११ साउन २०८३, सोमबार

बिक्री गरेको ल्यापटप पसलेले फिर्ता नलिएपछि जब ग्राहक उपभोक्ता अदालत पुगे...

बैशाख १८, २०८२
काठमाडौं
बिक्री गरेको ल्यापटप पसलेले फिर्ता नलिएपछि जब ग्राहक उपभोक्ता अदालत पुगे...

काठमाडौंको कीर्तिपुरस्थित हनुमान घाटमा बस्दै आएका चिरञ्जिवी थापा नयाँ वर्षको भोलिपल्ट ल्यापटप खरिद गर्न न्युरोड पुगे । काठमाडौंको मुख्य व्यापारिक स्थानका रूपमा परिचित न्युरोडको ‘न्यू ल्यापटप ट्रेर्डस’मा उनी पुगे ।

पसलबाट ल्यापटप खरिद गर्दा करिब ४/५ घण्टासम्म ब्याट्री ब्याकअप रहने बताइयो । ल्यापटपको मूल्य घटबढ गरेर ७१ हजार ५०० रुपैयाँमा फाइनल भयो । 

न्युरोडबाट ल्यापटप खरिद गरेर उनी घर पुगे । घरमा आएर हेर्दा,  ल्यापटप फुल चार्ज गर्दा २/३ घण्टाभन्दा बढी टिक्न सकेन । अर्थात् ३ घण्टासम्म मात्रै ल्यापटपमा चार्ज टिक्यो । 

उनलाई पसलबाट ५ घण्टासम्मको ब्याट्री ब्याकअप छ भनिएको थियो तर, ३ घण्टा मात्रै चार्ज टिक्ने भएपछि भोलिपल्ट नै उनी पुनः न्युरोड पुगे । 

पसलमा उनले समस्या बताएर ल्यापटप फिर्ता गरिदिन अनुरोध गरे । तर, पसलेले ल्यापटप फिर्ता लिन मानेन । 

थापालाई ल्यापटप फिर्ता नगर्ने र रकम पनि फिर्ता नदिने भनेर फर्काइयो । 

कहाँ जाने के गर्ने दुविधामा रहेका थापा जसोतसो विभिन्न व्यक्तिहरूको निर्देशन र सल्लाहमा त्रिपुरेश्वरस्थित उपभोक्ता अदालतसम्म पुगे । 

वैशाख ७ गते उपभोक्ता अदालत पुगेका थापाको मुद्दा दर्ता गरियो । १४ गते माता तिर्थको दिन वादी थापा र ल्यापटप ट्रेर्डसलाई बोलाइयो । 

थापा दृष्टिविहीन हुन् । तर, पनि उनले ल्यापटप फिर्ता लिन उपभोक्ता अदालत नै जाने निर्णय गरे ।

उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १४ मा वस्तु फिर्ता गर्न सकिने व्यवस्था गरिएको छ । दफा १४ ले ‘कसैले बिक्रेताबाट खरिद गरेको वस्तु/चीज चित्त नबुझी फिर्ता गर्न चाहेमा ७ दिनभित्र बिक्रेता समक्ष फिर्ता गर्न वा त्यस्तो वस्तुका सट्टा सोही मूल्य बराबरको त्यस्तै अर्को वस्तु वा आफूले त्यस्तो वस्तु खरिद गर्दा तिरेको रकम भुक्तानी लिन सक्ने’ व्यवस्था गरिएको छ । यसका साथै वस्तु फिर्ता गर्दा बिक्रेताले मूल्यमा कटौती गर्न वा अन्य कुनै किसिमको थप शुल्क लिन नपाउने व्यवस्था छ । 

तर, त्यसका लागि वस्तु खरिद गर्दा बखत बिक्रेताले दिएको बिल वा रसिद हुनुपर्ने, वस्तुको गुणस्तर वा परिमाणमा परिवर्तन नगरेको हुनुपर्ने, सिलबन्दी वस्तु भए सिलबन्दी तोडिएको नहुनुपर्ने हुन्छ । 

श्रेस्तेदार शोभाकर खरेलले प्रतिवादीलाई कानुनअनुसार जरिवाना गरी ल्यापटपको रकम फिर्ता गर्नुपर्ने बताए । श्रेस्तेदारको कुरा सुनेपछि प्रतिवादीले मुद्दाको प्रतिउत्तर नपर्दै वादीको माग पूरा गर्ने बताए । 

खरेलका अनुसार प्रतिवादीले थापाको चित्त बुझ्नेगरी मेलमिलाप गरेर मुद्दा टुंग्याए। 

‘एक जना थापाजी आउनुभयो । दृष्टिविहीन हुनुहुँदो रहेछ । ल्यापटप फिर्ता नगरेको भन्दै आए’, उनले भने, ‘प्रतिवादी मेलमिलाप गर्न  मान्नुभयो र दुवै पक्षको चित्त बुझाइ पठाइयो । मुद्दाको प्रतिउत्तर नपर्दै दुवै पक्षबीच सहमति गरायौं ।’ 

सामान्यतया अदालतमा जाँदा पैसा लाग्ने र समय खर्च हुन्छ भन्ने मानसिकता हुन्छ । तर, सरकारले उपभोक्ताहरूको मात्रै छुट्टै मुद्दा हेर्न उपभोक्ता अदालत गठन गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्