२६ जेठ २०८३, मंगलबार
प्रधानमन्त्री ओलीसँग विशेष संवाद

‘देशमा निराशा फैलाउने मानिस मात्र होइन, पेड मशिनहरू पनि छन्, आत्तिनुपर्ने छैन’

बैशाख २५, २०८२
काठमाडौं
‘देशमा निराशा फैलाउने मानिस मात्र होइन, पेड मशिनहरू पनि छन्, आत्तिनुपर्ने छैन’

म २०५१ सालमा गृहमन्त्री भएको थिएँ । गृहमन्त्री भएको अवधिमा शान्ति–सुव्यवस्था कायम गर्ने, जनतामाथि दमन नगर्ने, विपक्षीमाथि दमन नगर्नेे, झुटा मुद्दा नलगाउने र वास्तवमा न्यायपूर्ण एवं शान्तिपूर्ण समाज निर्माण गर्ने प्रयासमा गरेको देशका अगाडि छर्लङ्ग छ । 

०६३ सालमा परराष्ट्र मन्त्री भएँ । मन्त्री हुँदा एक लाख भुटानी शरणार्थी क्याम्पमा थिए । नेपालजस्तो गरिब देशले सो बोझ थेग्न सक्ने अवस्था थिएन । निकट भविष्यमै संकट आउने अवस्था थियो । त्यस्तो समस्या हल गर्नका लागि मुख्य रूपमा अमेरिकी सरकारसँग कुरा गरेर उहाँहरूलाई पहल गर्दिनुस्, शरणार्थी लिइदिनुस् भन्यौं । पहिलोपल्ट नै उहाँहरूले ६० हजार शरणार्थी आफूहरूले लिने घोषणा गर्नुभयो । त्यसको भोलिपल्टै–पर्सिपल्टै जेनेभामा ‘ह्युमन राइट्स काउन्सिल’को बैठक थियो । त्यहाँबाट घोषणा गर्नुभयो । 

होटल सांग्रिलामा एउटा कार्यक्रम थियो । त्यसमा मैले कसरी समस्या समाधान गर्नुपर्छ भन्ने कुरा राखेको थिएँ । थर्ड कन्ट्री सेटल गर्ने कुरा एकदम ठीक छ भन्न आयो । किनभने भुटानले फिर्ता लान चाहिरहेकै थिएन । अरू कसैले मद्दत गर्न पनि चाहेको थिएन । तेस्रो देशमा जाने १ लाख पुगेपछि २०/२५ हजारको पनि व्यवस्थापन गर्नुपर्छ भन्ने भयो । भुटानले निकालेपछि पहिलो दायित्व उनीहरूले लानुपर्ने थियो । उनीहरूको अधिकार थियो, किनकी देश फर्किन पाउनुपर्छ भन्नेमा उनीहरू थिए । सानो संख्या नेपालमा रह्यो भने के गर्ने भन्ने थियो । तर, मानवीय हिसाबले व्यवस्थापन गर्नुपर्छ भन्नेमा थियौं । हामीले यसरी समाधानका सूत्र निकालेका थियौं ।

अर्कोपल्ट म २०७२ सालको भूकम्पको ६ महिनापछि संविधान बन्नेबित्तिकै प्रधानमन्त्री बनेँ । नाकाबन्दी र भूकम्पले थिलथिलो भइरहेको बेला थियो । भूकम्पमा ९ हजारभन्दा बढी मानिस मारिएका थिए । २२ हजारभन्दा बढी घाइते भएका थिए । ९ लाख बढी घरहरू भत्किएका थिए । त्यस्तो अवस्थामा म प्रधानमन्त्री बनेको थिएँ । 

null

पुनर्निर्माणको काम गर्नुपर्ने थियो । संविधान कार्यान्वयन गर्नका लागि कानून बनाउनुपर्ने, संशोधन गर्नुपर्ने थियो । नयाँ प्रणाली आएपछि लोकतान्त्रिक गणतन्त्रलाई सफल बनाउनुपर्ने थियो । जनताको जीवनमा लोकतन्त्रले केही गरेको छ भन्ने विश्वास प्रत्येक जनतामा पुर्‍याउनुपर्ने थियो । उनीहरूमा आफूलाई लोकतन्त्रले छोएको छ भन्ने बोध गराउनुपर्ने थियो । त्यसको नतिजामा विकास निर्माणको काम गर्नु थियो । 

