
बचतकर्ताको निक्षेप अपचलन गरेर सहकारीहरू बदनाम भइरहेका बेला केही सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गरेर आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् ।
पछिल्ला वर्षहरूमा केही सहकारी बिग्रिएर नकारात्मक छवि बनाएका बेला लुम्बिनी प्रदेशका केहीले आफूलाई उत्कृष्ट सिद्ध गर्दै आर्थिक सशक्तीकरणको उदाहरण प्रस्तुत गरेका छन् ।
यिनीहरूले बचतकर्ता र नागरिकको मन जितेर ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउँदै राम्रो कमाइ गरिरहेका छन् ।
रूपन्देहीको तिलोत्तमा नगरपालिका–६ स्थित लुम्बिनी विशिष्टिकृत सहकारीले ठूलो लगानी गरी दुग्धजन्य उत्पादनमा सफलता कमाइरहेको छ ।

सहकारीले १४ करोड रुपैयाँको उद्योग स्थापना गरी दुग्धजन्य वस्तु उत्पादन गर्छ । सहकारीकी अध्यक्ष ज्ञानु पौडेलले भनिन्, 'हामीले दैनिक ३ हजार लिटर दूध संकलन गरी त्यसलाई प्रशोधन गरेर दूध,दही,मही,पनिर र आइसक्रिम उत्पादन गर्दै आएका छौं ।'
उनले थपिन्, 'यसबाट मिल्क होलिडे नहुन सहयोग मिलेको छ । बचत तथा ऋण,बहुउद्देश्यीय,कृषि लगायतका प्रदेशका १४५ वटा सहकारीको १४ करोड रुपैयाँ लगानीबाट यूएचटी दुग्ध प्रशोधन परियोजना सञ्चालन गरेका छौं । धेरै सहकारीको लगानी भए पनि नेतृत्व लुम्बिनी विशिष्टिकृतले गरेको छ ।'
भारतको अमूल डेरी जस्तै बन्ने सोचका साथ अगाडि बढेको उनले बताइन् । सहकारीबाट उत्पादित दूधका उत्पादनहरू पोखरा,चितवन,कपिलवस्तु हुँदै दाङसम्मका बजारमा पुग्ने गरेका छन् ।
राष्ट्रिय सहकारी ऐन, २०७४ ले सहकारीहरू मिलेर उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सक्नेछन् भन्ने व्यवस्थाअनुसार अघि बढेको उनको भनाइ छ ।
****

बुटवल उप–महानगरपालिका वडा नम्बर– ८ स्थित इन्द्रेणी बहुउद्देश्यीय सहकारीले आफ्नो कार्यालय परिसरमा विगत ४ महिनादेखि 'ईभी चार्जिङ'सेन्टर सञ्चालन गरेको छ । डेढ करोड रुपैयाँको लगानीमा 'फास्ट चार्जिङ'सेन्टर र उपभोक्तालाई स्वच्छ तथा उचित मूल्यमा दुग्धजन्य उत्पादन बिक्री वितरण हुँदै आएको छ ।
सहकारीका अध्यक्ष कृष्ण अर्यालले भने, 'हाम्रो चार्जिङ सेन्टरमा एकैपटक ९ वटा विद्युतीय गाडी चार्ज गर्न सकिन्छ । केही यातायात व्यवसायीसँग हामीले सम्झौता पनि गरिसकेका छौं । विशिष्टीकृत सहकारीद्वारा उत्पादित दूधजन्य उत्पादनहरूको 'आउटलेट'को रूपमा हामीले बिक्री गर्दै आएका छौं ।'

