
चारतिर फर्केका राजावादी समूहले गणतन्त्र दिवसको दिन पारेर राजसंस्था फर्काउन भन्दै रहर गरेको ‘जनआन्दोलन’ शुरू नहुँदै सेलाउन थालेको छ ।
राजसंस्था पुनःस्थापना नहुँदासम्म निरन्तर गर्ने भनिएको आन्दोलन चौथो दिनमै शिथिल बन्यो ।
अपेक्षित नै थियो– राजसंस्था फर्काउने असान्दर्भिक र प्रदूषित एजेन्डालाई जनताको साथ हुने छैन । २१ औं शताब्दीमा जनताको छोरा नभएर वंशको आधारमा कोही राष्ट्रप्रमुख हुने व्यवस्था फर्काउन कोही सचेत नेपाली तयार थिएनन्/हुँदैनन् ।
निरंकुश राजतन्त्रको समयमा स्रोत साधनमा हालिमुहाली गरेका पूर्वपञ्च र मण्डले प्रवृत्तिका पार्टीले आफ्नो स्वार्थ सिद्धिका लागि गर्न लागेको राजनीतिक अभियानलाई ‘जनआन्दोलन’ भन्न पनि हिच्किचाउनु पर्ने हो, किनकि अहिले राजसंस्थाको वकालत गर्ने पञ्चहरू निमुखा जनता नभएर सम्भ्रान्त वर्गका प्रतिनिधि हुन्, निरंकुशताको पर्याय हुन् ।
राणा र पञ्चायतका अवशेषहरूले ‘जनआन्दोलन’ भन्ने शब्दको चरम दुरुपयोग गरे । यो आमजनताप्रतिको अपमान हो । राजा फर्काउनुपर्छ भन्नेहरू नागरिक होइनन्, रैती हुन् । सामन्ती र शोषक वर्गका प्रतिनिधिले जनआन्दोलन शब्दको ओज राख्न सक्दैनन् । निरंकुशताको प्रतीकलाई फिर्ता गर्न गरिने जस्तोसुकै गतिविधि या अभियान ‘जनआन्दोलन’ हुन सक्दैन ।

भुलभुलैयामा केही मानिस सहभागी भएका होलान्, तर सारमा राजावादीको आन्दोलन सामन्ती शोषक वर्गको हितका लागि भएको हो । राजतन्त्र कालमा राज्य सत्तामा हालिमुहाली गरेको वर्ग आफ्ना ती स्वर्णिम दिन फर्किन्छन् कि भनेर सडकमा उत्रिनु स्वाभाविक हो ।
राजनीतिशास्त्रको सामान्य सिद्धान्त हो– कुनै व्यवस्था पल्टाउन त्यो व्यवस्था स्थापनाका लागि भन्दा ठूलो ताकत चाहिन्छ । के राजावादीको यो झुण्डले २०६२/०६३ सालमा भन्दा धेरै नागरिक सडकमा उतार्न सक्छन् ?
के राजधानीको सचेत पंक्ति राजसंस्था ब्यूँताउने आन्दोलनमा आउँछ ? किमार्थ आउँदैन । राजनीतिक दल, नेता र सरकारहरूप्रति जनताका कयौं गुनासा र आक्रोश छन्, के त्यसको अर्थ अहिलेको व्यवस्था पल्टाएर अन्धकारमा फर्किन राजी भएको भन्न मिल्छ ?
तरमारा वर्गले अवसर लुटे, यो बेग्लै बहसको विषय हो, तर, २०६२/०६३ सालको जनआन्दोलन र अहिले राजावादी मण्डलेहरूले भन्ने गरेको जनआन्दोलन तुलनायोग्य विषय होइनन् । चप्पल लगाउने सर्वहारा वर्गले गरेको आन्दोलन जनआन्दोलन हो । अहिलेको आन्दोलन विस्थापित भइसकेको वंशवाद भित्र्याउने कुटील षड्यन्त्र मात्र हो ।
राजावादीले भन्ने गरेको जनआन्दोलन कस्तो हुन्छ भन्ने चैत्र १५ गते तीनकुनेमा देखिसकिएको हो । एक प्रकारले भन्ने हो भने राजावादीको आन्दोलन त्यही दिन तीनकुने मैदानमा विसर्जन भइसकेको हो ।
आफैँलाई पत्यार नभएको आन्दोलन
राजावादीको प्रदर्शनका क्रममा आइतबार पक्राउ परेका कमल थापाले राप्रपा महाधिवेशनमा पराजित भएपछि २०७९ वैशाख ३ गते लेखेका थिए, ‘राजा फर्किने सम्भावना छैन, असम्भव एजेन्डा बोकेर नयाँ पिँढीलाई भ्रममा पार्नुहुँदैन ।’
राजतन्त्रको नर्सरीमा उम्रिएका, हुर्किएका र हालिमुहाली मच्चाएका कमल थापाले राजतन्त्रको एजेन्डा छाडेको घोषणा गर्नु आफैँमा ठूलो सन्देश थियो । तर, नक्कली गणतन्त्रवादी बन्ने प्रयास सफल हुन नसकेपछि उनी पुरानै एजेन्डा समात्न विवश भए । जनआन्दोलन दबाउने मुख्य नाइके थापालाई गणतन्त्रकालमा कांग्रेस–एमाले–माओवादीले पटक–पटक पुरस्कृत गरे ।
आइतबार पक्राउ परेपछि तिनै थापा लेख्छन्– ‘दमन र निषेधले विचार मर्दैन । भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्ति तथा हिन्दूराष्ट्र र राजसंस्था पुनःस्थापनाको हाम्रो संकल्प अझै सुदृढ भएको छ ।’
तीन वर्षअघि राजसंस्था फर्किने सम्भावना हुँदै नभएको बताउने थापा अहिले फेरि फर्किने सम्भावना किन देख्छन् ?
