
करिब ३०/४० वर्षअघि पूर्वी पहाडका नेपालीका लागि मुगलान भनेर भोटाङ, मनिपुर, बर्मा सिक्किम तथा भारतका विभिन्न प्रान्तहरू चिनिन्थे । त्योभन्दा माथि सोच्ने हो भने लाहुरे बन्ने चलनले पनि नेपालीहरू देश बाहिर पुगे । तर, फौजी बन्न सबैको नसिबले दिदैनथ्यो । फलत: पुग्ने भनेकै ल्हासा, दार्जेलिङ, भोटाङ, गुहाटी, मनिपुर, बर्मा, सिक्किम तथा भारतका विभिन्न दक्षिणी प्रान्तहरू । यसमा कुनै झन्झट थिएन; न कसैको रोकावट नै । गुन्टा कस्यो, सके केही कमायो र फर्कियो ।
समयको कालखण्डमा मुगलाने प्रवृत्तिलाई नियाल्ने हो भने त्यो साँघुरिएको ढाँचाबाट वैश्वीकरणको यात्रातिर लम्किएको देख्न सकिन्छ । हिजो युरोप, अमेरिका वा अष्ट्रेलिया पुग्नु भनेको कल्पना बाहिरको कुरा लाग्थ्यो । तर, आजका मानिस त्यहाँ पुगिछाडे । सायद पुरानो मुगलान ढाँचासँग अब नयाँ मुगलानको गुनासो धेरै हुन सक्दछ ।
‘मुगलान’ कोरिएको करिब पाँच दशकपछि ‘नयाँ मुग्लान’ जन्मियो । पहिलो मुगलान विक्रमाव्ध २०३१ सालमा कोरिएकैले त्यसलाई पढेरै र फर्किँदै कल्पेर यथार्थता अंगालिएको थियो । तर, ‘नयाँ मुगलान’का भोगकर्ता/हर्ताकर्ता हामी/हाम्रै पुस्ता भैदिए । सुतार कान्छा (पहिलो मुगलानका बुबा पुस्ता)का छोरा अशेष (नयाँ मुगलानका दोस्रो पुस्ता )सम्म आइपुग्दा नेपाली सामाजिक जनजीवनमा अधिक विग्रह आइसकेको छ । आजको यो समीक्षात्मक बसाइमा 'नयाँ मुगलान'बारे साङ्गोपाङ्गो चर्चा परिचर्चा गरिनेछ । यसभित्र लेखक/कृति परिचय, नयाँ मुगलानको कथावस्तु, परिवेश, भाषाशैली तथा पस्किएको चेत, र मूल्याङ्कनसहितको निष्कर्षलाई समेट्ने प्रयास रहनेछ ।
लेखक/कृति परिचय
वि.सं. २०३१ सालको ‘मुगलान’कै सिक्वेलको रूपमा २०८१ सालको ‘नयाँ मुगलान’ देख्न सकिन्छ जब ‘सुतार कान्छा’को नाम टुप्लुक्क आइपुग्छ । करिब दश दिनमा लेखिएको ‘नयाँ मुगलान’को विधा चैँ लघु उपन्यास हो । २३ खण्डमा संग्रहित यो छोटो उपन्यास प्रा. डा. गोविन्दाराज भट्टराईद्वारा लिपिबद्ध कृति हो । आवरणमा खण्डहर तथा उजाडिएको एक घर र सामून्ने घरउपर एक मानिसले घरको भग्नावशेषतिर नजर संकेत गरिरहेको यस लघु उपन्यासलाई ३३९ पेज र रु. ३७५ मूल्य राखेर पेज टर्नर प्रा.लि. ले गत महिना प्रवेश गराएको छ ।
एक इतिहास बनिसक्नुभएका भट्टराईका सृजनाहरूमा मुगलान(२०३१), मणिपुरको चिठ्ठी(२०३४), सुकरातको पाइला(२०६३), सुकरातको डायरी(२०६८) निकै नै चर्चित छन् । विशेषत: समालोचना र उत्तर आधुनिकवादका एक चिन्तक भट्टराईका कविता, निबन्ध, नियात्रा र अनुवाद पनि उत्तिकै दिलचस्पी छन् । नेपाली र अंग्रेजी दुवैमा उत्तिकै पकट राख्नुहुने उहाँको ‘नयाँ मुगलान’ चाहिँ उपन्यासको चाङमा पाँचौँ हो । उहाँका मुगलान सहितका केही चर्चित कृतिहरू अंग्रेजी भाषामा पनि अनुदित छन् । अहिले प्रा. डा. भट्टराई त्रि.वि. केन्द्रीय शिक्षा विभागबाट सेवानिवृत हुनुभएको पनि छ/सात वर्ष भैसकेको छ र बाँकी समय दिनरात नेपाली भाषा तथा जातिको उन्नयनमा खर्ची रहनुभएको देख्न सकिन्छ । उहाँका लेखनहरूलाई गहन रूपले चिहाउने हो भने यथार्थताको फेरो समातेर समाजका हर्ताकर्तालाई सचेत बनाएको देख्न सकिन्छ ।
