
जुम्लाको तिला गाउँपालिकामा सञ्चालित चार दिने विशेषज्ञ सेवासहित निःशुल्क स्वास्थ्य शिविरमा ७६५ जनाले स्वास्थ्य सेवा लिएका छन् ।
यही वैशाख ११ देखि १२ गतेसम्म घोडेमहादेव स्वास्थ्य चौकीमा सञ्चालित स्वास्थ्य शिविरमा २६१ जनाको स्वास्थ्य जाँच गरिएको हो ।
त्यस्तै वैशाख १३ देखि १४ गतेसम्म कुडारी स्वास्थ्य चौकीमा सञ्चालित स्वास्थ्य शिविरमा ५०४ जनाले सेवा लिएको तिला गाउँपालिका स्वास्थ्य शाखाका ‘फोकल पर्सन’ उत्तम देवकोटाले जानकारी दिए ।
उनका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विशेषज्ञ चिकित्सकको सक्रिय सहभागितामा सञ्चालित तिला गाउँपालिकामा सञ्चालित स्वास्थ्य शिविरबाट विशेषगरी स्त्रीरोग, हाड तथा नसा रोग र सामान्य चिकित्सासम्बन्धी सेवा उपलब्ध गराइएको छ ।
तिला–७ का जयबहादुर बुढाले पालिकाको सहयोगमा सञ्चालित स्वास्थ्य शिविरबाट स्थानीयले अपेक्षा गरेभन्दा बढी राहत पाएको बताउँदै यस किसिमका शिविर नियमित रुपमा आयोजना गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गरे ।
तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले स्थानीय जनताको माग र सुझाव बमोजिम निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको उल्लेख गर्दै आगामी दिनमा अझ धेरै विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य शिविर सञ्चालन गर्ने पक्षमा पालिका रहेको बताए ।