
करिब २ महिनाअघि काभ्रेको बनेपामा घटेको एउटा जघन्य अपराधको घटना यतिबेला जिल्ला अदालत काभ्रेमा पुगेको छ । सुन्दा पनि फिल्मी कथाजस्तो लाग्ने घटनामा एक युवकले जबरजस्ती आफ्नो ‘प्रेमजाल’मा पार्न नसकेपछि युवतीको हत्या गरेका छन् ।
रामेछापको खाँडादेवी गाउँपालिका– २ घर भएका भरत बुढाथोकी काठमाडौंको दक्षिणढोकामा सरु खाजाघर एन्ड फास्टफूड सञ्चालन गरी बस्दै आएका थिए ।
उनले सँगै पढेकी शर्मिला श्रेष्ठलाई विगत ७/८ वर्षदेखि मनपराउँथे । भरतले शर्मिलालाई पटक–पटक विवाह गर्ने प्रस्ताव राख्दै आए । तर, परिवारले इन्कार गर्ने गरेका थिए । रामेछाप घर भएर बनेपामा परिवारसँग बस्दै आएकी शर्मिला बनेपा अस्पतालमा काम गर्थिन् ।
भरतलाई आफ्नो परिवारले मन नपराउने भएकाले शर्मिला उनीसँग टाढिने निष्कर्षमा पुगिन् । तर, घरमै आएर भरतले शर्मिलासँग विवाह नगरिदिए जे पनि हुनसक्छ भन्दै धम्की दिन थाले ।
भरतले आफूलाई छाड्दै नछाडेपछि शर्मिला अर्का एक युवकलाई सँगै लिएर भरतलाई भेट्न पुगिन् । भरतले ‘यो केटा को हो ?’ भनेर सोधे । शर्मिलाले अब तिमिसँग प्रेम गर्दिनँ, मेरो विवाह यही केटासँग हुन्छ भन्ने जवाफ फकाईन् । त्यसपछि पनि भरतले शर्मिलाको पिछा गर्न छाडेनन् ।
प्रहरी र सरकारी वकिलसँगको बयानमा भरतले भनेका छन्, ‘७/८ वर्षदेखि प्रेम सम्बन्धमा बसेर अब यो कुरा नगर, तिमीलाई एक सेकेन्ड पनि बिर्सन सक्दिनँ भनेर शर्मिलालाई भनें ।’
तर, शर्मिला उल्टै अर्को केटासँग अँगालोमा बाँधिएर बसेपछि आफूलाई सहिनसक्नु भएका भरतले बयानमा उल्लेख गरेका छन् । भरतले उक्त दृश्य देखेपछि शर्मिलाको आमालाई गएर बेलिविस्तार लगाए । तर, आमाले कुनै जवाफ नदिएपछि शुरूमा आत्महत्या गर्ने योजना बनाएको उनको बयान छ ।
‘शर्मिलालाई बिर्सन अति नै गाह्रो भयो, मेरो सासै जालाजस्तो भएपछि म आफैं झुन्डिएर मर्छु भन्ने योजना बनाएँ,’ भरतले बयानमा भनेका छन्, ‘मर्नुभन्दा पहिला शर्मिलालाई भेटेर एकपटक कुरा राख्छु भन्ने भयो, होटलको कोठा बूक गराएँ, होटलको तन्ना र पर्दा च्यातेर पासो पनि बनाएँ ।’
भरतका अनुसार उनले फागुन १४ गते शर्मिलालाई बनेपाकै तीनदोबाटो चेकमा भेटे । उनीहरू दुवै बनेपामा सञ्चालित होटल भ्यू एन्ड पाहुना घरमा गए । सल्लाहका क्रममा शर्मिलाले भरतलाई भनिन्, ‘मलाई अब स्वतन्त्र ढंगले बाँच्न देऊ ।’ त्यसपछि घटनाले अर्को मोड लियो ।
भरतले आक्रोशित हुँदै शर्मिलाको घाँटी अँठ्याउन थाले । शर्मिला त्यहीँ बेहोशी अवस्थामा पुगिन् । भरतले बयानमा भनेका छन्, ‘अब शर्मिला रहिनन् भन्ने लागेपछि मोबाइल होटलकै कोठामा छाडेर बाहिरबाट ताला लगाएर भागेँ ।’ उक्त दिन शर्मिला ढिलासम्म घर नफर्किएपछि परिवारले आफन्तकोमा सोधीखोजी गरे । तर, भेटिइनन् । परिवारलाई भरतले नै केही गरेको हुन सक्छ भन्ने आशंका थियो ।