नयाँ मुगलानको कथा
नयाँ मुगलानको कथा ‘लिलीको चिया दोकान’बाट श्रीगणेश हुन्छ । परिवेश पाँचथर, च्याङथापु । ईवा खोलाको माथि डिलमा अवस्थित ‘पीपल डाँडाकी पातलीको दोकान’ आज ‘लिलीको चिया दोकान’मा परिणत भएको देख्न सकिन्छ । १२० घरघुरी भएको यो गाउँमा घट्दै घट्दै १४ घरमा सीमित । “धेरैजसोलाई ठूलो शहर र मधेशले तान्यो । कतिलाई पहिराले हिँडायो ....अन्त्यमा भूकम्प र कोरोनाले । त्यसो त उता हङकङ, युके, अमेरिका, अष्ट्रेलिया बसैँ जाने पनि छन् ।” (पृ. १२)
श्रीमतीलाई कोरोनाले चार वर्षअघि निलेपछि श्रीमान सुतार कार्की निजी निवासमा थलिएको छ । ऊ पनि मुगलानिएको थियो भोटाङतिर, पहिलो उपन्यास ‘मुगलान’मा । विडम्बना ! 'नयाँ मुगलान'मा आएर उसको छोरो अशेषको हाल दोहोरिएको छ । छोरी छिन् नजिकै । भरअभर आई पिताको सेवा गर्छिन् । यति नै बेला आकाश गड्याङ्गुडुङ् गर्छ । वातावरण तमिस्त्रीपूर्ण बन्न पुग्छ । कान थुनिएजस्तो; आफैँ-आफैँ मरेजस्तो हुन्छ सुतारलाई जब ती ‘मृत्यु-सूचना संवाहक’ले छोरो अशेष मुगलानमा बितेको खबर ल्याइपुर्याउँछन् । दुवैको मूर्छित अवस्था ! त्यपछि त, भूसझैँ सल्किछ खबर - “सुतार बाको एक्लो छोरो साउदीको लडाइँमा परेर मरो अरे ।” (पृ. २०)
श्रीमती र सन्तान गुमाउँदाको पीडाले बृद्द मानिस कहाँ जीउँदो रहन सक्दो रहेछ र यो पृथ्वीलोकमा ? अब बाँकी रह्यो- कोपिलाको अकेलो जिन्दगी र निकेतन । त्यसपछि त उनको एक्लो अवस्थालाई आक्रमण गर्न स्मरणबाटिकामा नाच्न आउँछन्, अशेषलाई भेटेदेखि अन्तिमसम्मका सु:खद दु:खद् क्षणहरू । मध्यरातको उतरार्धतिर, खै के सुर चल्यो एक्कासि ! घरको पुच्छारमा आगो झोसिन् र सखारै बाटो तताइन् । अनि, लागिन् मधेश, दमक ठूली फुपूको घरमा । विशाल भारी बिसाएजस्तै भो कोपिलालाई त्यहाँ पुग्दा ।
फेरि मधेश/शहरबजारतिर अर्कै सन्त्रास व्याप्त छ । “धर्मका झोक्काजस्तै गाउँ- गाउँमा राजनीतिका झोक्का छन् ।”(पृ. ९९) त्यो सन्त्रासलाई उनले सामना गर्दै गइन् । अनेकतिरबाट ठुग्न आउने एजेन्टप्रति विश्वास पनि गर्न सकिनन् र अनिर्णयको बन्दीजस्तै बन्न पुगिन् कोपिला केही दिन त । बिचरी कोपिला !
जीवनले आफ्नो लय त बनाउँदै गइहाल्छ नि । फूपुको चिनजानका एक पात्र शिवम (जो भर्खर विदेशबाट आएका)सँग भेट हुन जान्छ । शिवमकी श्रीमतीले पनि धोका दिएकीले उनीहरूको अकेलो अवस्था साझा बन्दिन्छ र नजिकिन्छन् उनीहरू । अन्तत: एकाकार बन्न पुग्छन् दुवै । अनेक यत्न गर्दा देशभित्र केही सीप नचलेर परदेशिन्छन् दुवै । गन्तव्य उहि तात्तातो रुस । युक्रेनसंगको युद्ध चरम उत्कर्षमा पुगेको बेला उनीहरू उपन्यासमा बेखबर छन् अझै । कठै ! शुभ खबर आओस्, त्यो दूर नयाँ मुगलानबाट !
