
चैत १५ गतेको हिंस्रक वितण्डापछि पनि फेरि राजावादीहरू सल्बलाउन थाल्दा प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रामक अभिव्यक्ति दिएका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहकै योजनाअनुसार यसअघि चैत १५ गते काठमाडौंमा हिंसात्मक प्रदर्शन भएको थियो । यसतर्फ संकेत गर्दै ओलीले व्यवस्थाविरोधी हर्कत नगर्न संसद् बैठकबाट चेतावनी दिएका हुन् ।
तिथिमिति नै तोकेर सिंहासनमा विराजमान गराउने र श्रीपेच ढल्काउने जस्ता भ्रम फैलाइएको भन्दै ओलीले आइतबार आपत्ति नै जनाए ।
‘यतिखेर राजनीतिक अस्थिरताका कारण सिर्जित निराशालाई क्यास गर्दै हाम्रा बलिदान तथा शताब्दी लामो संघर्षले इतिहासको रछ्यानमा फालिएको सामन्ती प्रथा ब्यूँताउने मात्रै हैन, तिथिमिति नै तोकेर सिंहासनमा विराजमान गराउने र श्रीपेच ढल्काउने जस्ता भ्रम फिँजाइ संविधान तथा व्यवस्थाका विरुद्ध हिंस्रक एवं अराजक गतिविधि शुरू भएको छ,’ ओलीले चेतावनी दिँदै भनेका छन् ।
सरकारको २०८२/०८३ को नीति कार्यक्रममाथि उठेका प्रश्नको आइतबार प्रतिनिधिसभामा जवाफ दिँदै ओलीले देशको संविधान र कानूनअनुसार नचले कारबाही गर्नेसम्मको चेतावनी दिएका हुन् । पूर्वराजाका समर्थकले आगामी जेठ १५ गतेको तिथिमिति नै तोकेर राजतन्त्र फर्काउने उद्घोष गरिरहेका छन् । पूर्वराजा ज्ञानेन्द्रले राजावादी पार्टी र समूहसँग नगरकोटमा बसेर २ हप्तासम्म छलफल गरेको र व्यवस्थाविरुद्ध आन्दोलन गर्न लागेपछि ओलीले यस्तो चेतावनी दिएका हुन् ।
‘लोकतन्त्र, संविधानको प्रणाली र शान्तिपूर्ण आन्दोलनभित्रको कुरा गर्न सिके राम्रो हुन्थ्यो भन्ने मेरो विनम्र अनुरोध छ । म यत्ति भन्न चाहन्छु, देश संविधान र कानूनअनुसार चल्छ,’ ओलीले भने, ‘सबैले संविधान र कानूनअन्तर्गत चल्न तयार हुनुपर्छ । तयार हुनुभएन भने संविधान–कानूनअनुसार ट्रिट हुन्छ ।’
प्रतिगमनका कुरा गरेर सिलिङमा टाउको ठोक्नु र कराउनुको कुनै अर्थ नरहेको ओलीको भनाइ छ ।
प्रधानमन्त्री ओलीको यो बोलीमा प्रमुख प्रतिपक्षी दलका नेता (नेकपा माओवादी केन्द्रका अध्यक्ष) पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत साथ दिएका छन् ।
किराँत र लिम्बूवान मुक्ति मोर्चा नेपालको संयुक्त राष्ट्रिय सम्मेलन आइतबार उद्घाटन गर्दै प्रचण्डले गणतन्त्र ल्याएको दिनको दुरुपयोग गरेर राजावादीले प्रदर्शन गर्न खोजेको भन्दै आपत्ति जनाएका हुन् । चैत १५ गते काठमाडौंमा हत्या, वितण्डा र आतंक मच्चाएको भन्दै राजावादीलाई कथित आन्दोलनको दुस्साहस नगर्न चेतावनी दिएका हुन् ।
