२९ असार २०८३, सोमबार
पहलगाम आघातको जवाफ

पाकिस्तानमाथि भारतीय हमलाको वृत्तान्त : यसकारण नामकरण भयो 'अपरेशन सिन्दुर'

बैशाख २४, २०८२
काठमाडौं
पाकिस्तानमाथि भारतीय हमलाको वृत्तान्त : यसकारण नामकरण भयो 'अपरेशन सिन्दुर'

भारत र पाकिस्तानबीचको तनाव फेरि उत्कर्षमा पुगेको छ । दुई परमाणु शक्ति सम्पन्न छिमेकी राष्ट्र भारत र पाकिस्तान 'फुल फ्लेज्ड' युद्धको अवस्थामा पुगेका हुन् ।

गत अप्रिल २२ मा भारत नियन्त्रित कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा एक नेपालीसहित २६ जनाको ज्यान गएपछि दुई देशबीच तनाव बढेको थियो ।

भारतले मे मंगलवार राति शुरू गरेको 'अपरेशन सिन्दूर' सैन्य कारबाहीले संकटलाई नयाँ उचाइमा पुर्‍याएको छ ।

 पृष्ठभूमि: पहलगाम हमलाको आघात

भारत र पाकिस्तानबीच कश्मीरलाई लिएर दशकौंदेखि चल्दै आएको विवाद विश्वकै सबैभन्दा खतरनाक भूराजनीतिक 'फ्ल्याशपोइन्ट'मध्ये एक हो ।

सन् १९४७ मा बेलायती उपनिवेशबाट स्वतन्त्रता प्राप्त गरेपछि दुवै देशले कश्मीरमाथि पूर्ण दाबी गर्दै आएका छन्, तर आंशिक रूपमा मात्र नियन्त्रण गर्छन् ।

अप्रिल २२ मा पहलगामको बैसारन उपत्यकामा भएको आतंकवादी हमलापछि तनावले नयाँ मोड लिएको थियो । हमलाकारीहरूले गैर-मुस्लिम पुरुषको हत्या गरे, जसले भारतीय जनमानसमा गहिरो आघात पुर्‍यायो । उक्त हमलामा २६ जना मारिएका, जसमध्ये अधिकांश भारतीय पर्यटक थिए भने मारिनेमध्ये एकजना नेपाली युवा पनि थिए ।

भारतले यो हमलाको लागि पाकिस्तान समर्थित लश्कर-ए-तय्यबा (एलईटी)जैश-ए-मोहम्मद (जेईएम)जस्ता आतंकवादी समूहहरूलाई जिम्मेवार ठहराएको छ ।

null

पाकिस्तानले भने यस्तो संलग्नताको खण्डन गर्दै आएको छ । हमलापछि एक महिला आफ्नो श्रीमानको शवसँगै बसेको तस्वीर भाइरल भएको थियो र सोही तस्वीरले भारतीय समाजमा भावनात्मक आक्रोश पैदा गरेको थियो ।

यही सन्दर्भमा भारतले आफ्नो सैन्य कारबाहीलाई 'अपरेशन सिन्दूर' नाम दिएको छ, जुन हिन्दु विवाहित महिलाले लगाउने रातो सिन्दूरको प्रतीक हो । अपरेशनलाई दिइएको यो नामले हमलामा विधवा भएका महिलाहरूको न्यायको मागलाई प्रतिबिम्बित गरेको भारतीय सञ्चारमाध्यमहरूले दाबी गरेका छन् ।

अपरेशन सिन्दूर: भारतको आक्रामक जवाफ

मंगलवार राति शुरू गरिएको 'अपरेशन सिन्दूर' नामक सैन्य कारबाहीअन्तर्गत भारतले पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीरमा नौवटा 'आतंकवादी पूर्वाधार' मा मिसाइल हमला गर्‍यो ।

भारतीय रक्षा मन्त्रालयका अनुसार यो कारबाही राति १:०५ देखि १:३० सम्म २५ मिनेटसम्म चलेको थियो । पाकिस्तानी सेनाकी कर्नेल सोफिया कुरैशीले यो हमला सन् १९७१ को भारत-पाकिस्तान युद्धपछि पाकिस्तानको भूभागमा भारतको सबैभन्दा गहिरो हमला भएको बताइन् ।