भाषाशैली
लगभग एकै बसाइमा पढेर सकिने यो लघु उपन्यासको भाषाशैली अति सरल छ । पूर्व क्षेत्रतिर बोलिने भाषा जुन अरुण खोलामा बग्ने कललल पानीजस्तै एउटै लयमा बगेको आभाष हुन्छ । जसले पाठकवर्गमा एक किसिमको माधुरी र झंकार उत्पन्न गराउँदछ । पात्रहरूले बोल्ने स्थानीक बोलिचालीको भाषा पनि यसमा पाइन्छ । जस्तै, परान, अब्बुई, अम्मामा, आमै, एत्रो, अन्त, खत्रा, कम्ता, सर्खन्डा, तीन्टा, है, ज्या है, पड्के डल्लि, बोलुङ्ना सर, बुझिदैना, गोप्पे, दोडा गाडी, भट्वासे आदि । त्यस्तै पात्रले बोल्ने अंग्रेजी भाषालाई 'नेङलिस' बनाएर बोलेका पाइन्छन् । जस्तै, चेनल, इज्जेल, अमृका, गुरुप इत्यादि ।
कतैकतै ठेट् नेपाली भाषाको पनि प्रवेश छ । यसले छुट्टै मिठास थपेको छ । पात्रले झल्काएका बोलिचाली, भेषभुषा तथा शैलीहरू समयसापेक्ष लाग्छन् । उपन्यासको भाषा तथा व्याकरण कहीँकहीँबाहेक त्रुटिरहित छ । अत: एक साधारण पाठकका लागि पनि उपन्यासको भाषा तथा शैली सरल, सरस र बोधगम्य छ ।
परिवेश
उपन्यासको परिवेश पूर्वी पहाडदेखि तराईसम्म लम्बीय छ । माथि तेह्रथुमदेखि तल झापा, मोरङसम्म विस्फारित छ । तसर्थ, यो उपन्यास कुनै ठाउँ विशेष केन्द्रित भएकाले त्यस ठाउँको सामाजिक- आर्थिक तथा भौगोलिक जनजीवन बुझ्न विशेष सहयोग गर्दछ । तर, उपन्यासले बोकेको मुद्दा भने अति विकसित/विकासोन्मुख देशका जनताले भोगिरहेको र बाँचिरहेको परिवेशभित्रको छ । जस्तै, बेरोजगार, परदेशिने बाध्यता, गञ्जागोल राजनीति आदिआदि ।
युवा जवानहरू कथाको शुरूमै बेरोजगार देखिन्छन् । पहाडी गाउँका जनसंख्यामा क्रमश: ह्रास हुँदै जाँदो छ । सके मुगलाने, त्यो सम्भव नभए गाँस/बास खोजिमा मधेशिने परम्परा जीवित छ । पहाडतिरको प्रकृति मनमोहक छ । गाउँ शून्यप्राय: हुँदै गएपछि प्रथम उपभोक्ता चैँ जंगली जनावरहरू हुन थालेका दृष्यहरू देखिन्छन् । प्राकृतिक परिवेशमा, अझ भन्ने हो भने प्रकृतिका अङ्ग अङ्गको उपस्थितीमा मर्मान्तक पीँडा र चित्कार बोकेर बाँचिरहेका पात्रहरूको कथा बुनाइ साँच्चै ओजपूर्ण छ । पहाडेजनहरू चाहेँ पहाड होस् या तराई, मनमा केही न केही सन्त्रास बोकेर आ-आफ्नो परिवेशमा बाँचेका देखिन्छन् । मधेशतिरको सामाजिक परिवेश स्वार्थपूर्ण छ । अनेक खिच्चातानी र जालझेलको स्थिति विधमान छ ।
अन्तरवस्तु तथा प्रधान चेत्
प्रा.डा. गोविन्दराज भट्टाराईको नयाँ मुगलान कृति विगत पाँच दशक यताको नेपाली ऐतिहासिक यथार्थता ओकल्ने कृति हो । ‘प्रकृतिको उच्च भूमि नेपालमा जन्म हुनु, नेपालको तातो-चिसो खाँदै हुर्कनु र पाखुरा लागेपछि रोजगारको तलासमा मुगलानमा पुगेर पाखुरा बजार्नु । अनि, केही दिन/महिनापश्चात बेखबर हुनु वा उतैबाट नयाँ मुगलानको यात्रा अर्थात् इहलीला समाप्त पार्नु ।’ यो कति हृदयविदारक र देशहिनताको जर्जर वर्तमान स्थिति हो ? आजका युवाहरूको बाध्यता नयाँ मुगलानमा यसरी नै कोरिएको छ । फरक यति हो- थोरै/कोही फर्किएर आए/आउँदै छन्; धेरै/कोही आएकै छैनन्; त कोहीकोहीले उतैबाट नयाँ मुगलानको यात्रा तय गरे । कथा उस्तै छन् तर दुरुस्तै त कहाँ छन् र ?