अध्यक्ष अर्यालले थपे, 'हामीले ७० वर्ष माथि उमेर भएका जेष्ठ शेयर सदस्यहरूलाई सामाजिक सुरक्षा भत्ता स्वरूप मासिक २०० रुपैयाँ पनि प्रदान गर्दै आएका छौं । यसले शेयर सदस्यहरू उत्साहित हुनुहुन्छ ।'
२ हजारभन्दा बढी शेयर सदस्य रहेको सहकारीको कुल पूँजी ६३ करोड रुपैयाँ छ । सहकारीले ५ करोड रुपैयाँ उत्पादनमूलक क्षेत्रमा लगानी गरेको छ ।
****
लुम्बिनीको हिमाली जिल्ला रूकुम पूर्वको मारिङ बहुउद्देश्यीय सहकारी संस्थाले कृषकका उत्पादन बजारीकरणको जिम्मेवारी लिएको छ ।
भूमे गाउँपालिका–२ स्थित सहकारीले द्वन्द्वपीडित,शहीद परिवार,घाइते र अपाङ्गता भएका तथा विपन्न वर्गले उत्पादन गरेका कृषिजन्य वस्तुहरूको बजारीकरणको ग्यारेन्टी गरेपछि तिनीहरूले राम्रो मूल्य पाउन थालेका छन् ।
सहकारीका अध्यक्ष रामसुर बुढाले भने, 'किसानहरूले आलु,सिमी,भटमास,केराउ,लसुन, फापर लगायतका स्थानीय उत्पादनहरू सहकारीलाई बिक्री गर्छन् । किसानबाट खरिद गरेको उत्पादन सहकारीले खावाङ बजारमा रहेको कार्यालयसम्म ल्याएर नेपालगञ्ज,बुटवलदेखि काठमाडौंसम्म पठाउने गरेको छ ।"
अर्गानिक उत्पादनहरू सहकारीमार्फत सहरमा पुगेपछि बिक्रीमा समस्या नरहेको गाउँपालिकाका पूर्व अध्यक्ष समेत रहेका बुढाले बताए । सहकारीमा ५०० भन्दा बढी शेयर सदस्यहरू आबद्ध छन् ।
****
बुटवल सरसफाइ तथा वातावरण सहकारी खेर गइरहेको फोहोरबाट कम्पोस्ट मल र वैकल्पिक ऊर्जा उत्पादनको बाटोमा छ । सहकारीका सचिव गेहेन्द्रराज न्यौपानेले सहकारीले फोहोर संकलनसँगै दिगो व्यवस्थापनको काम गरिरहेको बताए ।
यससँगै केही सहकारीहरूले मह उत्पादन गर्दै आएका छन् । केही तरकारी र महिला सहकारीहरूले ढाका उत्पादन गर्दै आएका छन् ।
आफ्नो उद्देश्य र मर्म नछोडी चलेका सहकारीहरूले किसान र शेयर सदस्यलाई उद्यमी/व्यवसायी बनाउनदेखि उनीहरूको जीवनस्तर उकास्न योगदान पुर्याएका छन् ।

सामूहिक विकास बचत सहकारीको सफलता
बैंकजस्तै मानिने सामूहिक विकास बचत सहकारीले धेरै परिवारलाई कृषि व्यवसायमा ऋण लगानी गरेर जीविकोपार्जनको बाटो देखाइदिएको छ ।
सहकारीबाट ऋण लिएर कमल भण्डारीले सञ्जीवनी कलेजदेखि बुद्ध कापी उद्योग सञ्चालन गरी सफल उद्यमी बनेका छन् ।
त्यसैगरी, गीता वलालले तिलोत्तमामा ठूलो तरकारी फार्म सञ्चालन गरेकी छन् । पार्वती गिरीले ठूलो अचार उद्योग सञ्चालन गरेकी छन् ।
सहकारीका वरिष्ठ व्यवस्थापक ईश्वरी मरासिनीले भने, 'हाम्रो सहकारीको पूँजी ३ अर्ब ७० करोड रुपैयाँ छ । २ अर्ब ७० करोड रुपैयाँ ऋण लगानी गरेको छ ।'
आर्थिक कारोबारका हिसाबले देशकै ठूलो सामूहिक सहकारीले उद्यमशीलताको क्षेत्रमा धेरै लगानी गरेको मरासिनीको भनाइ छ ।
सहकारीका १२ हजारभन्दा धेरै शेयर सदस्यहरू छन् । बलियो सहकारीको ऋण लिएर सफल व्यवसायी समेत बनेको व्यवस्थापक मरासिनीले बताए ।
रूपन्देहीको जनउत्थान सहकारी पनि देशकै उत्कृष्ट सहकारीहरूमध्ये पर्छ । सहकारीमा ३० हजार शेयर सदस्यहरू जोडिएका छन् ।