हमलाले बहावलपुर, मुरिद्के र पाकिस्तान नियन्त्रित कश्मीरको कोटलीमुझफ्फराबादस्थित आतंकवादी शिविरहरूलाई निशाना बनाएको भारतले दाबी गरेको छ ।

भारतका विदेश सचिव विक्रम मिश्रीले पाकिस्तानले पहलगाम हमलापछि आतंकवादी पूर्वाधारविरुद्ध कुनै कदम नचालेको आरोप लगाएका छन् ।

उनले भारतले गरेको यो कारबाही 'खुफिया जानकारी'का आधारमा सटीक भएको दाबी गरेका छन् । भारतीय दूतावासले पनि कुनै नागरिक, आर्थिक वा सैन्य ठाउँलाई निशाना नबनाइएको र केवल आतंकवादी शिविरहरूमा हमला भएको जनाएको छ ।

पाकिस्तानको जवाफी कारबाही र दाबी

पाकिस्तानले भारतको हमलालाई 'युद्धको कार्य' भन्दै कडा जवाफ दिएको छ । पाकिस्तानी सैन्य प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भारतले २४ हमलामार्फत छ स्थानलाई निशाना बनाएको, बालबालिकासहित आठ जना मारिएको र ३५ जना घाइते भएको बताए ।

अहमदपुर ईस्टमा पाँच, मुरिद्केमा एक र कोटलीमा दुई जनाको मृत्यु भएको उनले जनाए । मुझफ्फराबाद नजिकैको मस्जिदमा भएको क्षति र त्यहाँबाट शव निकालिएको तस्बिरले पाकिस्तानमा आक्रोश बढाएको छ ।

पाकिस्तानले पाँच भारतीय लडाकु विमान (तीन राफाल, एक मिग-२९ र एक सु-३०) र एक ड्रोन खसालेको दाबी गरेको छ । यद्यपि यसको स्वतन्त्र पुष्टि भइसकेको छैन । यदि पाकिस्तानको दाबी सत्य ठहरियो भने यो भारतका लागि ठूलो रणनीतिक नोक्सानी हुनेछ ।

भारतले पाकिस्तानमाथि हमला गरेलगत्तै पाकिस्तानी सेनाले नियन्त्रण रेखामा जवाफी गोलीबारी र तोपखाना हमला शुरू गरेको छ । रोयटर्सका अनुसार उक्त हमलामा भारत नियन्त्रित कश्मीरमा सात नागरिकको मृत्यु र ३५ जना घाइते भएका छन् । भारतीय सेनाले जम्मा तीन नागरिकको मृत्यु भएको पुष्टि गरेको छ ।

यता पाकिस्तानले गोलीबारी शुरू गरेपछि भारत नियन्त्रित कश्मीरका बासिन्दा पनि त्रसित छन् । कुपवाडा र उरूसाका बासिन्दा रातभर तीव्र गोलीबारीका कारण सुत्न सकेनन् भने केहीले सुरक्षित स्थानमा शरण लिएका छन् ।

null

अर्कोतर्फ, जम्मू र कश्मीरका लेफ्टिनेन्ट गभर्नर मनोज सिन्हाले 'जोखिमपूर्ण क्षेत्र'बाट नागरिकलाई सुरक्षित स्थानमा सार्न आदेश दिएका छन् । जम्मू, साम्बा, कठुआ, राजौरी र पुञ्चमा स्कूल र कलेज बन्द गरिएको छ ।

भारतको आक्रमणपछि पाकिस्तानको पञ्जाब प्रान्तमा रहेका अस्पताललाई सतर्क अवस्थामा राखिएको पाकिस्तानी अधिकारीहरूले जनाएका छन् । त्यहाँकी मुख्यमन्त्री मरियम नवाज शरीफले भारतको आक्रमणविरुद्ध कडा वक्तव्य दिएकी छन् । उनले 'भारतले शुरू गर्‍यो, हामीले समाप्त गर्नेछौं' भन्दै पाकिस्तानको सेनालाई आफ्नो समर्थन रहेको बताएकी छन् ।

अन्तर्राष्ट्रिय प्रतिक्रिया र कूटनीतिक चुनौती

यो संकटले विश्वव्यापी ध्यान आकर्षित गरेको छ । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले सैन्य समाधान 'खतरनाक' भएकाले दुवै देशलाई संयम अपनाउन आग्रह गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत-पाकिस्तानबीचको तनावलाई 'लज्जास्पद' भनेका छन् । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले संवादको ढोका खुला राख्न सुझाव दिएका छन् भने संयुक्त अरब इमिरेट्स र जापानले पनि कूटनीतिक समाधानको पक्षमा बोलेका छन् ।