नयाँ मुगलान देश छोडेर फटाफट हिँड्नेहरूको कथा हो । यस कुरालाई लेखकले ‘नयाँ मुगलानको सम्बन्धमा’ यसरी लेखेका छन्- “गरीब देशका नागरिकलाई धनी देशका घर- आँगनमा, गोठ र खेतमा, कारखाना र युद्ध मैदानमा भ्याई नभ्याई भयो । घर छोडे हिँडे, देश छोडे हिँडे । यस्तै हाम्रो देशको दृष्य छ । पहाड जाँदा देखिन्छन् ती गाउँहरू अब कहिल्यै भरिने छैनन्, घरघरमा अब कोही पनि पस्ने, बस्ने छैनन् । मधेशमा यसपालि भोगेँ, त्यहाँ पनि घरहरू दिनदिनै रित्ता हुँदैछन् ।”(पृ. ८)
माथि लेखककै कुराहरूलाई केलाएर हेर्ने हो भने एक समय सबै कुराले भरिपूर्ण भएको नेपाल राज्य रित्तिदो र शून्यताको स्थितिमा पुग्न लाग्दैछ । नेपालीहरू विकसित देशका विभिन्न क्षेत्रमा दासी बन्नु, गाउँदेखि सहर/मधेशसम्मै रित्तिने अवस्था सृजना हुनु, नेपालीको भविष्य उपायहीन हुनु, देश शक्ति राष्ट्रको खेल मैदान बन्न अग्रसर हुनु आदि, आदि समसामयिक मुद्दाहरू यस उपन्यासले मूल भुत रूपमा अगाडि सारेको छ ।
अत: नयाँ मुगलानले उठान गरेका सारतत्व/प्रधान चेत् निम्नअनुसार उल्लेख गर्न सकिन्छ:
नयाँ मुगलानको नयाँ ढाँचा
मुग्लाने परम्परा झन् बढोत्तरी भएर जाँदो छ । हिजो छिमेकी देशतिर मात्र केन्द्रित भएको मुग्लाने परम्परा आजको समयमा आइपुग्दा गमनका ढोकाहरू चारै दिशातिर खुलेर उज्याला देखिन्छन् । माथि पृष्ठमभूमिमा उल्लेख भएझैँ आजका युवाहरू भारत तथा भोटाङ पस्न त्यति मन गर्दैनन् । बरु लाम लस्कर लागेको छ- कोरिया, जापान, युरोप, अमेरिका, अष्ट्रेलिया वा विकसित मुलुकतिरको दौडमा । यो विश्वव्यापीकरणको एउटा परिणाम हो । पहिले पहिले धन कमाउन हजुरबुबा/पिताश्रीहरू ल्हासा, भोटाङ, वर्मा, सिक्किम वा मनिपुरतिर लाग्थे । आमाहरू घरैघरै सन्तान हुर्काउँदै बस्थे । पछि, सहज व्यवस्था मिलेपछि कतिले त उतै लिएर पनि जान्थे जहानलाई । तर, आज त्यो परम्परा तोडिएको छ । आज ढिलोचाँडो उताबाट यता फर्किने क्रम जारी छ । विडम्बना ! त्यसको दोब्बर/तेब्बर मात्रामा नयाँ मुगलानतिर भासिने क्रम बढेको बढ्यै छ । आजका छोरा मात्र नभएर छोरीहरू पनि अग्रसर भएर लागिरहेछन् भविष्य खोज्दै नयाँ मुगलानतिर । सायद नयाँ मुगलानको नयाँ ढाँचा यिनै पो हुन् कि !
कोपिलाकी फुपूका छोराछोरी भन्छन्- “हामी त प्लस टु गरेर टेक्निकल पढ्न युरोप, अमेरिका जाँ भए पनि जान्छौँ र बेस्सरि पैसा कमाउँछौँ ।”(पृ. ८८) हाम्रा भाइ/बहिनी तथा छोराछोरीहरूमा कलिलै उमेरदेखि किन नयाँ मुगलानको यो भूत चढेको छ ? नयाँ मुगलानले आजको व्यवस्थालाई यस्तै तात्तातो पृच्छाहरू तेस्राएको छ । के यो भूतलाई मन्साउन सकिँएला त ? लेखकमा चिन्ता देखिन्छ ।
एउटा प्रसङ्ग पढिहालौँ । नयाँ मुगलानको झिल्को अशेषको मनमा झिलिक्क गर्दै उसका बाणीहरू कोपिलाउपर बिभोर हुँदै यसरी पोखिन्छन् - “किनभने गाउँमा अब कोही छैन । यो देशमा जागीर पाए त यतै कहीँ साथसाथै बसिन्थ्यो; पाइएन भने त विदेश जानै पर्छ । मेरा मामा, काका, फुपूका सन्तान, आफन्त छिमेकका छोरा सबै बाहिर छन् । छोरीहरू पनि कति ता । अब मनमा मात्र सधैँ सँगै रहौँला ।”(पृ. ४०) नयाँ मुगलानको लर्को परिवारका सदस्यको लहरोमा मात्र झुन्डिएको छैन । यसमा त समाज/छिमेकको पनि नजानिँदो दबाव देखिन्छ । यिनै नयाँ मुगलानका नयाँ ढाँचाका दसी सहायक कारकतत्व हुन् ।