अर्कातिर नाकाबन्दी थियो । राष्ट्रिय स्वाभिमान जोगाउनु थियो । नाकाबन्दी पनि खुलाउनुपर्ने थियो । फेरि हाम्रो छिमेक र अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित, व्यवस्थित, पारस्परिक लाभ र सम्मानका आधारमा अगाडि बढाउनु पनि थियो । हामी ती काम सम्पन्न गर्न लाग्यौं । 

पुनर्निमाणका लागि प्राधिकरण बनायौं । त्यसबाट काम प्रारम्भ गर्‍यौं । केही समयमै मेरो सरकार हट्यो । हामी जनतामा गयौं । केही समयपछि अझै मझबुत स्थितिमा सरकारमा आयौं । २०७५ जेठ ३ गते पार्टी एकता गरेर मजबुत पार्टी निर्माण गरी विकास निर्माणमा जुट्यौं । नाकाबन्दीकै बीच पुनर्निर्माणको काम गर्‍यौं । नाकाबन्दी हटायौं । पुननिर्माणका काम तीव्रताको साथ अगाडि बढायौं ।

केही गडबड भएका थिए । तर, पछिल्लोपटक सरकारको नेतृत्वमा आएपछि ठीकठाक पार्‍यौं । दुईतीन वर्षमा ८/१० लाख घर पुननिर्माण गर्‍यौं । पुरातात्त्विक महत्त्वका संरचनाहरू कसरी निर्माण भए, सबैलाई थाहा छ । कुनै जादु र कथामा भनिएजस्तो एकै छिनमा हुने काम हुने तिलस्मी विषय थिएनन् । तर, तीव्रतका साथ काम गर्‍यौं । ७ प्रतिशतभन्दा बढी अंकको आर्थिक वृद्धिदर भयो । 

नयाँ–नयाँ कुरा अगाडि बढायौं । फलाम खानीको परीक्षण गर्‍यौं । फलाम खानीबाट उत्खनन् र प्रशोधनतिर अगाडि बढ्दैछौं । दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण गर्‍यौं । त्यहाँ ग्यास आउने र आगो बलिराख्ने भएको थियो । त्यहाँ प्रजज्वलनशील पदार्थको राम्रो भण्डार रहेको बुझेपछि अन्वेषणको काम अगाडि बढाएका हौं । म फेरि प्रधानमन्त्री भएपछि तीव्रताका साथ उत्खनन् भएको छ । हामीले गरेका प्रयत्नबारे मिडियाले लेखेकै छन् । कर्णालीमा पहरोमुनिबाट बाटो खोलिएको छ । हेर्दा यो काम ‘मानिसले नै गरेको होला र !’ भन्ने देखिएको छ ।

एयरपोर्टबाट मानिस बाहिर गएकागयै गरे भन्ने भाष्य बनाइएको छ । भीरको टुप्पोबाट ढुंगो फ्याँकेर त्यो गयो, अब फर्किँदैनजस्तो गरिँदैछ । हाम्रा युवाहरू त्यसरी विदेश गएका होइनन् । हाम्रा युवा तीन/चार वर्षका लागि विदेश गएका हुन् ।

