चैत २० गतेदेखि शिक्षकहरूको काठमाडौं केन्द्रित आन्दोलनले कर्णालीका सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियान पूर्णतः रोकिएको छ ।
निजी विद्यालयमा आफ्ना छोराछोरी पढाइरहेका अभिभावक सामुदायिक विद्यालयमा कहिलेदेखि भर्ना खुल्छ भनेर दैनिकजसो विद्यालयका कर्मचारी, शिक्षक, प्रधानाध्यापक र विव्यस अध्यक्ष लगायतलाई फोन गर्न थालेका छन् ।
कर्णालीमा ख्याति कमाएका केही सामुदायिक विद्यालयमा नयाँ भर्नाको रूपमा कक्षा ६ देखि ९ सम्म विद्यार्थी लिने गरिन्छ । विद्यार्थी भर्नाका लागि विद्यालयले सूचना जारी गर्ने, उनीहरूको प्रवेश परीक्षा लिने गर्दछन् । परीक्षाबाट उत्तीर्ण भएकाहरूले मात्रै भर्ना हुन पाउँछन् ।
यसैमध्येको एक; वीरेन्द्रनगरमा रहेको जन नमूना माध्यमिक विद्यालयमा गत वर्ष कक्षा ६ देखि ९ सम्म भर्ना हुने भन्दै २७८० विद्यार्थीले परीक्षा दिएका थिए । तर, त्यसमध्ये विद्यालयले ७२५ जना मात्रै विद्यार्थी भर्ना लिएको थियो । बाँकी विद्यार्थी भने पुरानै निजी विद्यालयमा अध्ययन गर्न बाध्य भएका थिए ।
वीरेन्द्रनगरका जन मावि, अमरज्योति मावि नेवारे, श्रीकृष्ण संस्कृत मावि इत्राम, भैरव मावि भैरवस्थान लगायतका विद्यालयमा निजी विद्यालयबाट पढ्न आउन चाहनेको संख्या उल्लेख्य हुन्छ । यी विद्यालयमा कर्णालीका दशवटै जिल्लाका विद्यार्थी अध्ययन गर्न चाहन्छन् । जसका कारण उच्च राजनीतिक नेतृत्वले दैनिक जसो विद्यार्थी भर्ना गरिदिन भन्दै विद्यालयका सम्बन्धित शिक्षक तथा कर्मचारीलाई अनुरोध गरिरहेका हुन्छन् ।
तर, यस वर्ष भने विद्यार्थी भर्ना अभियान कहिले शुरू हुने हो भन्ने निश्चित छैन । सरकारले घोषणा गरेको भर्ना अभियान मंगलबारदेखि शुरू भएपनि विद्यालयमा चहलपहल छैन ।
‘हामीले दैनिकजसो विद्यालयका फेसबुक पेज हेर्दै आइरहेका छौं । यसपटक मैले छोरालाई कक्षा ६ मा भर्ना गर्न खोजेको थिएँ । पहिलो रोजाइमा जन नमूना माध्यमिक विद्यालय छ । तर, भर्ना अभियान नै कहिले शुरू हुने हो भन्नेमा अलमल भइरहेको छ । समयमै भर्ना अभियान शुरू भएको भए मेरो छोरा त्यहाँ पढाउने कि निजी विद्यालयमा पढाउने टुंगो लाग्ने थियो’, आठबीस नगरपालिका दैलेखका कार्यपालिका सदस्य दयाराम विश्वकर्मा भन्छन्, ‘सरकारले शिक्षकहरूको आन्दोलनलाई वार्ताको माध्यमबाट निकास निकाली हड्ताल स्थगित गराइदिएको भए हुन्थ्यो जस्तो लाग्छ ।’
उनी मात्रै होइनन्, वीरेन्द्रनगर-११ का गोविन्द तिमिल्सेना पनि विद्यालय छिटो सञ्चालन भइदिएको भए हुन्थ्यो भन्दै चिन्ता व्यक्त गर्छन् । ‘निजी विद्यालयले आगामी आइतबारबाट कक्षा सञ्चालन गर्ने भएका छन् । सरकारी विद्यालयको भने हालत यस्तो छ’, उनी भन्छन्, ‘समयमै विद्यालय सञ्चालन भएको भए ढुक्क भइन्थ्यो । यस्तो अलमलले कहिले भर्ना अभियान शुरू होला, अनुमान गर्न नै गाह्रो भयो ।’
अमरज्योति माध्यमिक विद्यालय नेवारेका प्रधानाध्यापक खगेन्द्र थापाले आन्दोलन लम्बिएको खण्डमा निजी विद्यालयबाट सामुदायिकमा भर्ना हुन आउन चाहने विद्यार्थी संख्या विगतको जस्तो नहुने बताए ।
‘एक त हामीसँग पुराना विद्यार्थी छन् । उनीहरूको अभिलेखीकरण गर्ने काम मात्रै हो । दोस्रो; नयाँ विद्यार्थी भर्नाको कुरा हो । विगतका वर्षमाजस्तै निजी विद्यालयबाट भर्ना हुन आउने विद्यार्थीहरूको संख्यामा भारी मात्रामा गिरावट आउन सक्छ’, प्रअ थापाले भने, ‘त्यसका लागि शिक्षक महासंघले बेलैमा सोच्न जरुरी छ । हामीले अहिले सम्पर्कमा आएका अभिभावकलाई एक/दुई दिन कुर्नुस् भनेर भन्दै आइरहेका छौं ।’
यता, जन नमूना माध्यमिक विद्यालयले भने एक सूचना जारी गर्दै नयाँ भर्ना हालका लागि स्थगित गरेको छ । विद्यालयका प्रधानाध्यापक यामबहादुर श्रेष्ठले भर्ना अभियान समयमै शुरू नभएको खण्डमा विद्यार्थी गुमाउनुपर्ने अवस्था आउने बताए ।
‘शिक्षकहरूको देशव्यापी आन्दोलन भएका कारण नयाँ भर्नामा समस्या देखिएको छ । मैले यो आन्दोलनलाई शिक्षकको मात्रै आन्दोलन नबनाऔं, आम जनसमुदायको नै आन्दोलनको रूपमा लैजाऔं भनेको थिएँ । शिक्षा ऐन अभिभावकलाई पनि चाहिएको छ, विव्यसलाई पनि चाहिएको छ । २०२८ सालको शिक्षा ऐनले शासकीय स्वरूप अनुसारको भूमिका निर्वाह गर्न सकेको छैन’, उनले भने ।
उनले निजी विद्यालय छोडेर सरकारी विद्यालयमा भर्ना हुन आउने विद्यार्थीको संख्यामा यसपटक धेरै कटौती हुने र त्यसबाट निजी विद्यालय लाभान्वित हुने देखिएको प्रतिक्रिया दिए ।
‘आन्दोलन लम्बिँदै जाने हो भने हाम्रो विद्यालयलाई समस्या नपर्ला । तर, अन्य सरकारी विद्यालयलाई पक्कै पनि समस्या हुने देखिएको छ । नयाँ भर्ना गर्नुपर्ने समयमा शिक्षकहरू आन्दोलनमा छन् भन्दै सरकारी विद्यालयका बारेमा नकारात्मक प्रचार प्रसार हुने अवस्था पनि सिर्जना भएको छ’, उनले भने, ‘अब यसलाई तत्काल समाधानको बाटोमा लैजानुपर्छ । हाम्रो विद्यालयमा भर्ना कहिले खुल्छ भनेर सयौं अभिभावकले फोन गरिरहनुभएको छ ।’