यसप्रकार, नयाँ मुगलानमा ५० साल अघिको मुगलनभन्दा फरक र बृहतर ढाँचाहरू एकाएक देखा पर्दछन् । मुगलानको गन्तव्य/भुगोल फरक हुनु, मुगलानमा लिङ्गभेद नदेखिनु, मुगलान गन्तव्यहीन बन्नु, मुगलाने परम्परा दोस्रो पुस्तामा हस्तान्तरण हुनु, राज्यव्यवस्थाले युवालाई कलिले उमेरमा मुगलाने बनाएर देश चलाउन खोज्नु आदि नयाँ मुगलानका नयाँ र अनौठा रितीहरू हुन् ।
नारी उत्थानमा केन्द्रित
श्रीमान अशेष परदेशमा वितेपछि कोपिलाको दैनिक भोक र निन्द्रा हराउँदै दारुण अकेलो अवस्थामा गुज्रिन पुग्छ । साथमा जीवित बुढो ससुरा भए पनि उनलाई झन भयावहताको स्थितिमा पुर्याइदिन्छन् । शहरको जंगलमा जीवनको गोरेटाको खोजी गर्दा कोपिलाले फूपूलाई सनाउँछे- “....तर पनि एक्लो भएर हिँन्दा नारीलाई आधा शक्ति सिद्धिएजस्तो हुने रहेछ ।....’’(पृ. १०३) जनाना हुनु, त्यसमाथि विधवा हुनु, घरमा बाँकी एक सदस्य पनि नहुनु, माइततिर जान मन नलाग्नु, कसैप्रति कुनै आढ भरोषा नहुनु । तर पनि, समाजको आँखा चैँ तिनै विधवामाथि नै हरबखत हुनु, चियोचर्चो हुनु, फुल्याएर/झुक्याएर स्वार्थपूर्ण काम सिद्ध गर्न अनेक जालसाँझि/छट्टुहरूलाई सामना गरिरहनु । छोटो समयमै कसैको भरोसामा जीवन सुम्पिनु, र देशमा केही सीप नलागेपछि नयाँ मुगलानको यात्रा तय गर्नु अनि बेखबर बनिरहनु । यो सबै कोपिलाको अकेलो जीन्दगीले एकपछि अर्को अनुभव गर्दै जान्छे । सायद समाजले प्रश्न गर्छ भनेरै उनले रातिराति घरमा आगो झोसेर मधेशतिर बाटो तताइन् । यस प्रसङ्गबाट के भन्न सकिन्छ भने विधवी कोपिलालाई समाजले थाँतथलो छोड्न बाध्य बनाएको देखिन्छ ।
विधवा बन्नुअघि कोपलालाई फुपूले यसरी सम्झाउँछिन्- “....नारीको रूपै शत्रु, यही रूपका शिकारी धैरै छन्, सबै उपभोग गर्ने र मिल्काउनेहरू । एकपल्ट रछ्यानमा खसेपछि फेरि फूलबारी पुग्ने बाटो हराउँछ ।....”(पृ. २८) यसबाट समाजका महिला वर्गहरूले हरबखत त्यस्ता शिकारी पुरुषबाट जोगिनुपर्ने सन्देश ग्रहण गर्न सकिन्छ । साथसाथै, महिलाको जिन्दगी एक फूलको थुँगोजस्तो भएकाले दाग लागेपछि पुन: मगमगाउन असम्भवप्राय: हुने तर्क उल्लेख छ । यसले हरेक युवावयका वा स्कूले/क्याम्पसे उमेरका युवतीलाई ग्राह्य सन्देश पस्केको छ ।
तल उल्लेखित कोपिलाको भनाइले पनि महिला मुक्त्तिका आवाज शंखघोष गर्दछन् । “नारीहरू कहिले स्वनिर्णयले उभिन पाउलान् ? थिचेको छ अनादिदेखिको भारीले ।...” (पृ. ४२)
यसरि के भन्न सकिन्छ भने नयाँ मुगलान राज्यव्यवस्थाले पिरोलिएर परदेशमै इहलीला समाप्त पार्ने पतिकका विधवा श्रीमती वा एकल विधवा नारीका एक्लो संघर्षपूर्ण र समाजसुधारक विचार पस्कने कथा हो । जसले महिला मुक्ति सोपानका खुड्किलाहरू छिचोल्न जो कोही महिलालाई पनि अन्तचक्षु प्रदान गर्दछ ।
अस्वस्थ राजनीतिले गाँजेको जर्जर वर्तमान
