
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोबेल शान्ति पुरस्कार जित्ने सम्भावनालाई लिएर पछिल्लो समय अन्तर्राष्ट्रिय सञ्चार माध्यम र बेटिङ बजारमा चर्चा चुलिएको छ ।
३ दिनअघि न्युजवीकले अनलाइन बेटिङ प्लेटफर्म 'अड्सचेकर'ले ट्रम्पलाई २०२५ को नोबेल शान्ति पुरस्कारको प्रमुख दाबेदार मानेको समाचार प्रकाशित गरेको थियो ।
यद्यपि, ट्रम्पको विवादास्पद विदेश नीतिका कारण यो सम्भावना कमजोर रहेको अन्य कतिपय अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखेका छन् । विशेष गरी युक्रेन-रुस युद्ध र मध्यपूर्वमा शान्तिका लागि ट्रम्पले गरेका प्रयासले मिश्रित परिणाम निम्त्याएको छ ।
ट्रम्पले यी क्षेत्रहरूमा पूर्णरूपमा शान्ति ल्याउन नसकेको भन्दै उनको आलोचनासमेत हुने गरेको छ ।
ट्रम्पको नोबेल पुरस्कारप्रतिकोपुरानोआकर्षण
ट्रम्पले लामो समयदेखि नोबेल शान्ति पुरस्कारप्रति गहिरो रुचि देखाएका छन् । उनको पहिलो कार्यकालमा उत्तर कोरियाली नेता किम जोङ–उनसँगको ऐतिहासिक भेट र इजरायल-यूएई-बहराइनबीचको 'अब्राहम सम्झौता'ले उनलाई पुरस्कारको दाबेदार बनाएको समर्थकहरूको दाबी थियो ।
सन् २०२० मा डोनाल्ड ट्रम्पको मध्यस्थतामा इजरायल र अन्य खाडी राष्ट्र (यूएई, बहराइन, सुडान र मोरक्को)बीच दशकौं लामो शत्रुतालाई कम गर्ने गरी सम्झौता भएको थियो । यो सम्झौताले ती देशहरूबीच कूटनीतिक, आर्थिक र सुरक्षासम्बन्धी सहकार्यको ढोका खोलेको थियो ।
अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले २००९ मा पुरस्कार जितेकोमा पनि ट्रम्पले बारम्बार असन्तुष्टि व्यक्त गर्दै आफूलाई पनि त्यस्तै सम्मानको हकदार ठानेको 'द स्ट्रेट्स टाइम्स'ले लेखेको छ ।
गत जनवरी २० देखि शुरू भएको दोस्रो कार्यकालमा ट्रम्पले युक्रेन-रुस युद्ध, इजरायल-हमास युद्ध र भारत-पाकिस्तानबीचको तनावमा मध्यस्थताको प्रयास गरिरहेका छन् ।
भारत र पाकिस्तानबीच मध्यस्थता गरेर परमाणु शक्तिसम्पन्न राष्ट्रहरूबीचको युद्ध रोकेकै कारणले ट्रम्पले नोबेल शान्ति पुरस्कार पाउनुपर्ने भन्दै केही दिनअघि उनका समर्थकहरूले सामाजिक सञ्जाल एक्समा ट्रेन्ड नै चलाएका थिए ।
यद्यपि, उनका समर्थकहरूले गरेका यी दाबीहरू स्वतन्त्र रूपमा पुष्टि भएका छैनन् । मूलधारका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले यस्ता उपलब्धिहरूलाई सतर्कतापूर्वक हेरिरहेका छन् ।
नोबेल समितिको मापदण्ड र ट्रम्पको स्थिति
नोबेल शान्ति पुरस्कार नर्वेको ओस्लोस्थित नोबेल समितिले विश्व शान्तिमा दीर्घकालीन योगदान पुर्याउने व्यक्ति वा संस्थालाई प्रदान गर्छ ।
