२७ जेठ २०८३, बुधबार
रुस-युक्रेन युद्धको पछिल्लो वास्तविकता

रुसले आक्रमण बढाएसँगै युक्रेनी सेनाको हौसला टुट्दै, युद्धविराम धेरै टाढा

चैत २७, २०८१
काठमाडौं
रुसले आक्रमण बढाएसँगै युक्रेनी सेनाको हौसला टुट्दै, युद्धविराम धेरै टाढा

पछिल्लो समय अमेरिकी नेतृत्वमा युद्ध अन्त्यका लागि प्रयास भइरहे पनि रुस र युक्रेनबीचको युद्ध रोकिन सकेको छैन । रुसी सेनाले युक्रेन विरुद्धको मोर्चा झन् कसिरहेको छ भने युक्रेनी भू-भाग कब्जाका लागि रुसले हरसम्भव प्रयास गरिरहेको छ । 

युद्धमा रुस हाबी हुँदै गइरहेको स्वयं युक्रेनी अधिकारीहरूले स्वीकारेका छन् । विभिन्न सामाजिक सञ्जालमा युक्रेनी अधिकारीहरूले व्यक्त गरेको विचारबाट यो तथ्य पुष्टि हुने सीएनएनले दाबी गरेको छ । 

राष्ट्रपति भ्लादिमिर पुटिनले लामो समयदेखि युक्रेनविरुद्ध ठूलो आक्रमणको चेतावनी दिँदै आएका थिए । पछिल्लो आक्रमण त्यसैको शुरूआत हो कि होइन भन्ने स्पष्ट छैन तर युद्ध अन्त्यका लागि रुस गम्भीर नभएको स्पष्ट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

गत जनवरी २० मा दोस्रोपटक अमेरिकाको सत्ता सम्हालेका राष्ट्रपति डोनाल्ड ट्रम्प यता 'ट्यारिफ' प्रकरणमा विवादित बन्दै गर्दा रुसले युक्रेनमाथि आक्रमणको स्केल बढाउँदै लगेको हो ।  

ट्रम्प स्वयं पनि शान्ति प्रक्रियाका लागि पुटिन गम्भीर छैनन् भन्ने निष्कर्षमा पुगेका छन् । अमेरिकी विदेशमन्त्री मार्को रुबियोका अनुसार ट्रम्पले शान्ति प्रक्रियाका लागि क्रेमलिन गम्भीर भए/नभएको निष्कर्ष आगामी हप्ताभित्र निकाल्ने छन् । 

कहाँ-कहाँ चलिरहेको छ युद्ध ?
केही महिनादेखि डोनेट्स्क क्षेत्रमा रहेको युक्रेनको सैन्य आपूर्तिको प्रमुख केन्द्र पोक्रोभ्स्क शहरको दक्षिणमा सबैभन्दा तीव्र लडाइँ भइरहेको छ ।  युक्रेनी सेनाले गत जनवरीदेखि नै रुसी आक्रमणलाई केही हदसम्म रोकेर साना रणनीतिक सफलता हासिल गरेको थियो । 

जसले गर्दा रुसी सेना शहरको केन्द्रबाट केही किलोमिटर टाढा बसिरहेको छ । त्यहाँ तैनाथ एक युक्रेनी सेनाका अधिकारीको भनाइ उद्धृत गर्दै सीएनएन लेख्छ, 'पछिल्लो १० दिनमा रुसी सेना फेरि सक्रिय भएको छ र आक्रमणका लागि थप जनशक्ति र सवारीसाधन ल्याइरहेको छ । हामीले यो ड्रोन फुटेजमा देखिरहेका छौं र रेडियो सञ्चारमा उनीहरूले यसबारे कुरा गरिरहेको सुनेका छौं ।' ​

पोक्रोभ्स्कमा खटिएका युक्रेनी सेनाहरूले रुसी घेराबन्दीको डर महसुस गरिरहेका छन् । यद्यपि, रुसले आफ्नो सैन्य शक्ति पश्चिमतिर पनि सञ्चय गरिरहेको छ । त्यसैले पोक्रोभ्स्कमा घेराबन्दी हुने र पश्चिम दिशामा रक्षापंक्ति भत्किने डर युक्रेनी सेनालाई छ । 

