२३ जेठ २०८३, शनिबार

कर्णालीमा प्रभावकारी बन्दै ‘एक दिन, किताबविहीन’ अभियान

बैशाख २३, २०८२
काठमाडौं
कर्णालीमा प्रभावकारी बन्दै ‘एक दिन, किताबविहीन’ अभियान
वीरेन्द्रनगरको जन माविका विद्यार्थी ।

कर्णाली प्रदेश सरकारले ‘पाइलट प्रोजेक्ट (परियोजना)’का रूपमा शुरु गरेको जीवनोपयोगी शिक्षा कार्यक्रम प्रभावकारी भएको छ । 

सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘एक दिन किताबविहीन शिक्षा’ विद्यार्थीलाई दिने योजना ल्याएको थियो । सोही योजना अनुसार सुर्खेतका नौ वटा विद्यालयमा जीवनोपयोगी शिक्षा कार्यक्रम लागू गरिएको हो । 

विद्यालयमा साताको एक दिन विभिन्न सीपयुक्त ज्ञान विद्यार्थीलाई दिने गरिएको छ । जसबाट विद्यार्थीमा व्यावहारिक ज्ञानको विकास भएको कर्णाली प्रदेश सरकारले जनाएको छ । 

परीक्षणका रूपमा सुर्खेतको वीरेन्द्रनगरका अमरज्योति मावि, जनमावि, भैरव मावि र जनसेवा मावि घुस्रामा एक दिन किताबविहीन शिक्षाको शुरूआत गरिएको छ । 

भेरीगङ्गा नगरपालिकाको शारदा मावि, लेकवेशी नगरपालिका जीवनज्योति मावि दशरथपुर, पञ्चपुरी नगरपालिका विद्याज्योति मावि र बराहाताल गाउँपालिकाको जनज्योति माविमा पनि जीवनोपयोगी शिक्षाको शुरूआत गरिएको कर्णाली प्रदेश सरकार, शिक्षा विकास निर्देशनालय निर्देशक दीपा हमालले जानकारी दिइन् । 

अपाङ्गता भएका व्यक्तिलाई पनि जीवनोपयोगी शिक्षामा जोड्न कर्णालीको एकमात्रै विद्यालय सिद्ध बहिरा मावि वीरेन्द्रनगरमा यो कार्यक्रम लागू गरिएको उनले बताइन् ।

विद्यार्थीलाई हप्ताको एक दिन जीवन सिकाइअन्तर्गतका सीपहरू सिकाउने गरिएको भन्दै हमालले कृषि, प्रविधि, वाइरिङ, पलम्बिक, कुकिङ र सिलाइबुनाइका सीप सिकाउने गरिएको जानकारी दिइन् । 

‘अहिले यो कार्यक्रम पाइलट परियोजनाका रूपमा नौ वटा विद्यालयमा शुरू गरेका छौं, अबको शिक्षा व्यावहारिक हुनुपर्छ, भनेर कार्यक्रम शुरू गरिएको हो । कार्यक्रम प्रभावकारी बन्दै गएको छ’, हमालले भनिन् । 

अबको युगमा विद्यार्थीलाई सैद्धान्तिकभन्दा व्यावहारिक ज्ञानको आवश्यकता रहेको भन्दै सरकारले शुरू गरेको जीवनोपयोगी शिक्षालाई प्रदेशभर विस्तार गर्ने योजना रहेको उनले बताइन् । उनका अनुसार प्रदेश सरकारले यो कार्यक्रमका लागि ३५ लाख बजेट छुट्याइएको छ ।    

salt training

कमेन्ट गर्नुहोस्