०७ साउन २०८३, बिहीबार
लागूऔषध धन्दामा महिलाको प्रयोग

लागूऔषध कारोबारीसँगको संगतले फसिन् चाची, प्रहरीले माइतीबाटै उठायो !

बैशाख १, २०८२
काठमाडौं
लागूऔषध कारोबारीसँगको संगतले फसिन् चाची, प्रहरीले माइतीबाटै उठायो !

सामान्य चिनजान भएका भारतीय नागरिक एमडी भन्ने मोहम्मद अनवर हुसेनको भर परेर लागूऔषध धन्दामा लाग्दा एक नेपाली महिला ‘प्रहरीको खोर’मा पुगेकी छन् ।

झापाको भद्रपुर नगरपालिका– ३ नयाँबस्तीकी ४५ वर्षीया चाची भन्ने दोमासी राजवंशी तस्करले दिएको लागूऔषध ओसारपसारमा सक्रिय हुँदा पक्राउ परेकी हुन् ।

प्रहरीले चाचीसहित भारतीय नागरिक हुसेन र झापाको अर्जुनधारा नगरपालिका– ८ शनिश्चरेका अर्जुन श्रेष्ठलाई पक्राउ गरेको छ ।

शुरूमा काँकडभिट्टाबाट हुसेन र श्रेष्ठलाई ७.१९० ग्राम खैरो हेरोइन र २० हजार नगदसहित प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरूको बयानका क्रममा चाचीसँग २०० ग्राम हेरोइन रहेको खुलेको थियो । लगत्तै प्रहरीले माइती घरबाट चाचीलाई पक्राउ गर्‍यो ।

चाचीले उक्त लागूऔषध काठमाडौंका भुपाल पोखरेललाई दिन भनेर आफूसँगै राखेकी थिइन् । 

प्रहरीले चाचीको विगत केलाउँदा उनी पहिलेदेखि नै हुसेनसँग मिलेर पैसाको लोभमा भारतदेखि झापा हुँदै काठमाडौं आएर हेरोइन सप्लाइ गर्दै आएको रहस्य खुल्यो । 

५ वर्ष अघिसम्म भद्रपुरस्थित नेपाल बैंकअगाडि घुम्ती पसल सञ्चालन गर्दै आएकी चाची त्यतिबेलै हुसेनसँग परिचित भएकी थिइन् । पछिल्लोपटक भने चाची विगत एक वर्षदेखि भद्रपुरमा डेरामा गरी बस्दै आएको खुलेको छ ।

भारतको गलगलियादेखि खाद्यान्न सामग्रीहरू झापा ल्याएर बिक्रीवितरण गर्दै आएकी चाचीलाई एमडीले एउटा प्रस्ताव राखे । भारतको पानीट्यांकीमा बसेर नेपालीलाई प्रयोग गरी लागूऔषधको खुद्रा व्यापार गर्दै आएका एमडीले ‘एउटा सामान काठमाडौं पुर्‍याइदेऊ, तिमीले पैसा पाउँछौ’ भनेर प्रस्ताव राखे ।

पैसा आउँछ भनेपछि चाची एमडीको प्रस्तावमा राजी भइन् । एमडीले भारतको बंगाल बस स्टेसन र बतासी भन्ने ठाउँको बीच भागमा पर्ने चेकरमारीमा चाचीलाई बोलाए ।

त्यतिबेला एमडी र अर्जुन सँगै थिए । दुवै जनाले चाचीलाई ‘तिमीले कुनै टेन्सन लिनुपर्दैन, हामीले दिएको सामान काठमाडौं पुर्‍याइदेऊ’ भन्दै भुपालको नम्बर दिए । चाची झापाबाट काठमाडौंको बस चढिन् । कलंकी आपुगेपछि भुपालले चाचीलाई फोन गरे ।

‘एमडी र अर्जुनले भनेको मान्छे मै हुँ’ भन्दै सामान बुझाउन भने । सामान (५० ग्राम खैरो हेरोइन) चाचीले भुपाललाई दिइन् । भुपालले चाचीलाई ६ हजार रूपैयाँ दिनुका साथै काठमाडौंबाट झापा जाने बसको टिकट काटेर पठाइदिए । 

समय बित्दै गयो । एमडीले पुनः चाचीलाई भारतको बतासीमा कालीमाताको मेलामा गएका बेला अर्को प्रस्ताव राखे– ‘योपटक अलि धेरै सामान छ, तिमीलाई २० हजार आउँछ, गर्छौ ?’ उक्त समान पनि पहिलेजस्तै काठमाडौंमा भुपाललाई नै बुझाउनुपर्ने एमडीले बताए । 

बसको टिकट काटिदिने र पैसा पनि आउने भएपछि चाची तयार भइन् । खैरो हेरोइन बोकेर उनी भारतको गलगलिया नाका हुँदै झापाको भद्रपुरस्थित नयाँबस्तीमा रहेको माइती घरमा आइन् । माइतीमा चाचीको गतिविधि र क्रियाकलापबारे कोही पनि जानकार थिएनन् । खाना खाने तयारी गर्दैगर्दा प्रहरी आएर चाचीलाई पक्राउ गरे ।