निराशा र आक्रोशको वास्तविकता 

सबैतिर निराशा र आक्रोश छ भन्ने यो दुई/चारजना फेसबूके युट्युबेको कुरा हो । कहाँ छ जनतामा आक्रोश ? यो त लगाइएका, खटाइएका, त्यही मिसन बोकेर हिँडेकाको काम हो । बाटो बनेको उनीहरू देख्दैनन्, खनेको देख्छन् । खाल्डो पारेको देख्छन् । खाल्टो खन्यो, पुर्‍यो, यस्तो नि हुन्छ सरकारको ताल ? भन्छन् । बाटो बन्दा अलिअलि धूलो उड्छ, तर उनीहरू बनेको देख्दैनन्, धूलो उडेको मात्र देख्छन् । पिच र पक्का नगर्दासम्म धूलो उड्दैन ? पहरो खोल्नुपरेको छ, तर ढ्वाङ–ढ्वाङ किन पारेको ? भन्छन् । पहरो शान्त ढंगले फुट्छ ? आवाज आयो भन्छन् । देख्ने कसरी, हेर्ने कसरी भन्ने कुरा हो । कालो चस्मा लगाएको भए पनि अलिअलि कालो देखिन्थ्यो । टम्म आँखामा पट्टी बाँध्ने अनि त्यही मिसन बोकेर त्यसलाई बदनाम गर्नुपर्छ भनेर लाग्नेहरू छन् । 

देशलाई निराश हुनुपर्ने कुनै कारण छैन । मरुभूमिका देशमा पनि तेल रहेछ तल, त्यो निकालेर धनी भएका छन् । हाम्रोमा त बाहिरै बगेका तेल छन् । पानी छन् । बाहिर निस्किएका खनिज छन् । फलाम, तामा, चुनखानी छन् । म्याग्नेसियम छन् । अनेक प्रकारका खानीहरू छन् । हामीकहाँ जडिबुटी, औषधि, रूखपात, जंगल छन् । हामीसँग बहुमूल्य पत्थर छन् । हाम्रो ढुंगा पनि बिक्छ । यस्तो ठाउँमा निराशा फैलाउने कि आशावादिता जगाउने ? हामीले जनतालाई निराश पार्ने कुरा गर्ने होइन । गलत ढंगले निराश पार्नु भनेको देशलाई बर्बाद बनाउन खोज्नु हो । देशलाई बर्बादीतिर धकेल्ने होइन, जनतामा आशावाद कायम गराउने हो । यति उर्वर र खनिज भएको देश छ । सदुपयोग गर्न थालेका छौं, जसलाई उत्खनन्, अधिकतम उपयोग गर्न थालेका छौं । भूमि, वन, जंगल र पानीको उपयोग र सदुपयोग गरिरहेका छौं । आजको वातावरणीय, हिमाल, विश्व वातावरणको सुरक्षाको कुरा छन् । यस्तो बेला जनतालाई अनावश्यक हिसाबले निराश बनाउनु भनेको देशविरुद्ध अपराध गर्नु हो । 

युवा पलायनको वास्तविकता 

एयरपोर्टबाट मानिस बाहिर गएकागयै गरे भन्ने भाष्य बनाइएको छ । भीरको टुप्पोबाट ढुंगो फ्याँकेर त्यो गयो, अब फर्किँदैनजस्तो गरिँदैछ । हाम्रा युवाहरू त्यसरी विदेश गएका होइनन् । हाम्रा युवा तीन/चार वर्षका लागि विदेश गएका हुन् । उनीहरूलाई बिदाइ गर्न मानिस एयरपोर्टमा जान्छन् । फेरि ती युवा फर्किन्छन् । स्वागत गर्न पनि मानिस पुग्छन् । जति युवा गएका छन्, फर्किएका पनि छन् । अरबमा कोही घरजम गरेर बसेका छन् ? त्यहाँ बस्नै पाइँदैन । नागरिकता पाइँदैन । एकाध मान्छेले व्यवसाय गरेर बसेका छन् । उनीहरू प्रतिशतमा नआउने नगण्य अवस्थामा छन् । 