वर्तमान समाज राजनीतिग्रस्त समाज भैसक्यो । राजनीतिक दाउपेच/खिचातानी घर, छिमेक, समुदाय, समाज, वडा, नगर हुँदै विकसित मुलुकको प्रसङ्ग नयाँ मुगलानमा उल्लेख छ । राजनीति बिग्रेरै नेपालीजनले आज यो दुर्दशा भोग्दै छन् । रुस युक्रेन युद्ध लेखौँ या इजराइल हमास युद्ध, भुटानी शरणार्थी काण्ड भनौँ या वाइडबडी/क्यान्टनमेन्ट घोटला, बेरोजगारको समस्या सुनाऔँ या किसानका समस्या; जागीर खानका लागि पाटीको झोला बोकेर हिँड्नुपर्ने बाध्यता भोगौँ या खालि झोला बोकेर श्रम गर्न मुगलानिनु पर्ने जर्जर बाध्यता । यी सबैसबै अस्वस्थ राजनीतिले धुमिल बनाएपछि नेपालदेखि अन्तर्राष्ट्रिय क्षेत्रसम्मकै समस्या हुन् । अत: यसलाई थप प्रष्ट बनाउनका लागि तलका दुई प्रसङ्ग काफी छन्-
“त्यसपछि एक वर्षसम्म अशेषले जागीर खोज्यो । पूर्वाञ्चलका सोर्ह जिल्ला घुम्यो । प्रत्येक अफिस टेक्यो । बीएको प्रमाण पत्र देखायो । ५० जति ठाउँमा निवेदन दियो तर प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत गोरेटा र बाटा बढार्ने, झार उखेल्ने पदमात्र खालि रहेछन् । त्यसमा पनि वडा अध्यक्षबाट आफ्नो पार्टीको सिफारिस लानुपर्ने।”(पृ. ४४)
“ झोका जस्तै गाउँ-गाउँमा राजनीतिका झोक्का छन् । अनेक पार्टीका भोका फ्याउराहरूसित भेट गराउने एजेन्टहरू आएर भन्छ- हाम्रो पार्टीमा तपाईँजस्तो प्रतिभा भएको व्यक्तिलाई ज्वाइन गर्नुपर्छ, छिट्टै राष्ट्रिय उचाइमा पुगिन्छ । भोलिपल्ट अर्को आउँछ- हाम्रो पार्टीको क्याम्पेन छ, यसले सिधै जित्छ । तपाईँ जस्तो कर्मठ व्यक्तिलाई हामी एउटा जिम्मेवारी पनि सुम्पिन्छौँ । पार्टीको टिकट काटौँ है ।”(पृ. ९९)
लेखक भट्टाराईको मुख्य चासो र चिन्ता नै देशको बिग्रँदो राजनीतिक परिपाटी हुँदै माटो र जनताप्रति देखिन्छ । पहाडका दरबारहरू अहिले खण्डहरमा रुपान्तरण हुनु, घनाजनको गाउँ मानवविहिनताको स्थितिमा घिस्रिनु, विज्ञानको युगमा टावर खोज्दै रुखमा चढ्नु, गाउँशहरका लोकहरू सबै राजनीतिले विभाजित हुनु, युवाजवानहरूले भविष्यको खोजी गर्दै पुस्तौँ गुन्टा कस्न बाध्य भइरहनु वा युवाहरू देश छोडी भाग्न खोज्नु, सोझासाझा तथा बौदिक वर्गप्रति राजनीतिक आक्रमण भइरहनु, शासकहरूले देश चलाउन अनेक प्रवञ्च रच्नु र जनताको आँखामा छारो हालिरहनु अनि जनताहरू तिनै शासकहरूलाई बारबार भरोसा गर्न बाध्य भइरहनु । हो, यस्तै बिग्रँदो राजनीतिक परिपाटीको परिणामस्वरूप भविष्यहीन अन्योलताको स्थितिमा नेपालीजनको दौडाइ नयाँ मुगलानसम्म जोडिन बाध्य छ ।
लेखक भट्टराईले उपन्यासमा स्वस्थ राजनीतिक प्रणाली कायम गरिनुपर्ने, आफू जन्मिएको माटोलाई सुम्सुमाउनुपर्ने, नेपालीजनहरू अनेक नाममा विभाजित हुन नहुने, शासकहरू विज्ञानको विकाससँगै अन्य देशलाई हेरेर दुरगामी सोच र लक्ष्यका साथ अगाडि बढ्नुपर्ने अव्यक्त मनसाय पात्रका माध्यमबाट व्यक्त गर्दछन् । यो जर्जर कुशासनयुक्त समाजबाट हरेक नेपाली सचेत बनी देशप्रतिको समर्पण भाव देखाउनुपर्ने विचार उपन्यासमा उल्लेख छ ।
समाजमा आडम्बरीहरूको रजगज