विगतमा थिओडोर रुजवेल्ट (१९०६), वुड्रो विल्सन (१९१९), जिमी कार्टर (२००२) र बाराक ओबामा (२००९) जस्ता अमेरिकी राष्ट्रपतिहरूले यो पुरस्कार जितेका छन् ।
गत मार्च ५ मा नोबेल समितिले २०२५ का लागि ३३८ उम्मेदवार मनोनयन भएको घोषणा गरेको थियो । जसमा २४४ व्यक्ति र ९४ संस्था छन् । अघिल्लो वर्ष जम्मा २८६ उम्मेदवार मनोनयन भएका थिए ।
ट्रम्पलाई २०२५ का लागि धेरै व्यक्तिले प्रस्ताव गरेको दाबी गरिएको छ । टाइम्स नाउका अनुसार, अमेरिकी सांसद ड्यारेल इस्साले ट्रम्पलाई प्रस्ताव गरेका छन् । त्यस्तै, युक्रेनी सांसद ओलेक्सान्डर मेरेज्कोले पनि ट्रम्पको नाम प्रस्ताव गरेको बताइएको छ ।
इजरेली प्राध्यापक अनात अलोन-बेकले पनि ट्रम्पको नाम प्रस्ताव गरेको भएपनि उनको दाबी प्रमाणित हुन सकेको छैन । नोबेल समितिको गोपनीयता नीतिका कारण कति जनाले ट्रम्पको नाम प्रस्ताव गरेका छन्, त्यसको वास्तविक जानकारी बाहिर आउन सकेको छैन ।
ट्रम्पको कूटनीतिक प्रयास: उपलब्धि कि विवाद?
ट्रम्पले आफ्नो दोस्रो कार्यकालको शुरुआतदेखि नै विभिन्न अन्तर्राष्ट्रिय द्वन्द्व अन्त्य गर्ने प्रयासलाई प्राथमिकता दिएका छन् ।
न्युजवीकका अनुसार अड्सचेकर नामको बेटिङ साइट (जुवा खेलाउने साइट)मा ट्रम्पको पक्षमा १३/२ को बेटिङ अनुपात रहेको छ । जसमा ८५ प्रतिशतले उनको पक्षमा बेटिङ गरेको दाबी गरिएको छ ।
ट्रम्पले हालैको भारत र पाकिस्तानबीचको युद्धमा आफूले मध्यस्थता गरेको दाबी गरेका छन् । यद्यपि, उनको यो दाबीलाई स्वतन्त्र स्रोतले अहिलेसम्म पुष्टि गरेका छैनन् ।
द इन्डिपेन्डेन्टले एक साताअघि प्रकाशित गरेको एक आलेखमा यो दाबी ट्रम्पको 'शान्तिकर्ता' छविलाई बलियो बनाउने प्रयासको हिस्सा रहेको हुनसक्ने उल्लेख छ । त्यस्तै, ट्रम्पले युक्रेन-रुस युद्ध रोकेर त्यहाँ शान्ति स्थापना गर्नु आफ्नो प्रमुख प्राथमिकता रहेको बताउने गरेका छन् ।
गत मार्च ७ मा रोयटर्सले प्रकाशित गरेको एक आलेखमा ट्रम्पले रूसमाथि ठूलो स्तरको प्रतिबन्धको सम्भावना उठाएको उल्लेख छ । तर, उनले युक्रेनलाई सैन्य सहायता पनि रोकेका छन् ।
ट्रम्पको यस्तो कूटनीतिक क्रियाकलापले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र पश्चिमी सहयोगीलाई चिन्तित बनाएको छ । यसअघि नोबेल पुरस्कार जितेका लेच वालेशाले ट्रम्पको युक्रेनप्रतिको व्यवहारको आलोचना गरेका छन् । वालेशा पोल्यान्डका एक प्रख्यात राजनीतिज्ञ, मजदुर नेता र मानवअधिकारकर्मी हुन्, जसले सन् १९८३ मा नोबेल शान्ति पुरस्कार प्राप्त गरेका थिए ।
