०९ साउन २०८३, शनिबार

सरकारले स्थानीय सरकार सञ्चालन ऐनमा माग्यो सुझाव, यस्ता छन् प्रस्तावित व्यवस्था

बैशाख २२, २०८२
काठमाडौं
सरकारले स्थानीय सरकार सञ्चालन ऐनमा माग्यो सुझाव, यस्ता छन् प्रस्तावित व्यवस्था

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लाई  संशोधन गर्न बनेको विधेयक उपर सर्वसाधारणसँग राय सुझाव मागेको छ ।

मन्त्रालयले सोमबार विधेयक वेबसाइटमा अपलोड गर्दै सर्वसाधारणसँग रायसुझाव माग गरेको हो ।

nullमन्त्रालयले निकालेको सूचना

संघीय  मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तर्जुमा गरेको यो विधेयकले विभिन्न ३० वटा विषयमा संशोधन र नयाँ व्यवस्था प्रस्ताव गरेको छ ।

गाउँपालिका र नगरपालिकाको नाम र केन्द्र परिवर्तनमा सहजता ल्याउने गरी संशोधन गर्न लागिएको छ ।

ऐनमा संशोधन गरी गाउँपालिका वा नगरपालिकाको नाम, केन्द्र वा दुवै परिवर्तन गर्न सम्बन्धित कार्यपालिकाको दुईतिहाइ बहुमतबाट प्रस्ताव पारित गरी प्रदेश सरकारमार्फत नेपाल सरकारमा पठाउनुपर्ने व्यवस्था गरिएको छ । यस्तो परिवर्तनको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्नुपर्ने र सम्बन्धित प्रदेश सरकारलाई जानकारी दिनुपर्ने नयाँ प्रावधान थपिएको छ ।

त्यसैगरी, वडा र सिमाना हेरफेरमा नयाँ समिति गठन गरिने प्रावधान राखिएको छ । संशोधनअनुसार वडा र सिमाना हेरफेरका लागि जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा समिति गठन गरिनेछ ।

उक्त समितिमा सम्बन्धित गाउँपालिका वा नगरपालिकाका उपाध्यक्ष/उपप्रमुख, सहायक प्रमुख जिल्ला अधिकारी, नापी र मालपोत कार्यालयका प्रमुख र प्रमुख प्रशासकीय अधिकृत रहनेछन् ।
समितिले आवश्यकताअनुसार विषयविज्ञलाई बैठकमा आमन्त्रण गर्न सक्नेछ ।

त्यसैगरी, कार्यपालिका बैठकको गणपूरक संख्या र निर्णय प्रक्रिया विषयमा समेत संशोधन गरिएको छ ।

कार्यपालिका बैठकको गणपूरक संख्या ५० प्रतिशतभन्दा बढी उपस्थितिमा कायम हुने र लगातार तीनपटक गणपूरक नपुगेमा ४३ प्रतिशत उपस्थितिमा बैठक बस्न सक्ने व्यवस्था गरेको छ । निर्णय सर्वसम्मतिमा नभएमा बहुमतबाट हुने प्रावधान थपिएको छ ।

त्यसैगरी, गाउँ सभा र नगरसभा निर्धारित समयमा अनिवार्य सम्पन्न गर्नुपर्ने प्रावधान राखिएको छ । यदि सभा सम्पन्न नभएमा नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त अनुदान रोकिन सक्नेछ ।

त्यसैगरी, भवन निर्माण मापदण्ड पालना गर्नुपर्ने प्रावधान राखिएको छ । संशोधनमा नयाँ व्यवस्था थप्दै गाउँपालिका र नगरपालिकाले राष्ट्रिय भवन संग्रह र निर्माण मापदण्ड पालना गर्नुपर्ने र नक्सा पास प्रक्रियालाई सूचना प्रविधिमा आधारित बनाउनुपर्ने उल्लेख छ । यसका लागि स्थानीय तहले कार्यविधि निर्धारण गर्नेछन् ।