एयरपोर्टमा गएर हरेकलाई त सोधिँदैन । तपाईं ‘सी अफ’ गर्न आउनुभएको हो भनेर त सोधिँदैन । एयरपोर्ट पुग्ने सबैको फोटो खिचिन्छ, अनि कति धेरैले देश छाडे भनिन्छ । मानिस नै नभए एयरपोर्ट कसरी चल्छ ? एयरपोर्टमा जाने मान्छे हुन्छ, आउने मान्छे हुन्छ । यस्तो देखाएर सबै गइसके भनिँदैछ । यी सबै बाहिर बस्ने हुन् ? अमेरिका, क्यानडा, अमेरिका, जापान, कोरिया, मलेसिया र खाडी देशले सबैलाई बसाइसराइ लिन्छ ? उतै बस्दैनन् । निश्चित समयलाई कामका लागि जान्छन्, फर्किन्छन् । तसर्थ अहिलेसम्म नेपालको जनसंख्याभन्दा बढी पासपोर्ट गयो । त्यसको अर्थ नेपालको जनसंख्या सबै विदेशमा गयो त ? पासपोर्ट बनाएका मान्छे विदेश पनि गए, तर फेरि फर्किए । गएको मात्रै देखाउने र व्याख्या गर्ने काम भयो । तीन वर्षमा फर्किएपछि आफ्नो मायालुसँग, आफ्नो बुवाआमासँग भेट हुँदा मान्छे झ्याम्मिएर रुँदैन ? मान्छेले आँसु खसाल्दैन ? रुवाबासी गर्दैन ? बल्ल भेट भो भनेर मान्छेको हर्षको आँसु पनि त हुन्छ नि, यस्ता कुरालाई गलत र एकतर्फी ढंगले मात्रै व्याख्या गरेर मान्छे सिध्दियो, रित्तियो भन्न हुँदैन । 

जहाँ गयो त्यहीँ धेरै मान्छे देखिन्छन् । यही कार्यक्रममा टन्नै हुनुहुन्छ । दिउँसोको कार्यक्रममा पनि टन्नै थिए । अर्को कार्यक्रममा गयो त्यत्तिकै मान्छे देखिन्छन् । सडकमा पनि मान्छे भरिएकै छन् । आन्दोलन गर्न पुगेकै छन् । काम गर्न हिँडेकै छन् । 

null

देशमा श्रमिक अभाव

यहाँ काम गर्न मान्छे छैन । तर, काम गर्न पाइएन भनेर मान्छे बाहिर गइरहेको छ । बाहिर बढी तलब आउँछ होला । हामीले देश बनायौं, सम्पन्न र धनी भयौं भने कर्मचारी, शिक्षक, सेना प्रहरी, युवा सबैको तलब बढ्छ । अमेरिकामा पहिले प्रतिघण्टाको ८ डलर कमाइ थियो । उनीहरूकोमा समृद्धि बढेर अहिले २० डलर प्रतिघण्टा पुगेको हो । चीनमा अफिसरले डेढ सय युआन खान्थ्यो, अहिले हजारमा खान्छ । देशलाई समृद्ध बनाएपछि तलब, आम्दानी र सुविधा आफैं बढ्छ । बाटो बनाऊँ न पहिला, अनि गाडी सलल कुदाउन पाइहालिन्छ नि ! बाटो नै नबनाउने अनि के बस्नु यस्ता देशमा भनेर हुन्छ ? बाटो त पहिले बनाउनुपर्‍यो नि । कुलो ल्याऔं, खेतमा सिँचाई गरौं अनि उत्पादन बढ्छ । कुला नखन्ने, खोलो नबाँध्ने अनि पानी खेर गएपछि खोइ पानी नै लाग्दैन भन्ने ? खेतमा पानी लगाऊँ, उत्पादन बढाऊँ । 