'यो क्षेत्रमा रुसी सेना सक्रिय चरणमा प्रवेश गरेको छ । रुसी सेनाले रोकिने छाँट ल्याएको छैन,' एक युक्रेनी सेनाले आफ्नो टेलिग्राम एकाउन्टमा लेखेको छ ।'

उनले नोभोपाभ्लिभमा रहेका केही शहरमाथि रुसी सेनाले आक्रमण गर्न सक्ने सम्भावना रहेको बताए ।

नोभोपाभ्लिभको मुख्य शहर डनिप्रोपेट्रोभ्स्कमा रुसले पहिलोपटक पाइला राख्न खोजेको उनको आरोप छ । सीएनएनको विश्लेषण अनुसार यो रुसी सेनाका लागि निकै महत्त्वपूर्ण भू-भाग हुनेछ । 

उक्त क्षेत्र गत तीन वर्षअघि युक्रेनविरुद्ध गरिएको पूर्ण आक्रमणपछि रुसी कब्जामा परेको पहिलो नयाँ युक्रेनी क्षेत्र हुनेछ । युक्रेनको डिपस्टेट म्यापिङ सेवाले पुटिनको सेनालाई यो क्षेत्रबाट ६ किलोमिटर (३.७ माइल) टाढा देखाएको छ । जबकि ड्निप्रोपेट्रोभ्स्कका अधिकारीहरूले सीमा क्षेत्रका बासिन्दालाई पहिल्यै सुरक्षित स्थानमा सार्न थालेका छन् । 

पुटिन र सम्भवतः अमेरिकी वार्ताकारका लागि ड्निप्रोपेट्रोभ्स्कको कुनै पनि भागमा रुसी नियन्त्रण भएमा भावी वार्तामा उपयोगी सौदाबाजीको महत्त्वपूर्ण आधार हुन सक्छ ।

तीव्र आक्रमण 

युक्रेनको सबैभन्दा पूर्वी लुहान्स्कलाई पूर्ण रूपमा रुसी सेनाले नियन्त्रण गरिरहेको छ । त्यसको वरिपरी केही साना क्षेत्रमा युक्रेनी सेनाको यदाकदा उपस्थित हुने गर्छ तर रुसविरुद्ध लड्न त्यो उपस्थिति पर्याप्त छैन । 

यहाँ पनि रुसी सेनाले पछिल्लो समयमा सैन्य शक्ति थुपार्न थालेको छ । विशेष गरी लाइम्यान शहरको उत्तरमा रहेको रेलमार्गको केन्द्र युक्रेनी सेनाका लागि लजिस्टिक आपूर्ति हुने ठाउँ हो । रुसले पछिल्लो समय त्यहाँ आँखा गाडेको छ । 

'हामीले अग्रमोर्चालाई स्थिर गर्न र शत्रुलाई व्यवस्थित रूपमा परास्त गर्न थप काम गर्नुपर्छ, नत्र दुस्मन चारैतिर फैलिरहेको छ,' एक युक्रेनी अधिकारीले टेलिग्राममा लेखेका छन् ।

सीएनएनका अनुसार पछिल्ला दुई हप्तामा अग्रमोर्चाको सबै भागमा रुसी गतिविधिमा वृद्धि देखिएको छ । पछिल्लो तथ्यांक अनुसार गत मार्च २३ देखि रुस थप आक्रामक बनिरहेको छ । 

त्यसअघि मार्चमा दोहोरो झडप औसत दैनिक १४० को संख्यामा मात्र थियो । त्यसयता, झडपको संख्या बढिरहेको छ । अहिले प्रतिदिन १८० भन्दा बढी झडप हुन्छन् । 

रुसको कुर्स्क क्षेत्र अर्को महत्त्वपूर्ण भूमि हो, जहाँ प्रत्येक दिनजसो दुवै पक्षबीच युद्ध भइरहेको छ । युक्रेनले यहाँ सीमावर्ती केही गाउँ मात्र नियन्त्रणमा राख्न सफल भएको छ । रुसी सेनाले यो क्षेत्रको अधिकांश स्थानमा युक्रेनी सेनालाई पछि धकेलिरहेको छ । 

सुमी क्षेत्रमा भने दुवै पक्षको नियन्त्रण नभएका स-साना ग्रे जोनहरू बनेका छन् । युक्रेनको उत्तरी क्षेत्रमा रुसले थप सैन्य परिचालन गरेको छ भने युक्रेनले रुसको बेल्गोरोद क्षेत्रमा छिटफुट आक्रमण गरिरहेको छ । 

कसरी लडिरहेका छन् रुसी सेना ?