त्यसैगरी, संशोधनले स्थानीय तहले आफ्नो सम्पत्ति, राजस्व, बजेट, कार्यक्रम र खर्चको विवरण नेपाल सरकारले तोकेको सूचना व्यवस्थापन प्रणालीमा प्रविष्ट गर्नुपर्ने व्यवस्था गरेको छ ।

त्यसैगरी, संशोधनले कर्मचारीको सेवा सुविधा नेपाल सरकारका समान तहका कर्मचारीको शुरू तलब स्केलभन्दा कम नहुने व्यवस्था गरेको छ ।

साथै, स्थानीय तहका कर्मचारीको अवकाश कोष संघीय सरकारले तोकेको निकायमार्फत सञ्चालन हुने र त्यसमा नियमित रकम जम्मा गर्नुपर्ने प्रावधान थपिएको छ ।

त्यसैगरी, संशोधनले जिल्ला समन्वय समितिका लागि स्थायी कर्मचारी नियुक्ति सीमित गरी चालक, सहयोगी र सरसफाइ कर्मचारीलाई मात्र सेवा करारमा राख्ने व्यवस्था गरेको छ । अन्य पदमा स्थायी नियुक्ति अनिवार्य गरिएको छ ।

त्यसैगरी, संशोधनमा नयाँ व्यवस्था थप्दै प्रदेश सरकारले स्थानीय तहको कार्य प्रभावकारी बनाउन व्यवस्थापन परीक्षण गर्ने र त्यसका सुझाव पालना गर्नुपर्ने उल्लेख छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहसँग नीति, तथ्यांक, अनुगमन र सुशासनमा समन्वय तथा सहजीकरण गर्ने व्यवस्था गरिएको छ ।

त्यसैगरी,  संशोधनले गाउँपालिका र नगरपालिकालाई सामुदायिक विद्यालयका शिक्षक र कर्मचारीको दरबन्दी मिलान तथा सरुवा व्यवस्थापनको जिम्मेवारी दिएको छ ।

साथै, युवा विकासका लागि नयाँ खण्डहरू थपिएका छन् । जसमा युवा उद्यमशीलता, सीप विकास, रोजगारी प्रवर्द्धन, र युवा सूचना केन्द्र स्थापना र सञ्चालन समावेश छन् ।

सामाजिक न्याय र समावेशीकरणका लागि महिला, दलित, आदिवासी जनजाति, अपांगता भएका व्यक्ति र अन्य सीमान्तकृत समुदायको संरक्षण र सशक्तीकरणका कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ ।

संशोधनले गाउँपालिका/नगरपालिकालाई सामुदायिक विद्यालयका शिक्षक र कर्मचारीको दरबन्दी मिलान र सरुवा व्यवस्थापनको जिम्मेवारी दिएको छ ।

त्यसैगरी, संशोधनले उपाध्यक्ष/उपप्रमुख ७ दिनभन्दा बढी अनुपस्थित भएमा ज्येष्ठ वडाध्यक्षलाई न्यायिक समितिको काम गर्न तोक्न सकिने व्यवस्था गरेको छ ।

संशोधनले अन्य गाउँपालिका/नगरपालिकाले उत्पादन, संकलन वा व्यावसायिक उपयोग हुने वस्तुमा कर लगाउन नपाउने व्यवस्था छ । संशोधनले एकीकृत सम्पत्ति करलाई सम्पत्ति कर मा परिवर्तन गरेको छ ।

त्यसैगरी, संशोधनले बजेट सिलिङ र मार्गदर्शन समयमा नआएमा अघिल्लो आर्थिक वर्षको आधारमा बजेट प्रस्तुत गर्न सकिने व्यवस्था गरेको छ । संशोधनले सशर्त, समपूरक र विशेष अनुदानको बाँकी रकम सम्बन्धित सरकारको सञ्चित कोषमा जम्मा हुने व्यवस्था गरेको छ ।

सशर्त, समपूरक र विशेष अनुदानको खर्च र भौतिक प्रगति त्रैमासिकरूपमा सम्बद्ध मन्त्रालयमा पठाउनुपर्नेछ ।

