२७ जेठ २०८३, बुधबार
मनसून पूर्वतयारी

यसपालि विपद्‌बाट २० लाख नागरिक प्रभावित हुने आकलन, क्षति न्यूनीकरण गर्न सरकारको तयारी के छ ?

जेठ २१, २०८२
काठमाडौं
यसपालि विपद्‌बाट २० लाख नागरिक प्रभावित हुने आकलन, क्षति न्यूनीकरण गर्न सरकारको तयारी के छ ?
गत वर्षको बाढीले काभ्रेको रोशीमा गरेको क्षति ।

यो वर्षको मनसून सरदरभन्दा छिटो शुरू भएको छ । मनसुन शुरू भएसँगै गत वर्षको 'भयावह' भोगेका नागरिक चिन्तित हुन थालेका छन्  ।

गत बिहीवारदेखि कोशी प्रदेश भित्रिएको मनसूनले सुरूआतमै आफ्नो रूप देखाइसकेको छ । मनसुनको शुरूआतमै पूर्वी नेपालमा २ सय मिलिलिटरभन्दा बढी पानी परेको थियो  । जसका कारण केही क्षेत्र डुबानमा समेत परेका थिए । मनसून नआउँदै विपत्तिले पूर्वबाट ढोका ढक्ढक्याउन शुरू गरिसकेको छ । सरकारले प्रत्येक वर्ष विपत्तिका लागि प्रतिकार्य तयारी गरेको दाबी गर्दै आएको छ । तर, विपत्तिले बर्सेनि ठूलो क्षति भने पुर्‍याउँदै आएको छ ।

गत वर्ष दशकयताकै ठूलो विपद्

गत वर्ष मनसूनले नेपालमा ठूलो जनधनको क्षति पुर्‍याएको थियो । पर्याप्त पूर्वतयारी नहुँदा करिब ५ सयको ज्यान लिएको गत वर्षको मनसूनजन्य विपद विगत दशकयताकै ठूलो थियो ।

गत वर्ष कञ्चनपुरको दोधारामा २४ घण्टामा ६२४ मिलिमिटर वर्षाले ७७ वर्षको रेकर्ड तोडेको थियो भने सोलुखुम्बुको थामे हिमताल विस्फोटले बजार तहसनहस बनाएको थियो ।

असारको अन्तिम साता आएको अविरल वर्षाका कारण चितवनको नारायणगढ-मुग्लिङ सडक खण्डको सिमानामा कहाली लाग्दो घटना घटेको थियो ।

काठमाडौंबाट गौरतर्फ जाँदै गरेको र बिरगंजबाट काठमाडौं आउँदै गरेको दुईवटा यात्रुवाहक बसलाई पहिरोले बगाई त्रिशुली नदीमा खस्दा ६२ जना यात्रु बेपत्ता भएका थिए, जसमध्ये २४ जनाको मात्र शव फेला परेको थियो ।

सोही दिन पोखरा महानगरपालिकाको १९ नम्बर वडामा गएको एउटा पहिरोमा परी ७ जनाको मृत्यु भएको थियो भने त्यही दिन पोखरामै भएको अर्को घटनामा एकै परिवारका ३ जनाले ज्यान गुमाएका थिए ।

साउन १६ गते र १८ गतेको अत्यधिक वर्षाका कारण काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा जनजीवन पूर्णरूपमा अस्तव्यस्त बन्यो । राजधानी काठमाडौंमै मात्रै १४२ घर डुबानमा परे ।

साउन १६ गतेको अति वर्षाले राजधानीको बल्खु तरकारी बजारमा ठूलो क्षति पुर्‍यायो, जहाँ व्यापारीहरूले करोडौं बढीको नोक्सानी व्यहोर्नु परेको थियो ।

त्यसैगरी, बारा, बाँके, महोत्तरीलगायत विभिन्न जिल्लाहरूमा बाढी र डुबानका कारण थुप्रै घटनाहरू घटे । मनसूनको क्रमशः तीव्र हुँदै गएकै क्रममा असोजको दोस्रो साता परेको लगातारको भारी वर्षाले देशभर थप विपद् निम्त्यायो ।

असोज १० गतेदेखि १३ गतेसम्म परेको अत्यधिक वर्षाका कारण बागमती प्रदेशअन्तर्गत काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, काभ्रेलगायत जिल्लामा ठूलो जनधनको क्षति भयो । काठमाडौं उपत्यकाभित्र मात्रै बाढी र पहिरोका कारण ३२ जनाले ज्यान गुमाए ।

