०८ साउन २०८३, शुक्रबार
प्रेमको भेषमा हिंसा

प्रेम प्रस्ताव अस्वीकार गर्दा युवतीमाथि चल्यो गोली, यसअघि नै भएको थियो अपहरणको प्रयास

बैशाख ६, २०८२
काठमाडौं
प्रेम प्रस्ताव अस्वीकार गर्दा युवतीमाथि चल्यो गोली, यसअघि नै भएको थियो अपहरणको प्रयास

प्रेम प्रस्ताव अस्वीकार गर्दा बुटवलमा शनिबार बिहानै एक युवतीमाथि गोली प्रहार भएको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ बुद्धनगरमा सामान्य खाजा घर सञ्चालन गर्दै आइरहेकी टीका विष्ट क्षेत्रीलाई सितारे आलम भन्ने युवकले गोली प्रहार गरेका हुन् । उनीहरू केही समय अगाडि मात्रै चिनजान भएको खुलेको छ ।

पाल्पाको रैनादेवी छहरा गाउँपालिका घर भई बुद्धनगरमा होटल चलाउँदै आएकी २९ वर्षीया विष्टलाई आलमले आफूसँग बिहे नगरे ज्यानको खतरा रहेको भन्ने धम्की दिने गरेका थिए । 

इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख डीएसपी ईन्द्रबहादुर रानाले पीडित युवतीको भनाइअनुसार प्रेम प्रस्ताव स्वीकार नगर्दा गोली हानेको अनुमान गरिएको बताए । ‘आफूसँग बिहे नगरे जे पनि गर्न सक्छु भनेर भिडियो कल गर्दो रहेछ,’ डीएसपी रानाले लोकान्तरसँग भने, ‘भिडियो कलमा पनि डर र धम्की दिँदै आइरहेको रहेछ । त्यसको स्किनसर्ट पीडित युवतीबाट हामीले पाएका छौं । प्रेमकै कारण यो घटना भएको हाम्रो अहिलेसम्मको अनुमान हो ।’

आलमले यसअघि पनि टीकालाई जबर्जस्ती लैजान खोजेको खुलेको उनले बताए ​। ‘यस अघि पनि युवतीलाई लैजाने कोशिश गरिरहेको रहेछ । पीडित युवतीले त्यो युवकको नाम सितारे आलम भएको बताएकी छन,’ डीएसपी रानाले थपे ।

जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले युवती र गोली हान्ने युवकबीच पहिलेदेखि नै भेटघाट हुने गरेको स्थानीयले बताएका जानकारी दिए । ‘हामी युवकलाई खोजिरहेका छौं,’ डीएसपी कार्कीले लोकान्तरसँग भने, ‘नजिकैको होटलमा एउटा रेडबुल खाएर गएको रहेछ । उनीहरू भेटघाट भएको केही मिनेटमै गोली हानेर फरार भएको छ ।’

गोली हान्ने युवक भारतीय रहेको प्रहरीको अनुमान छ ।

गोली लागेकी युवती बोल्न सक्ने अवस्थामा रहेकी र स्वास्थ्य स्थिति खतरामुक्त रहेको छ । साथै उनको अप्रेशन गर्ने तयारी भइरहेको छ । ‘युवतीको अवस्था खतरामुक्त छ, उनले कारण खुलाउँछिन् भन्ने हामीले आशा गरेका छौं,’ कार्कीले थपे ।

टीका र आलमको कसरी भेटघाट तथा चिनजान भयो भन्ने एकिन भएको छैन । गोली चलाउनेजस्तो गम्भीर अपराधविरुद्ध रुपन्देही प्रहरी संवेदनशील रूपमा अघि बढिरहेको प्रहरी बताउँछ ।

salt training

कमेन्ट गर्नुहोस्