एमडीले काठमाडौं ल्याउन दिएको खैरो हेरोइन पनि बरामद गरे । दुईवटा छुट्टाछुट्टै पोकामा २०६.३४० ग्राम खैरो हेरोइन थियो । आफूले लागूऔषध बोकेको प्रहरीले कसरी थाहा पायो भन्दै अचम्ममा परेकी चाचीले जब एमडी र अर्जुनलाई प्रहरी हिरासतमा देखिन्, तब उनीहरूकै बयानका आधारमा आफू पक्राउ परेको थाहा पाइन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख एसपी मिलन केसीका अनुसार पक्राउ परेका तीन जनाले लामो समयदेखि संगठितरूपमा भारतबाट नेपाल ल्याएर लागूऔषध खैरो हेरोइनको कारोबार गर्दै आएका थिए । 

विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।  प्रहरीले अनुसन्धानको मिसिल सरकारी वकिल कार्यालय झापामा बुझाएपछि सरकारी वकिल कार्यालयले गत बिहीबार मात्रै चाची, एमडी र अर्जुनविरुद्ध जिल्ला अदालत झापामा अभियोग पत्र दायर गरेको छ ।

बयानमा एमडीले खुलाएका भारतीय र नेपाली नागरिकलाई फेला परेका बखत पक्राउ गरी कानूनी कारबाहीको दायरामा ल्याउने भनिएको छ । 

दुर्घटनाबाट बचाएका एमडीले अर्जुनलाई बनाए ‘मोहरा’
अर्जुनले आफू लागूऔषध सेवनकर्ता नभएको बयान दिएका छन् । उनी भारतको पानीट्यांकी बस्दै आएका बेला मोटरसाइकल दुर्घटना हुँदा घाइते अवस्थामा एमडीले नै उपचारका लागि अस्पताल लगेका थिए । 

अस्पतालबाट डिस्चार्ज भएपछि सानीआमाको घरमा बसेका बेला एमडी र भुपाल उनलाई भेट्न पुगेका थिए । खुट्टाको प्लास्टर समेत काटिनक्सदै एमडीले अर्जुनलाई चेकरमारीमा पुर्‍याए । त्यहाँ चाचीसँग भेट गराए । 

एमडीले चाची भरपर्दी भएकाले उनलाई सामान दिए काठमाडौं पुर्‍याइदिन्छिन् भन्दै अर्जुनलाई आश्वस्त तुल्याएका थिए । तर, त्यतिबेलासम्म एमडी लागूऔषध कारोबारी हुन् भन्ने जानकारी अर्जुनलाई थिएन । 

काठमाडौंमा खैरो हेरोइन पठाउनुपर्ने भएपछि अर्जुनले आफ्नी प्रेमिकासँग २० हजार मागेर उनी बिर्तामोड पश्चिम बस स्टेसनमा पुगे । त्यतिबेला अर्जुन र काठमाडौंमा रहेका भुपालबीच फोनमा संवाद भएको थियो । 

भुपालकै सल्लाहमा उनले प्रेमिकाबाट लिएको २० हजार चाचीलाई दिन भनेर काँकडभिट्टासम्म ल्याए । एमडी पनि उनीसँग लागूऔषध हेरोइन बोकेर आएका बेला प्रहरीले पक्राउ गरेको थियो । 

अनुसन्धान गर्दै जाँदा अर्जुन पटके कारोबारी भएको खुल्यो । 

उनलाई २०७५ असार १३ मा लागूऔषध मुद्दामै ५ वर्ष कैद र ५ हजार जरिवाना हुने ठहर अदालतले गरेको थियो । उनी जेल बसेर छुटेका अभियुक्त रहेछन् । 

एमडीले स्वीकारे अभियोग
पक्राउ परेका मध्येका मुख्य अभियुक्त एमडीले प्रहरी र सरकारी वकिल कार्यालयमा भएको बयानमा अभियोग स्वीकारेका छन् । उनले आफू विगत ३/४ वर्षदेखि भारतमा बसेर नेपालमा लागूऔषधको कारोबार गर्दै आएको बयानमा खुलाएका छन् । 

उनले लागूऔषध तस्करी गरिरहेकै बेला भारतकै पानीट्यांकीबाट दुईपटक पक्राउ परेर छुटेको बयानमा उल्लेख गरेका छन् । 

अहिले बरामद भएको लागूऔषध पनि एमडीले भारतीय नागरिक विश्वजित वर्मनमार्फत् कुन्दन सिंहबाट २ लाख ४० हजारमा खरिद गरेका थिए । आफूलाई २ लाख ८० हजार काठमाडौंका भुपालले हुण्डीमार्फत् पहिल्यै पठाइसकेको बयान एमडीले दिएका छन् । 

कमेन्ट गर्नुहोस्