अमेरिका झलमल्ल छ, हाम्रोमा बिजुली भएन भन्ने । यत्रो हाइड्रोपावर छ । हामी गर्दैछौं । मैले एक वर्षमा आधारभूत रूपमा लोडसेडिङ अन्त्य गर्छु भनेको थिएँ । लोडसेडिङ अन्त्यको घोषणा गर्नुअघि मैले छाड्नुपर्‍यो । मैले तयार गरेकै ठाउँमा लोडसेडिङ आधारभूत रूपमा अन्त्य भयो भन्ने घोषणा अरूले गरे । मलाई एक वर्ष कत्रो मेहनत गर्नुपर्‍यो, अरूले जस लिए । कसैले आएको एक महिनामा लोडसेडिङ अन्त्य गर्न सक्छ ? आधारभूत रूपमा कतिबेला कसरी विद्युत् वितरण गर्ने, जेनेरेटर कसरी चलाउने, टर्बाइन कतिबेला चलाउने/नचलाउने भन्ने सबै व्यवस्था उचित समयमा हुने हुन् । रिजर्भवायरलाई कतिबेला मात्रै चलाउने भन्ने हुन्छ । यिनीहरूलाई कुन समयमा चलाउने भन्ने निश्चित विधि र प्रक्रिया हुन्छ ।  

युवाहरूलाई भन्छु, यहाँ तलब कम छ । तर, यहाँ महंगी पनि कम छ । यति सस्तो घरभाडा, दालचामल, सागसब्जी, फलफूल, दूधजन्य वस्तु पाइने कहीँ छैन । बस भाडा यति सस्तो अन्त छैन । हाम्रोमा अलि महंगो भएको हवाई भाडा हो । यसलाई अलि घटाउनतिर लाग्नुपर्छ । नभए पनि नबढ्नेतिर लाग्नुपर्छ । विकाससँगै यस्ता कुरालाई कन्ट्रोल गर्दै जानुपर्छ । तर, निराश हुने होइन । 

सुन्दर मातृभूमिलाई सत्तोसराप गर्ने, तर सिगार्न नलाग्ने ? अरूले चट्ट पारेर राखेकोलाई आहा कति राम्रो भन्ने, आफ्नोचाहिँ नसिँगार्ने ? त्यही अनुहार सिँगारेर चट्ट पारे कति राम्रो हुन्छ । त्यही कपाल जिङ्‌रिङ्ग छाडेको भन्दा कोरेको कति राम्रो हुन्छ । डिजाइनअनुसार काट्नुपर्‍यो नि ! सिँगार्नु त पर्‍यो नि ! आफ्नो देश सिँगारौं, विकास गरौं, अनि आफ्नै देशमा सबै कुरा पाइन्छ । यसैले युवालाई भन्छु, निराश हुने होइन, आशावादी बनौं । हामी आफैंले आफ्नो देश बनाउन सक्छौं । 

‘हामीभन्दा धनी देश भारतबाट काम गर्न आउँछन्’

विकासमा नेपालभन्दा भारत अगाडि छ । नेपालमा काम गर्न युवा पाइँदैन । यहाँ आएर साग सब्जी र फलफूल बेच्ने पनि भारतीय नै छन् । उनीहरूको देश हाम्रोभन्दा अलि बढी विकसित त हो नि, तर पनि यहाँ काम गर्ने उनीहरू नै छन् ।

सामाजिक सञ्जालमा अफवाह फैलाउने देशभित्रका छन् कि बाहिरका ? अलि बढी देशबाहिर गएकाहरूले अफवाह फैलाएका छन् । आफू बाहिर गइसकियो, अनि हिन्दीमा भन्छ नि– ‘अपना तो गया–गया, दुस्राको भी जाने दो’ । आफू गएपछि महत्त्व देखाउने अनि देशमा रहेकाहरूलाई जान नसकेका भन्ठान्ने स्थिति छ । सक्नेहरू नगई यहीँ काम गरेर बसेका पनि छन् । 

यस देशमा केही भएन भन्ने अर्को तत्त्व छ, जो सामाजिक सञ्जालमा सक्रिय छ । २५० वर्ष खाएको झलभली सम्झन्छ । उनीहरूका आसेपासे भएर खानेमा छटपटी छ । यो प्रतिस्पर्धाको प्रणालीबाट दौडिएर म्याराथन त के हाफ र क्वार्टरमा समेत आउँला भन्ने आश र क्षमता उनीहरूमा छैन । त्यसैले चुनाव लडेर आउने प्रणाली उनीहरूलाई मन पर्दैन । टिके प्रणाली चाहिएको छ ।

