
ललितपुरको एक भिल्लामा विगत ५ महिनादेखि अवैध रूपमा सट्टेबाजी खेलाउँदै आएको आरोपमा १७ जना पक्राउ परेका छन् ।
१२ जना नेपाली र ५ जना भारतीय नागरिकहरू भिजिट भिसामा दुबई पुगेर गत डिसेम्बरमा नेपाल फर्किएका हुन् । उनीहरूले भिजिट भिसामा दुबई जाँदा म्यानपावरलाई डेढदेखि २ लाख रुपैयाँ बुझाएको बयान प्रहरीलाई दिएका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विशेष सूचनाका आधारमा ललितपुरको धापाखेलमा रहेको एक घरमा छापा मारेर यो समूहलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा अछाम साँफेबगरका डायमन्ड कुँवर, सोही ठाउँका विकास थापा, अछाम चौरपाटीका मनोज बोगटी, सोही ठाउँका सुवास खड्का, कञ्चनपुर कुष्णपुरका राजेन्द्रबहादुर महता, कैलाली गौरीगंगाका अरविन खड्का, दाङ लमहीका विष्णुकुमार राउत, डोटी पूर्वीचौकीका तिलक खड्का, रुपन्देही तिलोत्तमाका पूर्णबहादुर दर्लामी मगर, नवलपरासी गैँडाकोटका जीतबहादुर महतो, भारत बिहारका ऋषभ रोज, बिहारकै दीपककुमार सिंह, अंकितकुमार सिंह, धिरजकुमार सिंह र मोहितकुमार सिंह छन् ।
पक्राउ परेका सबै फरक–फरक मितिमा भिजिट भिसामार्फत दुबई गएको देखिन्छ ।
अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार गोप्य रूपमा नेपाली भूमि प्रयोग गरेर भारतीय गिरोहले नेपालमा अवैध सट्टेबाजी खेलाउँदै आएको सूचना पाएपछि छापा मारेर नियन्त्रणमा लिइएको हो ।
अनुसन्धानका क्रममा यो समूहले खेलाउँदै आएको सट्टेबाजीअन्तर्गत ८१ करोड रुपैयाँको बैंकिङ ट्रान्जेक्सन भएको देखिन्छ ।
‘लामो समयदेखि क्रिकेट, अन्तर्राष्ट्रिय फूटबल प्रतियोगिता लगायत खेलमा अनलाइनमार्फत सट्टेबाजी गराएको पाइयो,’ आचार्यले भने, ‘सुनसान एरियामा कसैले थाहा नपाओस् भनेर घर नै भाडामा लिएर खेलाइएको रहेछ ।’

यस्तो छ साँफेबगरका डायमन्डको बयान
म सन् २०२२ को डिसेम्बरमा भिजिट भिसामार्फत दुबई गएको हुँ । त्यहाँ घुमघाम र काम गर्न पाइने बताएपछि दुबईकै साथीको सुझावअनुसार सामाखुसीस्थित एक म्यानपावरमार्फत भिजिट भिसामा गएको थिएँ । त्यतिबेला टिकट र दलाललाई समेत गरी १ लाख ५० हजार रुपैयाँ तिरेको थिएँ । म्यानपावरले नक्कली बैंकिङ स्टेटमेन्ट, होटल बूकिङ र टु–वे टिकटको नक्कली कागजात बनाइदिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा पासपोर्ट देखाएपछि ‘ओके’ भनेर पठाए । त्यहाँ पुगेपछि केही काम पाइएन । नेपालीहरूमार्फत नै एउटा आईटी कम्पनीमा सट्टेबाजी खेलाउन मान्छे मागेको रहेछ । म पनि त्यहाँ काम गर्न थालें ।
हामीलाई एउटा बंकरभित्र राखिन्थ्यो । त्यहाँ २२ देखि २५ जना हुन्थे । हामीहरूको काम नै सट्टेबाजीमार्फत आएको रकम भारतीय बैंकमा ट्रान्सफर गर्ने थियो । मासिक १५ सयदेखि २ हजार दिराम पाउँथ्यौं । नेपाली ७० देखि ८० हजार तलब पाउने भएपछि काम गरियो ।
काम गर्दै जाँदा भिसाको म्याद सकियो । दुबईमै बस्दा भिसाको म्याद थप्न मिल्दो रहेनछ । हामीलाई जोर्डन पठाइयो । अनि फर्काइयो । २ महिना म्याद थप भयो । हामीले सेभन ११ ब्याटल क्लबमार्फत अनलाइनमा सट्टेबाजी खेलाउँथ्यौं । कम्पनीले ‘तपाईंहरूलाई काठमाडौं सरुवा गर्छौं,’ भन्यो । गएको डिसेम्बरमा काठमाडौं पठायो । त्यतिबेला २० जना आएका थियौं ।
ललितपुरस्थित एउटा पूरै घर भाडामा लियौं– मासिक १ लाख २५ हजार तिर्ने सहमतिमा । घर भाडा लिँदा पनि बीचको एजेन्टले १५ हजार भ्याइदियो । काम राम्रै चलिरहेको थियो । घरमा मासिक ७० हजारसम्म पठाउँथेँ ।
हाम्रो ‘बोस’ भारतीय नै थिए । उनीहरूले कमान्ड दिन्थे । हामी खातामा आएको रकम तुरुन्तै भारतका विभिन्न बैंकमा रहेका खातामा ट्रान्सफर गर्थ्यौं । प्रहरीले आज (मंगलबार) पक्रियो । आज नपक्रिएको भए अर्बौं रुपैयाँको कारोबार हुन्थ्यो ।
आज सट्टेबाजी खेलाउनेका लागि ‘दशैं’ नै हो । इन्डियन प्रिमियर लिग क्रिकेट प्रतियोगिताअन्तर्गत आज फाइनल खेल छ । फाइनलमा रोयल च्यालेन्जर बैंग्लुरु भर्सेस पन्जाब किङ्सको खेल छ ।