****
पछिल्लो समयसम्म पनि बुटवलका एकपछि अर्को गर्दै सहकारीहरूले बचतकर्ताका रकम दुरुपयोग गरेर सम्पर्कविहीन हुने क्रम रोकिएको छैन ।
सहकारी विज्ञ तथा बचत तथा ऋण सहकारी संघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण नेपालले नियत नखुलेका सहकारीहरूमा समस्या देखिएको भन्दै अन्य सहकारीहरू नीति र विधिअनुसार चलिरहेका बताए ।
स्थानीय तहमा रहेका साना वित्तीय संस्था मानिने सहकारीहरूले निक्षेप संकलन गरी किसान वा साना व्यापारीहरूलाई कर्जा वितरण तथा उद्यमी बनाउन प्रेरित गरिरहेको नेपालको भनाइ छ ।
****
लुम्बिनी प्रदेशमा ४ हजारभन्दा बढी सहकारीहरू सञ्चालनमा छन्, जसमध्ये लुम्बिनी प्रदेशमा दर्ता भएका (प्रदेश मातहत रहेका मात्र)सहकारीहरूको संख्या ८४८ छ । प्रदेशभर करिब १० लाख नागरिकहरू सहकारीमा जोडिएको प्रदेश सहकारी संघको तथ्याङ्क छ ।
लुम्बिनीमा अहिलेसम्म २ दर्जन सहकारी संकटमा परेको भनेर उजुरी परेको छ । ती सहकारीमा झण्डै ५० करोड रुपैयाँ अपचलन भएको छ । संकटमा परेकामध्ये सबैभन्दा धेरै रूपन्देहीका रहेको अध्यक्ष नेपालले जानकारी दिए ।
लुम्बिनी प्रदेश सरकारले सहकारीहरूको वर्गीकरण शुरू गरेको छ । वर्गीकरणका लागि ५२ वटा सूचकहरू राखिएको छ ।
प्रदेशका तराईमा पर्ने ६ जिल्लाका सहकारीहरूको अवस्था बुझेर वर्गीकरण गर्ने काम चालू रहेको लुम्बिनी प्रदेश सरकारका प्रवक्ता दिनेश पन्थीले बताए ।
मुलुक संघीय संरचनामा गएपछि सहकारी ऐन–२०७४ को दफा ६९ ले ३ तहका सरकारलाई सहकारी दर्ताको अधिकार दिएको छ ।
निश्चित उद्देश्य र मूल्य–मान्यतामा रहेर शेयर सदस्यहरूको हितको लागि सहकारी सञ्चालन हुनुपर्नेमा कतिपयले कमजोर व्यवस्थापन र सहकारी भावनाविपरीत गएर बेइमानी गर्दा भरोसा गुमाउँदै गएका छन् ।
यसैले सहकारी अभियानमा स्पष्टता र साझा बुझाइ विकास गर्न आवश्यक देखिएको छ ।
निर्यातजन्य उद्योग सञ्चालन गरी सहकारीको उद्देश्यअनुसार चलाउन सकेको अवस्थामा सहकारीहरूले सरकारको तीन खम्बे अर्थनीतिमा ठूलो योगदान पुर्याउन सक्ने विज्ञहरू बताउँछन् ।