३१ जेठ २०८३, आइतबार
अभियुक्तहरूको ‘ट्रयाक रेकर्ड’

प्रहरीलाई टाउको दुखाइ बनेको एउटा ‘खुंखार’ डकैत समूह, एकान्तमा घर देख्नै नहुने !

चैत २९, २०८१
काठमाडौं
प्रहरीलाई टाउको दुखाइ बनेको एउटा ‘खुंखार’ डकैत समूह, एकान्तमा घर देख्नै नहुने !

कारागार (जेल)लाई सुधार गृह बनाउने सरकारी योजना केही अपवादबाहेक अधिकांशको ‘केस’मा लागू भएको देखिँदैन । 

पक्राउ परेका अभियुक्तहरूको ‘ट्रयाक रेकर्ड’ हेर्दा अधिकांश विगतमा कुनै न कुनै अपराधमा संलग्न भएर पक्राउ परेकै भेटिन्छन् ।

यस्तै एउटा संगठित अपराधको घटनामा प्रहरीले पक्राउ गरेकाहरूको विगत डरलाग्दो छ । एउटा डकैतीको घटनामा पक्राउ परेको यो समूह विगतमा पनि जेल परी छुटेको देखिन्छ ।

प्रहरीका अनुसन्धान अधिकारीका अनुसार डाँका घटनाको अनुसन्धान सजिलो छैन । पीडितले पीडक चिन्दैनन् । उनीहरूबीच फोन सम्पर्क त हुने नै भएन ।

मास्क लगाएर पीडितलाई ज्यान लिने धम्की दिँदै भटाभट नगद र गरगहना लिई १०–१५ मिनेटमै काम फत्ते गरेर हिँड्ने डकैत समूहको चरित्र नै हो । 

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका– ३ स्थित टनचोक मानेडाँडामा सञ्चालित ‘होमस्टे’ मा गत माघ ४ गते मध्यराति १२ बजे भएको डैकतीमा संलग्न ४ जनालाई प्रहरीले गत फागुनमा पक्राउ गरेको थियो ।

यही चैत २२ गते जिल्ला सरकारी वकिल कार्यालय काभ्रेले जिल्ला अदालतमा डाँका चोरीसम्बन्धी कसुरमा अभियोग दर्ता गरेको छ । 

स्थानीय लोप्साङ लामाले सञ्चालन गरेको लामा होमस्टेमा डकैती गर्न पुगेका सिन्धुपाल्चोक बाह्रबीसेका बुद्धिमान तामाङ, सोही ठाउँका वीरबहादुर तामाङ, ओखलढुंगा खिजिदेम्बा गाउँपालिकाका महेशकुमार खड्का र उदयपुर कटारी नगरपालिकाका राजकुमार दनुवारसँग प्रहरी र सरकारी वकिल कार्यालयले बयान सकाएर अभियोग पत्र दायर गरेको हो । 

उक्त मुद्दामा एक जनालाई फरार प्रतिवादी बनाइएको छ । डकैत समूहले चोरी गरेको गरगहना खरिद गर्ने भक्तपुर नगरपालिका– १ इचानो टोलका वसन्तराज शाक्य फरार छन् । उनी सुन पसल सञ्चालक समेत हुन् । 

यो मुद्दामा पक्राउ परेकामध्येका बुद्धिमान र वीरबहादुर यसअघि पनि चोरीको अभियोगमा पक्राउ परेका अभियुक्त हुन् । 

उनीहरू २०७० असार ४ गते चोरीको घटनामा पक्राउ परेर नख्खु कारागारमा बसी सजाय भुक्तान गरेर छुटेका थिए । ज्यामी काम गरेर परिवार धानिरहेका उनीहरू काठमाडौं, धादिङ र बनेपा ओहोरदोहोर गरिरहन्थे । 

ज्यामी कामबाट परिवार धान्न मुस्किल भएपछि उनीहरूले गत पुसमा विगतकै जस्तो डाँका डाल्ने योजना बनाएको अभियोग पत्रमा उल्लेख छ ।

उनीहरू घर र होटलको ‘रेकी’ गर्दै टनचोक डाँडामा पुगे । डाँडामा गुम्बानजिकै एउटा होमस्टे देखे । उनीहरूले त्यसको रेकी गर्न थाले । होमस्टेमा बुढाबुढीमात्रै बस्ने र उनीहरूले राम्रो आम्दानी गर्ने गरेको थाहा पाएपछि डाँका डाल्ने योजना बनाए । 

होमस्टेमा पाहुना हुँदा दुई जनाले मात्रै डकैती गर्न नसक्ने भएकाले अरू दुईजना खोज्ने योजना बन्यो । वीरबहादुरले महेशकुमार र राजकुमारलाई टीममा समावेश गरे । 

योजनाअनुसार चारैजना माघ ४ गते राति ९ बजे लामा होमस्टेनजिकै पुगे । होमस्टेमा चहलपहल देखेपछि उनीहरू सबै सुतेपछि मात्र मध्यरातमा डाँका डाल्ने निष्कर्षमा पुगे । मध्यराति १२ बजे चारैजना होमस्टेभित्र छिरे । उनीहरूले खुकुरी र बञ्चरो लगेका थिए । 

