
धनगढी १८ मंसिर– शुक्रवार बिहान सवा ८ बजे कैलालीको धनगढीस्थित देउवा निवासमा कांग्रेस कार्यकर्ताको भीड लागिसकेको थियो । विहान साढे ७ बजेको समयमा बैतडीका वीरसिंह भण्डारी लौरो टेक्दै देउवा निवासमा आइपुगे ।
भण्डारी आएको एकै छिनमा कांगेस कार्यकर्ताको भीड लाग्यो, प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा आरजु राणा देउवालाई भेट्न । सहयोगीहरुले घरमा आएका कार्यकर्ता र सुभेक्षुकहरुलाई ‘कालो चिया’ले स्वागत गरे ।
प्रतिनिधिसभाका लागि कैलाली ५ बाट चुनावी मैदानमा रहेकी प्रधामनन्त्री पत्नीको चुनावी भीडन्त रोचक बन्दैजाँदा देउवा निवासमा सञ्चारकर्मीको पनि बाक्लो उपस्थिती थियो ।
बिहान ८ : २० को समयमा आरजु हातमा अगरबत्ति लिएर घरको बरण्डामा आइन् । हातमा अगरबत्ति लिएर सूर्यको आरधना गरिन् । दुई पटक घुमेर सूर्यको पूजा गरिन् । सूर्यको आरधनासंगै उनी चुनाव प्रचारका लागि हिडन तयार भइन् ।
बैना मात्र भएको भनिएको घरको पछाडि पट्टिको बगैचामा केही मिडियाका लागि प्रतिक्रिया दिन तयार भइन् । पहिला पश्चिमतिर रहेको कुर्सीमा बसेकी आरजु ‘मलाई उता बस्नु भनेको छ’ भन्दै पूर्वपट्टीको कुर्सीमा बसिन् । देउवा परिवार ज्यातिष र वास्तुमा विश्वास राख्छ ।
घर पास भइनसकेपनि बैनास्वरुप ५० लाख तिरेको आरजुले लोकान्तरलाई बताइन् । कांग्रेसका केही कार्यकर्ता आरजुको घर हेर्नमात्र आएको देखियो ।
विहान ५ बजेदेखि राती ११ बजेसम्म पनि चुनावमा खटिएको देउवाले बताइन् । ‘सामान्यतया विहान ६ ः ३० बजे उठ्ने बानी थियो, अहिले ५ बजे नै उठछु’ आरजुले लोकान्तरसंग भनिन, ‘धेरै धपेडीका कारण मुटुमा हानेको छ ।’

१० हजार होइन ३ हजार भोट अन्तरले चुनाव जित्छु
यसअघि पति शेरबहादुरले चुनाव जितेको क्षेत्रमा यसपटक चुनाव जित्नेमा आरजु ढुक्क जस्तै देखिएकी छिन् । देशभर वामपन्थी गठबन्धनको पक्षमा लहर देखिएको भएपनि आरजु चुनाव जित्नेमा ज्यादा ढुक्क देखिन्छिन् । ‘मेरा प्रतिष्पर्धीलाई १० हजार मतअन्तरले पराजित गर्छु’ आफ्नै बोली सच्चाउदै आरजुले भनिन्, ‘दश हजार त गफ हो, ३ हजार मतअन्त्रले चुनाव जित्छु ।’
उता वामपन्थी गठबन्धनको समर्थन रहेका नेकपा एमालेका उम्मेदवार नारदमुनि राना थारु पनिदेउवालाई चुनावमा पराजित गर्नेमा उत्तिकै ढुक्कछन् । ‘उमेरले उहाँ ह्येवी वेट होला, यहाँको हावापानीसंग उहाँ घुलमेल हुनहुन्न’ नारदमुनीले लोकान्तरसंग भने, ‘यहाँको माटोले मलाई चिन्छ, घर किनेको नाटक गर्नु पर्दैछ ।’
चुनाव प्रचारमा ८२ वर्षीया वृद्ध
आरजुले उनलाई नजिकबाट चिन्दिनन्, तर बैतडिका ८२ वर्षीया वीरसिंह भण्डारी देउवाको चुनाव प्रचार प्रसारमा हिड्का छन् । ‘संकटकालको समयमा देउवाले काठमाडौंमा डेढबर्ष पालेका थिए, त्यसैको गुन तिर्न चुनाव प्रचारका लागि आएको हु’ देउवा निवास परिसरमा भेटिएका भण्डारीले लोकान्तरसंग भने, ‘यहाँ आफन्त र चिनेजानेकासंग आरजुको लागि भोट मागे, अब देउवालाई भोट माग्न जोगबुढाँ जान लागेको ।’ डडेल्धुराको जोडबुढा क्षेत्रमा चिनेजानेकासंग भोटमाग्न आफू त्यता जान लागेको उनले बताए ।

भगनावको कृपा र जनताको समर्थनले छोराले चुनाव जित्छः
एमाले उम्मेदवार नारदमुनी राना थारुकी आमा सुधामा राना प्यारालाइसिसका कारण डिहडुल गर्न सक्दिनन् । घरको आगनसम्म आउन पनि उनलाई सहारा चाहिन्छ । तर घरमा आउनेहरुसंग भने उनले छोराको पक्षमा भोट माग्छिन् ।
‘मन्त्रीनी आएपछि मेरो छोराले चुनाव जित्छ, भगवानको आर्शिवाद र जनताको समर्थनका कारण छोराले चुनाव जित्छ’ सुधामाले लोकान्तरसंग भनिन् । विगतमा गाबिस अध्यक्ष हुँदा आफ्नो छोराले गाउँको विकास गरेकोले उसलाई नै जनताले भोट दिने आमाको विश्वास छ ।
हेर्नुहोस, यो पनि, देउवाको अन्तवार्ता