गत अप्रिल १० मा एनबीसी न्यूजले पूर्व एमआई-६ का प्रमुख रिचर्ड डियरलभलाई उद्धृत गर्दै युक्रेन युद्धमा हतारमा सम्झौता गर्दा रुसले अनुचित लाभ पाउने र नोबेल पुरस्कार जित्ने ट्रम्पको सम्भावनालाई कमजोर बनाउन सक्ने बताएको थियो ।
गत मार्च ११ मा ब्लूमबर्गले युक्रेनमा ट्रम्पले लिएको दबाबपूर्ण रणनीति नोबेल समितिको मापदण्डसँग मेल नखाने समाचार प्रकाशित गरेको थियो ।
ट्रम्पले मध्यपूर्वमा पनि शान्ति प्रयासलाई जोड दिएका छन् । हालै ट्रम्पले गरेको मध्यपूर्व भ्रमणमा त्यहाँका विभिन्न देशहरूसँग अरबौं डलरको सम्झौता भएका छन् ।
अन्तर्राष्ट्रियसञ्चार माध्यमको दृष्टिकोण
न्यूजम्याक्स जस्ता दक्षिणपन्थी सञ्चार माध्यमले ट्रम्पलाई 'विश्व शान्तिकर्ता' भन्दै उनको उत्तर कोरिया र मध्यपूर्व नीतिलाई निकै पहिलेदेखि प्रशंसा गरिरहेका छन् ।
यद्यपि, द गार्जियन, द टेलिग्राफ र एनबीसी न्यूजजस्ता सञ्चार माध्यमले ट्रम्पको रणनीतिलाई सतर्कतापूर्वक विश्लेषण गरेका छन् ।
एक साताअघि 'द गार्जियन'ले ट्रम्पको रूसप्रतिको नरम नीतिलाई 'पुटिनको पक्षधर' भन्दै नोबेल सम्भावनालाई कमजोर मानेको छ । त्यस्तै, द गार्जियनले नै एक महिनाअघि ट्रम्पको इजरायलप्रतिको एकपक्षीय नीति शान्तिकर्ताको छविसँग बाझिएको बताएको थियो ।
विवाद र आलोचना
ट्रम्पको नोबेल पुरस्कार जित्ने सम्भावनालाई उनको आफ्नै विवादास्पद नीतिहरूले केही जटिल बनाएका छन् । गत अप्रिल १ मा न्युजवीकले नोबेल पुरस्कार विजेता अर्थशास्त्री जेम्स हेकम्यानलाई उद्धृत गर्दै ट्रम्पको व्यापार नीतिले आर्थिक मन्दी निम्त्याउन सक्ने चेतावनी दिएको थियो ।
गत अप्रिल ८ मा द इन्डिपेन्डेन्टले ट्रम्पको ट्यारिफ नीतिलाई नोबेल पुरस्कारसँग जोडेको थियो ।
ट्रम्पका पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनको भनाइ उदृत गर्दै 'द स्ट्रेट्स टाइम्स'ले लेखेको छ, 'ट्रम्पका लागि नोबेल पुरस्कार भित्तामा सजाउने वस्तु मात्र हो ।'
नोबेल समितिले शान्ति पुरस्कार प्रदान गर्दा दीर्घकालीन प्रभाव, समावेशी दृष्टिकोण र विश्वव्यापी स्वीकार्यतालाई प्राथमिकता दिन्छ ।
भारत-पाकिस्तानबीच ट्रम्पले मध्यस्थता गरेको दाबी पुष्टि भए यो उनका लागि महत्त्वपूर्ण हुन सक्छ । तर, युक्रेन र मध्यपूर्वमा ट्रम्पले लिएका नीतिहरूले मिश्रित परिणाम दिएका छन् ।
समितिले ट्रम्पको इरानसँगको सम्भावित परमाणु सम्झौता वा अन्य ठोस उपलब्धिलाई प्राथमिकता दिन सक्ने तर हालसम्म यस्ता उपलब्धिहरू स्पष्ट रूपमा बाहिर नआइसकेकाले यसै भन्न नसकिने विश्लेषकहरूको भनाइ छ ।