थापाको यस्तै प्रवृत्तिलाई लक्षित गरेर लोकेन्द्रबहादुर चन्दले ‘मुसा प्रवृत्ति’को संज्ञा दिएका थिए । २०५१–०५६ को समयमा मुसा प्रवृत्ति नेपालको राजनीतिको विम्ब बन्न पुगेका थियो ।
पञ्चायतमा हुर्किएका, प्रजातन्त्र कालमा मौलाएका र गणतन्त्रको चास्नी चाखेका ध्रुत व्यक्ति फेरि पनि राजा–धर्मको नाम भजाएर संसदमा जाने र सत्तामा रमाउने योजना मुताविक नै आफैंले छाडेको राजसंस्थाको एजेन्डा बोक्न राजी भएका हुन भनेर बुझ्न कठिन छैन । राप्रपासँग पार्टी एकता गरेर फेरि राजावादी झुण्डको नेतृत्वमा पुग्ने उनको उत्कट चाहना बुझ्न सकिन्छ, यद्यपि उनको एजेन्डा सधैं ‘प्रिभेल’ गर्दैन ।
पढ्नुहोस्, यो पनिः
पूर्वपञ्चहरूको विनासाइतको हर्षबढाइँ र गणतन्त्रवादीहरूको लाचारी
बिग्रेको घडीले पनि दिनमा दुईपटक सही समय बताउँछ भनेजस्तै राप्रपा महाधिवेशनमा पराजित भएको झोंकमा लेखेका किन नहुन्, कमल थापाले त्यो बेला सही बोलेका थिए– ‘तीतो लाग्ला, अब राजा फर्कने सम्भावना सकियो । एउटा पार्टी असफल भए अर्को आउँछ । राजा फर्कने अरू नै कारण थिए । राजाले नै त्यो बाटो बन्द गरिदिए । असम्भव एजेन्डा बोकेर हिन्दू राष्ट्रलाई बन्धक बनाउन हुँदैन ।’

तन्त्रमन्त्र गरेर राजतन्त्र फर्काउने सूत्र
राजसंस्था पुनःस्थापनका गर्नका लागि भनेर ज्ञानेन्द्र शाहले जस्ता पात्रलाई अगाडि सारेका छन्, तिनले राजसंस्थाले विगतमा बनाएको शाखलाई नै धूलिसात बनाइदिएका छन् । शाख भन्नाले आजको दिनमा पनि कतिपय मानिसहरू देशमा राजसंस्था चाहिन्छ भनिरहेका छन्, पृथ्वीनारायण शाह, महेन्द्र र वीरेन्द्रले गरेका केही राम्रा कामका कारण ।
२०५८ सालमा वंशनास गर्ने गरी भएको राजदरबार हत्याकाण्डपछि राजसंस्थाप्रति मानिसको मोह भंग भयो । दरबार हत्याकाण्डको निष्पक्ष छानबिन नहुँदा राजसंस्थाप्रति आममानिसको आस्था घटेर गयो । ज्ञानेन्द्र शाह राजगद्दीमा बसेपछि उनका महत्त्वाकांक्षाले राजसंस्था इतिहास बन्यो ।
आफ्नै कुकर्मले बिदा भएको राजसंस्था फर्काउने भन्दै बेलाबखत नयाँ अवतारका राजावादी सडकमा आइरहेका छन् । दुर्गा प्रसाईंको अपार सफलतापछि अहिले जगमान गुरुङ र नवराज सुवेदीले राजसंस्था फर्काउने कामको ‘टेन्डर’ पाएका छन् ।
कुनै बेला प्रज्ञा प्रतिष्ठानको कुलपति बनेका प्राज्ञ गुरुङ कोरोनाकालमा कोभिड भाइरस भगाउने मन्त्रको आविष्कारदेखि अहिले तन्त्रमन्त्र गरेर राजा फर्काउने भन्दै हिँडिरहेका छन् । पारस शाहले लट्टा कपाल काट्दा राजसंस्था फर्किने संकेत देखियो भनेर उनले हर्षबढाइँ गर्छन् ।
ज्ञानेन्द्र र पारस नभए हृदयेन्द्रलाई राजा बनाउने भनेर तान्त्रिक अनुष्ठान लगाउँछन् । कहिले कालीबाबा र कहिले अघोरीबाबाले तन्त्र फुकेर राजतन्त्र ब्यूँताउने भनेर समाजलाई दिग्भ्रमित पारिरहेका छन् । यस्ता पात्रले राजसंस्था फर्काइदिन्छन् भनेर ज्ञानेन्द्र मख्ख पर्छन् ।
पढ्नुहोस् यो पनि :
तीनकुनेमा विसर्जन भएको राजावादी आन्दोलन र ज्ञानेन्द्रमाथि उत्पन्न धर्मसंकट !
