२५ जेठ २०८३, सोमबार
अर्थमन्त्री पौडेलसँग विशेष संवाद

‘अर्थतन्त्रका समस्याको दिगो समाधान गर्नेगरी एउटा माइलस्टोनको रूपमा बजेट आउँछ’

बैशाख २६, २०८२
काठमाडौं
‘अर्थतन्त्रका समस्याको दिगो समाधान गर्नेगरी एउटा माइलस्टोनको रूपमा बजेट आउँछ’

कुनै समयमा हामीले साढे ७ प्रतिशत आर्थिक वृद्धि हासिल गरेका थियौं । साढे सात प्रतिशतको आर्थिक वृद्धिबाट साढे ४ प्रतिशतमा झर्‍यौं । अब फेरि हामी साढे ७ प्रतिशतको वृद्धिदरमा फर्किन जरुरी छ । त्यहाँ मात्रै रोकिएर हुँदैन, त्यसबाट पनि अझ अगाडि बढ्नुपर्ने छ । दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्ने ठाउँमा हामीले पुग्नुपर्ने छ । यस हिसाबले सोच्नुपर्छ । 

अर्थतन्त्रमा आएको समस्या भनौं या अहिलेको परिस्थितिको मुख्य जिम्मेवार र कारण राजनीतिक अस्थिरता हो । राजनीतिक अस्थिरताकै कारण जुन ढंगले प्रगति गर्नुपर्ने हो, त्यस गतिले गर्न सकेनौं । 

अस्थिरता एउटा कारण हो भने भ्रष्टाचार र कुशासन पनि कारणहरू हुन् । सबै कालखण्डमा भ्रष्टाचार, कुशासन र अस्थिरता एउटै छैन । कतिपय अवस्थामा स्थिरताको सन्देश गएको छ र त्यतिबेला धेरै काम पनि भएका छन् । यही कुशासन र भ्रष्टाचारलाई अन्त्य गर्दै स्थिरता कायम गर्नुको विकल्प छैन । 

त्यसैले कुनै व्यक्तिको दाबीलाई विश्वास गर्न जरुरी छैन । तथ्यांक हेरेर अगाडि बढ्नुपर्छ । दुई ठूला दलहरू मिलेर सरकार बनेयता अर्थतन्त्रका परिसूचक टेबलमा राखेर विश्लेषण गर्नुभयो भने समग्र परिसूचकहरूमा सकारात्मक परिवर्तन भएको छ ।

यद्यपि अर्थमन्त्रीको हैसियतले जति अर्थतन्त्रमा सुधार भएको छ त्यसबाट म सन्तुष्ट छैन । अझै सुधार गर्नुपर्ने छ । अझै प्रगति गर्नुपर्ने छ । यसका लागि उत्पादनका हरेक क्षेत्रसँग अन्तरक्रिया र सम्वादमा रहेर के–के समस्याहरू छन ? ती समस्याको पहिचान गरी समाधान खोज्ने हिसाबले अग्रसरता लिन जरुरी छ । 

null

सरकारले अध्यादेशमार्फत् १०औं वर्षदेखि संग्रहित समस्याहरूलाई सम्बोधन गर्नेगरी प्रयास गरेको छ । आर्थिक क्षेत्रमा के–के सुधार गर्नुपर्छ ? त्यसका लागि निजी क्षेत्रका प्रतिनिधिहरूसँग सुझाव लिएका छौं । सरकारले निजी क्षेत्रको मनोबल उठाउने हिसाबले कानुन संशोधनको कामहरू गरेको छ ।  

राजनीतिक अस्थिरताकै कारण जुन गतिमा प्रगति हुनुपर्ने हो, त्यो हुन सकेन । अहिलेको अवस्थामा कुशासन र भ्रष्टाचार अन्त्य गर्दै स्थिरता कायम गर्नुको विकल्प छैन ।

अहिलेको अवस्थामा सम्भव भएसम्मको राजनीतिक स्थिरता दिनुका साथै अहिलेको स्थितिबाट गर्न सकिने अधिकतम काम गर्ने हो । त्यसैले निराश हुने र निराशा फैलाउने अहिलेको आवश्यकता होइन । परिस्थितिको सही विश्लेषण गर्दै आशा जगाउँदै सम्भावनाको खोजी गर्ने ढंगबाट अगाडि बढ्ने हो । 

अब आउने बजेट वितरणकारी होइन अर्थतन्त्रका समस्याहरूको दिगो समाधान हुने हिसाबले आउन जरुरी छ । एउटा माइलस्टोन हुने हिसाबले बजेट आउनुपर्छ । सीमित स्रोतहरूलाई छरेर होइन त्यसलाई सदुपयोग गर्न चाहन्छौं । अत्यधिक प्रतिफल प्राप्त हुनेगरी स्रोत परिचालन गर्ने हो । 

अहिले आईटीको दुनियाँमा सपना देख्न विकसित मुलुकमा गइराख्नु पर्दैन । सबै कुरा हात हातमा रहेको मोबाइलबाटै हेर्न सकिन्छ । विकासको सपना देख्न राजनीति स्थायित्व आवश्यक छ । यसका साथै सही नीति र सक्षम नेतृत्व पनि आवश्यक हुन्छन् । 

सही नीति र सक्षम नेतृत्वको साथमा राजनीतिक स्थायित्व कायम गर्न सक्यौं भने विगतमा हामीले जुन सपनाहरू देखेका छौं, जुन सपना जनताबीच सम्प्रेषण गरेका छौं, ती कार्यान्वयन भएमा हामी पनि विकसित मुलुक आफैं बन्न सक्छौं । 

त्यस्तै, लगानीकर्ताहरूलाई आकर्षित गर्ने प्रयासहरू भइरहेकै छन् । तर, नतिजाले अहिलेसम्म गरेको प्रयास पर्याप्त हुन सकेको छैन भन्ने देखाएको छ । लगानीकर्ताका लागि अझ अनुकूल परिस्थिति बनाउनुपर्ने छ । 

लगानीकर्ताले राजस्व तिरेर आर्जन गरेको मुनाफा फिर्ता लगेर जाने कुराको सुनिश्चितता चाहन्छ । नेपालमा उत्पादन गर्ने र कानुनी सीमा रहेर मुनाफा आर्जन गर्ने स्थान रहेको छ भन्ने कुरामा लगानीकर्ताले सुनिश्चितता चाहन्छ । यो पक्षमा हामीले अझै काम गर्न आवश्यक छ । 

हामीले अन्तर्राष्ट्रिय जगतका लगानीकर्ताहरूलाई नेपालमा आकर्षित गर्न सक्छौं । त्यो परिस्थिति निर्माण गर्न सक्छौं । अहिलेसम्मका प्रयासहरूमा कमी भएका छन् ती प्रयासहरूलाई पूर्णता दिन सक्छौं भन्ने विश्वास छ । 

(लोकान्तर डट्कमको नवौं वार्षिकोत्वसको अवसरमा आयोजित 'आशा र उन्नति' शीर्षकमा कार्यकारी सम्पादक सुशील पन्तसँग भएको बहसमा अर्थमन्त्री विष्णु पौडेलले व्यक्त गरेको विचारको सम्पादित अंश ।)

यो पनि पढ्नुहोस

salt training

कमेन्ट गर्नुहोस्