
बुटवलको लुम्बिनी केबलकारले दुई वर्षमा साढे तीन लाख पर्यटक भित्राएको छ ।
२०८० जेठ १५ गतेदेखि व्यावसायिक सञ्चालनमा आएको केबलकारले दुई वर्ष पूरा हुन १५ दिन बाँकी (वैशाख मसान्तसम्म)मा ३ लाख ४७ हजार ९७६ पर्यटक भित्राएको हो ।
केबलकारका म्यानेजर प्रज्ज्वल घिमिरेका अनुसार साढे तीन लाख पर्यटक मध्ये भारतीय पर्यटक ४१ हजार ६४८ जना रहेका छन् ।
बुटवल ३ बमघाटमा तल्लो स्टेसन र पाल्पाको तिनाउ गाउँपालिका ३ वसन्तपुरमा केबलकारको माथिल्लो स्टेसन छ ।
समुन्द्री सतहबाट करिब एक हजार मिटर उचाइमा रहेको स्वच्छ, शान्त र रमणीय वसन्तपुर डाँडोमा लुम्बिनी केबलकारको माथिल्लो स्टेसनसहित प्रख्यात शक्ति पीठ कामाख्या देवीको मन्दिर, जीपलाइन, स्काई साइक्लिङ, ज्वायन्ट स्वीङ (आधुनिक पिङ), बाल उद्यान, रेष्टुराँ, सेमिनार हललगायत पर्यटकीय संरचना बनेकाले दुई वर्षमै सुनसान डाँडोलाई केबलकारले आकर्षक पर्यटकीय गन्तव्य बनाएको हो ।
वसन्तपुरको प्रख्यात शक्ति पीठ कामाख्या देवीको मन्दिर र सय वर्षदेखि पूजाआजा हुँदै आएको दुर्गा माताको मन्दिरलाई पुनः निर्माण गरी नयाँ बनाइएको छ । यी दुई मन्दिर हिन्दू धर्मावलम्बीका लागि विशिष्ट आकर्षण बनेका छन् ।
कामाख्या देवीको दर्शनले मनोकामना पूरा हुने र सांसारिक बन्धनबाट मुक्ति पाइने धार्मिक विश्वासले नेपाल र भारतका विभिन्न शहरबाट भक्तजनहरू उल्लेख्य संख्यामा आउने गरेको मन्दिरका मूल पुजारी सुरेश पौडेल बताउँछन् ।
धार्मिक र पर्यटकीय पूर्वाधार, जुनसुकै ऋतुमा अनुकूल मौसम, बजारको कोलाहल र प्रदूषणबाट मुक्त स्वच्छ, शान्त वातावरणका कारण वसन्तपुर नेपालीको मात्र नभई भारत उत्तर प्रदेशका पर्यटकको पनि रोजाइको थलो बनेको केबलकारका स्थानीय लगानीकर्ता तेजप्रसाद सुनारले बताए ।
अहिले वसन्तपुर सेलिब्रेटी कलाकार, खेलाडी, सबैजसो दलका नेता घुम्न आउनेदेखि म्युजिक भिडियो सुटिङ गर्ने थलो बनेको सुनारले जानकारी दिए । ‘रुपन्देही आएका बेला पूर्वराष्ट्रपति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्री, सांसद, चर्चित कलाकार सबै एकपटक वसन्तपुर आउने गरेका छन्,’ सुनारले भने, ‘शुरू गरेको दुई दशकसम्म केबलकार बनाउन नसक्दा धेरैले खिसिट्युरी गर्थे, अहिले उनीहरू नै स्यावासी दिन्छन् ।’
केबलकारले जन्मदिन परेका व्यक्तिलाई उक्त दिन नि:शुल्क यात्रा गराउने अफर, हरेक महिनाको एक गते सन्ध्या आरती अफर, ५० जनाभन्दा बढी समूहमा आउनेलाई विशेष छुट अफरसहित विभिन्न व्यावसायिक संघसंस्थाहरूसँग छुट सम्झौता गरेर बजार प्रवर्द्धन गरिरहेको छ ।
केबलकारले दुई वटा स्थानीय तहलाई वैशाख मसान्तसम्म २१ लाख २४ हजारका दरले कुल ४३ लाख ४८ हजार आम्दानी दिएको केबलकारका अपरेसन म्यानेजर डीएन कायस्थ सैँजूले बताए । यसबाहेक तिनाउ गाउँपालिकालाई मनोरञ्जन करसमेत दिने गरेको छ ।
केबलकार र पाँच तारे होटलसहित कुल लागत ५ अर्ब रुपैयाँ लागतको आयोजना अन्तर्गत दुई वर्षभित्र साढे तीन अर्ब लगानीमा वसन्तपुरमा एक सय ५० कोठा, एक हजार जना क्षमताको बैंक्वेट हल, क्यासिनोसहित पाँच तारे होटल बनाउने प्रकृया अघि बढेको छ ।