०९ साउन २०८३, शनिबार

काठमाडौं–रारा पर्यटक बस सेवा सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिँदै

बैशाख २५, २०८२
काठमाडौं
काठमाडौं–रारा पर्यटक बस सेवा सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिँदै
फाइल तस्वीर ।

काठमाडौंदेखि मुगुको रारासम्म पर्यटक बस सञ्चालनको सम्भाव्यता अध्ययनका लागि टुरिस्ट बस एसोसिएसन अफ नेपाल (टीबान)को पहलमा विशेष भ्रमण टोली रारा प्रस्थान गरेको छ ।

पर्यटन व्यवसायी पर्यटक बसमा रारा पुग्ने र बाटोको अवस्थालगायत समग्र यात्राको स्थिति बुझ्न बिहीबार नेपाल पर्यटन बोर्डको प्राङ्गणबाट टोली रारा प्रस्थान गरेको हो । 

भ्रमण टोलीलाई बिदाइ गर्दै बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले काठमाडौंलाई रारासँग जोड्ने अभियान शुरू भएको बताए ।

उनले भने, ‘काठमाडौंलाई रारासँग जोड्ने अभियान शुरू भएकोमा निकै खुसी लागेको छ । पर्यटकलाई काठमाडौंबाट कर्णालीको रारासम्म सडक यातायातमार्फत् पुग्न सकिन्छ भन्ने सन्देश दिन गरिएको यो प्रयास सफल हुने विश्वास लिएका छौं ।’

भ्रमणले अब रारा टाढा छैन भन्ने सन्देश फैलाउने र आन्तरिक र क्षेत्रीय पर्यटन प्रवर्द्धनमा पनि योगदान दिने उनको भनाइ छ ।

टुरिस्ट बस एसोसिएसन अफ नेपालका अध्यक्ष भीष्म न्यौपानेले काठमाडौंदेखि रारासम्मको यात्राको सम्भावना र व्यवस्थापनको अध्ययन गर्न यात्रा उपयोगी हुने बताए ।

‘सडक र भौतिक पूर्वाधारको अवस्था सरल र सहज देखिएको छ । हामी यस यात्राका क्रममा आइपर्ने कठिनाइ र सम्भावनाको सूक्ष्म अध्ययनपछि थप योजनाबद्ध रूपमा अघि बढ्नेछौं’, उनले भने । 

टीबानका पूर्वअध्यक्ष कृष्ण आचार्यले सडकमार्फत् रारा यात्रा पूर्ण सम्भव रहेको बताए । उनले भने, ‘काठमाडौंदेखि रारा जाने यो उपयुक्त सिजन हो । काठमाडौंबाट बस यात्रा गराएर रारा पुर्‍याउन सक्यौं र यसका लागि थप प्याकेज बनाउन सक्यौं भने रारामा पर्यटकको संख्यामा वृद्धि हुनेछ ।’     

salt training

कमेन्ट गर्नुहोस्