
तीन वर्षअघि शुरू गरिएको ग्वार्को फ्लाईओभरको काम जेठ अन्तिमसम्म सम्पन्न गर्ने तयारी भैरहेको छ । दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी शुरू गरिएको ग्वार्को फ्लाईओभरको काम करिब तीन वर्षपछि हुन लागेको हो ।
ललितपुर महानगरपालिकाको ग्वार्कोमा निर्माणाधीन फ्लाइओभरको काम जेठ अन्तिमसम्म सम्पन्न गर्ने निर्माण कम्पनीले जनाएको छ । निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजनाले जानकारी दिएको हो ।
मौसमले साथ दिएमा जेठको अन्तिमसम्म काम सम्पन्न हुने गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनियर प्रदीप भण्डारीले बताए । उनका अनुसार निरन्तर परिरहेको पानीले अन्तिम चरणको कामको समय बढाइरहेको छ ।

‘करिब करिब सबै काम भइसकेको छ । हाम्रो अनुमान करिब ८५ प्रतिशत काम सम्पन्न भइसकेको छ’, उनले भने, ‘जेठ अन्तिमसम्म काम सम्पन्न गर्नेगरी निर्माण कम्पनीले काम गरिरहेको छ । करिब एक हप्तासम्म पानी परेन भने काम एकै पटक हुन्छ । पानी पर्दै गयो भने मात्रै समय बढ्छ ।’
पटक पटक म्याद थप भए पनि ग्वार्को फ्लाइओभर निर्माण सम्पन्न नहुँदा सर्वसाधारणले सास्ती खेप्नु परिरहेको छ । ग्वार्को चोकमा हुने चर्को ट्राफिक जाम हटाउन फ्लाईओभर निर्माण गरिएको हो ।
सरकारले २०७८ फागुन १२ गते ग्वार्को फ्लाइओभर निर्माण गर्न आशिष–समानान्तर–रेलिगेर जेभीसँग सम्झौता गरेको थियो । शुरूमा फ्लाइओभरको लागत खर्च १७ करोड ६ लाख ८८ हजार रुपैयाँ थियो ।

सम्झौताअनुसार फ्लाइओभरको निर्माणको काम २०८० फागुन १५ गतेसम्म गर्नुपर्ने थियो । तर, उक्त अवधिमा काम सम्पन्न भएन । निर्माण सम्पन्न नहुँदा २०८१ पुस ८ गतेसम्म निर्माण सक्नुपर्ने भन्दै पहिलो पटक म्याद थप गरिएको थियो ।
तर, उक्त अवधिमा पनि काम सम्पन्न हुन सकेन । म्याद थप गर्दा पनि निर्माण सम्पन्न नभएपछि ०.०५ प्रतिशतको दरले दैनिक करिब ८५ हजार रुपैयाँ हर्जाना लाग्नेगरी पुस १० बाट पुनः काम शुरू गरिएको थियो । यसरी हर्जाना लग्नेगरी कम्पनीले २०० दिनसम्म काम गर्न पाउँछ । यदि २०० दिनभित्र पनि काम सम्पन्न नभएमा कामको अवस्था हेरी केही समय थप्ने अथवा ठेक्का रद्द गर्ने व्यवस्था छ ।