असोज ११ गते शुक्रवारका दिन धादिङको धुनिवेशीस्थित झ्याप्ले खोलामा आएको पहिरोमा परी पृथ्वी राजमार्गमा तीनवटा सवारी साधन पुरिँदा ३५ जनाको ज्यान गएको थियो ।

सोही वर्षाका कारण निम्तिएको विपत्तिले बीपी राजमार्गसहित देशका विभिन्न सडकखण्ड, शैक्षिक संस्था, स्वास्थ्य संस्था, सरकारी कार्यालय, जलविद्युत् आयोजना, होटल र रेसोर्टजस्ता निजी व्यवसायहरूमा समेत असर पारेको थियो । उक्त अवधिमा राज्यले झण्डै ४६ अर्ब रुपैयाँ बराबरको क्षति व्यहोर्नु परेको अनुमान गरिएको छ ।

असोजकै वर्षाबाट १० हजार ८२३ परिवार प्रभावित भएका थिए । करिब ९ हजार घर पूर्ण ध्वस्त भएका थिए भने बाँकी आंशिक रूपमा क्षतिग्रस्त भए ।

प्रत्येक वर्ष यस्तो धनजनको क्षति हुने भए पनि गत वर्षको क्षति बढी भयावह थियो । काठमाडौँ उपत्यकाको चारैतर्फको पहाड उजाडिएको थियो, कतिपय ठाउँमा पुनर्स्थापनाको काम अझै सम्पन्न भएको छैन ।   

गत वर्षको मनसून २०८१ को जेठ २८ मै औसतभन्दा तीन दिनअगावै शुरू भएको थियो भने १२५ दिनसम्म सक्रिय रह्यो । औसतभन्दा २२ प्रतिशत बढी (१,६९१.३ मिमि) वर्षा भएको थियो ।

उक्त वर्षाले जम्माजम्मी २ हजार १३८ विपदका घटना निम्त्यायो । कोशी प्रदेशमा पहिरो र बाढीले सडक, पुल र बस्तीहरूमा व्यापक क्षति पुर्‍यायो । देशभर २४४ पुल, १८९ शैक्षिक संस्था, १५० सरकारी कार्यालय र ८५ जलविद्युत आयोजनामा क्षति पुग्यो ।

२० जिल्लाका ७१ स्थानीय तहलाई तीन महिनासम्म विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरियो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसी भन्छन्, 'विगतको अनुभवबाट सिकेर हामीले यो वर्षका लागि पूर्वतयारी गरिसकेका छौं । प्रभावकारी समन्वय, समयमै पूर्वसूचना र खोज, उद्धार तथा राहतका लागि पर्याप्त स्रोत व्यवस्थापनको आवश्यकता गत वर्षले देखायो ।'

गत वर्षको कमजोरीलाई समेत समीक्षा गरेर यो वर्ष आउने मनसूनमा आफूलाई सुधार्ने प्रयासमा सरकार जुटेको केसीको भनाइ छ ।

आउँदो मनसूनमा२० लाख मानिस प्रभावित हुने अनुमान

जल तथा मौसम विज्ञान विभागले २०८२ को मनसूनमा देशका अधिकांश भागमा औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ ।

पूर्वीकर्णाली, उत्तरी लुम्बिनी र गण्डकी प्रदेशका अधिकांश क्षेत्रमा ५५ देखि ६५ प्रतिशत सम्भावनासहित अत्यधिक वर्षा हुने अनुमान छ ।

मधेश र सुदूरपश्चिमका दक्षिणी भूभागमा औसत वर्षा भए पनि तराईमा तापक्रम वृद्धिले तातो हावाको लहर (हीटवेभ)को जोखिम बढाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो वर्ष ४ लाख ५७ हजार १४५ घरधुरी र त्यहाँ बसोबास गर्ने १९ लाख ९७ हजार नागरिक प्रभावित हुने अनुमान छ ।

लुम्बिनीमा १ लाख १९ हजार, बागमतीमा ७५ हजार र गण्डकीमा ६५ हजार ६९९ घरधुरी बढी प्रभावित हुने प्रक्षेपण छ । कोशी, मधेश, कर्णाली र सुदूरपश्चिममा पनि लाखौँ मानिस जोखिममा रहेको अध्ययनले जनाएको छ । बाढी, पहिरो, डुबान, माटो कटान र आकस्मिक बाढीले ठूलो क्षति निम्त्याउने सम्भावना रहेको प्राधिकरणको भनाइ छ ।

