३० जेठ २०८३, शनिबार

बलात्कार आरोपीको बयान– हात काटेर सिन्दुर हालिदिएँ, उजुरीको डरले विष पनि पिएँ !

जेठ ५, २०८२
काठमाडौं
बलात्कार आरोपीको बयान– हात काटेर सिन्दुर हालिदिएँ, उजुरीको डरले विष पनि पिएँ !

एउटा जबर्जस्ती करणी (बलात्कार) मुद्दाका पीडित र पीडकको बयानले प्रहरीका अनुसन्धान अधिकारी तथा सरकारी वकिलहरू नै तीनछक परेका छन् । 

सुर्खेतकी एक युवती बाँकेको कोहलपुरमा डेरा गरी बस्दै आएकी थिइन् । त्यसैक्रममा जाजरकोटको कुशे गाउँपालिका– २ डेग्रीका इलाम शाहीसँग सामाजिक सञ्जाल फेसबूकमा उनको चिनजान हुन्छ । 

काठमाडौंबाट सुर्खेत गएका बेला शाहीले युवतीलाई भेट्ने इच्छा राख्छन् । युवती शाहीलाई भेट्न सुर्खेत पुग्छिन् । राति अबेर भएकाले युवतीलाई शाहीले कोहलपुर फर्किन दिँदैनन्, र कोठामा लगेर राख्छन् । 

युवतीको बयानअनुसार त्यहाँ शाहीले कोक पिलाउँछन् । कोक पिएलगत्तै आफू बेहोश भएको युवतीको बयान छ ।

‘मलाई उसले कोक ल्याएर पिउन दियो, लगत्तै म बेहोश भएँ । बिहान उठ्दा मेरो शरीरमा कपडा थिएन, शाही पनि मसँगै सुतिरहेको थियो,’ बयानमा युवतीले भनेकी छिन्, ‘मैले प्रहरीमा उजुरी गर्छु भन्दा शाहीले कसैलाई भनेमा आफू विष सेवन गर्ने र मलाई पनि मार्ने धम्की दिए ।’

घटनापछि शाही काठमाडौं फर्किए । उनी एउटा डिपार्टमेन्ट स्टोरमा सेक्युरिटी गार्डको रूपमा काम गर्थे । शाहीको धम्कीकै कारण आफूले घटनालगत्तै कतै उजुरबाजुर नगरेको बयान युवतीको छ ।

त्यसपछि युवती जाप्निज भाषा सिक्न काठमाडौं आउने योजनामा पुग्छिन् । शाहीले युवती काठमाडौं आउन खोजेको थाहा पाएपछि आफैं फोन गर्छन् ।

‘तँलाई काठमाडौंमा डेरा खोजेर छुट्टै राखिदिन्छु, त्यहाँ बसिस् भने मुद्दा हाल्छेस्, मलाई फसाउँछेस्, काठमाडौं आइहाल,’ युवतीले शाहीको भनाइ उद्धृत गर्दै बयानमा भनेकी छिन्, ‘काठमाडौं आएपछि मलाई शाहीले काँडाघारीस्थित आफन्तको कोठामा लगे । त्यहाँ पनि २ दिन राखे । त्यसपछि बिजुलीबजारमा डेरा खोजेर राखिदिए ।’ 

बिजुलीबजारस्थित डेरामा समेत जबर्जस्ती रात बसेर आफूमाथि बलात्कार गरेको आरोप युवतीको छ । 

अति भएपछि युवतीले आफन्तलाई घटनाबारे भनिदिने चेतावनी दिन्छिन् । शाहीले गोजीमा बोकेको विष देखाउँदै ‘तैँले मलाई फसाउन लागेकी होला, यी यो विष पिएर मर्छु र तँलाई पनि मार्छु’ भन्दै धम्की दिएको युवतीले बयानमा खुलाएकी छिन् । 

शाहीले ख्यालख्यालमै विष सेवन पनि गर्छन् । युवतीले १०० मा फोन गरेर शाहीलाई वीर अस्पताल पुर्‍याउँछिन् । त्यही बीचमा युवतीको महिनावारी रोकिन्छ । उनले प्रेगनेन्सी टेस्ट गर्दा गर्भ बसेको देखिन्छ ।

शाहीले गर्भपतनको औषधि ल्याएर खान दिन्छन् । युवतीले औषधी खान्छिन् । धेरै पीडा भएपछि शाहीका परिवारलाई समेत घटनाबारे जानकारी गराउँछिन् । परिवारले युवतीसँग माफी माग्छन् ।

‘बहिनी यसलाई माफी देऊ, गर्भपतन गराउन म अस्पताल लगिदिन्छु,’ शाहीका आफन्तले भनेको कुरा कोट्याउँदै युवतीले बयानमा खुलाएकी छिन् । युवतीलाई शाहीका परिवारले अस्पताल लगेर उपचार पनि गराउँछन् ।

गर्भपतन गरेको कागजपत्र माग्दा अस्पतालले शाहीले नै सबै पत्र लगेको बताउँछ । 

युवती शाहीको परिवारलाई भेट्न पुग्छिन् । अनि उल्टै शाहीलाई कता लुकाएको भनेर युवतीमाथि नै केरकार शुरू हुन्छ । त्यसक्रममा आफूमाथि कुटपिट समेत भएको युवतीको बयान छ ।

शाहीले भने बयानमा सहमतिमै शारीरिक सम्पर्क राखेको दाबी गरेका छन् । युवतीलाई आफूले बिहे गरेको भन्दै हात काटेर रगतको सिन्दुर समेत लगाइदिएको बयान शाहीले दिएका छन् ।

‘म काठमाडौंमा बसेका बेला उनी आएर मेरै कोठामा एक हप्तासम्म बसिन् । त्यतिबेला विश्वास दिलाउन हात काटेर रगतकै सिन्दुर लगाइदिएको थिएँ,’ शाहीले बयानमा भनेका छन्, ‘हाम्रो सम्बन्धको बारेका दुवै परिवारलाई थाहा थिएन । उनले बच्चा नजन्माउने भनिन्, मैले औषधी किनेर पठाइदिएँ, औषधी सेवन गरेपछि बच्चा खेर गयो ।’ 

त्यतिबेलादेखि युवती र आफ्नो सम्बन्धमा तितोपना आएको शाहीको बयान छ । जेठी श्रीमतीले आफूहरूको सम्बन्ध थाहा पाएपछि बहुविवाहको मुद्दा समेत हालेको शाहीले बताएका छन् ।

‘जेठीसँग पनि राम्रो सम्बन्ध भएन, कान्छीसँग पनि भएन, त्यही भएर मैले उडुस मार्ने औषधि सेवन गरी आत्महत्याको प्रयास गरेको थिएँ,’ शाहीले बयानमा भनेका छन्, ‘मैले औषधि सेवन गरेको थाहा पाएपछि मलाई अस्पताल लगेर उपचार गराए । डिस्चार्ज भएर सँगै बस्न थाल्यौं । केही दिनमा फेरि उनी गर्भवती भइन् । बच्चा खेर जाने औषधि खाइन्, बच्चा खेर गयो ।’

शाहीले बयानमा पटक–पटक युवतीसँगकै सहमतिमा आफूले शारीरिक सम्पर्क राखेको जिकिर गरेका छन् । 

युवतीले बलात्कारको उजुरी दिएपछि शाहीलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढेको थियो । अनुसन्धान सकिएपछि सरकारी वकिल कार्यालयले यही वैशाख २ गते जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दर्ता गरेको छ ।

शाहीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा बहु–बिवाहको उजुरी समेत दर्ता भएर अनुसन्धान भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्