एउटा हातमा लठ्ठी र अर्कोतर्फ कसैले पाखुरा समाइदिएर हिँडाउनुपर्ने वयोवृद्ध नवराज सुवेदी राजसंस्था फर्काउने आन्दोलनका कमान्डर छन् ।
स्वार्थ र बाध्यताको आन्दोलन
राजसंस्था फर्किँदैन भन्ने जान्दाजान्दै पनि आन्दोलनमा होमिन राजावादी पार्टी र संस्थालाई बाध्यता छ । नेपालमा राजसंस्था फर्काउने आन्तरिक र बाह्य दुवै परिस्थिति छैन भन्नेमा राप्रपाका नेताहरू जानकार छन् । सहकारीपीडितले निकालेको जत्रो जुलुसले व्यवस्था ढल्दैन भन्ने जान्दाजान्दै उनीहरू जेठको प्रचण्ड गर्मीमा पसिना चुहाउन बाध्य छन् ।
संसदमा १४ सीटसहित पाँचौं ठूलो दल बनेको राप्रपा राजा र हिन्दूराष्ट्र फर्काउने भन्दै चुनावमा होमिएको थियो । केही ठाउँमा एमालेसँग तालमेल गर्नुबाहेक राप्रपाले राजालाई भजाएर चुनाव जितेको थियो । देशभरबाट समानुपातिक भोट बटुलेको थियो ।
राजसंस्थालाई आदर्श मान्ने दल र समूहले आफ्नो दलको अस्तित्व कायम राख्नका लागि पनि आन्दोलन गर्नुपर्ने बाध्यता छ । भविष्यमा राजसंस्था फर्काएर हालिमुहाली गर्न पाइने कुरामा उनीहरूलाई भरोसा छैन, केवल विगतमा लिएको फाइदाको गुन तिर्न उनीहरूले केही मानिस भेला भएको कोणसभालाई जनआन्दोलन भनिरहेका छन् ।
पढ्नुहोस् यो पनि :
'भस्मासुर'लाई कमान्डर तोकेर व्यवस्था पल्टाउने ‘ज्ञानेन्द्र सपना’को दुःखान्त !
अनौचारिक कुराकानीमा राप्रपाका नेताहरू स्वीकार्छन्– यो आन्दोलनले राजा फर्किँदैन । तर, उनीहरूका लागि बाध्यता छ, ज्ञानेन्द्रले कहिले निर्मल निवासमा, त कहिले नगरकोटमा बोलाएर राप्रपा नेताहरूलाई निर्देशन दिन्छन्, राजसंस्थालाई देखाएर भोट माग्ने, तर सडकमा नजाने ?
ज्ञानेन्द्रको त्यही हप्कीदप्कीका कारण राजावादी समूहलाई सडकमा जान बाध्यता परेको छ । राजावादी समूहमध्ये को बढी राष्ट्रवादी देखिने भन्ने प्रतिस्पर्धा छ । राजसंस्था फर्किन्छ भन्नेमा न राजेन्द्र लिङ्देनलाई विश्वास छ, न नयाँ पुस्ताका ज्ञानेन्द्र शाहीलाई । केवल आफ्नो भोटबैंक सुरक्षित गर्नका लागि उनीहरूले सडकमा उपस्थिति जनाएका हुन् ।

साँच्चिकै राजसंस्था ल्याउँछौं भन्ने विश्वास भए राजावादीहरू संसद् छाडेर सडकमा जानुपर्थ्यो, जसरी संविधान सभाले गतिलो संविधान बनाउन सक्दैन भनेर मोहन वैद्य केही समयमै राजीनामा दिएर बाहिरिएका थिए ।
संसद्को तलब खाएर गणतन्त्र र संविधानको विरोध गर्नु अनैतिकताको पराकाष्ठा हो ।
ज्ञानेन्द्रको उमेर घर्की सक्यो । मोजमस्तीमा रमाउने पारसमा राजा बन्ने महत्त्वाकांक्षा छैन होला । त्यो निर्दोष अनुहारको हृदयेन्द्रलाई तान्त्रिक अनुष्ठानमा सहभागी गराएर राजा बनाउने सपना देखाउनुभन्दा नायिका सुरक्षा पन्तले भनेजस्तो फिल्मको नायक वा चाहेको अर्को कुनै क्षेत्रमा सफल मानिस बनाउन लाग्दा नै उनको पनि हितमा होला ।
अरू कुनै पनि क्षेत्रमा सफल बन्न सक्ने सम्भावना बोकेका हृदयेन्द्रलाई सम्भावना नै नभएको राजा बनाउने सपना देखाएर दुःखी नबनाए हुन्थ्यो !