यसैले वरिपरि घुम्ने गणेश प्रवृत्ति चाहन्छन् । २५० वर्षमा विश्व कहाँ पुग्यो, हाम्रो देशलाई रसातलमा पुर्‍याइयो । यही यथास्थितिवादी तत्व अहिले सक्रिय छन् । तिनै मान्छेले केही भएन भन्छन् । तिनीहरूले पनि देश चलाए, कति वर्ष मन्त्री खाए, तर देशमा केही गरेनन् । उनीहरू नै देशमा अहिले केही भएन भन्छन् । तुलना नै गरेर हेरौं न, २५० वर्षमा उनीहरूले गरेको र पछिल्लो ३० वर्षमा भएको विकास । दुई गुणा, चार गुणा होइन, त्योभन्दा बढी विकास भएको छ । 

null

सुरक्षा पन्तको सवाल

आशा जगाउने कुरा गर्दा गालीको वर्षा हुन्छ । कोही कलाकारले कोही मान्छेको बारेमा बोल्दा उसलाई असहिष्णु भएर गाली गरिन्छ । उसको गीत नसुन्ने, उसको चलचित्र नहेर्ने, सत्तोसराप गर्ने, लखेटेकोलखेट्यै गर्ने स्थिति छ । कति असहिष्णुता होला ? गीत त कुनै दान गरेर कृपा गरेर सुनेको होइन होला, राम्रो लागेरै सुनेको हो । फिल्म पनि अरूको होइन, आफ्नो मनोरञ्जनका लागि हेर्ने हो । अनि तिमीले आशावादी कुरा गर्‍यौं, विकासका कुरा गर्‍यौ अनि यस्ताको पनि गीत सुनिन्छ, भन्दै हिँड्ने ? यस्ताको पनि फिल्म हेरिन्छ भन्ने ? यस्ताको पनि कलाकारिता र भिडियो हेरिन्छ भन्नु यो असहिष्णुता हो । 

एउटी कलाकारले एउटा किशोरको बारेमा, एउटा ठिटोको बारेमा बोलिन् । तर, त्यो पत्रकारले किन सोधेको हो ? सोध्नै पर्दा पनि त्यस्ता कतिका नाति छन् । व्यक्ति विशेषको नातिका बारेमा किन सोध्या ? नातिका बारेमा सोध्दा उनले भनिन्– ‘गूड लूकिङ । राम्रो चेहरा छ, कला क्षेत्रमा आए जमाउँछन् जस्तो लाग्छ ।’ राम्रो कुरा हो भनेकी छिन् । अनि फेरि ‘कहाँ कला क्षेत्र, राजा बनाउने कुरा छ’ भनेर सोधिन्छ । जवाफमा त्यस्तो प्रणाली त हाम्रोमा छैन, हाम्रो संविधानले त मान्दैन भनेर उनले भनिन् । संविधान र व्यवस्थामा नै छैन त कहाँबाट राजा आउँछन् भन्ने ? सोझो हिसाबले भनेपछि लखेटेर, फिल्म बहिष्कार गरेर, सडकमा हिँडिनसक्नु बनाउने कति असहिष्णुता हो ? त्यस्ता मान्छे व्यवस्था बदल्न आउने रे ! अहिले नआउँदा त यस्तो छ, आए भने के होला ? कति संकीर्णता ? कुन्नि के जनावरले घिउ पचाउँदैन भन्छन् नि, कसैलाई घिउ पच्दैन भनेर घिउ नै नराम्रो भन्ने ? यसैले लोकतन्त्र श्रेष्ठ व्यवस्था हो, यसको विकल्प छैन । 

