक्ति उनीहरूलाई ‘रिसिभ’ गर्न दुबईस्थित विमानस्थलमा आइपुगे ।
दुबईमा पुगेपछि कान्छीले प्रमिला (इराकस्थित एजेन्ट)लाई सम्पर्क गरिन् । प्रमिलाले कान्छीलाई ‘केही समय लाग्ने भयो, तिमी नआतिई बस, मैले नै तिम्रो कामको सबै प्रक्रिया मिलाउने हो,’ भनिन् ।
एउटा घरमा कान्छीलाई २३ दिन बन्धक बनाएर राखियो । दिनमा एकपटक मात्रै फोन गर्न दिइयो ।
सन् २०२३ अक्टोबार १४ मा कान्छीलाई इराकको बग्दाद पुर्याइयो । कान्छीसहित ५ जनालाई लिन एकजना पुगेका थिए । ती व्यक्तिलाई कान्छीले चिनिनन् ।
बग्दादमा कान्छीको पासपोर्ट र मोबाइल खोसियो । त्यहाँ पनि ५ दिन बन्धक बनाएर राखेपछि कान्छीलाई मर्रोज नामका स्थानीय एजेन्टको घरमा लगियो ।
उक्त घरमा कान्छीले १८ दिन घरेलु कामदारको रूपमा काम गरिन् । कान्छीले मर्रोजलाई आफ्नो तलब कति हो भनेर सोधिन् । मर्रोजले ‘तिमिलाई परीक्षणका लागि मात्रै काम लगाएको हो’ भन्ने जवाफ दिए ।
केही दिनपछि कान्छीलाई अर्कै साहुको घरमा लगियो ।
आली नाम गरेको साहुको घरमा कान्छीले काम गर्न थालिन् । तलब माग्दा उल्टै ‘तिमीलाई हामीले घरमा काम गराउनका लागि किनेर ल्याएको हो’ भनियो । तब मात्रै कान्छी झसंग भइन् ।
कामको चाप र पीडासँगै कान्छी बिरामी भइन् । शुरूशुरूमा आलीले कान्छीलाई अस्पताल लगेनन् । खाना समेत नखाने भइसकेपछि मात्रै कान्छीलाई अस्पताल पुर्याइयो ।
सामान्य उपचारपछि कान्छीलाई पुनः आलीले आफ्नै घर लगे । कान्छीको स्वास्थ्य अवस्था झनझन बिग्रँदै गयो । उनले प्रमिलालाई फोन गरेर सबै जानकारी गराइन् ।
प्रमिला कान्छी बसेको घरमा पुगिन् । उनले कान्छीलाई आफ्नै घर लगिन् । त्यहाँ पनि २/४ दिन सामान्य उपचारपछि पुनः आलीकै घरमा पुर्याइदिइन् ।
अनि शुरू भयो कान्छीमाथि कुटपिट र गालीगौलजको वर्षा ।
कान्छीले ‘मलाई घर पठाइदिनुस्, म काम गर्न सक्दिनँ’ भन्दा उनीमाथि उल्टै कुटपिट हुन्थ्यो । ‘तँलाई प्रमिलाबाट २ वर्षका लागि हामीले ६ हजार डलरमा किनेर ल्याएका हौं, नेपाल फर्किने भए बाँकी समयको ३ हजार २५० डलर फिर्ता गर्’ भनेर आली र उसको श्रीमतीले धम्क्याउन थाले ।
कान्छीले पुनः प्रमिलालाई फोन गरिन् । घरको साहुले भनेको सबै कुरा बताइन् । तर, प्रमिलाले ‘त्यतिका पैसा तिर्न नसक्ने र नेपाल फर्कने भए आफन्तसँग मागेर तिरिदेऊ’ भन्दै जवाफ फर्काइन् ।
आफन्तसँग हारगुहार गरेर कान्छीले ४ लाख जोहो गरिन् । उक्त रकम पनि मर्रोजले लियो । त्यसपछि कान्छीलाई उसले आफ्नो घरमा २ महिना बन्धक बनायो । २ महिनापछि आलीकी श्रीमती आएर ३ हजार २५० डलर लगिन् । मर्रोजले पुनः एक महिना आफ्नै कोठामा बन्धक बनाएर श्रम शोषण गर्यो ।
