
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमको बिलिङ सिस्टम जडान गर्दा भ्रष्टाचार गरेको भन्दै चिनियाँ कम्पनी समेतलाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले आइतबार विशेष अदालत काठमाडौंमा टेलिकमकी निर्देशक संगीता पहाडी (अर्याल), यसअघिका निर्देशक सुनिल पौडेललगायत व्यक्ति र कम्पनी समेतगरी १८ विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
मूल कम्पनी एसिया इन्फो युहान सफ्टवेयर चाइना, त्यसको सहायक कम्पनी एसिया इन्फो लिङ्केज टेक्नोलोजीज चाइनाका सिनियर डाइरेक्टर एवं चिफ एक्जुकेटिभ अफिसर लोङ योङ र प्रोजेक्ट म्यानेजर हुङ वीइविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो । यो कम्पनीले टेलिकमका लागि सफ्टवेयर र हार्डवेयर सप्लाइ गर्दै आएको छ ।
‘टेलिकमका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसँगको मिलेमतोमा पुरानै विवादास्पद आपूर्तिकर्ता एसिया इन्फोसँग २ अर्ब ७२ करोडको हार्डवेयरसमेत विनाप्रतिस्पर्धा सोझै खरिद गरी भ्रष्टाचार गरेको भन्ने उजुरीका आधारमा छानबिन गरी भ्रष्टाचार मुद्दा दायर गरिएको,’ अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।
सार्वजनिक सम्पत्तिको हिनामिना र हानीनोक्सानी गरेको भन्दै चिनियाँ कम्पनी र उसका प्रतिनिधिविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।
टेण्डर हात पार्न आवश्यक डकुमेन्ट दुरुस्त राख्ने तर कमसल काम गर्ने गरेको भन्दै चिनियाँ कम्पनीको आलोचना भइरहेको छ ।
बुटवल–नारायणगढ तथा मुग्लिन–पोखरा राजमार्ग, काठमाडौं तराइ फास्ट ट्रयाकको सुरुङ र पुल बनाउनेलगायत महत्त्वपूर्ण ठेक्का चिनियाँ कम्पनीले हात पारेका छन् ।
तर उनीहरूले तोकिएको समयमा काम नगरेको भन्दै सरकारी निकायले ताकेता गरिरहेका छन् ।