१० साउन २०८३, आइतबार
जीवनदर्शन

पानीको बहाव तथा दीपशिखाको गति  किन अखण्डित हुन्छ ?

बैशाख २७, २०८२
काठमाडौं
पानीको बहाव तथा दीपशिखाको गति  किन अखण्डित हुन्छ ?

हामीले नदीनाला वा खोला आदिमा पानी बगेको देखेका छौं, धाराबाट झरेको पानी पनि देखेका छौं तर, ती कसरी बग्छन् वा झर्छन्, त्यसभित्र केकस्ता प्रक्रिया पूरा हुने गर्छन् भन्नेतर्फ भने कमै ध्यान दिएका हुन्छौं । यद्यपि कतिलाई लाग्छ सक्छ पानीको स्वभाव नै तलतिर बग्ने हो भने यो बग्नु वा झर्नु कुन ठूलो कुरा भयो र ? कुरो त त्यो पनि हो तर, त्योमात्र होइन । त्यसैले आउनुहोस् यस आलेखमा यसैलाई केलाउने प्रयास गरौं । 

यदि हामीले बगेको पानी तथा बलेको बिजुली वा दीपशिखालाई नियालेर हेर्‍यौं भने के पाउँछौं भने भरखरै गएको पानी, बलेको बिजुली वा दीपशिखा अर्कैै थियो भरखरै आउने पानी अर्कै हो । निरन्तर पानी बगेको देखिन्छ, बिजुली तथा आगो बलेको देखिन्छ तर, एउटा जान भ्याएको हुन्न त्यस स्थानमा अर्को उपस्थित भइसक्छ । त्यसैले एउटै पानीमा न नुहाउन सक्छौं न तर्न सक्छौं । 

नुहाउन खोज्दा एउटा पानी हुन्छ, नुहाउन लाग्दा अर्को पानी आउँछ, नुहाउँदा नुहाउँदै पनि अनेक पानीको आउने र जाने भइसकेको हुन्छ । बिजुलीवा दीपशिक्षाको अवस्था पनि त्यस्तै हो । एउटैलाई अर्कोपटक हेर्न वा देख्न सकिन्न । यसको अर्थ हो बगेको वा झरेको पानी तथा बिजुली र दीपशिखा प्रत्येक क्षण बदलिरहेको हुन्छ, एउटै हुँदैन, अनेक हुन्छ ।   

प्रश्न उठ्न सक्छ त्यस्तो कसरी हुन्छ ? यदि त्यसै हो भने बीचमा खाली ठाउँ किन देखिन्न ? एउटा जाने र अर्को आउने भएपछि आउने/जानेको बीचमा खाली स्थान पनि हुनुपर्ने होइन र ? मानौँ भरखरै लाइनमा कुनै मानिस खडा थियो । काम सकियो गयो र त्यसको स्थानमा अर्को मानिस खडा हुन आयो तर, के यहाँ छोटो समयकै भए पनि कुनै अवकाश हुँदैन र हुन्छ नि ? 

प्रश्न स्वाभाविक छ । यस्तो लाग्नु कुनै अनौठो होइन तर, यथार्थ त्यस्तो छैन, हुँदैन । किनकि त्यहाँ अन्तरसंयोजन शक्तिले काम गरेको हुन्छ । एउटा मानिसको स्थानमा अर्को खडा हुन आउनु वा एउटा सामान राखेको स्थानमा अर्को समान राख्नु बाह्य दृष्यको कुरा हो, बाह्य समायोजनको कुरा हो तर, यहाँ अन्तर समायोजनको कुरा भइरहेको छ । अन्तरसमायोजन शक्तिले गर्ने भनेकै यही हो । जब एउटा पानी अगाडि बग्छ तत्कालै त्यहाँ अन्तरसंयोजन शक्ति सक्रिय भइहाल्छ र जाने र आउनेको बीचमा सन्तुलन मिलाउने काम गर्दछ, जसले गर्दा बीचमा खाली स्थान हुनै पाउँदैन । एउटा जान भ्याएको हुन्न उसले अर्कोलाई तानेर खडा गरिसकेको हुन्छ । 

यसो त अन्तरसंयोजन शक्ति हरेक पदार्थमा हुन्छ, जसको पदार्थको अग्रमनमा अहम् भूमिका हुन्छ तर, तरल पदार्थको बहाव तीब्र हुने र अन्तरसंयोजन शक्ति पनि सोही अनुपातमा सक्रिय हुने भएकाले उनीहरूको बहाव बाह्य दृष्टिले छुट्टिएको नदेखिएको हो । ढिलोचाँडो गतिमा यो क्रम भित्रभित्रै अन्य ठोस पदार्थमा पनि भइरहेको हुन्छ तर, यतिभित्र हुन्छ कि, जसलाई बाह्य आँखाले देख्न सकिन्न । 

बिजुली तथा दीपशिखा अर्थात् अग्निज्वालाको अवस्था पनि त्यस्तै हो । बिजुलीको र अग्निज्वालाको गति चाँ–चाँडो ह्वात्तह्वात्त आउने र जाने हुन्छ । जब उसको गति नै ह्वात्तह्वात्त आउने र जाने हुन्छ भने यो जाने र आउनेको बीचमा केही स्थान खाली हुनुपर्ने हो र बिजुली तथा अग्निज्वालाको ज्योति धिप्पधिप्प भएको देखिनुपर्ने हो तर, त्यस्तो हुँदैन । बिजुली पनि निरन्तर बलिरहेको हुन्छ अग्निज्वाला पनि निरन्तर बलिरहेको हुन्छ । बले पूरै बल्छ निभे पूरै निभ्छ । बले अकण्टक बल्यो, निभे स्वाट्टै निभ्यो ।  

यी केही उदाहरण हुन् वास्तवमा संसारका यावत गतिविधिमा यही नियमले काम गरेको हुन्छ । किनभने हरेक पदार्थमा एकएक पदार्थ जत्तिकै शक्तिशाली अन्तरसंयोजन शक्ति रहेको हुन्छ, जसलाई पदार्थ आफैंले बोकेर हिँडेको हुन्छ । त्यसैले आपसमा सन्तुलन मिलाउने काम गरिरहेको हुन्छ । फलतः बीचमा खाली स्थान रहन पाउँदैन । अन्यथा चौपट हुन्थ्यो । 

जीवन खण्डित हुन्थ्यो, जगत् खण्डित हुन्थ्यो । मानिस खण्डखण्ड हुन्थ्यो । फल खण्डखण्ड हुन्थ्यो । घाम खण्डखण्ड, जुन खण्डखण्ड, तरा खण्डखण्ड, हावा खण्डखण्ड, पानी खण्डखण्ड, माटो खण्डखण्ड, रुखबिरुवा, वनस्पति, पशुपक्षी सबै खण्डखण्ड । जन्म खण्डखण्ड, मृत्यु खण्डखण्ड, समग्रमा सारा संसार खण्डखण्ड तर त्यस्तो भएको हुँदैन, हुन पाउँदैन । किनकि अन्तरसंयोजन शक्तिले ती सबको व्यवस्था मिलाइरहेको हुन्छ ।

salt training

कमेन्ट गर्नुहोस्