युक्रेनी सैनिकहरूले सामाजिक सञ्जाल र अन्य मिडियामार्फत् पछिल्लो समय रुसले बनाएको विभिन्न रणनीतिबारे बताइरहेका छन् । 

डोनेट्स्कको दक्षिणमा खटेका 'एलेक्स' उपनामका एक युक्रेनी अधिकारीले सामाजिक सञ्जाल टेलिग्राममा लेखेका छन्, 'रुसी सेनाले बख्तरबन्द गाडी, पैदल सेना लडाकू सवारी, ट्यांक, ट्रक, कार र गल्फ कार्टहरू अघि बढाइरहेका छन् । उनीहरूसँग हाम्रो भन्दा धेरै जनशक्ति छ, तर यो युद्धमा पैदल सेनालाई निमिट्यान्न पार्न सम्भव छैन ।'

डोनेट्स्कमै खटिएका अर्का युक्रेनी कमान्डर स्टानिस्लाभ बुनियाटोभले त्यहाँ रुसी सेनाले ठूलो हताहती बेहोरेको तर उनीहरू नरोकिएको बताए । 
उनले टेलिग्राममा लेखेका छन्, 'यो क्षेत्रमा रुसको एउटा युनिटले दिनमा १० देखि ५० सैनिक गुमाउँछ । रुसी सेनाले डनिप्रो नदी नजिकै सानो बस्ती कब्जा गरेको छ ।' 

अर्को एक युक्रेनी ड्रोन टोलीका कमान्डरको भनाइ उद्धृत गर्दै सीएनएन लेख्छ, 'रुसले हामीभन्दा १०/१५ किमी टाढा ठूलो जनशक्ति थुपारेको छ । रुसी सेनाले ५ देखि ७ जनाको साना रणनीतिक समूहमा काम गर्छ । जब कुहिरो वा वर्षा हुन्छ, उनीहरू हाम्रो ड्रोनबाट जोगिँदै खराब मौसमको फाइदा उठाएर अघि बढ्छन् ।'

उनले मौसमसँगै रुसी सेनाको रणनीति बदलिने बताए । 'उनीहरूले अहिले भारी सवारीसाधन प्रयोग गर्न सक्दैनन् । पानी परेको खण्डमा त्यो भिज्छ र बाटोमै अड्किन्छ । जमिन सुकेपछि उनीहरूले आक्रमण शुरू गर्छन् । 

निराशाका बीचमा पनि युक्रेन उत्साहित !

निराशाजनक मूल्यांकनका बाबजुद रुसले कब्जा गरेको क्षेत्रको धेरै ठूलो नभएको युक्रेनको दाबी छ । ड्निप्रोपेट्रोभ्स्क क्षेत्रतर्फ अघि बढिरहेको रुसी सेना पोक्रोभ्स्कको दक्षिण पश्चिममा जम्मा ४५ किलोमिटर मात्र अघि बढेको छ । 

बेलायतको रक्षा मन्त्रालय र अन्य विश्लेषकहरूले रुसको आक्रमण दर ६ महिनादेखि लगातार घट्दै गएको मूल्यांकन गरेका छन् । 

रुसले गत नोभेम्बरमा ७३० वर्ग किलोमिटर युक्रेनी भूमि कब्जा गरेको थियो भने गत महिना जम्मा १४३ वर्ग किलोमिटर मात्र रुसको कब्जामा पुगेको छ ।

रुसलाई जाडोमा युद्ध लड्न चुनौती हुनसक्ने मूल्यांकन युक्रेन र अन्य युरोपेली देशहरूले गरेका छन् । अमेरिकी सेनाका वरिष्ठ कमान्डर जनरल क्रिस्टोफर काभोलीले गत हप्ता भनेका थिए, 'कीभको सेनाले धेरै बलियो रक्षात्मक स्थिति बनाएको छ । रक्षामा युक्रेनी सेना राम्रोसँग तयार छ । युक्रेनको पतन र हारको कल्पना गर्न गाह्रो छ ।'