चीनले भने भारतको कारबाहीप्रति खेद व्यक्त गर्दै पाकिस्तानको सार्वभौमिकता र सुरक्षा चासोलाई समर्थन गरेको छ ।

पाकिस्तानसँगको गहिरो सम्बन्ध र भारतसँगको सीमा विवादका कारण यतिबेला चीन कूटनीतिक रूपमा जटिल अवस्थामा पुगेको विश्लेषण गरिएको छ ।

मिडिया र प्रचारबाजी

भारतीय मिडियाले 'अपरेशन सिन्दूर'लाई राष्ट्रवादी स्वरमा प्रस्तुत गरेका छन् । कतिपय भारतीय समाचार च्यानलले प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतीय झण्डाको रंग भएको ढालसहित क्याप्टेन अमेरिकाको रूपमा चित्रण गरिरहेका छन् । यस्तो प्रचारबाजीले जनतालाई पाकिस्तानविरुद्ध एकजुट हुन सहयोग गरे पनि कूटनीतिक समाधानलाई भने जटिल बनाउने विश्लेषण भइरहेको छ ।

पाकिस्तानले भने नागरिक हताहत र मस्जिदको क्षतिलाई जोड दिएर भारतको कारबाहीलाई क्रूर देखाउन खोजिरहेको छ । पाकिस्तानी सञ्चारमाध्यमहरू पनि भारतविरुद्ध प्रचार युद्धमा होमिएका छन् । दुवै देशमा आक्रोश बढिरहेको छ ।

'अपरेशन सिन्दूर'ले भारतको आतंकवादविरुद्ध कठोर नीति र राष्ट्रवादी छविलाई बलियो बनाएको छ । यद्यपि, पाकिस्तानको जवाफी कारबाही र विमान खसालेको दाबीले यो संकट थप जटिल पनि बन्दै गएको छ । दुवै परमाणु सम्पन्न देश भएकाले दुवै पक्षले सावधानी अपनाउन सक्ने आंकलन विश्लेषकहरूको छ ।

कतिपय विश्लेषकहरूले भने यो द्वन्द्व पूर्ण युद्धमा परिणत हुन सक्ने चेतावनी दिएका छन् ।

नेपालको भूमिका ?

भारत र पाकिस्तानबीच चर्किएको सैन्य तनावले दक्षिण एसियाको शान्ति र स्थायित्वमाथि गम्भीर प्रश्न उठाएको छ । यस्तो संकटपूर्ण अवस्थामा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को वर्तमान अध्यक्ष राष्ट्र नेपालले खेल्न सक्ने भूमिकाबारे सामाजिक सञ्जालमा नेपालीहरू बहसमा उत्रिएका छन् ।

२६ जनाको ज्यान जानेगरी भएको पहलगाम आक्रमणको निन्दा नेपालले यसअघि गरिसकेको छ । यद्यपि, भारत-पाकिस्तानबीचको तनावबारे अन्तर्राष्ट्रिय समुदायले पहिलो प्रतिक्रिया दिएको भए पनि नेपाल भने अहिलेसम्म चुप छ ।

परराष्ट्र मन्त्रालयका अधिकारीहरूले कस्तो प्रतिक्रिया दिने भन्ने विषयमा छलफल चलिरहेको जनाएका छन् । 'हामी छलफलमै छौं । विकसित घटनाक्रमलाई नजिकबाट हेरिरहेका छौं । प्रधानमन्त्रीज्यू र परराष्ट्रमन्त्रीज्यू पनि यसबारे सिरियस हुनुहुन्छ । छिटै निर्णय होला,' मन्त्रालयका एक उच्च अधिकारीले लोकान्तरलाई बताए ।  

पछिल्लो समय नेपाल अध्यक्ष रहेको सार्क त्यति सक्रिय छैन । भारत आफैंले पनि सार्कलाई प्राथमिकतामा राख्न खोजेको छैन, बरू बिमस्टेकलाई बलियो बनाउन भूमिका खेलिरहेको छ ।

तस्वीरहरू : एएफपी

salt training

कमेन्ट गर्नुहोस्