२१ असार २०८३, आइतबार

देवानगञ्ज गोली काण्ड : साना हतियारले तराईंका सीमावर्ती जिल्लामा सुरक्षा चुनौती थपिँदै

बैशाख ३, २०८२
विराटनगर
देवानगञ्ज गोली काण्ड : साना हतियारले तराईंका सीमावर्ती जिल्लामा सुरक्षा चुनौती थपिँदै

सोमबार साँझ सुनसरीको देवानगञ्जमा तीन राउन्ड गोली चल्यो । सानो हतियारबाट चलाएको गोली लागेर देवानगञ्ज गाउँपालिका–७ का २१ वर्षीय शिवकुमार मेहता र रविनकुमार यादव घाइते भए ।

घाइतेमध्ये शिवकुमारको हिजो अप्रेसन गरिएको छ । उनलाई दुई गोली लागेको थियो । ‘अप्रेसन गर्दा दुई गोली लागेको पुष्टि सुनसरीका प्रहरी  निरीक्षक दिनेश अधिकारीले बताए । उनको पेटमा गोली लागेको छ । अहिले उनको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ । 

तीन जनालाई गोली चलाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा देवानगन्ज–१ का २७  वर्षीय रविनकुमार यादव र सोही ठाउँका २१ वर्षीय पिन्टु यादव रहेको सुनसरी प्रहरी प्रमुख एसपी सुमनुमार तिम्सिनाले जानकारी दिए । उनीहरूलाई मंगलबार दिउँसो विराटनगरबाट पक्राउ गरेर सुनसरी ल्याएको एसपी तिम्सिनाले बताए । 

‘देवानगन्जामा चोली चलाउने घटनामा ५ जनाको संलग्नता रहेको पाइएको छ । अहिले दुई जनालाई पक्राउ गरिएको छ । अझै तीन जना फरार छन् । उनीहरूको खोजी तीब्र बनाएका छौं ।’

गोली हानेर उनीहरू भारततर्फ भागेको आश्का प्रहरीले गरेको छ । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार भारतमा पनि उनीहरू गाजा ओसारपसार तथा मोटरसाइकल चोरी गर्नेसम्मका गतिविधिमा संलग्न रहेको आरोप छ । 

गोली चलाउने कामेश्वर यादव रहेको प्रहरी स्रोतले बताएको छ । उनी फरार छन् । फरार कामेश्वर भारत भागेको प्रहरीले आशंका छ । आर्थिक लेनदेनको कारणले गोली चलाएको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको एसपी तिम्सिनाले बताए ।  ‘अहिले आर्थिक लेनदेन देखिएको छ । थप अनुसन्धानपछि विस्तृतमा जानकारी आउनेछ,’ एसपी तिम्सिनाले भने ।

प्रहरीले पक्राउ गरेको रविन यसअघि पनि विभिन्न मुद्दामा पक्राउ परेका अभियुक्त हुन् । उनी एक महिना अगाडि लागूऔषध मुद्दामा पक्राउ परेर अदालतबाट धरौटीमा छुटेका थिए । गोली चलाउने र घाइते हुने साथीहरू हुन् । 

पेस्तोलबाट गोली प्रहारको घटना तराईंका सीमावर्ती जिल्लामा पहिला पनि हुँदै आएका थिए। साना हतियार प्रयोगगरी व्यक्ति हत्या, लुटपाट, चोरी, डकैतीका घटनाहरू हुने गरेको प्रहरी बताउँछ । 

सीमापारि भारतीय बजारमा साना हतियार सहजै खरिद गर्न पाइने गरेको छ । तराईंका जिल्लाहरू झापा, मोरङ र सुनसरीमा हुने केही अपराधको घटनामा साना हतियार प्रयोग हुने गरेको प्रहरी बताउँछ ।

कोशी प्रदेशमा प्रहरीले चालु आर्थिक वर्षको चैतसम्म भारतबाट ल्याएका ८ थान साना हतियार बरामद गरेको छ भने २६ थान गोली बरामद बरामद भएको प्रदेश प्रहरी कार्यालय विराटनगरको अभिलेखमा देखिन्छ । 

जसमध्ये अवैध हातहतियारसहित १६ जना पक्राउ परेका छन् । उनीहरूविरुद्ध हातहतियार खरखजना मुद्दामा चलेको छ । जसमध्ये सबैभन्दा बढी सुनसरीमा साना हतियारसहित मानिस पक्राउ परेका छन् । 

सुनसरीमा ४ वटा साना हतियारसहित १८ थान गोली बरामद भएको छ भने ९ जना पक्राउ परेका छन् । सुनसरीपछि मोरङमा साना हतियार र गोली बरामद भएको छ । मोरङमा चालु आर्थिक वर्षको आठ महिनामा तीन वटा साना हतियार, तीन गोली र पाँच जना पक्राउ परेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डीआइजी राजन अधिकारीले साना हतियारले सुरक्षा चुनौती थपेको बताए ।

कमेन्ट गर्नुहोस्