वि. सं. २०७७/१२/०५ गते नेपाल भ्युज अनलाइनमा निम्न शीर्षकमा एक समाचार छापियो- ‘वीर अस्पतालको परिचय बोकेको नक्कली डाक्टर ।’ त्यस्तै, मिति ०८१/०२/०३ मा स्वास्थ्य खबरमा निम्न शीर्षकमा उस्तै प्रकृतिको समाचार छापियो- ‘डोटीमा नक्कली डाक्टर पक्राउ, काउन्सिलमा दर्ता भेटिएन ।’ मिति २०७३ सालमा सीआईबीको ‘कपरेशन क्वाक’ नामक अनुसन्धानले नक्कली प्रमाणपत्रका आधारमा ३६ जनाको नक्कली डाक्टरको नाम सार्वजनिक गरेको थियो । जसमध्ये १३ जना राजधानीबाट पक्राउ परेका थिए । यी यस्ता समाचार वर्तमान समयमा धेरै सुनिन्छन्, पढिन्छन् । यो त भयो फगत चिकित्सा क्षेत्रको । तर, यस्ता कैफियतहरू हरेक क्षेत्रमा घुसेर देश तथा नागरिकको भविष्यलाई बिगारिरहेका कति होलान् ? यो प्रश्न उपन्यासले राज्यलाई तेर्स्याएको छ ।
यही शिलशिलामा उपन्यासको एक प्रसङ्ग पनि पढौँ- “ माइकल भनेको वडा नं. १३ को भकुन्डे थापा पो रहेछ । दमकको हाइस्कुलदेखि साढे नौ किलास पास गरेर भागेको । आज आएर डजिङमा ग्रेजुएट गरेको भन्छ अरे तर यता नेपालदेखि पाँच सात वर्ष हरायो र एकैचोटि बीएको प्रमाणपत्र लिएर आयो । यहाँका दुई- चार हाइस्कुल टिचिङमा पस्न जोड गर्यो तर सकेन, दुई-चार दिन त पोस्टमोर्डन कलेज पनि पसेर त्यहाँ अंग्रेजी पढाएँ भन्थ्यो । दैव जानून्, देखेको छैन ।”(पृ. १००)
स्वास्थ्य, शिक्षा, राजनीति, धर्म जताजतै आफ्नो सक्कली नामलाई ध्वंश पार्दै अनेक धारीहरू पसेर समाजलाई बर्बादउन्मुख धकेलिरहेछन् । उपन्यासमा पनि सेता वस्त्रधारीहरू, माताजीहरू, ओम शान्ति पथ, साइबाबाका भक्तहरू, सन्त महापाल, कबिरपथ, कृष्ण प्रणामी तथा हिन्दु धर्मका परपीडक अनुष्ठानहरूको प्रसङ्ग छ जुन जगतको साझा कल्याणभन्दा पनि अनेक सम्प्रदायमा/धर्ममा नेपालीजनालाई बाँधेर समाजमा धार्मिक असहिष्णुता बढाइरहेछन् । तसर्थ, यो उपन्यासले विशेषत: समाजमा आडम्बरको खोल ओडेर अगाडि बढ्ने शिक्षाविद् तथा धार्मिक क्षेत्रका अगुवाहरूलाई चिनेर/चिनाएर वर्तमान समयमा सक्कलीहरू नक्कलीबाट जोगिएर हिँड्नुपर्ने चेत् पस्केको छ ।
कवितात्मक प्रस्तुति: दर्शनको खोज
‘यो मानव हुनुको तात्पर्य एक अतिथि गृह जुनु हो,
प्रत्येक विहान एक नवान्तुकले प्रवेश गर्छ यहाँ ।’
-रुमी
उपन्यासका बिचबिचमा यस्ता जीवन दर्शनको आगमन हुन्छ जसले पात्रलाई अझ बढी भाव प्रदान र पठनलाई रोचक बनाएर लान्छन् । लेखनमा कुनै न कुनै माध्यमबाट दर्शन उद्घाटित त भएको हुन्छ नै । यस उपन्यासमा पनि जीवन दर्शन, युद्ध दर्शन, प्रेम दर्शन आदिका भावहरू गीति तथा कवितात्मक शैलीमा उद्घाटित भएका छन् । जसमा जल्दोबल्दो युक्रेन युद्धमा सामेल भएका फौजी कवि आइओन डोगेनको कविताले सायद सबैको मनलाई एकछिन स्तब्ध बनाउँछ होला । त्यस्तै, अन्य कविहरूमा रुमी, भिक्टर ह्युगो, बेल्जिएन कवि जर्मे डुगेनब्रुट, यस.डि. कलरिज आदिका कविताहरू प्रस्तुत छन् । यी त भए देशको सीमानाभन्दा बाहिरका कविहरू ।
स्वदेशी कविका दिलचस्पी गीत/कविताहरू पनि उपन्यासमा गाँसिएका छन् । जसले पाठकवर्गमा अपनत्वको भावलाई बढी सशक्त बनाएर लगेको आभाष हुन्छ । समाविष्ट कविहरूमा गीतकार दिनेश अधिकारी, कवि विष्णु एस. राई, कवि प्रेम कटुवाल आदि छन् । उल्लेखित कवि तथा गीतकारका शब्दहरूले जीवन दर्शनको ज्ञान दिएर दर्शनको तलास गर्न सिकाएका छन् । यसबाट, पाठकहरूमा आख्यानको रसस्वादन साथसाथै गैरआख्यानको पठन गर्ने अवसर पनि मिल्छ । यो अन्य उपन्यासमा सायदै मिल्ला ।
