
नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर १० की सीता अर्यालको आँखा राम्रोसँग नओभाएको ४ वर्ष भयो ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठको उद्योगको लापरबाहीका कारण श्रीमान गुमाउनु परेयता उनको सानो र सुन्दर परिवारको बिचल्ली भएको छ । स–साना छोराहरू टुहुरा भएका छन् । सीताको सिन्दुर पुछिएको छ । रातदिन आँसुको सहारामा बाँच्नुपरेको छ ।
नवलपरासीको रामग्रामस्थित श्रेष्ठको स्वामित्वमा रहेको सिद्धिलक्ष्मी स्टील्सको मोटरसाइकलले दिएको ठक्करबाट सीताका श्रीमान् राजु बिकको मृत्यु भएको थियो ।
लाइसेन्सविना नै मोटरसाइकल चलाएर राजुको ज्यान लिने सिद्धिलक्ष्मीका इन्जिनियर धर्मेन्द्रकुमार गुप्तामाथि न कुनै कारवाही भयो, न त उनलाई मोटरसाइकल चलाउन दिने कम्पनीमाथि छानबिन नै ।
सीता अहिले ४ र १३ वर्षका दुई छोरासँगै सुनवल नगरपालिका– १० मा संघर्षपूर्ण जीवन बिताइरहेकी छिन् । दुर्घटनाको समय उनका कान्छा छोरा दूधे बालक थिए ।
काखको छोरा बोकेर सीताले यति ठूलो उद्योगसँग कानूनी लडाईं लडिन्, तर उनको केही लागेन । दुर्घटनालगत्तै अस्पतालमा लागेको रकम र किरिया खर्च दिएर घटनालाई झिसमिस बनाइयो ।
जबकि यातायात व्यवस्था ऐनको दफा १६१ अनुसार सवारी धनी कम्पनी र लाइसेन्सविनै सवारी चलाउने कर्मचारी दुवैलाई कैद सजाय हुनुपर्थ्यो ।
कम्पनी निर्जीव वस्तु भएकाले यस्तो अवस्थामा त्यसका मालिक उक्त सजायको भागीदार हुनुपर्ने कानूनविदहरू बताउँछन् ।
त्यो कालो दिन…
२०७७ को भदौ १४ गते साँझ करिब ६ बजेर ५० मिनेट जाँदा रुपन्देहीको रोहिणी गाउँपालिका– ६, छिपागढमा एउटा दर्दनाक दुर्घटना भयो ।
राजु आफ्नो मोटरसाइकल (लु५९प ३६०५) मा नियमित यात्रा गरिरहेका थिए । विपरीत दिशाबाट आएको अर्को मोटरसाइकल (लु५२प ४४८७) ले उनलाई ठक्कर दियो ।
ठक्कर दिने चालक थिए– सिद्धिलक्ष्मी स्टील्सका कर्मचारी धर्मेन्द्रकुमार गुप्ता ।
उनको कर्मचारी आईडी E3052 थियो । उक्त मोटरसाइकल सिद्धिलक्ष्मी स्टील्सले कम्पनीको 'Own Your Vehicle Scheme (OYVS)' अन्तर्गत धर्मेन्द्रलाई प्रदान गरेको थियो ।
सीता अर्यालले लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा २०८० को जेठमा गरेको उजुरीमा लेखेकी छन्, 'दुर्घटनापछि मेरो श्रीमान गम्भीर घाइते हुनुभयो । उपचारका क्रममा २०७७ को भदौ २८ मा उहाँको मृत्यु भयो । यो दुर्घटना कुनै संयोग थिएन । धर्मेन्द्रसँग सवारी चालक अनुमति पत्र (लाइसेन्स) नै थिएन, जुन कुरा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले २०७९ को साउन १४ मा लेखेको पत्रले पनि पुष्टि गरेको छ ।'
जिप्रका रुपन्देहीले सिद्धिलक्ष्मी स्टील्सलाई लेखेको उक्त पत्रमा भनिएको छ, 'धर्मेन्द्रकुमार गुप्तासँग सवारी चालक अनुमति पत्र नभएको मिसिल संलग्न कागजातबाट स्पष्ट भएको छ ।'