‘चैत १५ गते तीनकुनेमा राजावादीहरूले वितण्डा देखिइसकेको छ । त्यतिबेलै मैले भने कुकुरको पुच्छर १२ वर्ष ढुंग्रामा राखे पनि बांगाको बांगै भनेको थिएँ । ती हत्यारा, मण्डले गुण्डाहरू अहिले पनि उही मण्डले गुण्डागर्दी, हत्या, आतंकमा नै गए । त्यसकारण जनतालाई छर्लंग भइसकेको छ,’ प्रचण्डले भने, ‘नेपालका सबै उत्पीडित, वर्ग, जाति, क्षेत्र, समुदाय आफ्नो पहिचान र अधिकारको चेतनाद्वारा जागेका छन् । यसरी जागेका जनतालाई कुनै शक्तिले रोक्न सक्दैन । यसैले म कथित राजावादीलाई चेतावनी दिन चाहन्छु । जेठ १५ गते आन्दोलनको नाममा कुनै दुस्साहस नगर्नुस् ।’
ओली र प्रचण्डले अर्थपूर्ण बोली बोलेकै दिन राजतन्त्र पुनःस्थापनाका लागि राजावादीहरूको संयुक्त जनआन्दोलन समितिले पब्लिकलाई आन्दोलनमा सहभागी हुन अपिल गरेको छ ।
संयोजक नवराज सुवेदीको संयोजकत्वमा आइतबार बसेको बैठकले जेठ १५ गतेको प्रदर्शनमा सहभागी हुन काठमाडौं बाहिरका जनतालाई आह्वान गरेको छ ।
‘जेठ १५ गतेको आन्दोलनमा सहभागी हुन काठमाडौंबाहिरका जनतालाई काठमाडौं आउन आह्वान गर्ने निर्णय भएको छ,’ बैठकको निर्णयमा उल्लेख छ, ‘काठमाडौंका जनता र सबै वर्ग, पेशा तथा समुदायलाई सक्रिय सहभागिताका लागि आह्वान गरेका छौं ।’
यसअघि आ–आफ्नो हिसाबले राजावादीहरू सक्रिय हुँदै विरोध र प्रदर्शनमा उत्रिएका थिए । तर, फेरि ज्ञानेन्द्रसँग नगरकोटमा २ हप्ता छलफल गरेपछि संयोजक सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापासहितका नेताको उपस्थितिमा संयुक्तरूपमा विरोध प्रदर्शन घोषणा र कार्यक्रम भएका थिए ।
यसअघि दुर्गा प्रसाईंलाई कमान्डर बनाएर चैत १५ गते काठमाडौंमा भएको प्रदर्शनमा २ जनाको ज्यान गएको थियो । शान्तिपूर्ण प्रदर्शन भनिए पनि आगो लगाएर पत्रकारको ज्यान लिने, सार्वजनिक सम्पत्तिमाथि आगजनी, तोडफोड र लुटपाटका सयौं घटना भएका थिए ।
सो घटनामा संलग्न भएका दुर्गा प्रसाईं, राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहितका नेतामाथि मुद्दाको प्रक्रिया अगाडि बढिरहेको छ । सोही दिन कार्यक्रम गर्नेसहितका राजावादी दल र समूहले फेरि तिथिमिति तोकेरै जेठ १५ गतेलाई अर्को प्रदर्शनको तयारी गरेपछि गणतन्त्र पक्षधरले भने आपत्ति जनाएका हुन् । प्रधानमन्त्री ओलीले आगामी मात्रै होइन, कुनै पनि जेठ १५ गते प्रतिगामीहरूको सपना पूरा नहुने चेतावनी दिएका छन् ।
‘मलाई आश्चर्य लाग्छ, अधिनायकवादी र निरंकुश प्रणाली हुँदा, संविधान र कानूनको दुहाइ दिँदा माइक फुट्ने गरी कराउनुहुन्थ्यो । आज खुलेआम लोकतन्त्र उल्ट्याउने शंखघोष गर्नुहुन्छ । देशलाई प्रतिगमनमा लाने प्रचार गर्नुहुन्छ, के गरेको यो ?,’ ओलीले भने, ‘यसपटकको जेठ १५ गते होइन, अब आउने कुनै पनि जेठ १५ गते पर्खिनुस्, तपाईंहरूका सपना साकार हुने छैनन् । प्रतिगामी सपना काम लाग्दैन । यसमा जोड नगर्न आग्रह गर्न चाहन्छु । समयलाई चिनौं, समयानुसार अगाडि बढौं ।’
आफूहरूको प्रहारले राजावादीको बेलुन फुटिसकेको प्रचण्डको भनाइ छ ।