मूल्याङ्कन तथा निष्कर्ष
प्रा. डा. गोविन्दराज भट्टाराईको पाँचौँ उपन्यास ‘नयाँ मुगलान’ को कथावस्तु, कथाको विन्यास, पात्रप्रतिको न्याय, परिवेशगत तथा स्थानिक भाषाशैली/चालचलन, भावगत सबलता र शीर्षकको औचित्यता आदि सबै कोणबाट सबल र सफल कृति हो । उपन्यासले वर्तमान समयको जगमा टेकेर राष्ट्रदेखि अन्तर्राष्ट्रसम्मको विचरण गर्दै निकै नै गहिराइमा डुबुल्की मारेको देखिन्छ । विशेषत: देशमा परम्परादेखि चलिआएका र भविष्यमा घट्न सक्ने घट्नाजन्य सम्भाव्यतालाई नजरअन्दाज गरी समयमै राज्यको दुर्दशा देखाउन सफल भएको देखिन्छ । जस्तै, उजाडिँदो पहाड, नयाँ मुगलानतिरको लस्कर, मुगलानिएर छुट्टिएका चखेवा जोडीका पीडा, एकल महिलाको संघर्ष, बालबालिकाको परदेश मोह, शासकहरूको कुशासन तथा अधिनायकवाद, विश्वयुद्धका बाछिटा, व्यप्त भष्टाचार र परदेशबाटै गमनको यात्रा आदि, आदि । मूख्यत: ‘युवा पुस्ताको ध्यान: नयाँ मुगलान’ भन्ने उक्तिलाई पुन: प्रष्ट्याइदिएको छ । त्यसैले पनि, यो उपन्यास एक यथार्थवादी सामाजिक उपन्यासको श्रेणीमा पर्दछ ।
उपन्यासले करुणाका साथै हाँस्य रसलाई पनि प्रयुक्त गरेको देखिन्छ । मानवीय संवेदनालाई विभिन्न दर्शनका माध्यमबाट दुर्घटित गरेता पनि संयमित बनाउँदै किनाराकृत गर्न सफल भएको देखिन्छ । सबैभन्दा सबल पक्ष त एक नारी जसको यस लोकमा कोही छैन, उसलाई आशाको दर्शनले थुम्थुमाउँदै देश, काल र परिस्थितिले नयाँ मुगलानको गमनमा डोहोर्याइदिनु हो । यतिमात्र होइन, यात्रामा सफल बनाइदिनु पनि थियो, पाठकका दृष्टिमा । तर, त्यो पाठक लागि अधुरै र अपुरै रह्यो ।
उपन्यासले समाजका अभिभावकहरूलाई जतिखेरै तयारी अवस्थामा बसिदिन विनम्र आग्रह गर्दछ । आजको नेपालमा बाबुआमा स्वदेशमा, सन्तान चैँ परदेशमा । यसरी मुगलानमा जतिखेर जे पनि हुन सक्ने सत्यलाई अंगालेर आजका बुबाआमा घरदेशमा बस्नुपर्ने तीतो यथार्थ पस्केको छ । यसो हेर्दा साँच्चै नै लाखौं नेपाली बुबाआमाको हाल यहि त छ नि । यति हुँदाहुँदै पनि पाठकलाई केही अनौठा जिज्ञासाहरू यो उपन्यासले छोडेको छ । जस्तै, पतिलाई मुगलानमा गुमाएकी कोपिलाले धन कमाउन पुन: नयाँ मुगलान जाने अठोट लिनु ।
अन्त्यमा, नयाँ मुगलान उपन्यास वर्तमान नेपाली समाजको ऐना हो जसलाई जसरी हेरे पनि ‘युवा पु्स्ताको ध्यान: नयाँ मुगलान’ भन्ने उक्त्ति फुत्त आउँछ । यो छोरा/छोरी पुस्ता देशबाट भाग्नुपर्ने बाध्यता कोरिएको लघु उपन्यास हो । यो बिग्रँदो वा अस्वस्थ राजनीतिप्रतिको क्रोध हो । नयाँ मुगलान परदेशमै इहलीला समाप्त पार्ने हजारौँ नेपालीको साझा कथा हो । यो उपन्यास एक विधवा महिलाको संघर्षपूर्ण कथा हो जसलाई देशले यहि माटोमा बस्न नदिई नयाँ मुगलानतिर लखेटेको छ । नयाँ मुगलानका नयाँ ढाँचा, नारी प्रधान, कवितात्मक लयबाट जीवन दर्शनको खोज, समाजमा आडम्बरीहरूको रजगज, अस्वस्थ राजनीतिले गाँजेको वर्तमान आदिलाई यस उपन्यासका अन्तर्तत्व हुन् । र, यिनैले नै नयाँ मुगलानलाई चीरकालसम्म जिवन्त राख्न मद्दत गर्नेछन् भन्नेमा दुई मत नहोला ।