
भारतको जम्मू–कश्मीरमा बन्दुकधारीको आक्रमणबाट मृत्यु हुने नेपाली युवक बुटवलका सुदीप न्यौपाने रहेको पुष्टि भएको छ ।
जम्मू–कश्मीरस्थित पहलगाममा मंगलबार पर्यटकको समूहमाथि बन्दुकधारीले आक्रमण गर्दा रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १४ का २७ वर्षीय सुदीप न्यौपानेको भएको वडाध्यक्ष दधिराम न्यौपानेले जानकारी दिए ।
वडाध्यक्ष न्यौपाने र मृतक सुदीप नातामा काका भतिज हुन् । वडाध्यक्ष न्यौपानेका अनुसार बन्दुकधारीहरूको समूहले बाटोमा हिँड्दै गरेका सुदीपलाई कुन धार्मिक समूहको हो भनेर सोधेपछि गोली हानेका थिए ।
आमासँग बुटवल– ११ कालिकानगरमा बस्दै आएका सुदीपले धरानमा पब्लिक हेल्थ अध्ययन गर्दै आएका थिए ।
गत शनिबार आमा रिमा पाण्डे, दिदी सुष्मा र भिनाजु उज्ज्वल काफ्लेसहित घुम्न भन्दै कश्मीर गएका सुदीपमाथि बन्दुकधारीहरूले अचानक आक्रमण गरेको वडाध्यक्ष न्यौपानेले जानकारी दिए ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले पनि कश्मीरमा भएको आक्रमणमा परी बुटवलकै सुदीपको मृत्यु भएको पुष्टि गरे ।