उता भरत भने होटलबाट बाहिर निस्किएपछि आत्महत्याका लागि भनेर जंगल पुगे । त्यसक्रममा बनेपा बसपार्कबाट एक क्वार्टर गोल्डेन ओक ह्विस्की समेत किने ।
चिलाउनेको रूख फेला पारी फेदमा बसेर ह्विस्की र पानी पिए । अब त्यहीँ झुन्डिएर मर्छु भन्दै साथमा रहेको तन्ना र पर्दाको पासो बनाएर झुन्डिने प्रयास गरे । तर, पासो चुँडिएर भुइँमा पछारिएको उनको बयान छ । त्यसपछि आफूले लगाएको पेटी फुकालेर सोही हाँगोमा पेटीको सहायताले पासो लगाउँदा पनि फुस्किएको उनले बताएका छन् ।
‘मर्न पनि सकिएन, प्रहरीले देख्यो भने पक्राउ गर्छ भनेर म हाइवेमा निस्किएर महोत्तरीको बर्दिबास चल्ने गाडी चढेँ,’ भरतले बयानमा भनेका छन्, ‘बर्दिबास पुगेपछि गाडी बदलेर वीरगञ्ज हुँदै रक्सौल पुगें ।’
उनी फागुन १५ मा रक्सौलबाट रेल चढेर कोलकत्ता पुगे । कोलकत्ता पुगेपछि एकजना भारतीय नागरिकसँग मोबाइल मागेर आफ्ना दाइ कुष्णहरि बुढाथोकीलाई फोन गरे ।
कृष्णहरिले यो लफडामा आफू नफस्ने भन्दै शर्मिलाकै परिवारसँग कुरा गर भनेर पन्छिए । भरतले फागुन १६ गते बिहारबाट दिल्ली चल्ने रेल समाते । दिल्लीबाट मुम्बई पुगे । दुई दिन मुम्बईमा बसेर काम खोजे ।
काम नपाएपछि रेल चढेर उनी गुजरात पुगे । त्यहाँ उनले पाइप कम्पनीमा काम पाए । त्यतिबेला नेपाल प्रहरीले आफ्नो खोजी गरिरहेको सुइँको उनले पाए । त्यसपछि उनी वीरगञ्ज आएका बेला पक्राउ गरिएको प्रहरीको दाबी छ ।
प्रहरी र सरकारी वकिलको बयानमा भरतले घटनास्थल होटल भ्यू एन्ड पाहुना घरको कोठा फागुन १३ मै बूक गरेको स्वीकारेका छन् । उनले बयानमा भनेका छन्, ‘होटलको रूम मैले नै बूक गरेको हो, शर्मिलाले होटलको रूममा जान नमानेका बेला भिडियोमा देखिएको मान्छे म नै हुँ । शर्मिलाले मलाई अस्वीकार गरेपछि घाँटी अठ्याएर बेहोश अवस्थामा छाडेर भागेको हुँ ।’
उनले कानूनअनुसार पाउने सजायको भागीदार हुन आफू तयार रहेको बयानमा स्वीकारेका छन् ।
भरतले शर्मिलालाई होटलको कोठामा घाँटी अठ्याएर हिँडेको कुरा आफ्नी बहिनीलाई पनि ह्वाट्सएपमा फोन गरेर स्वीकारेको देखिन्छ ।
उक्त कुरा भरतकी बहिनीले सरकारी वकिलले गरेको कागजमा खुलाएकी छिन् ।
शर्मिलाका बुवा वासुदेव श्रेष्ठले भरतविरुद्ध कर्तव्य ज्यान कसुरमा प्रहरीमा जाहेरी दिएका थिए । घटना भएको एक महिनापछि गत चैत १४ गते मात्रै भरत समातिए ।
प्रहरीले अनुसन्धानको मिसिल सरकारी वकिल कार्यालयमा बुझाएपछि वकिल कार्यालयले बयान सकाएर यही वैशाख ८ गते जिल्ला अदालत काभ्रेमा भरतविरुद्ध अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरेको छ ।
जिल्ला न्यायाधिवक्ता कृष्णा भण्डारीले दायर गरेको अभियोग पत्रमा भरतविरुद्ध २ मुद्दामा हदैसम्मको कैदसँजायको मागदावी गरिएको छ ।