त्यसैगरी, स्थानीय तहले सम्पत्ति, राजस्व, बजेट र खर्चको विवरण नेपाल सरकारको सूचना व्यवस्थापन प्रणालीमा प्रविष्ट गर्नुपर्नेछ । संशोधनले जिल्ला समन्वय समितिले अघिल्लो आर्थिक वर्षको अनुगमन प्रतिवेदन ३० दिनभित्र मन्त्रालय र सम्बन्धित स्थानीय तहमा पठाउनुपर्नेछ ।

संशोधनले महालेखापरीक्षकको प्रतिवेदनमा उल्लिखित बेरुजू फर्छ्योटको जिम्मेवारी अध्यक्ष/प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको हुने व्यवस्था गरेको छ ।

त्यसैगरी, संशोधनले जिल्ला समन्वय समितिका चालक, सहयोगी र सरसफाइ कर्मचारी मात्र सेवा करारमा राख्न सकिने र अन्य पदमा स्थायी नियुक्ति अनिवार्य गरेको छ ।

संशोधनमा नयाँ व्यवस्था थप गर्दै वडाध्यक्ष र सदस्यले अध्यक्ष/प्रमुखसमक्ष राजीनामा दिन सक्ने व्यवस्था छ ।

संशोधनले जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख वा सदस्यको पद रिक्त भएमा बाँकी अवधिका लागि उपनिर्वाचन हुने व्यवस्था गरेको छ ।​

विधेयकको प्रभाव

संशोधनले स्थानीय तहको कार्यक्षमता वृद्धि, सुशासन प्रवर्द्धन र दिगो विकासका लक्ष्य हासिल गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । यो विधेयकले हाल प्रचलित ऐनमा रहेका केही अस्पष्ट र कार्यान्वयनमा जटिल व्यवस्थालाई सरल र प्रभावकारी बनाउने लक्ष्य राखेको छ ।

विधेयकले स्थानीय तहबाट प्रदान हुने सेवालाई गुणस्तरीय, सरल र पहुँचयोग्य बनाउने लक्ष्य राखेको छ । यसले सेवाग्राहीले सहजरूपमा सेवा प्राप्त गर्नसक्ने र सरकारको सेवा प्रवाह प्रणालीमा सुधार हुने अपेक्षा गरिएको छ।

यसबाट मौलिक हक र मानव अधिकारको संरक्षणमा सकारात्मक प्रभाव पर्ने मन्त्रालयको दाबी छ ।

प्रस्तुत विधेयकले हाल कायम व्यवस्थालाई सरलीकृत गर्ने भएकाले नेपाल सरकारलाई थप आर्थिक भार नपर्ने मन्त्रालयले जनाएको छ ।

विद्यमान संरचना र स्रोतको उपयोगबाटै यी व्यवस्था कार्यान्वयन गर्न सकिनेछ । विधेयकले दिगो विकासका १७ वटा लक्ष्य हासिल गर्न सहयोग पुर्‍याउने उल्लेख छ । विशेषगरी, स्थानीय तहको कार्य सरलीकरण र प्राकृतिक स्रोतको प्रभावकारी व्यवस्थापनबाट दिगो विकासमा टेवा पुग्ने सूचनामा उल्लेख छ  ।

त्यसैगरी, तीन तहका सरकार (संघ, प्रदेश र स्थानीय) बीच साझा र एकल अधिकारको कार्यान्वयनमा सहजता ल्याउने यो विधेयकले सुशासन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

पारदर्शी र जवाफदेही प्रशासनिक प्रणाली स्थापित गर्न यो सहयोगी हुनेछ । स्थानीय तहको कार्यक्षमता वृद्धि र प्राकृतिक स्रोतको प्रभावकारी व्यवस्थापनले जलवायु परिवर्तन अनुकूलनमा सहयोग पुर्‍याउने मन्त्रालयको दाबी छ ।

हेर्नुहोस्, विधेयक :

salt training

कमेन्ट गर्नुहोस्