आफूमात्रै होइन, मशिन प्रयोग गरेर सामाजिक सञ्जालमा पोस्ट गर्छन् । पैसा खर्च गरेर बुस्ट गर्छन् । निराशा फैलाउने अधिकांश मशिन छन् । देशविरुद्ध भ्रम फैलाउनेहरू ‘पेड मशिन’हरू हुन् । यिनीहरू रोबोटभन्दा अलिकति मात्रै फरक हुन् ।

निराशाको कुरा नगरौं

आशावादिता राम्रो कुरा हो । यो ठीक बाटो छाड्न हुँदैन । निराशाका कुरा आम जनताले गरेका छैनन् । गाउँमा गएर सोध्नुस्, मानिसहरू विकास–निर्माण भएको छ भनिरहेका छन् । हामी खुशी भएका छौं भन्छन्  । तीन घण्टा गएर डोकामा पानी बोकेर ढाड भाँचिने गरी ल्याउनुपर्थ्यो, अहिले घर–घरमा धारा आएको छ, भनेर हामी खुशी छौं भन्दैछन् । छेउमा विद्यालय, अस्पताल छ, घरअगाडि बाटो छ, हामी खुशी छौं भनिरहेछन् । सराप्नेहरू आमजनता होइनन्, थोरै संख्याले भ्रम फैलाउन खोजेका हुन् । उनीहरूले समग्र जनताको प्रतिनिधित्व गर्दैनन् । 

केही मिसनका साथ सञ्चालन गरिएका सञ्चालित तत्त्व र माध्यमहरू सक्रिय छन् । आफूमात्रै होइन, मशिन प्रयोग गरेर सामाजिक सञ्जालमा पोस्ट गर्छन् । पैसा खर्च गरेर बुस्ट गर्छन् । त्यो पनि मान्छे होइन, अधिकांश मशिन छन् । देशविरुद्ध भ्रम फैलाउनेहरू ‘पेड मशिन’हरू हुन् । यिनीहरू रोबोटभन्दा अलिकति मात्रै फरक हुन् । देशविरुद्ध नकारात्मकता फैलाउनु अत्यन्तै हानिकारक हो । गर्नै नहुने देश र जनतालाई निराश बनाउने कुरा हो । देशलाई बर्बाद पारेर कसलाई खुशी पार्न यस्तो गर्न खोज्या हो ? युवा जतिलाई विदेश पठाएर कसलाई खुशी पार्न खोज्यो हो ? यसकारण यो गलत छ । यस्ता प्रवृत्तिको पछाडि पर्नुहुँदैन, भ्रममा पर्नु हुँदैन यी नियोजित षड्यन्त्रसाथ उब्जाइएका कुरा हुन् । 

null

लोकान्तरबारे...

लोकान्तरले नवौं वर्षसम्म गरेको सेवाको प्रशंसा गर्दछु । यी ९ वर्षमा जसरी निष्पक्ष, सकारात्मक, आशावादिता जगाउने खालको र सत्य, साँचो पत्रकारिता, सत्य विश्लेषण, साँचा समाचार र सही मार्गदर्शन गर्ने कोशिश गरेको छ, त्यसको प्रशंसा गर्दछु । १० औं वर्ष अझै सफलताको वर्ष होस्, अझ बढी प्रशंसा प्राप्त गर्न सकोस् । अझै बढी देशभक्ति, विकास पक्षधर र सकारात्मक भावका साथ अगाडि बढ्न सकोस्, यसले एउटा ‘लिडिङ रोल खेल्न सकोस्, धेरै–धेरै शुभकामना भन्न चाहन्छु ।

(लोकान्तर डट्कमको नवौं वार्षिकोत्वसको अवसरमा आयोजित आशा र उन्नति शीर्षकमा प्रधान सम्पादक विमल गौतमसँग भएको बहसमा प्रधानमन्त्री ओलीले व्यक्त गरेको विचारको सम्पादित अंश ।)

salt training

कमेन्ट गर्नुहोस्