‘सुनारको सय चोट, लोहारको एकै चोट भनेजस्तो गरी एक चोट हामीले हानेपछि उनीहरूको बेलुन फुटिसकेको छ,’ राजावादीलाई चेतावनी दिँदै प्रचण्डले भने, ‘अब फेरि जेठ १५ गते अर्को बेलुनमा हावा भर्ने रे, खबरदार ! त्यो सपना पूरा हुनेछैन ।’
लगातार ‘रणनीतिक मुभ’मा पूर्वराजा ज्ञानेन्द्र
यसअघि प्रजातन्त्र दिवसको दिन सम्बोधन गर्दै शाहले जनताको भलोका लागि राजगद्दी त्यागेको बताएका थिए । आफ्नो उदारतालाई दलहरूले कमजोरीको रूपमा लिएको चेतावनी दिँदै ज्ञानेन्द्रले आफू अगाडि बढ्ने भनेर साथ दिन अपिल गरेका थिए ।
‘देशका निम्ति र राष्ट्रका खातिर हाम्रो समर्पण तथा निष्ठा सदैव हुनेछ । राष्ट्र रक्षाको निम्ति सबैको अनुशासन र इमान्दार प्रयत्न हुनुपर्दछ । हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौं,’ ज्ञानेन्द्रले भने, ‘अब नेपालको उन्नतिका लागि हामीबाट अरू के–के त्याग गर्नु पर्ने हो, हामी तयार छौं । अब समय आयो, राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरूलाई आह्वान गर्दछौं ।’
उनको अपीलपछि राजावादीले उत्साहित हुँदै फागुन २५ गते पोखराबाट आउँदा ज्ञानेन्द्रलाई काठमाडौंमा स्वागत गरेका थिए । एयरपोर्टदेखि महाराजगञ्जस्थित निर्मल निवाससम्म ज्ञानेन्द्रलाई स्वागत गर्दै पुर्याइएको थियो । कार्यक्रम सफल भएपछि ज्ञानेन्द्र आफैंले यसको आयोजना गरेको दाबी गरेका थिए । यसैबाट उत्साहित हुँदै ज्ञानेन्द्रकै योजनामा चैत १५ गते राजावादी समूहले काठमाडौंमा गरेको आन्दोलन हिंसात्मक हुन पुग्यो ।
ज्ञानेन्द्रले नै संयोजक बनाएका सुवेदी र कमान्डर बनाएका प्रसाईंको कारण प्रदर्शन हिंसामा बदलिन पुग्यो । तर, हिंसात्मक आन्दोलनको भने ज्ञानेन्द्रले जिम्मा लिएनन् ।
त्यो हिंसात्मक आन्दोलनको जिम्मा ज्ञानेन्द्रले नै लिनुपर्ने भन्दै प्रधानमन्त्री ओली त्यतिखेर पनि आपत्ति जनाएका थिइन् । प्रमुख दलहरूले पनि ज्ञानेन्द्रलाई जिम्मेवार ठहर्याएका थिए । तर, आफैंले संरक्षण गरेका दल र नेताले गराएको आन्दोलन हिंसात्मक बनेपछि ज्ञानेन्द्रले जिम्मा लिएनन्, बरु दबाबपछि केही दिनमा घटनाप्रति नयाँ वर्षको शुभकामना सन्देशमार्फत दुःख व्यक्त गरे ।
फेरि सबै राजावादीलाई समेटेर अगाडि बढ्न खोजे । संवैधानिक राजसंस्था र हिन्दू राष्ट्र नेपालका लागि वकालत गर्दै आएको राप्रपाका नेताहरूलाई ज्ञानेन्द्रले केही दिनअगाडि निर्मल निवासमै बोलाएर भेटेका थिए । फेरि नगरकोटमा राजावादी दल, समूहदेखि पत्रकारसम्मलाई बोलाएर ज्ञानेन्द्रले छलफल गरेका छन् ।
सतहमा अरू दल र नेता देखिए पनि राजतन्त्र पुनःस्थापनाका लागि हुने गरेका सबै कमान्ड आफूमा रहेको सन्देश ज्ञानेन्द्रले नगरकोटको लामो बसाइबाट दिएका छन् । तर, ज्ञानेन्द्रको यो कदमको गणतान्त्रिक दलका नेताहरूले तीव्र आलोचना गरेका छन् ।