
गाजामा रहेका सहायता वितरण केन्द्रहरू आज बन्द छन् । इजरायली सेनाले ती केन्द्रतर्फ जाने सडकलाई ‘सैन्य क्षेत्र (कम्ब्याट जोन)’ घोषणा गरेपछि सहायता कार्य स्थगित गरिएको हो ।
अमेरिका र इजरायलद्वारा समर्थित विवादास्पद सहायता संस्था गाजा ह्युमानिटेरियन फाउन्डेसन (जीएचएफ)ले आफ्ना केन्द्रहरू ‘संरचना अद्यावधिक, व्यवस्थापन सुधार र कार्यक्षमता अभिवृद्धि’का लागि बन्द गरिएको जनाएको छ ।
मंगलबार मात्रै एक जीएचएफ केन्द्र नजिकै इजरायली सेनाको गोली लागेर कम्तीमा २७ प्यालेस्टिनी नागरिक मारिएका थिए ।
हमास समर्थित स्थानीय अधिकारीहरूले दिएको जानकारीअनुसार तीन दिनभित्र सहायता केन्द्र जाने मार्गमै यो तेस्रोपटक भएको घटना थियो ।
इजरायली रक्षा बल (आईडीएफ)का अनुसार केही शंकास्पद व्यक्ति तोकिएको बाटोबाट अलग भई उनीहरूतर्फ अघि बढेपछि गोली चलाइएको हो ।
यस्तै, दक्षिण गाजाको खान युनिसमा विस्थापित राखिएको एउटा विद्यालयलाई लक्षित गरी इजरायली हवाई आक्रमण हुँदा कम्तीमा आठ जना प्यालेस्टिनीको मृत्यु भएको र अन्य केही घाइते भएको स्वास्थ्यकर्मी र प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
इजरायलले बीबीसीसहितका अन्तर्राष्ट्रिय समाचार संस्थाहरुलाई गाजा प्रवेश गर्न अनुमति दिएको छैन, जसले त्यहाँ भइरहेको घटनाको स्वतन्त्र पुष्टि गर्न कठिन बनाएको छ ।