'यो वर्ष करिब २० लाख मानिस प्रभावित हुने अनुमान छ, जसमध्ये २ लाख प्रत्यक्ष प्रभावित हुन सक्छन्,' प्राधिकरणका प्रवक्ता केसीले भने, 'तर, हामी अहिले बढी तयारी अवस्थामा छौं ।'

यस्तो छसरकारको तयारी

विपदलाई केन्द्रमा राखेर 'सरकारले ‘मनसून पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२’ जारी गरेको छ । यो योजनाले विगतका विपदका प्रभाव विश्लेषण, जिम्मेवारी स्पष्टता र समन्वयात्मक कार्यलाई प्राथमिकता दिएको छ ।

उक्त कार्ययोजनाअनुसार गृह मन्त्रालयले समग्र समन्वय, खोज, उद्धार र राहत व्यवस्थापनको नेतृत्व गर्नेछ । नेपाली सेना, नेपाल प्रहरी, र सशस्त्र प्रहरी बल उपकरण र दक्ष जनशक्तिसहित तयारी अवस्थामा छन् ।

कार्ययोजनाअनुसार केन्द्रदेखि स्थानीय तहसम्म मनसून प्रतिकार्य कमाण्ड पोष्ट स्थापना हुनेछ । केन्द्रीय कमाण्ड पोष्टमा प्राधिकरण संयोजक रहनेछ भने गृह मन्त्रालय, सञ्चार मन्त्रालय, जलस्रोत, सडक विभाग र सुरक्षा निकायका प्रतिनिधि पनि त्यसमा समावेश गरिएको छ ।

राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र २४ सै घण्टा सक्रिय रहने र प्रदेश, जिल्ला र स्थानीय तहहरूले पनि आ–आफ्नो कमाण्ड पोष्ट बनाउन सक्ने उक्त कार्ययोजनामा जनाइएको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी अशोक भण्डारीले लोकान्तरसँग भने, 'हामीले उद्धार र राहतका लागि सबै सामग्री तयारी अवस्थामा राखेका छौं । काठमाडौंका सबै पालिकामा जोखिम आंकलन गरिएको छ र सचेतना कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।'

उनले नेपाली सेनाको नरसिंह गणले कीर्तिपुरमा गरेको उद्धार डेमोको उदाहरण दिँदै जोखिमयुक्त ठाउँका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने योजना रहेको बताए ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले पनि महानगर विगतभन्दा बढी सजग रहेको बताएका छन् । 'रातिको समयमा बाढी–पहिरो आएमा जोखिम बढी हुन्छ । हामीले जिल्ला, प्रदेश, र केन्द्रसँग समन्वय गरेर जनधनको क्षति रोक्न हरसम्भव प्रयास गर्नेछौं,' मानन्धरले लोकान्तरसँग भने ।

स्थानीय तयारी र चुनौती

कार्ययोजनाले विगतभन्दा थप बढी जोखिम औंल्याएपछि स्थानीय तहहरूले पनि आफ्नै स्तरमा तयारी थालेका छन् ।

काठमाडौं महानगरले विगतका अनुभवबाट पाठ सिकेको जनाएको छ । प्रवक्ता मानन्धर भन्छन्, 'हाम्रो स्रोत र साधनले भ्याएसम्म हामी अन्तिमसम्म खटिनेछौं ।'

जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सचेतना प्रदान गर्न स्थानीय तह, जिल्ला र प्रदेश सक्रिय छन् । तर, काठमाडौंका सहायक सीडीओ भण्डारीले अझै पनि सचेतनाको कमी रहेकाले चुनौती कायमै रहन सक्ने बताएका छन् ।

'बाढी पहिरोको प्रकोपअघि नै नागरिकमा सचेतना अभियान पनि चलाउनुपर्नेछ । जोखिमयुक्त ठाउँमा हामीले विभिन्न माध्यममार्फत सूचनाहरू प्रवाहित गर्ने तयारी गरेका छौं ।'

हेर्नुहोस् प्राधिकरणले तयार पारेको कार्ययोजना-

 

 

salt training

कमेन्ट गर्नुहोस्