त्यसपछि सिद्धिलक्ष्मीले प्रहरी र अन्य निकायलाई घुस खुवाएर थप कारवाही गर्न रोकेको सीताको आरोप छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भने यस सम्बन्धमा अनुसन्धान कायमै रहेको जनाएको छ । तर, न सिद्धिलक्ष्मीलाई कारवाही भएको छ, न त लाइसेन्सविनाका चालक धर्मेन्द्र नै कारवाहीको दायरामा आएका छन् ।
कम्पनीको सम्झौता पत्रअनुसार लु५२प ४४८७ को होन्डा साइन २०७६ को असार २७ गते धर्मेन्द्रलाई दिइएको थियो ।

धर्मेन्द्रलाई सवारी चलाउन दिने क्रममा सिद्धिलक्ष्मीले कानूनको ठाडो उल्लंघन गरेको छ । घटना भइसकेपछि त्यसलाई दबाउन आफ्नो शक्ति दुरुपयोग गरेको प्रस्टै देखिन्छ ।
सीताको संघर्ष: एउटा विधवाको पीडा
सीता अर्याल अहिले सुनवल नगरपालिका–१० मा आफ्ना २ छोरासँग बस्छिन् ।
परिवारको सहमतिविना पनि अन्तरजातीय विवाह गरेकी सीताका लागि श्रीमान राजु नै जिन्दगीको एकल सहारा थिए ।
राजुको मृत्यु भएपछि सीताको जीवनमा बज्रपात आइपरेको छ । श्रीमान् गुमाएको पीडा एकातिर छ, अर्कातिर २ छोराको पालनपोषण र आधारभूत आवश्यकता पूरा गर्नुपर्ने बाध्यता पनि छ ।
उनले आफ्नो कष्टपूर्ण कथा सुनाउँदै भनिन्, 'मेरो श्रीमान् हाम्रो परिवारको मुख्य आधार हुनुहुन्थ्यो । उहाँको मृत्युपछि जीवन उजाड भएको छ । म र छोराछोरीको भविष्य अन्धकारमा छ । मलाई यो उमेरमा विधवा बनाउने सिद्धिलक्ष्मी स्टील्सका हाकिमहरू र दोषी कर्मचारीलाई कानूनी कारवाहीको माग गर्छु ।'
छोराहरूले बाबा खै भनेर सोध्ने प्रश्नको जवाफ दिन सीतालाई सहज छैन । 'बाबा कहिले आउनुहुन्छ ?' भनेर छोराहरूले सोध्दा सीताको मन भक्कानिन्छ ।
छोराहरूले बाबाको माया र संरक्षण पाउने उमेरमा सीताले एक्लो जीवन बिताउनुपरेको छ । आर्थिक अवस्था कमजोर भएकी सीताले अहिले एउटा निजी संस्थामा काम गर्छिन् । त्यसैबाट जेनतेन खर्च धानेकी छन् ।
सीताले आफ्ना छोराहरूको पालनपोषण र आधारभूत आवश्यकता पूरा गर्नुपर्ने बाध्यताका बीच यो कानूनी लडाइँ लडिरहेकी छिन् । आर्थिक र सामाजिक अवस्था कमजोर भएकाले यो लडाइँमा राम्रोसँग ध्यान दिन सकिरहेकी छैनन् ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ र १६३ अनुसार कारबाही र क्षतिपूर्तिका लागि सीताले अदालतमा मुद्दा दायर गर्न सक्छिन् । तर, त्यसका लागि उनलाई कानूनी परामर्शको अभाव छ ।
'छोराहरूको लालनपालनमा ध्यान दिनु कि कानूनी लडाईं लड्न हिँड्नु, यता हिँडे उता बिग्रिने, उता हिँडे यता बिग्रिने, यस्तै छ,' सीताले लोकान्तरसँग भनिन् ।
ऐनको दफा १६१ अनुसार लाइसेन्सविनै सवारी चलाउने चालक मात्र होइन, कम्पनी (कानूनविदका अनुसार मालिक) समेत कैद सजायको भागीदार हुन्छ । उक्त कम्पनीका मालिक अञ्जन स्वयं हुन् ।

तर, यो घटनामा शक्तिको अगाडि कानून लाचार बनेको छ ।
हेर्नुहोस्,कानूनी व्यवस्था:

सिद्धिलक्ष्मी स्टील्स रमालिकअञ्जन श्रेष्ठको जवाफदेहिता
सिद्धिलक्ष्मी स्टील्सको स्वामित्व अञ्जन श्रेष्ठ र उनको परिवारको नाममा छ ।
अञ्जन श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का वरिष्ठ उपाध्यक्ष हुन् र लक्ष्मी समूहका कार्यकारी निर्देशक पनि । उनको प्रभाव र पहुँचका कारण अमानवीय ज्यादती गरिरहेको सिद्धिलक्ष्मी स्टील्सलाई अहिलेसम्म कारवाही हुन सकेको छैन ।
नेपालकै प्रतिष्ठित उद्योगी भनेर आफूलाई चिनाउँदै आएका श्रेष्ठको उद्योगले गरेको प्रदूषणबाट स्थानीय नागरिक आजित छन् ।
उनको फ्याक्ट्रीमा काम गर्ने मजदुरको अंगभंग हुँदासमेत क्षतिपूर्ति नदिएर कामबाट निकालिएको छ भने उनकै कम्पनीले गरेको लापरबाहीले कसैको ज्यान जाँदासमेत श्रेष्ठलाई केही फरक परेको छैन ।
रामग्राम नगरपालिकाका बासिन्दाले प्रदूषण, ढल मिसावट र जग्गा कब्जाका मुद्दामा बारम्बार गुनासो गरेका छन् । तर, अञ्जनको प्रभाव र पहुँचका कारण यी मुद्दाहरूमा ठोस कारबाही भएको छैन ।
पैसा र पावरका अगाडि प्रशासन पनि लाचार!
सीताले गरेको उजुरीमा स्पष्ट लेखिएको छ, 'जिल्ला प्रहरी कार्यालय रुपन्देही र जिल्ला प्रशासन कार्यालयको मुद्दा शाखाले ठूलो रकम घुस लिएर धर्मेन्द्रलाई फरार देखाई अनुसन्धान नै नगरी छाडेको आशंका लागेको छ ।'

यसले प्रशासनको विश्वसनीयतामाथि पनि प्रश्न उठाएको छ । प्रहरीको पत्रले नै धर्मेन्द्रसँग लाइसेन्स नभएको पुष्टि गरिसकेको छ, तर पनि उनलाई पक्राउ गरी कारबाही गरिएको छैन ।
फरार भनिएका धर्मेन्द्रसँग अहिले पनि सहजै सम्पर्क स्थापित हुन सक्छ । उनको फोन नम्बर पत्ता लगाएर लोकान्तरले यसबारे कुराकानी गर्ने प्रयास गरेको थियो ।
धर्मेन्द्रले आफूले सिद्धिलक्ष्मी छाडिसकेको बताए । दुर्घटना र उनको सवारी लाइसेन्सबारे सोध्न खोज्दा 'पछि कुरा गर्ने' भन्दै फोन राखिदिए ।
सिद्धिलक्ष्मी स्टील्सका एचआर म्यानेजर नरेश रानाभाटले पनि घटना सेटलमेन्ट भइसकेको बताए । उनले यसबारे थप केही बोल्न अस्वीकार गरे ।
सिद्धिलक्ष्मीको गैरजवाफदेही व्यवहारको निरन्तरता
सिद्धिलक्ष्मी स्टील्सको यो लापरबाही पहिलो घटना होइन । यसअघि पनि यो कम्पनीले रामग्राम नगरपालिकाका बासिन्दालाई प्रदूषण, ढल मिसावट र जग्गा अतिक्रमण गरेर सताएको छ ।
स्थानीय बासिन्दा अंगदप्रसाद हजाम र उनकी श्रीमती अनितादेवीले पनि सिद्धिलक्ष्मीको ज्यादतीविरुद्ध लडाइँ लडिरहेका छन् ।
जसपा नेपालका नवलपरासी जिल्ला सभापति धरेन्द्र यादव र सहायक सीडीओ पोषणराज भण्डारीले पनि सिद्धिलक्ष्मीको गैरजवाफदेही व्यवहारको आलोचना गरेका छन् । तर, कम्पनीले यी गुनासाहरूलाई बेवास्ता गर्दै आएको छ ।
यो दुर्घटनामा पनि सिद्धिलक्ष्मीले कुनै जवाफदेहिता लिएको छैन । अस्पतालको रकम र किरिया खर्चबाहेक सीताले अन्य कुनै क्षतिपूर्ति पाएकी छैनन् ।
पढ्नुहोस्, यसअघिका भागहरू :
एफएनसीसीआईका भावी अध्यक्षको उद्योगले बिचल्ली पारेको एक मजदुर परिवारको दर्दनाक कथा [भिडियो स्टोरी]
सिद्धिलक्ष्मी स्टील्सको लापरबाहीले खोलामा बग्न थाल्यो रसायन, स्थानीयको उठीबास [भिडियो स्टोरी]