होमस्टेभित्र पस्नेबित्तिकै खुकुरी र बञ्चरो देखाएर ‘कोही बोले सबैलाई मारेर फालिदिने’ भन्दै धम्की दिए । होमस्टेका सञ्चालक लामा र उनकी श्रीमती चुपचाप बसे । 

बुद्धिमानले लामाकी श्रीमतीले लगाएको सुनको रिङ थुते । उनीहरूले दराजको साँचो मागेर भित्र रहेको खुत्रुके, सुनका गरगहना र नगद मात्रै लिएनन्, होमस्टेमा रहेको वीयर, ह्विस्की र चाउचाउको कार्टुन समेत लिएर गए । 

भाग्ने क्रममा होमस्टे सञ्चालक लामाकी पत्नीले कराउन लाग्दा उल्टै उनले लगाएको तिलहरी (पोतेसहित) लुछेर भागे । 

डाँका डालेको रकम चारैजनाले सोही राति नै १७ हजारको दरले दामासाही बाँडेको अभियोग पत्रमा उल्लेख छ ।

सुनका गरगहनामध्ये दुईवटा सुनको रिङ बुद्धिमानले राखे । अरू सुन वीरबहादुर, महेशकुमार र राजकुमारले राखे । भोलिपल्ट गरगहना बिक्री गर्ने र पैसा बाँड्ने भन्दै उनीहरू भक्तपुरस्थित च्यामासिङमा सञ्चालित वसन्तको सुन पसलमा गए । 

सुनका गरगहना बिक्री भएबापतको रकम मध्येबाट चारैजनाले ३५ हजारका दरले बाँडे । बाँकी रकम होटल र डान्सबारमा गएर सके । 

होमस्टे सञ्चालक लामाले इलाका प्रहरी कार्यालय बनेपामा उजुरी दिए । हुलियाका आधारमा उनीहरूको खोजतलास शुरू भयो । 

त्यही बीचमा सिन्धुपाल्चोकस्थित इलाका प्रहरी कार्यालय बाह्रबीसेमा वीरबहादुरविरुद्ध चोरी मुद्दा दर्ता भएको थियो । उनी फरार थिए । 

यही वर्ष फागुन १९ मा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले वीरबहादुरलाई ललितपुरको लगनखेलबाट पक्राउ गर्‍यो । उनी हाल जेलमै छन् ।

बाह्रबीसे प्रहरीले वीरबहादुर संलग्न अन्य घटना केलाउँदा बनेपास्थित लामा होमस्टेमा समेत डाँका डालेको स्वीकारेपछि थप तथ्य खुलेको हो । बनेपा प्रहरीले वीरबहादुरसँग सिन्धुपाल्चोक कारागारमै पुगेर बयान लिएको थियो । 

मुद्दामा प्रतिवादी बनाइएका महेशकुमार पनि बुद्धिमानसँगै यसअघि २०७० असारमा चोरी मुद्दामा पक्राउ परेर साढे २ वर्ष जेल बसी छुटेका अभियुक्त हुन् । 

जेलबाट छुटेर काभ्रेको चौकोटमुनि कुखुरा फार्म सञ्चालन गरेर बसेका थिए । त्यतिबेला उनको चिनजान अर्का प्रतिवादी राजकुमार दनुवारसँग भएको थियो । 

कुखुरा फार्मबाट फाइदा नभएपछि उनी राजकुमारसँगै ज्यामी काममा लागे । बुद्धिमानसँग पनि महेशको भेट भइरहन्थ्यो । 

गत पुसमा उनीहरू भेट भएका बेला डाँका डाल्ने योजना बनेको थियो । सरकारी वकिलसँगको बयानमा पनि महेशकुमारले सो कुरा स्वीकार गरेका छन् । 

महेशकुमार र राजकुमारलाई सीआईबीले गत बुधबारमात्रैै बूढानीलकण्ठबाट पक्राउ गरेर बनेपा प्रहरीको जिम्मा लगाएको छ । पक्राउ परेका प्रतिवादीमध्ये राजकुमारको मात्र अपराधको पुरानो ट्र्याक रेडर्क फेला परेको छैन ।

महेशकुमारले ‘एउटा काम गर्न मलाई सहयोग गर, तिमीलाई पैसा आउँछ’ भनेपछि आफू डकैतीमा गएको बयान राजकुमारले दिएका छन् ।

प्रतिवादी बनाइएका चारै जनालाई सीआईबीले पक्राउ गरेर आफूहरूलाई बुझाएको जानकारी जिल्ला प्रहरी कार्यालय काभ्रेकी प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले दिइन् ।

उनले लोकान्तरसँग भनिन्, ‘यो डकैत समूहसम्म पुग्न धेरै गाह्रो भयो, यिनीहरूविरुद्ध ५ वटा मुद्दा छ । अहिले बुझाएको मुद्दा लामा होमस्टेको मात्रै हो ।’ 

उनका अनुसार यो समूहले एकान्त स्थानमा घर देख्ने बित्तिकै डकैतीको योजना बनाइहाल्थ्यो । 

‘यो समूह काभ्रेमा डाँका डाल्नेबित्तिकै भागेर काठमाडौं र धादिङमा लुकेर बस्ने गरेको देखिन्छ,’ खड्काले भनिन्, ‘हामीले सीआईबीलाई अनुरोध गरेपछि उसैले पक्राउ गरेर बुझाएको हो ।’ 
 

salt training

कमेन्ट गर्नुहोस्