तर, लन्डनको रक्षा अध्ययन संस्थानका विश्लेषक निक रेनोल्ड्सले रुसले धेरै क्षेत्र कब्जा नगरेका कारणले केही हासिल नगरेको सोच्नु गलत हुने चेतावनी दिएका छन् । 

'रुसको उद्देश्य क्षति हो । रुसले मानिस मार्ने, उपकरण नष्ट गर्ने, स्रोत खर्च गराउने, युक्रेनलाई आर्थिक रूपमा टाट पल्टाउने र उसको लड्ने इच्छालाई तोड्न खोजेको हो,' उनले भने । कमजोर रुसी आक्रमणका लागि पनि युक्रेनको रक्षाशक्ति बलियो हुनुपर्ने उनको भनाइ छ । 

भविष्यको पूर्वानुमान 

युक्रेनको पोजिसन राम्रो भएको भएपनि अमेरिकी सैन्य सहयोग अनिश्चित रहेका बेला युक्रेनलाई पुन: हतियार प्रदान गर्ने युरोपको प्रयासले प्रभाव देखाउन वर्षौं लाग्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

युक्रेनको डिफेन्सले प्रगति गरेको, तर यो सहयोगी देशमा बढी निर्भर रहेको विश्लेषकहरूको भनाइ छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वाशिंगटनको दबाबमा युद्धको अन्त्यप्रति सार्वजनिक रूपमा प्रतिबद्धता जनाएका छन्, तर कुनै पनि शान्ति सम्झौता न्यायपूर्ण र सुरक्षित हुनुपर्ने तथा रुसलाई पुनः आक्रमण गर्न नदिने खालको हुनुपर्ने उनको अडान छ ।

क्रेमलिनले पनि शान्तिको चाहना राखेको दाबी गर्छ, तर उसको सर्त छ- संघर्षका मूल कारण सम्बोधन हुनुपर्छ । 

यस्तो सर्तलाई पुटिनले युक्रेनलाई आफ्नो प्रभाव क्षेत्रमा फर्काउन खोजेको रूपमा लिइएको छ । 

तर, पुटिनले गत हप्ता १० वर्षयताकै ठूलो सैनिक भर्ना गर्ने घोषणा गरेका छन् । यससँगै रुसलाई १५ लाख सक्रिय सेना भएको देश बनाउने उनको महत्वाकांक्षा छ । यससँगै, निरन्तर हवाई आक्रमणले युक्रेनलाई क्षति पुर्‍याउने उनको मनसाय स्पष्ट देखिएको छ । 

एक रुसी सैनिकको भनाइ उद्धृत गर्दै सीएनएनले लेखेको छ, 'अग्रमोर्चामा रहेका सैनिकका लागि र वरिष्ठ अधिकारीका लागि पनि शान्ति वार्ताको कुराले खासै अर्थ राख्दैन । जब तपाईं अग्रमोर्चामा हुनुहुन्छ, तपाईं यस्ता कुराहरूबारे सोच्नुहुन्न । त्यहाँ केवल आदेश पालना गर्ने र बाँच्ने इच्छा हुन्छ ।'

आगामी चुनौती
युक्रेनकसामु रुसी आक्रमणको सामना गर्नुका साथै आन्तरिक र बाह्य दबाबको व्यवस्थापन गर्ने चुनौती छ । युक्रेनी सेना स्रोतको अभाव र थकानको बाबजुद पनि लडिरहेको छ । तर, रुसको निरन्तर दबाब र सैन्य सुदृढीकरणले दीर्घकालीन रक्षा रणनीतिमा प्रश्न उठाएको छ । विशेषगरी, ड्रोन र आधुनिक हतियारको प्रयोगले युद्धको स्वरूप बदलिएको छ, जसले दुवै पक्षलाई नयाँ रणनीति अपनाउन बाध्य बनाएको छ ।

युक्रेनका लागि पश्चिमी सहयोग अझै पनि निर्णायक छ । तर, अमेरिका र युरोपेली मुलुकमा आन्तरिक राजनीतिक मतभेद र आर्थिक प्राथमिकताले सहयोगको निरन्तरतामा अनिश्चितता थपेका छन् । 

युक्रेनले आफ्नो रक्षा उद्योगलाई बलियो बनाउँदै गए पनि, रुसको सैन्य उत्पादन क्षमता र जनशक्तिको तुलनामा उसको गति सुस्त छ ।

salt training

कमेन्ट गर्नुहोस्