आफूमाथि धेरै ज्यादती भएपछि कान्छीले ‘कि मलाई नेपाल पठाइदेऊ, होइन भने पुलिस बोलाउँछु’ भनेपछि मात्रै २०२५ फेब्रुअरी ५ मा उनलाई नेपाल पठाइयो ।
कान्छीले नेपाल फर्किएपछि प्रहरीको मानव बेचबिखन ब्यूरोमा हीरा, पेम्बा र प्रमिलाविरुद्ध उजुरी दिइन् ।
उजुरीमा कान्छीले ‘आफन्तसँग मागेको ४ लाख रुपैयाँ र इराक जाँदा खर्च भएको ७० हजार गरी ४ लाख ७० हजार रुपैयाँ फिर्ता र आफूलाई नारकीय जीवन बिताउन बाध्य पार्ने हीरा, पेम्बा र प्रमिलाविरुद्ध कानूनी कारबाही गर्न माग गरेकी थिइन् ।
ब्यूरोले कान्छीकै उजुरीका आधारमा हीरालाई पक्राउ गर्यो । शुरूमा प्रहरी कार्यालय र त्यसपछि सरकारी वकिलकोमा हीराको बयान भयो ।
उनले कान्छीको भिसा प्रक्रियाको सबै काम सञ्जय तामाङले गरेको र ऊ वैदेशिक रोजगारीका लागि हाल साउदी अरबमा रहेको बयानमा खुलाए । सञ्जय हीराका काकाका छोरा हुन् ।
कान्छीले पेम्बामाथि लगाएको आरोपका बारेका हीराले इन्कारी बयान दिएका छन् ।
इराक पुगेपछि आफूलाई कान्छीले फोन गरेको र प्रमिलाले नै सबै प्रक्रिया पूरा गरिदिने भनेर आफूले बताएको हीराको बयानमा उल्लेख छ ।
हीराले प्रमिला इराकमा बसेर एजेन्टको काम गर्दैै आएको पनि कान्छीमार्फत नै फोनमा कुराकानी भएको आधारमा थाहा पाएको बताएका छन् ।
सरकारी वकिल कार्यालयले कान्छीका श्रीमानसँग पनि कागज गरेको छ । उनले नै इराकबाट एजेन्टले मागेको ४ लाख रुपैयाँ प्रमिलाले दिएको बैंक खातामा पठाएका थिए ।
प्रमिलाले कान्छीका श्रीमानको मोबाइलमा आशिष शंकर नाम गरेका व्यक्तिको एनआईसी एसिया बैंकको खाता नम्बर ०८७५७५२८२७७१६००१ पठाएकी थिइन् ।
कान्छीका श्रीमानले उक्त खातामा ४ लाख पठाइदिएका थिए ।
सरकारी वकिल कार्यालय काठमाडौंले मंगलबार मात्रै जिल्ला अदालत काठमाडौंमा अभियोग पत्र दायर गरेको छ ।
जिल्ला न्यायाधिवक्ता उदयचन्द्र अधिकारीले दायर गरेको अभियोगपत्रमा पक्राउ परेका हीराविरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १७ बमोजिम सजाय हुनुपर्ने मागदाबी लिइएको छ ।
कान्छीले बयानमा खुलाएका नामहरू क्रमशः पेम्बा तामाङ, प्रमिला पाख्रिन, इराकमा रहेका मिर्रोज, इराकको घर मालिक आली, आशिष शंकर विकसमेतका व्यक्तिको संलग्नता यकिन गरी दोषी देखिएमा नेपाल आएको अवस्थामा पक्राउ गरी मुलुकी फौजदारी कार्यविधिसंहिता, २०७४ को दफा ३५ बमोजिम थप अभियोग पत्र पेश गर्ने जिकिर सरकारी वकिल कार्यालयले गरेको छ ।